
भरतपुर । भरतपुर अस्पताल नर्सिङ कलेजमा बिएनएस तेस्रो वर्षमा अध्ययनरत गैँडाकोटकी २८ वर्षीया सन्तोषी श्रेष्ठ यही असार १४ गतेदेखि बेपत्ता भएकी छन् ।
घरबाट असार १४ गते निस्किएकी श्रेष्ठ हालसम्म फेला नपरेपछि खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ घर भई हाल गैँडाकोट–२ मा बस्दै आएकी उनी असार १४ गते बेलुकी करिब ८ बजे बागमती प्रदेश ०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर घरबाट निस्किएकी थिइन् । खोजतलासका क्रममा उक्त स्कुटर देवघाटको हनुमानचोक क्षेत्रमा पार्किङ गरिएको अवस्थामा फेला परेको छ भने हालसम्म श्रेष्ठको कुनै अत्तोपत्तो लागेको छैन ।
उनलाई कसैले देखे–भेटेमा वा उनीबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ ।
चितवन । बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् ।
दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्को मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो । मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो । प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिने उनले बताए । हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ । क्रमशः नसक्नेका लागि एकदुई वटा मात्रै काउन्टर राख्ने योजना रहेको उनले बताए । उनले भने, ‘म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु, नसक्नेहरूका लागि एकदुई वटा काउन्टरमा झार्नुपर्छ ।’
मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डा बगालेले बताए । स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बिमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ । अबदेखि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुनेछ । क्रमशः काउन्टर घटाउँदै लैजाने उनले बताए ।
रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ । परीक्षण गर्दा दिईएको रसिदमा रहेको बार कोर्ड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ । यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् । निजी अस्पतालमा स्वास्थ्य बीमा बन्द भएपछि यहाँ बिरामीको चाप बढ्दै गएको छ । अस्पताल आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गर्दछन् । सबै सुविधा अस्पतालमा हुने भएपछि टाढाटाढाबाट पनि बिरामी आउने गरेका छन् ।
चितवन । रत्ननगर–५ वडा कार्यालयको समन्वय एवम् विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नगर स्वास्थ्यकेन्द्र टरौलीमा महिलाहरूका लागि स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर (भिआइए) जाँच, स्तन क्यान्सर परीक्षण तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको छ ।
नगर स्वास्थ्यकेन्द्र टरौली इन्चार्ज गोविन्दप्रसाद शर्माका अनुसार शिविरमा १२० जना महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । यस्तै, ५५ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकोमा एक महिलाको थप परीक्षण तथा उपचारका लागि रिफर गरिएको छ । त्यसैगरी ६५ जनाको स्तन क्यान्सर परीक्षण गरिएकोमा ६ जनामा थप परीक्षण आवश्यक देखिएकाले उपचारका लागि रिफर गरिएको शर्माले जानकारी दिए ।
कार्यक्रममा प्रमुखअतिथि रत्ननगर–५ का वडाध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईंले यस्ता स्वास्थ्य शिविरबाट महिलाहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै क्यान्सरजस्ता जटिल रोगको समयमै पहिचान गर्न महत्त्वपूर्ण सहयोग पुग्ने बताए । उनले स्थानीय सरकार नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य केन्द्र प्रमुख गोविन्द शर्माले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर समयमै पहिचान भए उपचार सफल हुने सम्भावना धेरै रहने भएकाले प्रत्येक महिलाले नियमितरूपमा स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिए । उनले थप परीक्षणका लागि रिफर गरिएका सेवाग्राहीलाई समयमै अस्पतालमा सम्पर्क गरी उपचार प्रक्रिया अघि बढाउन आग्रह गरे। शिविरमा वडा सदस्य निलु शर्मा खतिवडा , ज्ञानु सुनार, स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, क्षेत्रपुरस्थित सुपारी टोलमा मिनि ट्रक ब्याक गर्ने क्रममा सुतिरहेका युवकलाई किच्दा गम्भीर घाइते भएका छन् ।
पार्किङ गरी राखेको बागमती प्रदेश ०६–००१ ख ०४४६ नम्बरको मिनि ट्रकपछाडि ब्याक गर्ने क्रममा सोही स्थानमा सुतिरहेका भरतपुर–२७ बस्ने २६ वर्षीय जीतप्रसाद काफ्ले गम्भीर घाइते भएका हुन् ।
घाइते युवकको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र मिनि ट्रक र चालक इच्छाकामना–७ बस्ने २९ वर्षीय सन्देश प्रजा वडा प्रहरी कार्यालय नारायणगढको नियन्त्रणमा रहेको प्रहरीलेृ जनाएको छ ।
चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु १०० कटौती गरिएको छ ।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो ।
यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु १९४.५० र डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य रु १९४ तोकिएको छ ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर रु २२९ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।
मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु दुई हजार ६० मा प्राप्त गर्नेछन् । यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर रु दुई हजार १६० रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताएका छन् । चितवनको भरतपुर महानगरपालिका-२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले रैथाने बाली तथा अदुवा, लसुन, बेसार र प्याजजस्ता विधामा उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको जानकारी दिए ।
मुख्यमन्त्रीले भने, ‘अहिलेको बजेटमा हामीले एक पालिका, एक रैथाने उत्पादन, एक संकलन केन्द्र नीति अघि सारेका छौँ । सोहीअनुरूप प्रशोधन, ब्रान्डिङ र बजारीकरण गर्ने पालिकालाई प्रदेश सरकारले विशेष अनुदान दिँदैछ ।’
महिला दिदीबहिनीहरू आफैँ अग्रसर भएर बिचौलियाको प्रभावविहीन सिधैँ किसानबाट उत्पादित ६५ टन बेसार संकलन, प्रशोधन र ब्रान्डिङ गरी बजारमा ल्याएकामा खुसी व्यक्त गर्दै उनले संस्थाको प्रगतिको उच्च सम्मान गरे । बजेट पारित भएलगत्तै साउनभित्रै प्रक्रिया अगाडि बढाई यस्ता उद्यमशील महिलाहरूद्वारा सञ्चालित उद्योगलाई थप अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।
केही सहकारीहरूमा सर्वसाधारणको रकम दुरुपयोग हुँदा समाजमा त्रास र अविश्वास बढेको तर्फ इङ्गित गर्दै उनले सफल सामाजिक उद्यमी महिला सहकारीजस्ता उत्पादन र विशुद्ध कर्ममा जोडिएका संस्थाहरूले नै सहकारी क्षेत्रको गरिमा जोगाउने दाबी गरे ।
कार्यक्रममा बागमती प्रदेशका सहकारी मन्त्री बिनु रायमाझीले किसान, सहकारी, विकास साझेदार र निजी क्षेत्रको संयुक्त उत्पादन ‘चन्द्र सूर्य’ बेसार एक उत्कृष्ट उदाहरण भएको बताए । स्थानीय उत्पादनको मूल्य एवं बजार पहुँचमा लगानी गरेर कृषि समुदायलाई दीर्घकालीन फाइदा पुर्याउने उद्यमहरू निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मीले विशुद्ध किसानले बनाएको ब्रान्ड ‘चन्द्र सूर्य’ बेसारले यहाँका महिला किसान र सहकारी सदस्यहरूको नेतृत्व तथा उद्यमशीलताको भावनालाई उजागर गरेको बताए । उनले यहाँको अर्गानिक उत्पादनका कारण उपभोक्ताले शुद्ध बेसार सेवन गर्न पाउने बताउँदै किसानले आफैँ खेती, संकलन, उत्पादन, ब्रान्डिङ र बजारीकरण गर्न पाउनु सुखद क्षण भएको उल्लेख गरे ।
हेफर लामो समयदेखि साना किसानसँग मिलेर समावेशी, उत्थानशील र दिगो खाद्य प्रणाली निर्माणका लागि काम गर्दै आएको बताउँदै उनले नेपालका चार लाखभन्दा बढी परिवारसँग सहकार्य गर्दै कृषिलाई दिगो आम्दानी, खाद्य सुरक्षा र समृद्धिको आधार बनाउन सहयोग गरिरहेको जानकारी दिए ।
सानो प्रयासबाट सुरु भएको उद्योग आज ब्रान्ड बन्दै
भरतपुरको भतेरीमा स्थापना भएको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था महिलाकै नेतृत्वमा सञ्चालित सहकारी हो । संस्थाले आफ्ना ३०० जना सदस्य र बाह्य चितवनकै र तनुहँका पाँच सहकारीका ७०० जना गरी कुल एक हजार किसानहरूमार्फत बेसार संकलन तथा ब्रान्डिङ गरी बिक्री गर्दै आएको छ ।
संस्थाकी उपाध्यक्ष राधिका भट्टराईले सहकारी २१० जना सदस्यबाट सुरु भई हाल ९०५ जना सदस्य पुगेको जानकारी दिइन् । उनका अनुसार सुरुमा १०० केजी बेसार उत्पादन गरी सुरु गरिएको उद्योगबाट हाल ६५ टन सम्म उत्पादन गर्न सहकारी सफल भएको छ ।
संस्थाकी अध्यक्ष मधुमाया गुरुङले विगतका संघर्षका दिनहरू स्मरण गर्दै भनिन्, ‘पहिला हातले काटेर, सुकाएर नारायणगढ लगेर पाउडर बनाई सामान्य प्याकेज गरिन्थ्यो । पहिला आफैँ पसल तथा होटलमा गएर बिक्री गर्नुपर्थ्यो । आज सबैको मिहिनेतले ‘चन्द्र सूर्य’ ब्रान्ड बनेको छ, आफ्नो ब्रान्ड बजारमा देख्दा खुसी मिल्छ । अब बजार खोज्न भौँतारिनु पर्दैन ।’ उनका अनुसार संस्थाको उद्योगमा अहिले आधुनिक मेसिनबाट प्रशोधन, उत्पादन, प्याकेजिङ र ब्रान्डिङ गरी बजार पठाउने गरिएको छ ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरलगायत स्थानीय सरकारका प्रतिनिधि एवं संस्थाका सदस्यको सहभागिता थियो ।
चितवन । चितवनमा पर्यापर्यटनसँगै धार्मिक पर्यटनलाई पनि जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । बागमती प्रदेश सरकार पर्यटन मन्त्रालय र भरतपुर धार्मिक तथा पर्यापर्यटन विकास समितिले आयोजना गरेको धार्मिक पर्यटन प्रवर्द्धनात्मक अन्तर्क्रियामा बोल्दै सरोकारवालाले चितवनमा पर्यापर्यटनसंगै धार्मिक पर्यटनको प्रचुर संभावना भएकाले दुवै क्षेत्रलाई सँगै लैजानुपर्नेमा जोड दिए ।
बागमती प्रदेश पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले आगामी वर्ष चितवनलाई माइस टुरिजमको रुपमा प्रदेश सरकारले प्रवर्द्धन गर्ने भन्दै धार्मिक र पर्यापर्यटनलाई सँगै लैजानुपर्ने बताए । बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीले पर्यटकहरुलाई नयाँ ठाउँ देखाउनका लागि धार्मिक पर्यटनलाई जोड्नुपर्ने बताए । उनले प्रदेश सरकारले सन् २०२५ देखि २०४० सम्मको रणनीति तयार पारेर पर्यटनको क्षेत्रमा काम गरिरहेको बताए ।
भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवनको पर्यटनको संभावना र गर्नुपर्ने काम बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले देवघाटमा मात्रै पनि धेरै मठमन्दिर रहेको भन्दै देवघाट, भरतपुरको जखडीमाई, गणेशधाम, धनगढा, माडीको अयोध्यामधाम, वाल्मीकि आश्रमलगायतलाई जोडेर धार्मिक कोरिडोर निर्माण गर्नुपर्ने बताए ।
