
– कमल के.सी.
भरतपुर । सरकारले घोषणा गरेको निःशुल्क शिक्षा अभियान सरकारी प्रयासले मात्र सम्भव नहुने तथ्यमाथि जोड दिइएको छ । मङ्गलबार अङ्कुरम् एकेडेमीमा आयोजित ‘शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको अन्तक्र्रिया तथा छलफल कार्यक्रम’मा सो कुरा बताइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथिसमेत रहेका शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले सरकारको एकल प्रयासले मात्र निःशुल्क शिक्षा कार्यान्वयन सम्भव नहुने बताए । उनले सामुदायिक विद्यालयलाई जवाफदेही बनाउन मन्त्रालय क्रियाशील रहेको र त्यसका लागि शिक्षा ऐन निर्माण गर्न मन्त्रालय लागिरहेको बताए ।
शिक्षा ऐनभित्र कतिपय बुँदा सच्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले भने, ‘हेड सर र सञ्चालन समिति अध्यक्षलाई अधिकार दियो भने बेचेर खाइदिन्छन् भन्ने अविश्वास कानुनमै छ, त्यसलाई हटाउनुपर्छ ।’
‘धेरै सामुदायिक विद्यालयहरूसँग जग्गाजमिन र मासिक भाडा आउने सटरहरू छन्,’ उनले भने, ‘देशैभर त्यसको लगत सङ्कलन गरेर सरकारको तर्फबाट कति लगानी बढाउनुपर्छ त्यसको तथ्याङ्क निकाल्नुपर्छ, त्यसपछि निःशुल्क शिक्षाको कार्यान्वयनमा अघि बढ्नुपर्छ ।’ निःशुल्क शिक्षा कार्यान्वयनका लागि सरकारको अनुदानमा मात्रै भर नपरी वैकल्पिक स्रोतहरूको खोजी गरिनुपर्ने उनको भनाइ थियो ।
उनले चितवनमा अङ्कुरम् एकेडेमीजस्तो विद्यालयलाई यो मोडलमा चलाइँदा यहाँका प्रिन्सिपल सुमन पौडेल ‘सही ठाउँमा सही व्यक्ति’ भएको टिप्पणी गर्दै सामुदायिक विद्यालयहरूले पनि यसको सिको गर्नुपर्नेमा जोड दिए ।
सामुदायिक विद्यालयको तर्फबाट विद्यालयको त्रिवर्षीय प्रगति प्रतिवेदन पेस गर्दै कठार मावि खैरहनीका प्रधानाध्यापक अर्जुनप्रसाद सिलवालले २०८० देखि २०८२ सम्म विद्यालयले गरेको शैक्षणिक प्रगति पेस गरेका थिए । ‘विद्यालय रुपान्तरण र शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभावकारी व्यवस्थापन योजनाबद्ध शिक्षण र नतिजामुखी सिकाइ अभ्यास’सम्बन्धी प्रस्तुतीकरण गर्दै उनले शैक्षिक सुधारका चार आधार ‘समय व्यवस्थापन, योजनाबद्ध शिक्षण, नतिजा विश्लेषण र अभिभावकसँगको सहकार्य’ पेस गरेका थिए ।
यस्तै, संस्थागत विद्यालयका तर्फबाट अङ्कुरम् एकेडेमीका प्रधानाध्यापक सुमन पौडेलले ‘भविष्यको शिक्षा’बारे प्रस्तुतीकरणको प्रदर्शन गरेका थिए । प्रस्तुतिका क्रममा उनले भने, ‘यी तस्बिरहरू हाम्रा उपलब्धि प्रदर्शन गर्ने माध्यम मात्र होइनन् बरु हाम्रा बालबालिकालाई भविष्यका लागि आवश्यक ज्ञान, सीप र अनुभव प्रदान गर्ने हाम्रो निरन्तर प्रयासका प्रतिबिम्ब हुन् ।’
उनले सन् २०३५ का लागि आवश्यक जनशक्तिलाई लक्षित गरी विद्यालयमा विभिन्न प्रख्यात संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गरेको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय विद्यालयहरूलाई समेत सहभागी बनाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए ।
शिक्षा विकास तथा समन्वय इकाइ चितवको आयोजना तथा अङ्कुरम् एकेडेमीको सहकार्यमा आयोजित कार्यक्रममा कार्यालयका शाखा अधिकृत दीपेन्द्रकुमार श्रेष्ठले विसं २०८२ देखि २०८२ सम्मको कक्षा ८ र एसइई तथा कक्षा १२ को नतिजाको विश्लेषणात्मक प्रस्तुति पेस गरेका थिए ।
उनले जिल्लामा संघ सरकार र प्रदेश सरकारद्वारा विशेष सहयोग प्राप्त आठवटा सामुदायिक विद्यालय नमुना विद्यालयमा सञ्चालनमा रहेको जानकारी दिँदै जिल्लाका सबै विद्यालय नमुना विद्यालय हुनुपर्ने बताए ।
