२०८३ मंसिर २ मंगलवार
२०८३ मंसिर २ मंगलवार

अमिलियामा दाताको सहयोगमा सुविधासम्पन्न वृद्धाश्रम भवन निर्माण

रत्ननगर, चितवन । पूर्वी चितवनको रत्ननगर–१३ अमिलियास्थित असहाय वृद्ध कल्याण समाजमा दाताहरूको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । एक करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको भवनको आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा तथा शान्ति मेड नेपाल–स्वीट्जरल्याण्डका संस्थापक डा. रुथ गोनसेथ र कन्ट्री डाइरेक्टर कुर्त यान्सरले संयुक्त रूपमा उद्घाटन गरे ।

शान्ति मेड नेपाल–स्वीट्जरल्याण्डको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको भवनमा आठ वटा कोठा रहेका छन् । तीमध्ये पाँच वटा कोठामा संलग्न शौचालयको व्यवस्था गरिएको छ । भवन निर्माणका लागि संयोजन गरेका व्यवसायी तथा समाजसेवी देवेन्द्र श्रेष्ठका अनुसार आश्रमकी संस्थापक स्वर्गीय निरकला शर्माले पूर्वाधार अभावका बीच पनि आश्रम सञ्चालन गर्दै भवन विस्तारका लागि निरन्तर पहल गरेकी थिइन् ।

श्रेष्ठले भवनको दोस्रो तला निर्माणको काम निरकला शर्मा जीवित रहँदादेखि सुरु भएको स्मरण गर्दै उनको सपनाअनुसार आज सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको बताए ।

आश्रमकी अध्यक्ष उमा सापकोटाले यसअघि भवनको पहिलो तला मात्रै सामान्य अवस्थाको रहेकोमा अहिले दोस्रो तला निर्माणसँगै दुवै तलामा आवश्यक फर्निचरसमेत व्यवस्थापन गरिएको जानकारी दिइन् । नयाँ संरचनाले आश्रमको सेवा क्षमता र गुणस्तर दुवै बढाएको उनको भनाइ छ ।

नवनिर्मित दोस्रो तलामा आवासीय कोठासँगै बहुउद्देश्यीय हलसमेत निर्माण गरिएको छ । हाल आश्रममा १२ जना वृद्धवृद्धा आश्रित रहेका छन् । भवन विस्तारपछि आश्रमको क्षमता २२ जनासम्म पुगेको छ ।

आश्रयसँगै वृद्धवृद्धालाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइँदै आएको छ । बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यले आश्रममा बसोबास गर्ने वृद्धवृद्धाका लागि निःशुल्क औषधि तथा उपचार सेवा उपलब्ध गराउँदै आएको र यसलाई निरन्तरता दिइने बताए।

असहाय वृद्ध कल्याण समाजकी संस्थापक स्वर्गीय निरकला शर्माले विसं २०५९ मा छ कठ्ठा जग्गा खरिद गरी आश्रम स्थापना गरेकी थिइन्। चितवनमा २५ वर्ष अध्यापन गरेपछि अवकाश रकमस्वरूप प्राप्त २५ हजार रुपैयाँबाट उनले आश्रम सञ्चालनको आधार तयार पारेकी थिइन् । भवन निर्माणका लागि पछि विभिन्न दाताको सहयोग जुटाइएको थियो। महायज्ञमार्फत संकलित एक करोड ९७ लाख रुपैयाँबाट भवनको जग निर्माण गरिएको थियो ।

आश्रममै सेवा गर्दागर्दै २०८१ कात्तिक १० गते निरकला शर्माको निधन भएको थियो। जीवनको अन्तिम समयसम्म उनले आश्रमका वृद्धवृद्धाको सेवा गर्दै आएकी थिइन् ।

उद्घाटन समारोहमा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, रत्ननगरका पूर्व नगरप्रमुख नारायण वन, रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।