भरतपुर धार्मिक तथा पर्यापर्यटन विकास समितिका अध्यक्ष दिनेशकुमार चुकेले धार्मिक पर्यटनलाई बढाउन प्रचार–प्रसार र तीनै तहका सरकारको विशेष लगानी आवश्यक रहेको बताएका थिए । उनले आफू सुरुवातदेखि नै धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न जोड गर्दै आएकोमा अब त्यसलाई वृहत बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले प्रदेश सरकारबाट प्राप्त हुने आयोजनाहरुमा स्थानीय सरकारलाई समेत समेट्दै लैजानुपर्ने बताए । उनले धेरैजसो प्रदेशको आयोजना बारे स्थानीय सरकार बेखबर हुने भएकाले गुणस्तरीय काम हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनले पर्यटन प्रवद्र्धनका लागि सबै संयन्त्रले हातेमालो गर्नुपर्ने बताए । उनले नारायणी नदीलाई अझै ‘सी बिच मोडल’मा व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राखे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माया श्रेष्ठ, ईश्वर सापकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
चितवन । चितवनको रत्ननगर नगरपालिका-१२ जिरौनाका कृषक ठाकुर सापकोटाले कृषि क्षेत्रमा एउटा नयाँ र उदाहरणीय आयाम थपेका छन् । विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका उनले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ ‘वाइन’ र ‘ब्रान्डी’ को सफल उत्पादन परीक्षण गरेका हुन् ।
उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यका साथ उनले विगत एक वर्षदेखि केराका बाइ-प्रोडक्ट (सह-उत्पादन) का लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका थिए ।
सापकोटाले ‘ए एण्ड बी केरा फार्म’ मार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। हावाहुरी, बजारको अभाव तथा अन्य प्राविधिक कारणले बोटमै कुहिने र खेर जाने केरालाई कच्चा पदार्थका रूपमा उपयोग गर्ने सोचका साथ उनले यो परीक्षण थालेका हुन्।
कृषि विकास कार्यालय भरतपुरको प्राविधिक उपकरण, सहयोग र प्रोत्साहनमा सञ्चालन गरिएको अनुसन्धानबाट केराको वाइन उत्पादन पूर्ण रूपमा सफल भइसकेको छ भने ब्रान्डी उत्पादनसम्बन्धी अनुसन्धान पनि अन्तिम सफल चरणमा पुगेको छ।
यो प्रविधि पूर्ण रूपमा पाकेको केरामा हुने प्राकृतिक चिनीको फर्मेन्टेसन (मदिराकरण) प्रक्रियामा आधारित छ। हालको परीक्षण अनुसार एक पटकमा ५०० केजी पाकेको केरा प्रशोधन गर्दा करिब २०० लिटर वाइन उत्पादन गर्न सकिन्छ। त्यसैगरी, ३०० केजी केराबाट करिब १२० देखि १३० लिटरसम्म ब्रान्डी तयार हुने गरेको छ।
सापकोटाले यस व्यवसायलाई ठूलो डिस्टिलरीका रूपमा नभई स्थानीय स्तरमै सञ्चालन हुने ‘माइक्रो-डिस्टिलरी’ (लघु मदिरा उद्योग) का रूपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन्।
गण्डकी गाउँपालिका तथा खोटाङका स्थानीय तहहरूले कोदोको घरेलु मदिरालाई ब्रान्डिङ गरेजस्तै चितवनको केरालाई पनि स्थानीय कानुन तथा कार्यविधिमार्फत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
केराको ब्रान्डिङ गर्न सकिएमा यसले कृषि पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने र चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो एउा उत्कृष्ट स्थानीय कोसेली बन्न सक्ने सापकोटाको विश्वास छ।
हाल परीक्षणका रूपमा करिब एक हजार जनालाई यो पेय पदार्थ चखाइसकिएको र त्यहाँबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले आगामी आर्थिक वर्षदेखि व्यावसायिक उत्पादन र बजार विस्तार गर्ने तयारी भइरहेको छ । हाल परीक्षण चरणमा उनको परिवारका सदस्यसहित उद्योग र बजार व्यवस्थापनमा प्रत्यक्ष रूपमा आठदेखि नौ जना संलग्न छन्।
केराको सदुपयोग र यसका बहुउपयोगी परिकारको प्रवर्द्धन गर्ने उद्देश्यले रत्ननगरको टाँडी बजारस्थित बकुलहर चोकमा छुट्टै आउटलेट समेत सञ्चालनमा ल्याइएको छ । उक्त आउटलेटमा केराको मःमः, चिप्स, पकौडा, छोइला, बनाना चिल्ली तथा अचारलगायतका विभिन्न नौला परिकारहरू उपलब्ध गराइएको छ, जसले स्थानीय उपभोक्ता तथा पर्यटकलाई निकै आकर्षित गरिरहेको छ।
लामो समय केराखेती गर्दा बजारीकरण र प्राकृतिक विपत्तिका कारण बारीमै केरा पाकेर खेर जाने समस्या भोगेपछि यो अवधारणा जन्मिएको बताउँदै सापकोटाले केरालाई विविधीकरण गरी चितवनको छुट्टै पहिचानका रूपमा स्थापित गर्ने र स्थानीय कृषि अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेका छन्।
चितवन । वर्षायाम सुरू भएसँगै पहिरोको जोखिम बढ्न थालेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरो व्यवस्थापनका लागि लोडर, एक्स्काभेटर, ब्याकहोलोडर तथा उपकरण सञ्चालन गर्ने जनशक्ति तयारी अवस्थामा राखेको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षात्का बेला पहिरो खस्न सक्ने जोखिमयुक्त स्थानमा सडक अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै पूर्वतयारी गरिएको हो ।
उनका अनुसार मुग्लिन क्याम्पमा एक लोडर, सेती दोभान क्याम्पमा एक एक्स्काभेटर, एक लोडर र एक ब्याकहोलोडर तयारी अवस्थामा राखिएको छ। त्यसैगरी सडक डिभिजन कार्यालय परिसरमा एक ब्याकहोलोडर तथा कालीगण्डकी करिडोरमा एक लोडर स्ट्यान्डबाइ अवस्थामा राखिएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल हटाएर सवारी आवागमनलाई यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले उपकरणसँगै अपरेटरहरू पनि तयारी अवस्थामा राखिएको लामिछानेले बताए ।
नारायणगढ–मुग्लिन सडक वर्षायाममा लेदोसहितको पहिरो तथा हिउँदमा सुक्खा पहिरोका कारण पटक–पटक अवरुद्ध हुने सडकका रूपमा परिचित छ। काठमाडौँ प्रवेश गर्ने प्रमुख राजमार्गमध्ये एक रहेको यस सडकखण्डबाट दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।
चितवन । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को वार्षिक परीक्षा २०८२ मा सैनिक आवासीय महाविद्यालय चितवनले उत्कृष्ट नतिजा हासिल गरेको छ ।
महाविद्यालयका अनुसार विज्ञान तथा व्यवस्थापन समूहबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ९८.१० प्रतिशत विद्यार्थी वर्गीकृत हुन सफल भएका छन् । उत्कृष्ट शैक्षिक उपलब्धिसँगै महाविद्यालयले जिल्लामै आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः स्थापित गरेको जनाएको छ ।
यसैबीच, खैरहनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले हालै सार्वजनिक गरेको नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा १२ को नतिजा मूल्याङ्कनमा श्री सैनिक आवासीय महाविद्यालय चितवन नगरकै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय बन्न सफल भएको छ ।
महाविद्यालयले यो उपलब्धि विद्यार्थीहरूको निरन्तर मेहनत, अभिभावकको विश्वास तथा शिक्षक–कर्मचारीको समर्पित प्रयासको परिणाम भएको जनाएको छ । साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरू भएसँगै निकुञ्जभित्र सञ्चालन हुँदै आएको जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ । निकुञ्ज प्रशासनका अनुसार आगामी असार १७ गतेदेखि असोजको पहिलो सातासम्म जिप सफारी सेवा स्थगित रहने छ ।
निकुञ्ज कार्यालय, कसराका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको प्रजननका लागि संवेदनशील समय भएकाले संरक्षणलाई प्राथमिकता दिँदै जिप सफारी सञ्चालन रोक्ने निर्णय गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले वर्षाका कारण वनभित्रका कच्ची सडक क्षतिग्रस्त हुने, साना खोला तथा खोल्सामा आकस्मिक बाढी आउने, रुख ढलेर आवागमन अवरुद्ध हुनेजस्ता जोखिम बढ्ने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै सेवा स्थगित गरिएको जानकारी दिए ।
उनका अनुसार निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा सञ्चालन हुने जिप सफारी सेवामा भने कुनै असर पर्ने छैन। ती क्षेत्रमा पर्यटकले पूर्ववत् रूपमा सफारीको सुविधा लिन सक्नेछन् ।
चितवन राष्ट्रिय निकुञ्जका लागि जिप सफारी प्रमुख राजस्व स्रोतहरूमध्ये एक हो । निकुञ्जभित्रको सेवा बन्द रहने अवधिमा अधिकांश पर्यटक मध्यवर्ती क्षेत्रका पर्यटकीय गन्तव्यतर्फ आकर्षित हुने गरेका छन् ।
निकुञ्ज प्रशासनले हरेक वर्ष मध्य असारदेखि असोजको पहिलो सातासम्म वर्षायाम, वन्यजन्तु संरक्षण तथा पर्यटक सुरक्षालाई मध्यनजर गर्दै निकुञ्जभित्रको जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्दै आएको छ ।
चितवन । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युनाइटेड टेक्निकल कलेज (युटेक) भरतपुर–११, चितवनले शैक्षिक सत्र २०८३–०८४ का लागि इन्जिनियरिङ तर्फका स्नातक (व्याचलर अफ इन्जिनियरिङ) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ । गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका साथ कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ ।
कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा चारवर्षे बिई सिभिल इन्जिनियरिङतर्फ ९६ सिट, बिई कम्प्युटर इन्जिनियरिङतर्फ ४८ सिट, बिई इन्फरमेसन टेक्नोलोजी (आइटी)तर्फ ४८ सिट र बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ ४८ सिटमा भर्ना खुला गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीका लागि युटेक कलेज रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
उनका अनुसार इन्जिनियरिङ अध्ययनमा छनोट हुनका लागि यही असार २२ गते दिउँसो १ः०० बजे प्रवेश परीक्षा राखिएको छ । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरू हुने ढकालले जानकारी दिए ।
युटेक कलेजमा अहिले बिई कार्यक्रमअन्तर्गत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बिई इन सिभिल इन्जिनियरिङ, बिई इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बिई इन कम्प्युटर इन्जिनियरिङ र बिई इन्फरमेसन टेक्नोलोजी (आइटी) इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलाइएको हो ।
कलेजले विद्यार्थीहरुको सहजताका लागि विभिन्न प्रकारका छात्रवृत्तिसमेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १०० प्रतिशतसम्मको छात्रवृत्तिको अवसर रहेको छ ।
पोखरा विश्वविद्यालयको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा, आधुनिक प्रयोगशाला तथा अत्याधुनिक शैक्षिक पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन, उद्योग तथा रोजगारीमुखी शिक्षण प्रणाली र अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक सिकाइमा विशेष जोड दिइएको कलेजले जनाएको छ ।
इन्जिनियरिङ क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी भई समयमै भर्ना प्रक्रिया पूरा गर्न कलेजले आग्रह गरेको छ । विस्तृत विवरण र थप जानकारीका लागि फोन नं ०५६–५९३९३१ र मोबाइल नं ९८५५०५०८६० मा सम्पर्क गर्न सकिने कलेजले जनाएको छ ।
United Technical College – Best Engineering College
चितवन । चितवनका गायक तथा सङ्गीतकार सहन प्रधानले असार १५ को दिन पारेर ‘असारे पानी साउने झरी’ बोलको गीत बजारमा ल्याएका छन् ।