जिल्लाका कक्षा १० सम्म सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू सहभागी कार्यक्रम इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलको अध्यक्षता, शाखा अधिकृत मेनका अर्यालको स्वागत तथा शाखा अधिकृत कृष्णप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा शिक्षाविद् महेन्द्र पौड्यालसमेत मन्तव्य राखेका थिए ।
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भदौ महिनाको मासिक समीक्षा तथा प्रगति विवरणबारे बिहीबार छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा १६ वटै वडाका आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख तथा स्वास्थ्यचौकी प्रमुखहरुले आआफ्नो वडामा भए/गरेका स्वास्थ्यसम्बन्धी अद्यावधिक विवरण प्रस्तुत गरेका थिए ।
सो अवसरमा सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वास्थ्यसम्बन्धी प्रगति विवरण समयमै अद्यावधिक गर्न र नगरवासीलाई उत्कृष्ट सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीहरुलाई सुझाव दिए । उनले स्वास्थ्यकर्मी साथीहरुको लगाव, क्षमता र अनुभवका कारण स्वास्थ्य क्षेत्रमा रत्ननगरको नतिजा राम्रो रहेको र आगामी दिनमा पनि आपसी सहयोग र राय लिई स्वास्थ्यसेवाका सूचकहरु अद्यावधिक गर्न आग्रह गरे ।
स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणबारे समीक्षा गर्दै कमीकमजोरी सुधार गरी अगाडि बढ्न सबै स्वास्थ्यकर्मीहरुमा आग्रह गरे ।
उनले आर्थिक वर्ष २०८२/०८३ को पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गोष्ठीको मूल्याङ्कनअनुसार बछौली स्वास्थ्यचौकी स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुको कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भएको घोषणा गरे । सो अवसरमा बछौली स्वास्थ्यचौकीका इन्चार्ज केशवबाबु पौडेललाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा जनस्वास्थ्य कार्यालय चितवनका तथ्याङ्क अधिकृत इन्द्रमणि भण्डारीले विभिन्न सूचकका आधारमा रत्ननगर अब्बल रहेको र केही प्वाइन्टका आधारमा मात्रै उत्कृष्ट हुन नसकेको बताए । उनले आगामी दिनमा अझै उत्कृष्ट स्वास्थ्यसेवा गर्न सुझाव दिए । यस्तै, मासिक समीक्षाको विश्लेषण गर्दै स्वास्थ्यकर्मीहरुलाई आपसी सहयोग र समन्वय गरी रजिस्टरमा विवरण अद्यावधिक गर्न सुझाव दिए । उनले स्वास्थ्यकर्मीहरुले प्रस्तुत गरेको प्रगति विवरणमाथि समीक्षा गर्दै आवश्यक सहजीकरण गरेका थिए ।
स्वास्थ्य शाखाकी नर्सिङ इन्चार्ज अम्बिका पौडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य बबिताकुमारी चौधरी, बछौली स्वास्थ्यचौकी इन्चार्ज केशवबाबु पौडेललगायतले मन्तव्य राखेका थिए ।
चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा बुधबार भरतपुरस्थित चित्रावती लिजर सेन्टरमा सम्पन्न भएको छ ।
साधारण सभाले संस्थाको आगामी कार्यदिशा, वित्तीय अनुशासन र सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेमा जोड दिएको छ ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्व एवम् जिल्ला सहकारी संघ लिमिटेड, चितवनका अध्यक्ष शरदकुमार बर्तौलाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि बर्तौलाले सहकारी संस्थाहरूले पारदर्शीरूपमा सदस्यको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले सिद्धि विनायक सहकारीले स्थानीयस्तरमा पुर्याएको आर्थिक योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सुरक्षित र व्यवस्थितरूपमा बचत तथा ऋण परिचालनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष धितालले सदस्यहरूको विश्वास, सहभागिता र सहकार्यका आधारमा सिद्धि विनायक सहकारीलाई थप सुदृढ बनाउँदै लैजाने बताए ।
