
रत्ननगर, चितवन । पूर्वी चितवनको रत्ननगर–१३ अमिलियास्थित असहाय वृद्ध कल्याण समाजमा दाताहरूको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण गरिएको छ । एक करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको भवनको आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटा तथा शान्ति मेड नेपाल–स्वीट्जरल्याण्डका संस्थापक डा. रुथ गोनसेथ र कन्ट्री डाइरेक्टर कुर्त यान्सरले संयुक्त रूपमा उद्घाटन गरे ।
शान्ति मेड नेपाल–स्वीट्जरल्याण्डको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको भवनमा आठ वटा कोठा रहेका छन् । तीमध्ये पाँच वटा कोठामा संलग्न शौचालयको व्यवस्था गरिएको छ । भवन निर्माणका लागि संयोजन गरेका व्यवसायी तथा समाजसेवी देवेन्द्र श्रेष्ठका अनुसार आश्रमकी संस्थापक स्वर्गीय निरकला शर्माले पूर्वाधार अभावका बीच पनि आश्रम सञ्चालन गर्दै भवन विस्तारका लागि निरन्तर पहल गरेकी थिइन् ।
श्रेष्ठले भवनको दोस्रो तला निर्माणको काम निरकला शर्मा जीवित रहँदादेखि सुरु भएको स्मरण गर्दै उनको सपनाअनुसार आज सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको बताए ।
आश्रमकी अध्यक्ष उमा सापकोटाले यसअघि भवनको पहिलो तला मात्रै सामान्य अवस्थाको रहेकोमा अहिले दोस्रो तला निर्माणसँगै दुवै तलामा आवश्यक फर्निचरसमेत व्यवस्थापन गरिएको जानकारी दिइन् । नयाँ संरचनाले आश्रमको सेवा क्षमता र गुणस्तर दुवै बढाएको उनको भनाइ छ ।
नवनिर्मित दोस्रो तलामा आवासीय कोठासँगै बहुउद्देश्यीय हलसमेत निर्माण गरिएको छ । हाल आश्रममा १२ जना वृद्धवृद्धा आश्रित रहेका छन् । भवन विस्तारपछि आश्रमको क्षमता २२ जनासम्म पुगेको छ ।
आश्रयसँगै वृद्धवृद्धालाई स्वास्थ्य सेवा पनि उपलब्ध गराइँदै आएको छ । बकुलहर रत्ननगर अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यले आश्रममा बसोबास गर्ने वृद्धवृद्धाका लागि निःशुल्क औषधि तथा उपचार सेवा उपलब्ध गराउँदै आएको र यसलाई निरन्तरता दिइने बताए।
असहाय वृद्ध कल्याण समाजकी संस्थापक स्वर्गीय निरकला शर्माले विसं २०५९ मा छ कठ्ठा जग्गा खरिद गरी आश्रम स्थापना गरेकी थिइन्। चितवनमा २५ वर्ष अध्यापन गरेपछि अवकाश रकमस्वरूप प्राप्त २५ हजार रुपैयाँबाट उनले आश्रम सञ्चालनको आधार तयार पारेकी थिइन् । भवन निर्माणका लागि पछि विभिन्न दाताको सहयोग जुटाइएको थियो। महायज्ञमार्फत संकलित एक करोड ९७ लाख रुपैयाँबाट भवनको जग निर्माण गरिएको थियो ।
आश्रममै सेवा गर्दागर्दै २०८१ कात्तिक १० गते निरकला शर्माको निधन भएको थियो। जीवनको अन्तिम समयसम्म उनले आश्रमका वृद्धवृद्धाको सेवा गर्दै आएकी थिइन् ।
उद्घाटन समारोहमा पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, रत्ननगरका पूर्व नगरप्रमुख नारायण वन, रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
चितवन । राप्ती नदीको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १ गते राप्ती नदी दिवस मनाइँदैछ । चितवन उपत्यकामार्फत पूर्वदेखि पश्चिमसम्म बग्ने राप्ती दिवसका अवसरमा मकवानपुरको भीमफेदीबाट चितवनको गोलाघाटसम्म नदी किनारका विभिन्न स्थानमा एकैसाथ बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो ।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको संयोजन तथा चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, पर्यटन व्यवसायी, मकवानपुर र चितवनका डिभिजन वन कार्यालयलगायत विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा कार्यक्रम हुन लागेको हो ।
अभियानका संयोजक अपिल घिमिरेले राप्ती नदीको मुहान क्षेत्र मकवानपुरको भीमफेदीबाट चितवनको गोलाघाटसम्म एकैपटक सरसफाइ गरी नदी संरक्षणबारे जनचेतना फैलाउने उद्देश्य रहेको बताए । उनले भने, “हाम्रो अभियान भनेको नदीलाई संरक्षण गर्नु हो । सरसफाइ गरी मङ्सिर १ गते दिवसका रूपमा मनाउन थालेका हौँ । विसं २०७२ देखि यो अभियान सञ्चालन गरेका छौँ । विगत चार वर्षदेखि दिवसकै रूपमा मनाउन थालेका हौँ ।”
उनका अनुसार गत वर्ष एकैपटक १६ स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्ष अझ बढी स्थान र सङ्घसंस्थाको सहभागिता रहने अपेक्षा गरिएको छ । दिवसका रूपमा एक दिन सरसफाइ गरे पनि नदी संरक्षणका लागि हरेक दिन सरसफाइमा जुट्न आवश्यक रहेको उनले बताए ।
मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई विभिन्न सहायक नदीहरूसँग जोडिँदै हेटौँडा, मनहरि र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यसका सहायक नदीहरू कर्रा, लोथर, खगेरीलगायत पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