दीपक प्रधानले लेखेको उक्त गीतमा रामचन्द्र काफ्लेले स्वर भरेका छन् । सङ्गीतकार सहन प्रधानका अनुसार उक्त असारे गीतमा नेपाली मौलिक संस्कृति तथा पारम्परिक बाजाहरूको सम्बद्र्धन तथा जगेर्ना गर्नुपर्छ भन्ने हेतुले नेपाली मौलिक पारम्परिक बाजाहरु पन्चेबाजा, नर्सिङ्गा, धिमे, भुस्या, सारङ्गीआदि प्रयोग गरिएका छन् । सो गीतको सङ्गीत संयोजन विशाल गुरूङले गरेका हुन् ।
हिलोसँगको हाम्रो माया, खेतको हरियाली र किसानको अथक परिश्रममा समर्पित असार १५ को रमाइलोलाई थप रमाइलो गर्नको लागि द रेबल क्रियसनले ‘असारे पानी साउने झरी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
उक्त म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउत लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन् ।
चितवन । चितवन जिल्लामा धानको क्षेत्रफल बढेको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्यन एकाइ चितवनका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा धानखेती गर्ने क्षेत्रफल बढेको हो ।
एकाइ प्रमुख महेश रेग्मीका अनुसार गत आवको तुलनामा यस आवमा जोन क्षेत्रमा धानखेती गर्ने क्षेत्रफल ४५० हेक्टर बढेर आठ हजार ९०० हेक्टर क्षेत्रफल पुगेको छ । जिल्लाका चार पालिकामा धान जोन कार्यक्रम लागू गरिएको छ ।
जिल्लामा धानखेती हुने २७ हजार ३२५ हेक्टर क्षेत्रफलमध्ये सो क्षेत्र धान जोनले लिएको हो । गत वर्ष सो क्षत्रेफलमा लगाइने धानखेतीबाट एक लाख १३ हजार ८३७ मेट्रिक टन धान उत्पादन भएको थियो ।
कार्यालयले धान जोनका लागि ११ वटा धान रोप्ने मेसिन प्रदान गरेको छ । कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा हाल पाँचदेखि सात प्रतिशत धान रोपाइँ भएको छ ।
कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार गत वर्ष यो समयमा १० देखि १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको थियो । धान रोप्न पुग्ने गरी वर्षा नहुँदा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ कम भएको उनले बताए । धेरै क्षेत्रफलमा धान रोपाइँको तयारी गरिएको भन्दै उनले अब चाँडै किसान धान रोप्न लाग्ने बताए ।
चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बन्न सफल भएको हो ।
अस्पतालले ८९ अङ्क प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अङ्कसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अङ्कसहित तेस्रो भएका छन् भने पाटक अस्पतालको मापन भइरहेको जनाइएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डा. श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका १४ वटा सङ्घीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताए । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि एक हजार ४९७ विभिन्न सूचकहरु बनाएर परीक्षण गरेको हो । गत वर्ष अस्पतालले ८८ अङ्कसहित उत्कृष्ट बनेको थियो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अघिल्लो आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षमा अस्पतालले अझै राम्रो गरेको बताए । बिरामीले पाउने सेवा सुविधा, अस्पतालमा उपलब्ध उपकरण, कामको तालिका, सरसफाइ, औषधि, जनशक्तिको अवस्था सबै कुरालाई अस्पतालले अद्यावधिक गरेको उनको भनाइ छ ।
कुल ६०० शय्याको भरतपुर अस्पतालमा दैनिक दुई हजार ५०० देखि तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा अतिविशिष्ट सेवा सञ्चालन गर्दै आएको छ । जिल्लाका निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि बिमाका बिरामीको चाप यहाँ बढेको छ ।
सूचक राम्रो देखिए पनि बिरामीको उच्च चाप र न्यूनतम स्रोतसाधनमा काम गर्नुपर्दा चाहेर पनि बिरामीको अपेक्षाअनुसार अझै सेवा दिन नसकिएको बगालेले बताए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सफलतापूर्वक सम्पन्न भएको भन्दै जिल्लाका नेताले खुसी व्यक्त गरेका छन् । स्थानीय व्यवस्थापन सम्हालेका रास्वपाका जिल्लास्तरीय नेताहरुले महाधिवेशनस्थल भरतपुरमा गर्ने निर्णय भएसँगै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा चितवनले व्यापक रुपमा प्रचारप्रसार पाएको बताए ।
पार्टीको उर्वरभूमि चितवनलाई प्राथमिकता दिई यहाँ महाधिवेशन गर्ने अवसर प्रदान गरेकामा पार्टी नेतृत्वलाई धन्यवाद दिँदै उनीहरूले गर्मीका बाबजुद सबैको साथ सहयोग प्राप्त गरी पहिलो महाधिवेशन सफल बनाउन आयोजक जिल्लाका तर्फबाट कुनै कसुर बाँकी नराखेको दाबी गरे ।
महाधिवेशनमा आवास र खानपानको व्यवस्थापनको संयोजन गरेका राजन गौतमले चितवन रास्वपाले ऐतिहासिक अवसर प्राप्त गरेको बताए । उनले भने, “झण्डै एक साता देशभरका रास्वपाका नेता, कार्यकर्ता तथा शुभेच्छुक यहाँ बस्दा जिल्लाको समग्र अर्थतन्त्र गतिशील भई जिल्लावासी लाभान्वित भएका छन् ।” चितवनको भूमिले रास्वपाको पहिलो महाधिवेशन गरेर नीति र नेतृत्व चयन गर्ने अवसर पाएको उनले बताए ।
प्राविधिक कारणले महाधिवेशन लम्बिँदा पनि खानपान र आवासमा कुनै कमजोरी हुन नपाएको भन्दै नेता गौतमले भने, “गर्मीका कारण उत्पन्न समस्याबाहेक अरू भएजस्तो लाग्दैन । यस अवसरमा महाधिवेशन अवधिभर अहोरात्र खटिने सबै नेता, कार्यकर्ता, शुभेच्छुकलाई धन्यवाद भन्न चाहन्छु । समग्र चितवनको प्रतिष्ठा बढाउन रास्वपा महाधिवेशन सफल भएको छ ।”
व्यवस्थापनमा खटिनुपर्दा प्राप्त हुनसक्ने पद गुमाउन परको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “चितवनबाहिर महाधिवेशन भएको भए केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन्थेँ होला, भ्याइनभ्याइ व्यवस्थापनमा कुद्नु पर्दा केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गर्न सकिएन ।” साथीहरूको जोडबल रहे पनि व्यवस्थापन कमजोर हुने चिन्ताले उम्मेदवारी दिइन्, मैले पाइनँभन्दा पनि महाधिवेशन सफल भएकामा खुसी छु ।”
यसैगरी जिल्ला सभापति मिनीमाधव खनाल केन्द्र र जिल्लाको टिम अहोरात्र खटिएकै कारण महाधिवेशन सफल भएको बताउँछन् । महाधिवेशन अवधिभर दिनरात, भोकतिर्खा नभनीकन काम गरेकाले नै महाधिवेशन सफल भएको स्पष्ट गर्दै उनले भने, “चितवनले नयाँ नेतृत्व र नीति बनाएर पठाएको छ, यसमा हामी गौरवान्वित छौँ ।”
देशभरका रास्वपाका नेता तथा कार्यकर्ताले चितवनको राजनीतिसँगै पर्यापर्यटन र समग्र परिस्थितिको अवलोकन गर्न पाएको भन्दै जिल्ला सभापति खनालले चितवनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको छ, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै धन्यवादका पात्र हुने बताए ।
जिल्ला सचिव तेजेन्द्र पौडेलले केन्द्रीय पदाधिकारीमा चितवनका तीन वटै संसदीय क्षेत्रका प्रतिनिधि निर्वाचित हुनु हामी चितवनवासीका लागि गौरवका विषय भएको बताए । उनले भने, “हामी जिल्लावासीको पहुँच केन्द्रीय पदाधिकारीसँगै सरकारका मन्त्रीहरुसम्म सहज भएको छ । चितवनमा सम्पन्न ऐतिहासिक महाधिवेशनपछि रास्वपा अझ सुदृढ, परिपक्व र राजनीतिक रुपमा अझ चलायमान भएको छ ।”
चितवन । आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न सङ्घसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । तर, चितवनको सौराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । यहाँको ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।
विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको खेतमा विद्यार्थीले धान रोप्न सिके ।
विद्यार्थीलाई कार्यालय सहायक दुर्गा खनालले सिकाइ सहजीकरण गरे । उनले धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरू गरे ।
विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र आजको सिकाइ त्यसैको निरन्तरता भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले बताए ।
विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम नै गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरुले बताए ।
‘नेपालमा व्यावहारिक शिक्षाको कमी भएको गुनासो आइरहेका बेला विद्यार्थीलाई कृषि कर्मलगायत काम व्यावहारिक रूपमा सिकाउनुपर्छ भनेर कार्यक्रम गरिएको हो’, स्कुलका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले भने, ‘यसले विद्यार्थीलाई हिलोसँग खेल्न र धान रोप्ने कार्य आफैँले अनुभव गरेर सिक्न सक्छन् ।’
स्कुलका प्रबन्ध निर्देशक शीलाल परियार यसअघि विद्यार्थीलाई आलु, केराउ रोप्न सिकाएको बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानले पुग्दैन, प्रत्यक्ष हेरेर र गरेर सिकेको कुरा दिगो हुन्छ । सोहीअनुसार उनीहरुलाई सिकाउन थालिएको बिद्यालयले जनाएको छ ।
भरतपुर । प्रजातान्त्रिक विचार समाज, चितवनको आयोजनामा नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको १०३औँ जन्मजयन्तीको अवसरमा ‘लोकतान्त्रिक पद्धति सबलीकरणका चुनौती’ विषयक अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदारनरसिंह केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक विचार समाज, चितवनका निवर्तमान अध्यक्ष सुरेशचन्द्र आचार्यले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जननायक गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीलाई औपचारिक स्मरणमा मात्र सीमित नराखी उनले स्थापित गरेको लोकतान्त्रिक मूल्य, आदर्श र राजनीतिक संस्कृतिमाथि गम्भीर विमर्श गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
उनले वर्तमान परिवेशमा लोकतान्त्रिक पद्धतिले राजनीतिक ध्रु्रवीकरण, असहिष्णुता, संस्थाप्रतिको घट्दो विश्वास, भ्रष्टाचार, सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना, युवापुस्तामा बढ्दो निराशा तथा विदेश पलायनजस्ता चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रलाई थप सबल बनाउन संवाद, सहमति, विधिको शासन, संस्थागत सुदृढीकरण र नागरिक चेतनाको विकास अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरूले गिरिजाप्रसाद कोइरालालाई लोकतन्त्र, शान्ति, मेलमिलाप र राष्ट्रिय सहमतिका प्रमुख अभियन्ताका रूपमा स्मरण गर्दै उनको ‘लोकतन्त्रको विकल्प अझ परिष्कृत लोकतन्त्र हो’ भन्ने विचार आजपर्यन्त उत्तिकै सान्दर्भिक रहेको बताएका थिए । उनीहरूले लोकतन्त्र निर्वाचन वा सरकार परिवर्तनमा सीमित नभई विधिको शासन, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व, पारदर्शिता, सहिष्णुता र नागरिक सहभागिताको जीवनपद्धति भएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल, प्राध्यापक, चिकित्सक, इन्जिनियर, शिक्षाविद्, बौद्धिक व्यक्तित्व, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सहभागीहरूले लोकतान्त्रिक मूल्य, राजनीतिक संस्कार, नागरिक दायित्व र लोकतन्त्र सुदृढीकरणका उपायबारे आफ्ना धारणा राख्दै गहन छलफल गरेका थिए ।