सहकारीको दिगो विकासका लागि सदस्यको आर्थिक हितसँगै संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । उनले सदस्यहरूको आवश्यकता र अपेक्षाअनुसार सेवा विस्तार गर्दै सहकारीलाई थप व्यवस्थित, सुरक्षित र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभामा संस्थाका सचिव जयराम पाण्डेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रामप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल ऋणी, महिला बचतकर्ता, असल बाल बचत तथा उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार शालिकराम घिमिरे, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ भण्डारी तथा सल्लाहकार भगवती पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो ।
यस्तै, साधारण सभामा लेखा तथा सुपरीवेक्षण समिति संयोजक विनोद पौडेल, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम तथा सञ्चालक समिति सदस्यहरू इन्दिरा पन्त लामिछाने, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल, सीता सापकोटा, नवराज अर्याल, हरिप्रसाद रिमाल, व्यवस्थापक विकास पौडेल तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
विसं २०६५ सालमा स्थापित सो संस्थामा हाल २ हजार १२१ सदस्य रहेका छन् ।
भरतपुर । नेपाली कांग्रेस भरतपुर महानगरको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन् ।
बुधबार भएको निर्वाचनको परिणामअनुसार १२३२ मत खसेको थियो । न्यौपानेले ६६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ मत ल्याए भने अर्का प्रतिष्पर्धी कृष्णविलास अधिकारीले १५९ मत ल्याए ।
उपसभापतिमा मित्रनिधि तिवारी बिजयी भएका छन् । उनले ७१५ मत ल्याए । उनका प्रतिष्पर्धी रेशमबहादुर देउजाले ४७७ मत ल्याए । सचिवमा युवा उमेदवार सुमित पराजुलीले ७८१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी रामजी पौडेलले ४३६ मत ल्याए ।
अधिवेशनबाट महिलातर्फको उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, ४३ जना कार्यसमिति सदस्य पनि निर्विरोध निर्वाचित भएको मतदान अधिकृत रामेश्वर पौडेलले जानकारी दिए ।
राप्ती । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राप्ती नगरपालिकाको नगर अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
नगर सभापतिका आकांक्षीहरूबीच सहमति जुटाउन निवर्तमान नगर सभापति देवेन्द्र लामाले गरेको पहलपछि चूडाप्रसाद सिलवाल (भीमसेन) नगर सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
सिलवाल यसअघि कांग्रेस राप्ती–८ का वडा सभापति थिए । नगर सभापतिका आकांक्षीहरूबीच प्रतिस्पर्धाको अवस्था देखिएपछि लामाले सहमति र एकताका लागि पहल गरेका थिए ।
चितवनका सात स्थानीय तहमध्ये राप्तीमा नगर सभापति सर्वसम्मत चयन हुनुलाई कांग्रेसभित्रको आन्तरिक एकताको प्रयासका रूपमा लिइएको छ । लामाले आफ्नो कार्यकालमा पनि पार्टीभित्र सहमति र समन्वयमा जोड दिँदै आएका थिए ।