राप्ती नदी अति सङ्कटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवं आगन्तुक चराचुरुङ्गीको महत्त्वपूर्ण बासस्थान हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुको संरक्षणका लागि पनि यो नदी महत्त्वपूर्ण रहेको अभियानका संयोजक घिमिरेले बताए । नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग समेत राप्ती नदीको गहिरो सम्बन्ध रहेको छ ।
नदीमा फालिने प्लास्टिकजन्य फोहर तथा अन्य प्रदूषणका कारण जलचरको बासस्थान र नदीको पारिस्थितिक प्रणालीमा असर पर्दै गएको संयोजक घिमिरेको भनाइ छ । नदीमा बढ्दो मानवीय चाप र फोहरमैला न्यूनीकरण गर्दै जलचर तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्न सरसफाइसँगै जनचेतना फैलाउन अभियानले सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।
अभियान सबैको साझा भएकाले नदीको महत्त्व र संरक्षणको आवश्यकताबारे बुझ्न तथा सरसफाइमा सहभागी हुन उनले स्थानीयवासी, संरक्षणकर्मी, युवा, पर्यटन व्यवसायी र सरोकार भएका सबैलाई आग्रह गरे । दिवसका दिन बिहान ८स्०० बजेदेखि आआफ्नो पायक पर्ने राप्ती नदी किनारका स्थानमा उपस्थित भई अभियानमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।
भरतपुर । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा चितवन राइनोजविरुद्ध २४ रनको जित निकालेको छ । यो जितका बाबजुद कर्णाली प्लेअफमा पुग्न भने वञ्चित भएको छ ।
उसले यसपटक सात खेलमध्ये चारमा हार तथा तीन खेलमा मात्र जित निकाल्यो । कर्णालीविरुद्ध हारको सामना गरे पनि चितवनले प्लेअफमा स्थान बनाएको छ ।
आइतबार कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । उसका लागि कामिल मिसराले २५, उसमा मिरले अविजित २८, कुशल मल्लले १८ र देव खनालले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमासमेत रन जोड्न सकेनन् ।
बलिङतर्फ कर्णालीका लागि हुसेन तलातले ३, पवन सर्राफ र मार्क वाटले समान २/२ तथा सोमपाल कामीले १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो । उसका लागि हुसेन तलातले अविजित ५१, आरिफुल इस्लामले ३५, गुलशनकुमार झाले १८ र पवन सर्राफले १५ रन बनाए ।
बलिङतर्फ चितवनका लागि सलाहुद्दीन खान, उसामा मिर र कमल सिंह ऐरीले समान २/२ तथा कप्तान सिकन्दर रजा र रिजन ढकालले १/१ विकेट लिए ।
चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल) हेर्न बसमा काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताए ।
यो सबै समस्या पृथ्वी राजमार्गमा घोप्टेभिरको पहिरोका कारण भएको हो । चलिरहेका सवारी कतिबेला पहिरोले रोक्छ भन्नसक्ने अवस्था छैन । मुग्लिन बजारबाट झण्डै तीन किलोमिटर कुरिनटारतर्फ घोप्टेभिरमा झण्डै ३० मिटर माथिबाट सुक्खा पहिरो खसिरहेको छ । यसै कारण गन्तव्यमा पुग्ने निश्चितता सडकमा नभएको यात्रुको गुनासो छ ।
काठमाडौँबाट शनिबार चितवनतर्फ आउँदै गर्नुभएका सरोज रेग्मी कुरिनटार आइपुग्दा लामो सवारी जाम देखिएपछि तर्सिए । उनले भने, “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यही रोकिन पर्यो ।” झण्डै एक घण्टाको पर्खाइपछि उनले सडक पार गर्नुभयो । वबेलाबेलामा ढुङ्गा खसिरहँदा गन्तव्यसम्म पुग्ने अनिश्चितता र जोखिम उत्तिकै बढी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गा सहितको पहिरो खसिरहेको बताए । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी बनाइएको भए पनि आज बिहान पहिरो खसेर एकतर्फी सडक सञ्चालनमा आएको उनले जानकारी दिए ।
प्रहरी उपरीक्षक पौडेलले भने, “आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ । सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ ।” सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय सवारी जाम हुने गरेको उनले बताए ।
तिहारको भाइटीकाको अघिल्लो दिन राति ११:०० बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको उनको भनाइ छ । उनले भने, “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन ।” सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न भनिएको उनले बताए ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडकको छेउको डाँडो कमजोर भएर सुक्खा पहिरो खसिरहेको हो । तत्काल अहिले भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्ने गरी काम गर्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उनले बताए । जतिसक्दो जोखिमपूर्ण पहिरो खसेर जोखिम कम गर्नेबाहेकको विकल्प अहिले तत्काल नभएको उनको भनाइ छ ।