वक्ताहरूले लोकतन्त्रलाई बलियो बनाउने दायित्व सरकार वा राजनीतिक दलको मात्र नभई प्रत्येक सचेत नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विचार, संवाद र जिम्मेवार नागरिक सहभागितामार्फत मात्र लोकतान्त्रिक पद्धतिलाई थप सुदृढ बनाउन सकिने निष्कर्ष व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले यस्ता वैचारिक अन्तरक्रियाले लोकतान्त्रिक संस्कृतिको विकास, नागरिक चेतना अभिवृद्धि तथा समसामयिक राष्ट्रिय मुद्दामा सकारात्मक बहसको वातावरण निर्माण गर्न मह¤वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
भरतपुर । चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले बिएचएम तथा बिआइटिएम चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।
बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ एसजिपिएसहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले ३.८३ एसजिपिए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ बोम्जम तामाङले ३.८० एसजिपिएसहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै बिआइटिएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ एसजिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गीता अधिकारीले ३.८१ एसजिपिएमसहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ एसजिपिएसहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।
कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले जानकारी दिए ।
कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको सरोकारवालाको भनाइ छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन प्रतिनिधिसभा सदस्यहरू पदाधिकारीमा निर्वाचित भएका छन् ।
चितवन क्षेत्र नं-२ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पार्टी सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । क्षेत्र नं-३ का सोविता गौतम उपसभापति र क्षेत्र नं-१ का सांसद हरि ढकाल सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।
पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलका अनुसार तनहुँबाट निर्वाचित पार्टी उपसभापति डा.स्वर्णीम वाग्लेको घर पूर्वी चितवनमा छ । रत्ननगर नगरपालिका वडा नं-१४ पिठुवामा रहेको घरमा वाग्लेका बुबा आमा बस्दै आएका छन्। त्यस्तै समानुपातिक सांसद प्रभा ढकाल र समिना मिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
जिल्लाकै नेताहरू प्रकृति ढकाल, सविना विक र आकांक्षा पोखरेल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएको उनले जानकारी दिए। यस अघिका केन्द्रीय सदस्य राजन गौतमको नाम केन्द्रीय सदस्यका लागि चर्चामा रहे पनि आवास तथा खाना व्यवस्थापन समितिमा रहेकाले कार्यव्यस्तताका कारण उनले उम्मेदवारी दिएनन्।
पौडेलले समग्र केन्द्रीय समितिमा जिल्लाका धेरै नेताहरूको प्रतिनिधित्व भएको बताए। उनले तीन वटै क्षेत्रका प्रतिनिधिसभा सदस्य पदाधिकारी हुनु जिल्लाका लागि गर्वको विषय भएको बताए। अब मनोनित हुने ५१ जनाभित्र पनि चितवनका नेताहरू पर्ने आकलन गरिएको उनले बताए।
हालै चितवनको भरतपुरमा सम्पन्न हाधिवेशनमा देशभरबाट झण्डै १० हजार प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकहरू सहभागी भएका थिए।
भरतपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा ४.० जिपिए प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । आइतबार आयोजित ‘सहजीकरण तथा सम्मान समारोह’मा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित विद्यालय, विद्यार्थी तथा तिनका अभिभावकलाई सम्मान गरिएको हो ।
समारोहमा एसइई परीक्षा २०८२ मा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउने भरतपुरस्थित लिटिल फ्लावर स्कुल, अङ्कुरम् एकेडेमी र पोलार स्टार इङग्लिस स्कुललाई सम्मान गरिएको थियो । त्यसैगरी, विद्यार्थी संख्या मापदण्डभन्दा कम भए पनि शतप्रतिशत नतिजा हासिल गरेका भरतपुर–१८ स्थित न्यू चित्रवन इङ्ग्लिस स्कुल र कुरिनटारको प्रगति शिक्षा सदनलाई पनि सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा एसइई परीक्षामा ४.० जिपिए प्राप्त गर्ने ७६ जना विद्यार्थीलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सम्मानित विद्यार्थीमध्ये दुई जनाले पुनर्योगमार्फत ४.० जिपिए प्राप्त गरेको जानकारी प्याब्सन चितवनका कोषाध्यक्ष युवराज पौडेलले दिए । उनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गर्नुको उद्देश्य गुणस्तरीय शिक्षालाई थप प्रोत्साहन गर्नु रहेको बताए ।
कार्यक्रममा आदर्श विद्या आश्रम, भण्डाराकी ४.० जिपिए प्राप्त छात्रा खुसी बर्तौलाले आफ्नो सफलताको अनुभव सुनाउँदै आत्मानुशासन, नियमित अध्ययन र समय व्यवस्थापन नै सफलताको मुख्य आधार भएको बताइन् । उनले दैनिक अध्ययनको तालिका बनाएर निरन्तर अभ्यास गरेको उल्लेख गर्दै यो उपलब्धि आफ्नो व्यक्तिगत प्रयासमात्र नभई परिवार, शिक्षक र विद्यालयको निरन्तर सहयोगको प्रतिफल भएको धारणा व्यक्त गरिन् ।
समारोहलाई सम्बोधन गर्दै शिक्षक–अभिभावक संघ चितवनका अध्यक्ष सूर्यकान्त न्यौपानेले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा सरकारले कर लगाउनु असान्दर्भिक भएको टिप्पणी गरे । निजी विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी निम्न तथा मध्यम आय भएका परिवारका रहेको उल्लेख गर्दै उनले अतिरिक्त करले अभिभावकमाथि थप आर्थिक भार पर्ने बताए । गुणस्तरीय शिक्षाप्रति अभिभावकको विश्वासका कारण निजी विद्यालय रोज्ने अवस्था रहेको भन्दै शिक्षामा कर लगाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरे ।
शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवासचन्द्र आचार्यले ४.० जिपिए केवल अङ्कको उपलब्धि नभई निरन्तर मेहनत, अनुशासन र सही मार्गदर्शनको परिणाम भएको बताए । उनले विद्यार्थीलाई सिर्जनशील सोच विकास गर्दै जीवनका आगामी चुनौती सामना गर्न प्रेरित गरे । सफलताको कुनै छोटो बाटो नहुने उल्लेख गर्दै निरन्तर अभ्यास, लगनशीलता र अनुशासनबाट मात्रै लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रमका प्रमुखअतिथि तथा शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख लक्ष्मण देवकोटाले विद्यार्थीलाई एसइईको सफलतालाई निरन्तरता दिँदै कक्षा १२ सम्म अझ संयमित र जिम्मेवार भएर अध्ययन गर्न आग्रह गरे । उनले पछिल्लो समय उच्च शिक्षा अध्ययनपछि विदेश पलायन हुने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशमै रहेर आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गर्न विद्यार्थीलाई प्रेरित गरे । ‘देशलाई सक्षम र दक्ष युवाशक्ति आवश्यक छ । तपाईंहरू देशमै बसेर उदाहरणीय बन्नुहोला’, उनले भने ।
सो अवसरमा सोमबारदेखि अवकाशमा जान लागेका प्रमुखअतिथि देवकोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्याब्सन आन्दोलनका अग्रज तथा चितवन इङ्ग्लिस स्कुलका केशव श्रेष्ठले सम्मान प्रदान गरेका थिए । कार्यक्रममा शिक्षा क्षेत्रको विकास र विद्यालयहरूको सबलीकरणमा देवकोटाले पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो ।
मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले गरेका थिए । समापन मन्तव्यमा अध्यक्ष पुरीले निजी विद्यालयमाथि लगाइएको ३ प्रतिशत अतिरिक्त करको विरोध गर्दै यसले प्रत्यक्षरूपमा अभिभावकलाई आर्थिक मार पर्ने बताए । सरकारले शिक्षक तथा कर्मचारीको तलबमान २१ प्रतिशत वृद्धि गरेकाले विद्यालय सञ्चालन खर्च बढेको उल्लेख गर्दै शुल्क समायोजन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
अध्यक्ष पुरीले निजी विद्यालय पनि समुदायकै सम्पत्ति भएको उल्लेख गर्दै शिक्षाजस्तो आधारभूत क्षेत्रमा कर लगाउने निर्णयविरुद्ध समुदायस्तरबाट आवाज उठाउन अभिभावकलाई आग्रह गरे । उनले चितवनमा विद्यालय शिक्षामात्र नभई मेडिकल शिक्षाको गुणस्तर पनि उत्कृष्ट रहेको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनका लागि अनावश्यकरूपमा जिल्लाबाहिर गएर अभिभावकमाथि आर्थिक बोझको कारक नबन्न विद्यार्थीलाई आग्रह गरे । गुणस्तरीय शिक्षा, आवश्यक सुविधा र उज्ज्वल भविष्य निर्माणका अवसर चितवनमै उपलब्ध रहेको उनको जिकिर थियो । 
रत्ननगर । रत्ननगर वाङ्मय प्रतिष्ठान, रत्ननगर नगरपालिकाको आयोजनामा प्रतिष्ठानद्वारा प्रकाशित ‘रत्नप्रभा’ तेस्रो अङ्कको विमोचन तथा रचना वाचन गरिएको छ ।
सो अवसरमा प्रमुखअतिथि नगरउपप्रमुख यादवप्रसाद पाठकले रत्नप्रभा तेस्रो अङ्कको विमोचन गर्दै पछिल्लो समय पठन संस्कृतिको अभाव रहेको सन्दर्भमा रत्ननगर वाङ्मय प्रतिष्ठानले मुखपत्रका रुपमा रत्नप्रभा तेस्रो अङ्क प्रकाशन गरेकोमा खुसी प्रकट गरे । उनले भने, ‘समाज बिग्रिएको छ । अहिले के राम्रो र नराम्रो भन्ने छुट्याउने अवस्था पनि छैन । त्यसैले साहित्य सर्जकहरुले समयअनुसार आफूलाई परिमार्जन गर्दै युवापुस्ता र प्रविधिअनुरुप अगाडि बढ्नुपर्छ ।’
समाजलाई सही मार्गमा डो¥याउन साहित्यको माध्यमबाट सम्भव हुने भएकाले सोही दिशामा रत्ननगर वाङ्मय प्रतिष्ठान अगाडि बढिरहेको आफूले पाएको उनले बताए । उनले रत्ननगरमा रहेका स्रष्टाहरुको प्रवद्र्धन र संवद्र्धन गर्न रत्ननगर नगरपालिका सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन गरेको कार्यक्रममा सदस्य तिलकराम शर्माले स्वागत तथा राजेन्द्र घायलले कवितात्मक शैलीमा स्वागत गरेका थिए ।
सो अवसरमा प्रा. कपिल अज्ञातले रत्नप्रभामा रहेका सिर्जनाहरुमाथि विमर्श गर्दै रत्ननगरले चितवनका स्रष्टाहरुलाई महत्त्वका साथ पुस्तकमा समेटिएको बताए । ‘रत्नप्रभा’ अत्यन्त उत्कृष्ट संगालो रहेको उल्लेख गर्दै यो अन्य प्रकाशनका लागि प्रतिष्पर्धी बन्न सफल रहेको बताए ।
कार्यक्रममा भरतपुर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनाल, सदस्य केदारनाथ खनाल, सदस्यसचिव बालकृष्ण थपलिया, जगन्नाथ पण्डित, डिआर पोखरेल, उदय अधिकारी, प्राडा कृष्णप्रसाद पौडेल, इन्द्रप्रसाद रेग्मी, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं र रत्ननगर–६ का वडाध्यक्ष किरण महतोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु पूर्वक्याम्पस प्रमुख गोकर्ण मल्ल, धनराज गिरी, एकदेव अधिकारी, रघु पौडेल, यदुनाथ भट्टराई, करुणा उदासी, रमा अधिकारी चापागाईं, गिरिराज डल्लाकोटी, विष्णुप्रसाद पौडेल ‘अपरिचित’, गीता लामिछाने, रामलाल कुमाल, सत्यदेव, केशव भट्टराईलगायतले आआफ्ना रचना वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण अशोक भुसालले गरेका थिए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् । खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् ।