कालिका । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन क्षेत्र नं २ मा पर्ने कालिका नगरपालिकाको नगर अधिवेशनबाट रमेशजङ्ग थापा नगर सभापतिमा विजयी भएका छन् ।
नगर सभापति पदका लागि भएको निर्वाचनमा कुल २८४ मत खसेको थियो । प्राप्त मत परिणामअनुसार रमेशजङ्ग थापाले १९३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आत्माराम बास्तोलाले ७६ मत प्राप्त गरेका छन् ।
मत परिणाम सार्वजनिक भएसँगै थापा नेपाली कांग्रेस कालिका नगर कार्यसमितिको नयाँ सभापतिमा निर्वाचित भएका हुन् ।
खैरहनी । नेपाली कांग्रेस खैरहनी नगरसभापतिमा शंकर कँडेल विजयी भएका छन् । नगर सभापतिका लागि भएको निर्वाचनमा कँडेलले १९९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनुप अधिकारीले १७६ मत प्राप्त गरे ।
यसैगरी, नगर उपसभापति (खुला) मा चन्द्रकान्त छत्कुली १९४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी दीपकप्रसाद खरेलले १७४ मत प्राप्त गरे ।
महिला उपसभापतिमा मिरा चौधरीले २३१ मत प्राप्त गर्दै विजयी हुँदा रेनुका चौधरीले १४१ मत प्राप्त गरिन् ।
नगर सचिवमा उज्ज्वल बर्तौता १८७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नवराज न्यौपाने (हिमाल)ले १७७ मत प्राप्त गरे ।
यस्तै, सहसचिवमा विक्रम चौधरी २०४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दीपक नहर्कीले १६५ मत प्राप्त गरे ।
रत्ननगर । नेपाली कांग्रेस रत्ननगरको नगर सभापतिमा युवा नेता उमेश गिरी विजयी भएका छन् ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा रामहरि न्यौपानेलाई पराजित गर्दै गिरी नगर सभापतिका निर्वाचित भएका हुन् । गिरीले जितका लागि २९५ मत प्राप्त गर्दा न्यौपाने १९४ पाए ।
यस्तै, उपसभापतिमा हरि लामिछाने ३१९ प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नारायण महतोले १८३ मत प्राप्त गरेका छन् ।
महिला उपसभापतिमा सरस्वती चालिसे २६८ मतका साथ विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी रिता काप्रीले २२५ मत प्राप्त गरिन् । सचिवमा सुरेशजङ्ग पाण्डे २५६ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सुवर्ण घिमिरेले २४५ मत पाएका छन् ।
सहसचिवमा मिलनकुमार क्षेत्री २६९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पुरुषोत्तम लामिछानेले २३० मत प्राप्त गरेका छन् ।
चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानजंग लामा)ले मंगलबार भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग भलाकुसारी गरेका थिए । पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उनले चासो लिएका थिए । ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उनीहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताए । अस्पतालको सेवा राम्रो भएको उनीहरुको प्रतिक्रिया थियो ।
नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार केन्द्र गरी २५ स्थानबाट सेवा दिँदै आएको छ । वार्षिक १३ हजारको हाराहारीमा भारतीय बिरामी भरतपुर आँखा अस्पताल र त्यस मातहतका केन्द्रमा उपचारका लागि आउने गरेका छन् ।
मन्त्री तामाङले अस्पताल निरीक्षणपछि नेपाली मात्र नभएर भारतीय बिरामीको उपचार केन्द्र बनेकामा प्रसन्नता व्यक्त गरे । बागमती प्रदेश सरकार र आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचारमा लाग्नुपर्नेमा उनको जोड थियो । अस्पताल सञ्चालन भइरहेको जग्गा भरतपुर अस्पतालको नाममा भएकामा यसलाई सहजीकरण गरेर आँखा अस्पतालको नाममा हाल्न आफूले पहल गर्ने मन्त्री तामाङले बताए ।
