चितवन । अँध्यारोमा हराउँदै गएका नाबालिकाको जीवनमा आशाको उज्यालो भर्ने अभियन्ता हुन्, समाजसेवी मीनाकुमारी खरेल ।
१२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखाभरि आँसु लिएर पहिलोपटक मीनाकुमारी खरेलको सामु पुगेकी थिइन् । उनी बोल्न सक्ने अवस्थामा थिइनन् ।
मनभित्र थुप्रिएका पीडा, डर र अपमानका अनुभूति आँसु बनेर बगिरहेका थिए । उमेरले सानी भए पनि उनले भोगेको पीडा शब्दमा बयान गर्न नसकिने खालको थियो । समाजको चिसो व्यवहार, डर, लज्जा र एक्लोपनले उनको बाल मनमा गहिरा घाउहरूले भरिएको थियो ।
त्यही कठिन क्षणमा उनले पहिलोपटक मीनाकुमारी खरेललाई भेटिन त्यसपछि आफूलाई सुरक्षित महसुस गरिन् । मीनाकुमारी खरेलले न त उनलाई प्रश्नको कठघरामा उभ्याइन्, न दोषी ठहर गरिन् । बरु ध्यानपूर्वक सुनेर सहानुभूति व्यक्त गरिन् । र, ‘तिमी गलत होइनौ’ भन्ने आत्मविश्वास दिलाइन् ।
आमाजस्तै बनेर काँपिरहेको हात समात्दै दिएको त्यो भरोसाले नाबालिकाको जीवनमा निर्णायक मोड ल्यायो । भत्किँदै गएको बालापनमा फेरि आत्मबल पलायो, फेरि बाँच्ने इच्छा जाग्यो । उचित संरक्षण, साथ र मार्गदर्शन पाएपछि उनको जीवनले नयाँ दिशा पायो । अहिले उनी आफ्नो जीवनमा सफल भइसकेकी छन् र नयाँ अध्याय सुरू गरिसकेकी छन् । अहिले तिनै बालिका परिपक्व भइसकेकी छन् । उनी भावुक हुँदै भन्छिन्, ‘मीना दिदी नहुनुभएको भए आज म यो संसारमै हुन्नथेँ ।’
यो कथा एउटी नाबालिकाको पीडाको कथा मात्र होइन; यो त्यो हातको कथा हो, जसले एक बेसहारा बालिकालाई उद्धार गरी सुरक्षित र सुधारिएको जीवनतर्फ डो¥यायो । यही मानवीय संवेदना, साहस र निरन्तर सामाजिक प्रतिबद्धताका कारण आज मीनाकुमारी खरेल हजारौँ महिला, बेसहारा र टुहुरा बालबालिकाको आशा, भरोसा र संरक्षणको प्रतीक बनेकी छन् ।
बालअधिकार, महिला सशक्तीकरण र पीडित संरक्षणका क्षेत्रमा उनको योगदान समाजका लागि प्रेरणादायी बनेको छ । अँध्यारोमा हराउँदै गरेका बालजीवनहरूका लागि उनी आज उज्यालो दीप बनेर उभिएकी छन् ।
उनी सानैदेखि राजनीतिलाई बुझेर सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पात्र हुन् । हाल उनी नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ को उमेदवार बनेकी छन् । उनले लामो समयदेखि समाजमा गरेको योगदानका कारण सबैको मन मुटुमा बस्न सफल भएकी छन् ।