यस्तै, खुलातर्फ सोविता गौतम दुई हजार ६४१, शिशिर खनाल दुई हजार ५३८, सागर ढकाल दुई हजार ३७६, डा. तोसिमा कार्की दुई हजार ३०२, रञ्जु दर्शना दुई हजार २९३, मनीष झाले दुई हजार २८१, हरि ढकालले दुई हजार २६२, कविन्द्र बुर्लाकोटीले दुई हजार २२७, विपीनकुमार आचार्यले दुई हजार १६९, रमेश प्रसाईंले दुई हजार १६६ र निशा डाँगीले दुई हजार १३२ मत पाएका छन् ।
यसैगरी, विराजभक्त श्रेष्ठले दुई हजार १२३, इन्दिरा रानामगरले दुई हजार ९०, गणेश पराजुलीले दुई हजार ८७, पुकार बमले दुई हजार ७०, जगदीश खरेल (ललितपुर)ले दुई हजार ६५, शुलभ खरेलले दुई हजार ४३, यज्ञमणि न्यौपानेले एक हजार ९०३, प्रमोद न्यौपानेले एक हजार ८९२, सस्मित पोखरेलले एक हजार ८६४ र रिमा विश्वकर्माले एक हजार ८४५ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
उम्मेदवार रघुराज पाण्डेले एक हजार ८४०, राजीव खत्रीले एक हजार ७४५, समीक्षा बास्कोटाले एक हजार ७३९, गणेश कार्कीले एक हजार ७३४, खगेन्द्र सुनारले एक हजार ७३३, असिम शाहले एक हजार ७३०, हिमेश पन्तले एक हजार ६५०, जगदीश खरेल (दोलखा)ले एक हजार ५५२, गीता चौधरीले एक हजार ५३७ तथा लिमा अधिकारी आचार्यले एक हजार ५३६ मत प्राप्त गरेका छन् ।
यसैगरी, समावेशी समूहअन्तर्गत खस आर्यबाट सुशान्त वैदिक, सुदीप ढकाल, हेमराज भट्ट, सुदीप भट्ट, डिल्लीश्वर कार्की रोहन, प्रकृति ढकाल, ज्वाला संग्रौला, कान्तिशिखा धिताल, जमुना शर्मा र सुशीला कार्की पोखरेल निर्वाचित भए । आदिवासी जनजातिबाट मिलन लिम्बू, शंकर श्रेष्ठ, मिङ्मा डण्डु शेर्पा, महेश लामा, कृष्णमान श्रेष्ठ, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ र कुसुम महर्जन निर्वाचित भए ।
थारुबाट महिलातर्फ करिष्मा कठरिया र पुरुषतर्फ अशोककुमार चौधरी निर्वाचित भए । मधेसीबाट बब्लु गुप्ता, अरविन्द साह, दीपकुमार साह, जुली यादव र कामिनीकुमारी चौधरी निर्वाचित भएका छन् । यस्तै, दलितबाट विजय जैरु, शिव नेपाली, सविना विक र खिमा विक निर्वाचित भए । मुस्लिम महिलाबाट समिना मिया र पुरुषबाट रहबर अन्सारी निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट प्रभा ढकाल, विदूषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ र पार्वती थापा निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट पवित्रा थापा, मनीष खनाल, सागर भूषाल, सोम शर्मा र विष्णुकुमारी गुरूङ (एकता) निर्वाचित भए ।
यस्तै, लुम्बिनी प्रदेशबाट कल्पना पाण्डे, संगीता ढकाल, ज्ञानु पौड्याल, देवराज पाठक र शर्मिला खनाल निर्वाचित भए । यसैगरी, कर्णाली प्रदेशबाट सीता बादी, विनिता कठायत, टासी ल्याङ्गजोम, मेनुका शाही र प्रकाश न्यौपाने विजयी भए ।
यस्तै, कोशी प्रदेशबाट निशा मेहता, विश्वराज पोखरेल, शोभा कार्की, कल्पना थापा र सुजाता तामाङ निर्वाचित बने । यस्तै, मधेश प्रदेशबाट सुष्मा बस्नेत, सुनिताकुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह र अंकितकुमार यादव निर्वाचित भए । यस्तै, सुदूरपश्चिमबाट हेमराज थापा, केपी खनाल, दीपकराज बोहरा, जानिका जोशी र चन्द्रा ऐर ‘चाँदनी’ निर्वाचित भएको आयोगले जनाएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । बुधबार रातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । बिहीबार दिउँसो १२ः०० बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
हालसम्म करिब एकहजार ६०० भन्दा बढी प्रतिनिधिले आफ्नो मताधिकारको प्रयोग गरेका जनाइएको छ । आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुनेछन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता हो ।
प्रमुख केसीका अनुसार सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो । मतदान उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ । पहिलो चरणको मतदान सकिएपछि दुई घन्टाभित्र मतपरिणाम घोषणा हुने छ । मतपरिणाम घोषणासँगै दोस्रो चरणको मतदान सुरू हुने छ । दोस्रो चरणमा सबै प्रतिनिधिले पदाधिकारीका लागि मतदान गर्नेछन् ।
खैरहनी । खैरहनी नगरपालिकाले एक अर्ब ८ करोड ७३ लाख ३१ हजारबराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न १९औँ नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरप्रमुख शशिकुमार खनियाँले नीति तथा कार्यक्रम तथा उपप्रमुख कविता उप्रेतीले बजेट प्रस्तुत गरेका हुन् । नगरसभामा शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख खनियाँले बताए । चालू आर्थिक वर्षमा जारी नगरवासीको हितमा सञ्चालित लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै विकास र सुशासनमा थप टेवा पुग्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख खनियाँले बताए ।
वार्षिक बजेटको कुल खर्चमध्ये चालू खर्चतर्फ ५० करोड १६ लाख ६० हजार र पुँजीगत खर्चतर्फ ५८ करोड ५६ लाख ७१ हजार ३ सय २५ रहुन अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको कुल बजेट गत आर्थिक वर्ष २०८१/८२ को यथार्थ खर्चभन्दा १२ दशमलब ४५ प्रतिशतले बढी रहेको छ भने चालू आर्थिक वर्ष २०८२/०८३ को संशोधित अनुमानभन्दा २ दशमलब ७९ प्रतिशतले बढी रहेको छ । आगामी आर्थिक वर्ष आन्तरिक आय १३ करोड १४ हजार र स्थानीय राजस्व बाँडफाँटमार्फत ११ करोड १४ लाख ८६ हजार अनुमान गरिएको छ ।
संघीय सरकार ससर्त अनुदान २५ करोड ८२ लाख, संघीय सरकार समानीकरण अनुदान १५ करोड ७० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने १३ करोड ६९ लाख ३४ हजार, संघीय सरकार विशेष अनुदान दुई करोड ६८ लाख, संघीय सरकार समपूरक अनुदान एक करोड ७५ लाख, बागमती प्रदेश सरकार ससर्त अनुदान तीन करोड ३९ लाख अनुमान गरिएको छ ।
यस्तै, बागमती प्रदेश सरकार समानीकरण अनुदान एक करोड ४७ लाख ४६ हजार, प्रदेश सरकारबाट बाँडफाँट भई प्राप्त हुने सवारीसाधन कर सात करोड ९ लाख १ हजार ३२५, प्रदेश सरकार समपूरक अनुदान एक करोड ७८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान ७० लाख, सडक बोेर्ड नेपालबाट प्राप्त हुने ६० लाख समपूरक अनुदान, लागत सहभागिताको अनुमानित रकम ५० लाख र चालू वर्षको अनुमानित बैंक मौज्दात आगामी आर्थिक वर्षका लागि सरिजाने सात करोड ५० लाख गरी कुल जम्मा एक अर्ब ५ करोड ८३ लाख ३१ हजार ३२५ आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।
खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १३ करोड, नगरस्तरीय पूर्वाधारका योजना तथा कार्यक्रमतर्फ दुई करोड ७० लाख, वडास्तरीय योजनातर्फ १७ करोड २६ लाख, विषयगत शाखा र सामाजिक विकासतर्फ नौ करोड ५० लाख, नगरस्तरीय विभिन्न कोषतर्फ एक करोड, समपूरक कोष पाँच करोड ७९ लाख ३५ हजार, सडक बोर्डतर्फका आयोजनामा ६० लाख, लागत सहभागितातर्फ ५० लाख अनुमान गरिएको छ ।
यस्तै, अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीयतर्फ रू. ३० करोड २५ लाख र अन्तरसरकारी वित्तीय हस्तान्तरण बागमती प्रदेश सरकारतर्फको चार करोड ८७ लाख ५० हजार गरी जम्मा एक अर्ब ८ करोड ७३ लाख ३१ हजार ३ सय २५ व्यय अनुमान गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी दिएका छन् । प्रारम्भिक सूचीअनुसार अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट उम्मेदवारी दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बागमती प्रदेशतर्फबाट उम्मेदवारी दिएका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले कर्णाली भूगोलतर्फ, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी भूगोलतर्फ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यतर्फ तथा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रथम महाधिवेशनमार्फत रास्वपाले नयाँ नेतृत्व चयन गर्न केन्द्रीय समितिका विभिन्न पद तथा सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढाएको जनाएको छ । प्रारम्भिक सूचीअनुसार केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट ३८४ जनाले उम्मेदवारी दिएका छन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ । ९९ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगसँगै रहेका रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन् ।
सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो । लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोशी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
उनका अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । नामावली सार्वजनिकसँगै दाबी विरोधका लागि समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ ।
लामिछानेले अन्तिम नामावली विद्युतीय मतदान उपकरणमा प्रविष्ट गरेपछि बुधबार राति नै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीमा कुनै गुटउपगुट नभएको बताएका छन् । रास्वपाको महाधिवेशनस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट उपगुट नरहेको बताए ।
उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।” उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए । उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।”
संविधान संशोधन कार्यदलको संयोजक रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसार नै हुने बताए । उनले भने, “दलको आ–आफ्नो धारणा हुन्छ । बहस पत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।”
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुका लागि पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन बहुक्षेत्रीय पोषण योजना कार्यक्रमसम्बन्धी अभिमुखीकरण गरिएको छ ।
सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलको अध्यक्षता एवम् प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालको दिगो विकास लक्ष्य मार्गचित्रले पोषणको सान्दर्भिकता र मह¤वलाई निरन्तरता दिँदै तेस्रो बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताए । सो योजनाले गुणस्तरीय सेवाको उपलब्धता र समतामूलक पहुँचको सुनिश्चितता गर्दै मानव जीवनचक्रमा पोषणको अवस्था सुधार गर्ने लक्ष्य राखेको उनले बताए ।
कर्यक्रममा भरतपुर महानगरपालिकाका पोषणविज्ञ सूर्यप्रसाद पौडेलले सहजीकरणमा क्रममा कार्यपत्र प्रस्तुत गर्दै बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत स्वास्थ्यमात्र नभएर आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषणसेवा जोडिएको बताए । उनले दिगो विकास रणनीति लक्ष्य २०३० सम्म सबै स्थानीय तहमा पोषणमैत्री स्थानीय शासन लागू गर्नुपर्ने बताए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पोषणमैत्री पालिका घोषणा गर्न ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८० जारी गरी कार्यान्वयनका लागि सबै स्थानीय तहमा पठाइसकेको उल्लेख गर्दै उनले विभिन्न ३४ वटा सूचक पूरा गरी पोषणमैत्री पालिका घोषणा गर्न सकिने बताए ।