हाल आँखा अस्पताल सञ्चालनमा रहेको जग्गा सङ्घीय सरकारले मन्त्रिपरिषदबाट आँखा अस्पताललाई उपलब्ध गराउने निर्णय भए पनि लालपूर्जा आँखा अस्पतालले पाएको छैन । मन्त्री तामाङले आँखा उपचारमा सामुदायीक क्षेत्रबाट भएको योगदान प्रशंसनीय रहेको बताए ।
सो अवसरमा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लाहरुमा आँखा उपचारमा योगदान पुर्याउँदै आएको मन्त्री तामाङलाई जानकारी दिए । सरकारी, गैरसरकारी र निजी क्षेत्रको सहयोगमा अस्पतालले आमनागरिकलाई सेवा दिन सकेको उनको भनाइ छ । हरेक वर्ष तीन लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा दिने गरेको उनले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ चितवनका उपसभापति तेजेन्द्र खड्का, सचिव केशव अधिकारी, वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीलेलगायतले अस्पतालका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका हुन् ।
भरतपुर । भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालित त्रिदिवसीय अङ्कुरम्–मोडल युनाइटेड नेसन्स (एएमयुएन)को तेस्रो संस्करण सोमबार विभिन्न छवटा सङ्कल्प पारित गर्दै सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघका छवटा कमिटीमा अध्ययन, अनुसन्धान र छलफलपछि ती सङ्कल्प पारित भएका हुन् ।
कार्यक्रम समापनलाई सम्बोधन गर्दै प्रमुखअतिथि तथा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले भोलिका नेतृत्वदायी नागरिक उत्पादन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण र जलवायु परिवर्तनजस्ता समय सान्दर्भिक विषय समेटेर लगातार तीन वर्षदेखि गरिएको तीनवटै संस्करण फलदायी भएको बताए ।
संयुक्त राष्ट्रसंघीय वातारण कार्यक्रम (युएनइपी)अन्तर्गत ‘सुरक्षित भविष्यका लागि जलवायु उत्थानशीलता’, विश्व स्वास्थ्य सङ्गठनअन्तर्गत ‘वाधाविहीन स्वास्थ्यसेवाको पहुँच’, संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्अन्तर्गत ‘सुरक्षित वर्तमान ः स्थिर भविष्य’, मानवअधिकार परिषद्अन्तर्गत ‘सुरक्षित भविष्यका लागि नागरिक गरिमा’ विषयहरू समेटिएका थिए । मानवअधिकार परिषद्ले अनगानिस्तानमा भइरहेको नीतिगत हिंसा तथा मानवअधिकार उल्लङ्घनको विषयमा केन्द्रित रहेको थियो ।
यस्तै, संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत ‘कृत्रिम बुद्धिमत्ताको युगमा अनलाइन शोषणविरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्र’लाई सुदृढ बनाउने, युनेस्कोअन्तर्गत ‘वाधाविहीन शिक्षा प्राप्ति’को विषयलाई प्राथमिकताका साथ उठाइएको छ । जसअन्तर्गत ‘द्वन्द्व र सङ्कटमा उदीयमान प्रविधिमार्फत शिक्षाको अधिकार सुरक्षा’ गर्ने विषयहरू उठान गरिएको छ ।
छवटा समितिबाट पारित भएका एजेन्डाहरु
त्रिदिवसीय कार्यक्रममा विभिन्न देशका प्रतिनिधिहरूले विविध विषयको प्रतिनिधित्व गरेका थिए । छवटा समितिमध्ये संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा मह¤वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा रहेका खतराहरूको सम्बोधन’ विषयक सङ्कल्प पारित भएको छ ।