यस पहाडको पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उनले बताए । पहिरो स्थलमा रातको समयका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्नेगरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा निर्माण कम्पनीले राखेको मिश्रले जानकारी दिए ।
यो सडक हुँदै १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् । सवारी उच्च चाप हुने यस सडक थोरै समय रोकिँदा पनि सवारीको लाम लामो हुने गर्दछ । अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा रहनुपर्दा आफ्ना अत्यावश्यक काम गर्नबाट बञ्चित हुने गरेका छन् ।
चितवन । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको नारायणगढस्थित नारायणी नदी किनार आइतबार बेहुलीझै सिँगारिएको छ । छठ पूजाका लागि झिलिमिली बत्ती, आकर्षक स्वागतद्वार, पूजाका लागि बनाइएका सजावटयुक्त पाल र विभिन्न पूजा मण्डपले नारायणी किनारलाई उत्सवमय बनाएको छ ।
नारायणी नदी किनारमा साँझपख व्रतालु तथा भक्तजनको बाक्लो भीड लागेको छ । नदी किनारमा बनाइएका पालमा व्रतालुहरू पूजा आराधनामा व्यस्त छन् भने कतिपयले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । नदीको गहिराइतर्फ जान नदिन सुरक्षाकर्मी परिचालन गरिएको छ । नदी किनारको माथिल्लो भागमा बनाइएको मञ्चबाट पूजासम्बन्धी धार्मिक मन्त्रोच्चारण भइरहेको छ । समग्रमा नारायणी किनारको वातावरण उल्लासमय बनेको छ ।
नारायणी किनारमा यस वर्ष छठ पर्व मनाउन तराईवासीसँगै पहाडी समुदायका भक्तजनको पनि उल्लेख्य सहभागिता देखिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढको आयोजनामा भएको छठ पूजाका लागि यसपालि आकर्षक स्वागतद्वार, झिलिमिली पाल तथा आकर्षक मूर्ति राखिएका छन् ।
समितिका अध्यक्ष जयकिशोर पाण्डेयका अनुसार यस वर्ष छठ पूजामा १० हजारभन्दा बढी भक्तजन सहभागी हुने अनुमान गरिएकामा अपेक्षाभन्दा बढी भक्तजन आएका छन् । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या बढेको उनले बताए । पूजा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको उनले जानकारी दिए । समितिले आफ्नै तर्फबाट पनि सुरक्षागार्ड परिचालन गरेको र अहिलेसम्म शान्तिपूर्ण वातावरणमा पूजा भइरहेको उनको भनाइ छ ।
उनका अनुसार कतिपय व्रतालु आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बस्नेछन् भने कतिपय भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन पुनस् नदी किनारमा आउनेछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा सम्पन्न गरेपछि चार दिनसम्म मनाइने छठ पर्व समापन हुनेछ ।
पर्वको मुख्य विशेषता जलाशयमा उभिएर अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिइ पूजा गर्नु हो । छठ पर्व प्रकृति र पञ्चतत्वको पूजासँग जोडिएको अध्यक्ष पाण्डेयले बताए । सूर्य, जल, माटो, वायु र आकाशको महत्व दर्शाउने यस पर्वमा नदी तथा जलाशयमा पुगेर पूजा र अर्घदान गर्ने धार्मिक परम्परा रहेको उनको भनाइ छ ।
नारायणी, त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल भएकाले नारायणी नदी किनारमा छठ पूजाको विशेष धार्मिक महत्त्व रहेको उनले बताए । यहाँ काठमाडौँलगायत देशका विभिन्न स्थानबाट समेत भक्तजन आएर पूजा गर्ने गरेको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणी किनारमा यस वर्ष हर्षोल्लासका साथ छठ पर्व मनाइएको बताए । साँझ छठ पूजास्थल पुग्नुभएका उहाँले पूजामा सहभागी भई भक्तजनलाई उत्साहका साथ पर्व मनाउन शुभकामना दिए । उनले भने, “आज यहाँ निकै भक्तजन आएको देखेँ । तराईमा पनि यस किसिमको देखेको थिइन् ।” उनले शान्ति र सद्भाव कायम राख्दै परम्पराअनुसार उत्साहका साथ छठ मनाउन सबैलाई आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले नारायणी नदी छठ पर्व मनाउने प्रमुख गन्तव्य भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रहरी परिचालन गरिएको बताए । उनले नदी किनारमा प्रहरी सहायता कक्ष स्थापना गरी पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सहयोग गरिने जानकारी दिए ।
नदीमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि डुङ्गालगायत उद्धार उपकरण तयारी अवस्थामा राखिएको उनले बताए । नारायणी किनारसँगै जिल्लाका विभिन्न नदी तथा तलाउमा पनि छठ पर्व मनाइँदैछ ।