पोषणमैत्री स्थानीय शासन व्यवस्था सञ्चालनका लागि स्वास्थ्य, सरसफाइ, स्वच्छ खानेपानी, कृषि तथा पशुपक्षी, शिक्षा र महिला तथा बालबालिका शाखालगायतका क्षेत्रहरुबीच समन्वय गरी पूर्ण स्तनपान, खोपको अवस्था र कुपोषणको उपचार पूरा गर्नुपर्ने उनले जानकारी दिए । हालसम्म बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् ।
कार्यक्रममा स्वास्थ्य शाखा, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, कृषि शाखालगायतका सरोकारवाला, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु एवम् स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन प्रक्रिया अघिबढेसँगै महाधिवेशनस्थल परिसरमा प्रचारप्रसारले तीव्रता पाएको छ ।
रास्वपाको सदस्य पदका लागि पहिलो चरणमा हुनगइरहेको निर्वाचनमा उम्मेदवारी दिने नेता एवं तिनका प्रस्तावक, समर्थक, शुभेच्छुक र कार्यकर्ताहरू आज बिहानैदेखि आआफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् ।
अत्यधिक गर्मीका बाबजुत उम्मेदवारी घाषणा गर्नुहुने नेपाल सरकारका मन्त्रीसहित सांसद तथा नेतागणसमेत प्रचारप्रसारमा व्यस्त हुँदा चुनावी माहोल थप तातेको हो ।
पार्टीसम्बद्ध केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको सूची सार्वजनिक गरी नसकेकाले कति जना मन्त्री उम्मेदवार छन् भन्ने स्पष्ट नभए पनि केही मन्त्रीहरुलाई भ्याइनभ्याइ मत मागिरहेका छन् ।
बिहानैदेखि महाधिवेशन परिसरमा उम्मेदवारी घोषणा गरेका मन्त्री र सांसदका शुभेच्छुक तथा कार्यकर्ता प्रचारप्रसारका सामग्री बाँडी मत मागिरहेको देखिन्छ । उम्मेदवारको सङ्ख्या धेरै भएको र सबैलाई चिन्न नसक्ने भएकाले मत माग्नुपरेको उनीहरुको भनाइ छ ।
महत्वपूर्ण पदमा रहेकालाई पराजित हुने डर भएकाले दुईदिन अघिदेखि नै मत माग्न थालेको बताउँदै पार्टीका केन्द्रीय सदस्य राजन गौतमले भने, “मन्त्री, सांसद र नेताहरुले निरन्तर फोन गर्दै भोट मागिरहेको छ, निर्वाचनका क्रममा यसलाई स्वभाविक रुपमै लिनुपर्दछ ।”
नेता गौतमले पर्चा, पम्प्लेट, गीत, झाँकी, समाचार र सामाजिक सञ्जालको प्रयोग गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको अवस्थामा उद्योग सङघको परिसरभित्र पर्चा पम्प्लेटलगायतका प्रचार सामग्री निषेध गरिएको बताए ।
रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने तथा निर्वाचित सदस्य मात्र दास्रो चरणमा हुने निर्वाचनमा उम्मेदवार पाउने व्यवस्था रहेकाले सदस्यको निर्वाचनले प्राथमिकता पाएको रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलले बताए ।
उनले महाधिवेशनमा चार हजार बढी प्रतिनिधिले मताधिकार प्रयोग गर्ने चितवन महाधिवेशनमा ९९ सदस्य पदका लागि हुने निर्वाचनमा चार सयभन्दा बढीको उम्मेदवारी पर्ने देखिएको अवस्थामा अहिले व्यापक रुपमा प्रचारप्रसार हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
राजनीतिक विश्लेषकका अनुसार रास्वपाको यसअघि प्रदेशहरुमा सम्पन्न निर्वाचनमा पार्टीका संस्थापक नेता एवं सांसदहरु समेत अप्रत्यासित रुपमा पराजित भएकाले पनि पदमा रहेकाहरु चुनाव प्रचारप्रसारमा खटिन बाध्य हुनुपरेको हो ।
पार्टीको ९९ निर्वाचित ९९ सदस्यीय केन्द्रीय सदस्य पदका लागि विद्युतीय मतदान प्रक्रियामार्फत हुने निर्वाचनमा ४०० भन्दा बढीको उम्मेदवारी परेको छ । खुलातर्फको भन्दा पनि क्लस्टरबाट धेरै सदस्य निर्वाचित हुने प्रावधान भएकाले निर्वाचन थप पेचिलो बनेको देखिन्छ ।
चितवन । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताएका छन् ।
‘इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।’
नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसदमा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”
पछिल्लो समय राजनीतिमा विगतलाई पूर्णरूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उनले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिए ।
उनले भने, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँमुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पारे । उनले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गरे ।
चितवन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताएका छन् ।
उनले आफूले विगत १०–११ वर्षदेखि सुरू गरेको वैकल्पिक राजनीतिको अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई लिएको स्पष्ट पारे । उनले आफूलाई सधैँ परिवर्तन र न्यायका पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गरे ।
रास्वपाको उदयलाई लिएर पुराना राजनीतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको ‘षड्यन्त्र सिद्धान्त’ को खण्डन गर्दै उनले भने, “मेरा पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू खाली यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भनेर कथा बुनेर बस्नुभएको छ । तर, मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँडेका युवा सधैँ सत्य र न्यायका पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुभएको छ ।”
रास्वपाले आन्दोलन र सङ्घर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उनको भनाइ थियो ।
आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै डा भट्टराईले भने, “कतिपयले मलाई सोध्छनु के ‘ललिपप’ पाएर यो उमेरमा रास्वपाको महाधिवेशनमा गएको ? म सारा जीवन मर्न तयार भएको मान्छे, मलाई केको ललिपप ? तपाईंहरूकै सद्भावले म मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे हुँ, मलाई कुनै ललिपप चाहिँदैन, म त नेपाली जनता र युवा पुस्ताले देशमा सुशासन र समृद्धि पाएको हेर्न चाहन्छु ।’
राजनीतिक क्रान्तिलाई एउटा ‘रिले दौड’का रूपमा व्याख्या गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य, पुष्पलालहरूले सुरू गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पु¥याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पु¥याउने जिम्मेवारी रवि लामिछाने र वालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताए ।
उनले रास्वपाको नयाँ नेतृत्वले आगामी पूरा पाँच वर्षको कार्यकाल दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
चितवन । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताएका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै नेता ज्ञवालीले यो महाधिवेशनले केबल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति, सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा जोड दिए ।
“रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने कुराभन्दा पनि यसले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ”, उनले भने ।
छोटो समयमा रास्वपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता ज्ञवालीले जनादेश पाउनु जत्तिकै महत्त्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताए ।
इतिहासमा जनमतको सही सदुपयोग र दुरुपयोगका फरक–फरक दृष्टान्त रहेको उल्लेख गर्दै उनले रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिए ।
लोकतन्त्रमा ‘चेक एण्ड ब्यालेन्स’को ठूलो भूमिका हुने चर्चा गर्दै उनले न्यायालय, राष्ट्रपति र संसद्जस्ता राज्यका मुख्य संस्था सधैँ बलियो हुनुपर्ने तथा जनताका आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राखे ।
उनले रास्वपाभित्र काम गर्ने तीव्र हुटहुटीसँगै आवश्यक संयम र कानुनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।
भरतपुर । आत्रेय गोत्रीय भट्ट वंशीय प्रतिष्ठानको दुईदिने केन्द्रीय भेला गैँडाकोटस्थित नारायणी रिसोर्टमा सम्पन्न भएको छ । सो भेलाले सोमप्रसाद भट्टको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षद्वयमा रामप्रसाद भट्ट र हरिराज भट्ट, सचिवमा चन्द्रबहादुर भट्ट, सहसचिवमा दुर्गा भट्ट, कोषाध्यक्षमा आराधना भट्ट चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा दीपक भट्ट (क), दीपक भट्ट (ख), चन्द्रप्रसाद भट्ट, तिलकप्रसाद भट्ट, हरिशचन्द्र भट्ट, तारानाथ भट्ट, भीमराज भट्ट, प्रकाश भट्ट, शारदा भट्ट, होमबहादुर भट्ट, रामशरण भट्ट, प्रेमप्रसाद भट्ट, सञ्जय भट्ट चयन भएका छन् ।
सो अवसरमा अध्यक्ष सोमप्रसाद भट्टले प्रतिष्ठानले वंशावली प्रकाशन गर्ने, आत्रीय गोत्रीय भट्टहरुको हकहित संरक्षणसम्बन्धी कार्य गर्ने बताए । सो भेलामा २२ जिल्लाका आत्रीय गोत्रीय भट्टहरुको उपस्थिति रहेको ई. रुपेश भट्टले जानकारी दिए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् ।
चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात् गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताए । उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गरे ।
पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै सभापति लामिछानेले महाधिवेशनमार्फत एकताको सन्देश दिइने प्रतिबद्धता व्यक्त गरे । उनले पुराना राजनीतिक दलले बेहोरेको अनुभवबाट पाठ सिकेर गुटरहित ढङ्गले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने उनको भनाइ थियो ।
“रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन”, उनले भने, “गुट र उपगुटले दिने फल विषालु हुन्छ । त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ । हामी अहिले कस्तो बीउ रोप्ने भन्ने मोडमा छौँ ।” रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उनले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्ति पनि राजनीतिमा आउन थालेको बताए ।
सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै समस्या समाधान नभए त्यसले मुलुकलाई नै अप्ठ्यारो पर्ने बताए । “हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ । राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ”, उनले भने, “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई समस्या पर्छ ।”
सभापति लामिछानेले पूर्वसहमतिअनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको बताए । “सरकार सञ्चालन गर्ने पूर्वसहमतिअनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो”, लामिछानेले भने ।
काठमाडौँ । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने बताएका छन् ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै आफु नेतृत्वको सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी भएको र गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका हुन् ।
महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिएको सुझावलाई पार्टीले गम्भीर रुपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गरे । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले रास्वपा विकासवादी पार्टी भएको बताए । ‘रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन’, उनले भने ।
सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उनको भनाइ थियो । ‘सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन,’ उनले भने ।
प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए ।
“हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ”, उनले भने, “हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।” आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उनको प्रष्टीकरण थियो ।
यसैबीच, वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । “राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस् । हामीले पुरानाहरुबाट यो सिक्नुपर्छ”, उनले भने ।
उनले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पारे । “हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौं । आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ”, प्रधानमन्त्रीले भने ।
अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उनको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछाडि पाँच वर्ष देशका बारेमा सोचौँ ।”
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।
पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।
कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।
महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन् ।
यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन् ।
प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् ।
साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन् ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरू हुन लागेको महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
“रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ”, प्रवक्ता झाले भने, “राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।”
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
“केन्द्रीय बैठकले विधान संशोधन गरेको छ”, बैठकपछि पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले भने, “प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।”
हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । उनका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन । विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन् ।
यस्तै, विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताए । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।
पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताए ।
महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताए । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उनले बताए । निर्वाचनमा पाएको मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको उनको भनाइ छ । “हामीले टोलस्तरमा पनि पार्टी सङ्गठन विस्तार गर्ने विधानमा नै उल्लेख गरेका छौँ”, उनले भने, “हाम्रो भ्रातृ सङ्गठन भने हुँदैन ।”
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य पाँच लाख पु¥याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ ।
यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीनवटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्काे गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।
महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उनले बताए । त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ ।
आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ । प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताए ।
चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उहाँको भनाइ छ । खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उनले बताए ।
जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । महाधिवेशन आइतबारदेखि सुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन् । पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो सङ्ख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ ।
जनचाप लक्षित गर्दै नेटवर्क क्षमता वृद्धि
नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ । भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो । उनले रास्वपा महाधिवेशन मात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला–महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताए । उनले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताए ।
‘सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,’ उनले भने । झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ । ‘यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,’ उनले भने । उनले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गरे ।
‘आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ । त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,’ उनले भने । निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ । उनका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो ।
रत्ननगर । सृजनशील युवा समाज, रत्ननगरको पहल एवम् रत्ननगर नगरपालिका वडा नम्बर १ को कार्यालयको सहयोगमा ३३ थान फूलका गमला हस्तान्तरण गरिएको छ। रत्ननगर–१ को आर्थिक वर्ष २०८२–८३ को संघसंस्था सहायता कार्यक्रमअन्तर्गत ती सामग्रीहरू वितरण गरिएको हो ।
सृजनशील युवा समाजका अध्यक्ष शंकर पौडेलको सभापतित्वमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष कुलप्रसाद सापकोटा प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा वडा सदस्य गिरिराज लम्साल विशिष्टअतिथिका रूपमा र सिर्जना टोल विकास संस्थाका अध्यक्ष तिलक पौडेल अतिथि रहेका थिए ।
समाजका अध्यक्ष शंकर पौडेलेले वडाको यो साथ सहयोगलाई धन्यवाद दिँदै समाजले धर्म, संस्कार, संस्कृति जगेर्ना लगायत स्वच्छ सफा तथा पर्यावरणीय सौन्दर्यताका लागि आगामी दिनमा अझै धेरै कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्दै सिर्जना टोल विकास संस्थाका अध्यक्ष तिलक पौडेलले यस्ता रचनात्मक पहलले टोलको सौन्दर्यीकरण र वातावरणीय सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाका उपाध्यक्ष गणेश पौडेलले स्वागत एवम् सृजनशील युवा समाजका सचिव रामचन्द्र आचार्यले सञ्चालन गरेका थिए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्दा बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ ।
सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा तीन हजार ८१० प्रतिनिधि देखिएको छ । यसमा २५ देशका प्रभास सम्पर्क विभागबाट २०० हाराहारी प्रतिनिधि थप हुने उनले जानकारी दिए । विधानतः सभापतिले मनोनय गर्ने सङ्ख्या २०० रहेको छ । यसका अतिरिक्त समूहगत रुपमा पार्टी प्रवेश गर्नेबाट अरु केही थप हुनसक्ने श्रेष्ठले बताए । सूचीमाथि दाबी विरोध, दोहोरो पर्ने र छुटपुट भएमा त्यसलाई समावेश गरी अन्तिम नामावली प्रकाशन गरिनेछ ।
रास्वपाको केन्द्रीय समितिको बैठकमा सभापतिले विधानतः मनोनयन गर्न पाउने प्रतिनिधिको नाम पेस भएपछि साँझसम्ममा अन्तिम नामावली तयार हुने उनले जानकारी दिए ।
प्रारम्भिक तथ्याङ्कअनुसार कोशी प्रदेशबाट प्रतिनिधिको सङ्ख्या ५२० रहेको छ । मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने उनले बताए । महाधिवेशन प्रतिनिधिका रुपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्यहरु रहने व्यवस्था छ ।
यसैगरी, प्रदेशको विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी प्रतिनिधि हुने व्यवस्था छ । सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय समितिका सबै, केन्द्रमा रहेको ३८ वटा विभागका ११ जनाका दरले सदस्य र केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ११ जनाका दरले प्रतिनिधि हुनेछन् ।
प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि हुनेछन् । प्रदेश सम्पर्क विभागबाट तीन जनाका दरले र जिल्ला सम्पर्क विभागबाट एक–एक जनाका दरले प्रतिनिधि हुने व्यवस्था छ ।
गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाकातर्फबाट उपविजेता र समानुपातिक सूचीमा रहेका प्रतिनिधि हुनेछन् । यस्तै २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उपविजेता र समानुपातिक बन्दसूचीमा रही पार्टीमा सक्रिय भएका पनि प्रतिनिधि रहनेछन् । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्यसमेत प्रतिनिधि हुने व्यवस्था छ ।
आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरु चितवन आइसकेका छन् । प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।
पहिलो चरणको मतदान गर्न करिब छ घन्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ ।
केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।
केसीले यही असार ८ गते दिउँसो २ः०० बजे मनोनयन प्रक्रिया सुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ ।
उनले तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाइँदै छ ।
विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्र, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा सुदृढीकरणमा आफ्नो पार्टी पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
चितवनमा आयोजित पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा संविधान निर्माणका लागि भएका ऐतिहासिक त्याग, बलिदान र सङ्घर्षको सम्मान गर्दै रास्वपाले संविधानलाई अझ बलियो बनाउने दिशामा काम गरिरहेको बताए ।
उनले लोकतन्त्रका मूल्य, मान्यता र संवैधानिक व्यवस्थाप्रति पार्टीको अडान स्पष्ट पार्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र मुलुकलाई यहाँसम्म ल्याउन भएका त्याग–बलिदानको जगमा हामी उभिएका छौँ । लोकतन्त्रका मूल्य र मान्यताबाट हामी कहिल्यै विमुख हुँदैनौँ ।’ सभापति लामिछानेले पार्टीको आगामी यात्रा अझ जिम्मेवार, परिपक्व र नागरिकमुखी हुनुपर्नेमा जोड दिए। देशले रास्वपाबाट सुशासन, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको उल्लेख गर्दै उनले जनविश्वासलाई व्यवहारमा रूपान्तरण गर्न सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए।