यस्तै, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमअन्तर्गत ‘एल निनो’ र ‘ला निनो’सँग सम्बन्धित चरम मौसमी घटनाविरुद्ध विश्वव्यापी जलवायु उत्थानशीलता सुदृढ गर्ने कार्यसूचीलाई सम्बोधन गर्ने सङ्कल्प पारित गरिएको छ । एमुन च्याप्टर ३.० का महासचिव प्रमोद थपलियाले ‘वर्षा, पानीको उपलब्धता, बाढी, खडेरी, कृषि तथा जोखिममा रहेका समुदायहरूमा ‘एल निनो’ र ‘ला निनो’को बारम्बार पर्ने प्रभावहरूलाई स्वीकार गर्दै मौसमसम्बन्धी निगरानी, पूर्व–सूचना प्रणाली, प्राविधिक सहयोग र क्षमता अभिवृद्धिमा जोड दिने सङ्कल्प पारित गरिएको बताए ।
यसैगरी, संयुक्त राष्ट्रसंघको अर्को संगठन युनेस्कोअन्तर्गत ‘उदीयमान प्रविधिहरूका माध्यमबाट द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’ गर्ने सङ्कल्प पारित भएको उपमहासचिव रीताकुमारी उपाध्यायले बताइन् । यसअन्तर्गत सशस्त्र द्वन्द्व र सङ्कटका कारण शिक्षामा पर्ने अवरोधलाई स्वीकार गर्दै, शिक्षाको निरन्तरता कायम राख्न तथा गुणस्तरीय शिक्षामा पहुँच सुदृढ गर्न उदीयमान प्रविधिहरूको सम्भावनालाई आत्मसात् गरिएको उनले जानकारी दिइन् ।
यस्तै, संयुक्त राष्ट्रसंघीय बाल कोषअन्तर्गत कृत्रिम बुद्धिमत्ता (एआई)को युगमा अनलाइन शोषण विरुद्ध विश्वव्यापी बाल संरक्षण संयन्त्रहरूलाई सुदृढ पार्ने सङ्कल्प पारित भएको छ ।
यसैगरी, विश्व स्वास्थ्य संगठनअन्तर्गतको ‘चिकित्सासम्बन्धी नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताहरूको रोकथाम’ विषयक कार्यसूचीमा अध्ययन, अनुसन्धान र छलफल गरी खोप, रोग निदान विधि, उपचार पद्धति, चिकित्सा उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य प्रविधिहरूमा पहुँचसम्बन्धी विद्यमान असमानताहरूलाई सम्बोधन गरी विशेषतः यस्ता असमानताले विकासोन्मुख देशहरू, ग्रामीण समुदायहरू र जोखिममा रहेका जनसमुदायलाई प्रभावित पार्ने तथ्यमाथि जोड दिइएको छ ।
यस्ता असमानताविरुद्ध अन्तर्राष्ट्रिय सहयोग, किफायती चिकित्सा प्रविधिहरूमा समान पहुँच, प्रविधि हस्तान्तरण, क्षेत्रीय उत्पादन, सुदृढ स्वास्थ्य पूर्वाधारलगायतका विषयमा गहन छलफल गरी पारित गरिएको छ ।
यसैगरी, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा व्याप्त प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’ विषयमा छलफल भएको थियो ।
कार्यक्रमका सल्लाहकार एवं विद्यालयका प्रधानाध्यापक सुमन पौडेलले ‘एएमयुएन’ विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास र कूटनीतिक सीप अभिवृद्धिको प्रभावकारी मञ्च भएको बताए । उनका अनुसार कार्यक्रमले सहभागीलाई विश्वव्यापी समस्याबारे बुझ्न, तिनका कारण पहिचान गर्न र सम्भावित समाधान प्रस्तुत गर्न अवसर दिन्छ । ‘एएमयूएनले विद्यार्थीलाई आफ्नो विचार आत्मविश्वासका साथ प्रस्तुत गर्न र प्रतिभा प्रदर्शन गर्न प्रेरित गर्छ’, उनले भने ।
कार्यक्रमका महासचिव सहप्राचार्य प्रमोद थपलियाले भविष्यका नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत् सहभागीहरुले सामाजिकीकरणको मह¤व बोध गरेको, ‘डिवेट’ गर्ने कला सिकेको र सहभागीहरुमा समालोचनात्मक चिन्तनको विकास भएको र सहभागीहरुमा कुटनीतिक सीपको विकास भएको बताए ।
कार्यक्रममा चितवन, नवलपरासी र काठमाडौँका विद्यालयहरूबाट २१६ जना विद्यार्थीहरूको सहभागिता रहेको र सहभागी विद्यार्थीहरूले विश्वव्यापी समस्याका बारेमा आफूहरूले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधनसमेत सुझाएको उपमहासचिव उपाध्यायले जानकारी दिइन् । विद्यालयका आवासीय निर्देशक नइम चौधरीले स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन तेजस्वी पन्त, ओजस्वी न्यूरे र अनुष्का भण्डारीले गरेका थिए ।