उनले पार्टीको पहिलो महाधिवेशनपछि नेतृत्वमा जोसुकै आए पनि सम्पूर्ण कार्यकर्ताले जिम्मेवार नागरिक र परिवर्तनका संवाहकका रूपमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
सम्बोधनका क्रममा लामिछानेले पार्टी स्थापना र दर्ताका प्रारम्भिक दिनहरू स्मरण गर्दै अनेक चुनौती र अवरोधका बीच रास्वपा निर्माण भएको बताए । निर्वाचन आयोगमा पार्टी दर्तादेखि राजनीतिक संघर्षका विभिन्न चरण पार गर्नुपरेको उल्लेख गर्दै उनले आफूले समेत प्रहरी हिरासतको अनुभव भोग्नुपरेको स्मरण गरे ।
‘राजनीतिक यात्रा सधैँ सहज हुँदैन । चुनौती, सङ्घर्ष र उतारचढावका बीचबाटै हामी यहाँसम्म आइपुगेका छौँ’, उनले भने । चार वर्षको छोटो अवधिमै रास्वपाले आम नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उनले नागरिकको खबरदारी, सुझाव र अपेक्षाले नै पार्टीलाई सही दिशामा अघि बढ्न प्रेरित गरेको बताए ।
सभापति लामिछानेले नागरिकको विश्वास नै रास्वपाको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझ बढी जिम्मेवारी, पारदर्शिता र जवाफदेहिताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको दाबी गरेका छन् ।
महाधिवेशन स्थलमा पत्रकारहरुसँगको भेटमा प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र व्यावसायिक घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए ।
‘हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ’, उनले भने, ‘महाधिवेशनका लागि नै भनेर कुनै व्यावसायिक घरानाका व्यापारीलाई रसिद पठाएका छैनौँ ।’ महाधिवशेन सञ्चालनका लागि चार करोड रूपैयाँ लाग्ने अनुमान रास्वपाले गरेको छ । सो रकम सांसद, केन्द्रीय समिति, विभिन्न विभागका सदस्यबाट उठ्ने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट उठाइने उनले बताए ।
‘हामी सांसदले प्रतिमहिना १६ हजार ५०० रुपैयाँ उठाउँछौँ । त्यहाँबाट मासिक ३२ लाख रुपैयाँ सङ्कलन हुन्छ । केन्द्रीय सदस्यले वार्षिक २५ हजार रुपैयाँ सङ्कलन गर्छौं’, उनले भने, ‘महाधिवेशन प्रतिनिधिबाट नै डेढ करोड रकम सङ्कलन हुन्छ ।’ उनले शुभेच्छुकहरूलाई आन्तरिकरूपमा ‘क्युआर’ पठाइएको बताए ।
रास्वपामा लागेका अधिकांश व्यक्तिको आन्तरिक पेसा भएकाले चन्दा नै उठाउन नपरेको उनको भनाइ छ । रास्वपाका नेता तथा कार्यकर्ता यातायात र आवासको व्यवस्था आफैँ गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाले बताए । ‘हामीले महाधिवेशनमा आउने टिकटको व्यवस्था आफैँ गरेका छौँ । होटल बुक पनि आफैँ नै गर्ने हो’, उनले भने, ‘राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ । कसैलाई चन्दा माग्ने हो भने उसले लाभ लिन खोज्छ ।’
व्यापारिक घरानामा रसिद पठाउने अभ्यास बन्द गर्नुपर्ने उनले बताए । ‘निर्वाचनका बेला पनि रास्वपाले पैसा माग्ने काम गरेन । जनताका लागि काम गर्न आयौँ भन्छौँ, तर जनता व्यापारीसँग उल्टै पैसा लिन थाल्छौँ । त्यो त राजनीति नै भएन नि !’ उनले भने, ‘हामीले सहयोग माग्छौँ त्यो मान्छेको स्वार्थ हुन्छ ।’ रास्वपाको प्रथम महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।
रत्ननगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्णरुपमा क्षति पुगेको रत्ननगर–१४ को वडा कार्यालय भवन पुनर्निर्माण सम्पन्न भई बिहीबार उद्घाटन गरिएको छ ।
वडा कार्यालयकै प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख प्रलाद सापकोटाले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको र पहिलो गुनासो सुन्ने महत्त्वपूर्ण अङ्ग भएको बताए । जेनजी आन्दोलनका क्रममा नगरका १६वटै वडा र नगरपालिकाका दुई प्रशासनिक भवनमा करिब २३ करोडबराबरको क्षति भए पनि जनताको सेवालाई मध्यनजर गर्दै चालू बजेट रकमान्तर गरेर वडाहरुको पुनर्निर्माण गरिएको बताए ।
रत्ननगर–१४ को वडा कार्यालय पुनर्निर्माणमा ५२ लाख रुपैयाँ खर्च भएको जानकारी दिँदै नगरप्रमुख सापकोटाले अहिले वडाका चोकचोकमा सिसिटिभी क्यामेरा जडान गरी प्रविधिसँग जोडिएको बताए ।
यस्तै, नगर उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाको चालू खर्च कटौती गरी ६ करोड २८ लाख रुपैयाँको पुनर्निर्माण कोष स्थापना गरी ध्वस्त संरचनाहरु ठड्याइएको जानकारी दिए । उनले सार्वजनिक सम्पत्तिको नोक्सान हुनु भनेको सम्पूर्ण नगरवासीको नोक्सान भएको हुँदा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन समाजका सबै अगुवा र नागरिक सचेत हुनुपर्ने धारणा राखे ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले हिजोको भन्दा आज अझ राम्रो बनाउने नीतिअनुरुप वडा कार्यालयको पुनर्निर्माण गरिएको बताए । अहिलेको नयाँ संरचना बालमैत्री, अपाङ्गमैत्री, नागरिकमैत्री र प्रविधिमैत्री बनेको उल्लेख गर्दै उनले कार्यालय निर्माणमा अहोरात्र खटिने वडाध्यक्षलगायत सम्पूर्ण संघसंस्था र नागरिकलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा रत्ननगर–१४ का वडाध्यक्ष होमनाथ रानाभाटले कार्यालय ध्वस्त भएपछिका सुरूवाती कठिन दिनहरुको स्मरण गरे । आन्दोलनलगत्तै सबै संरचना र सामग्री जलेर नष्ट हुँदा पिठुवा खानेपानी, पिठुवा सिँचाइ र स्थानीय गरिबी निवारण सहकारी संस्थाले कुर्सी, टेबल र कम्प्युटर सहयोग गरेर शरणार्थीजस्तै अवस्थामा पनि जनतालाई निरन्तर सेवा दिएको उनले सुनाए । पुनर्निर्माणमा नगरका प्रमुख नेतृत्वको ठूलो साथ रहेको भन्दै उनले जनताको सेवामा निरन्तर कटिबद्ध रहने प्रतिबद्धतासहित व्यक्त गरे ।
वडा सचिव वासुदेव रिजालले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सानु भण्डारी बस्नेतले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा वडा सदस्य रमेश थापामगर, रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारी, रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङ, लेखा अधिकृत प्रदीप पौडेललगायतको उपस्थिति रहेको थियो ।
भरतपुर । चितवनबाट अपहरणमा परेका किशोरले आफू अपहरणमा परेपछि सहयोग मागेको खुलेको छ । आइतबार अपहरण गरी काठमाडौँ पुर्याइएका १६ वर्षीय किशोरको सोमबार काठमाडौँको नयाँबजारस्थित एक होटलबाट उद्धार गरिएको थियो ।
एक युवकले एउटा चिर्कटो फेला परेको भनेर काठमाडौँ प्रहरीलाई खबर गरेका थिए । जसमा लेखिएको थियो, ‘हेल्प ! मेरो नाम (गोप्य) । मेरो बाबाको नाम (गोप्य) । म नारायणगढबाट अपहरणमा परेको हो । कृपया प्रहरीलाई खबर गरिदिनुहोस् । मेरो बाबाको नम्बर (गोप्य) ।’
उनले यो कागज होटल नजिकैको एक चउरमा फ्याँकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
यो चिर्कटो फेला परेपछि युवकले प्रहरीलाई खबर गरेका थिए । ‘यो कागज फेला परेपछि हामीलाई खबर भयो । किशोर अपहरणको विषय एकदम संवेदनशील भएकाले हामीले यहाँबाट टेकओभर गरी उद्धारको अपरेसन चलायौँ’, एसएसपी खड्काले भने ।
प्रहरीले यही विषयमा अपहरित किशोरका बुबासँग पनि कुरा गरेको थियो । प्रहरीले थाहा पाउनुअघि अपहरणमा संलग्न व्यक्तिहरूले फिरौती पनि मागिसकेका थिए । ‘उनीहरूले बुवालाई फोन गरी २२ लाख रूपैयाँ मागेका थिए । फिरौती मागिसकेको विषयमा पनि परिवारले प्रहरीलाई खबर गरेका रहेनछन् । यस विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको होला’, उनले भने ।
अपराध अनुसन्धान कार्यालयको टोली होटलमा पुग्दा तीन जना त्यहीँ फेला परेका थिए । दुई जना भने बाहिर गएका थिए । पछि उनीहरू पनि त्यहीँ आइपुगेका थिए । ‘होटलमा किशोरलाई कुटपिट र ज्यानसमेत मार्ने धम्की दिइएको थियो’, अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
प्रहरीले अपहरणमा संलग्न सुजित कुमार, गोलु कुमार, अर्का गोलु कुमार, बिक्की कुमार र मोहम्मद साहिदलाई पक्राउ गरेको छ । उनीहरू सबै जना भारतीय नागरिक हुन् । उनीहरू पनि १८ वर्षकै छन् । कक्षा ७ मा पढ्ने अपहरणमा परेका किशोर र सुजित कुमार साथी थिए । तर, बीचमा सुजित कुमारले विद्यालय छाडे । केही वर्षपछि सुजितले फेरि इन्स्टाग्राममार्फत किशोरसँग सम्पर्क गरे । त्यसपछि भेट्न बोलाए । बोलाएर सुरूमा गाडीमा हालेर चितवनकै एउटा होटलमा राखिएको थियो । तर, त्यहाँबाट उनीहरूले ती बालकलाई भारतीय नम्बरको गाडीमा हालेर काठमाडौँ लगेका थिए ।
चितवनबाट अपहरणमा परेको खबर भएपछि डिएसपी सुवास भट्टले अपराध अनुसन्धान कार्यालयसँग उद्धारका लागि समन्वय गरेका थिए । भट्टका अनुसार चितवनमै पनि एक जना पक्राउ परेका छन् । अपहरणमा परेका किशोरका परिवार सुनको कालिगढी सम्बन्धित काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकिएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ ।
उनले भने, “३० टन अलकत्रा आइसकेको छ । यही ५ गतेबाट कालोपत्रेको काम सुरु हुन्छ ।” तत्काल सो ठाउँमा ७०० मिटर सडक कालोपत्र गरिने छ भने असार महिनामा तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ ।
सो खण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको काम अन्तिम चरणमा पुगेको छ । वारवाङ, मौवा, खटौटी र गोमती खोलाको पुलको काम थोरै मात्र बाँकी छ । ती पुलको सडकसँग जोड्ने बाटो कालोपत्रलगायतका काम बाँकी छ ।
सडक निर्माणको काम ४३ प्रतिशत सम्पन्न भएको छ । सो खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो ।
सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो । काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ । गएको डिसेम्बर २८ मा निर्माणको म्याद सकिएपछि १८३ दिन थप गरिएको छ ।
भरतपुर । चितवनबाट अपहरणमा परेका किशोरको प्रहरीले काठमाडौँमा सकुशल उद्धार गरेको छ । चितवनको नारायणगढबाट सोमबार साँझ १६ वर्षीय एक किशोरको अपहरण गरिएको थियो ।
५–६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट किशोरलाई अपहरण गरेर काठमाडौंमा लगेका थिए । काठमाडौंको एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग रकम माग गरेको प्रहरीले जनाएको छ ।
‘किशोरलाई अपहरण गरी उनका परिवारसँग रकम मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ’, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने । अपहरणमा संलग्न रहेको आरोपमा पाँच जना भारतीय पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा भारतको विहारका सुजित कुमार, गोलु कुमार, बिक्की कुमार, मोहम्मद साहिद र गोलु कुमार रहेका छन् । घटनामा संलग्नहरूको आपराधिक पृष्ठभूमिबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो ।
यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ । बन्द सत्र उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ ।
पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्नेगरी तयारी गरिएको गौतमले बताए । उनले भने, “केन्द्रीय सभापतिको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो ।” उद्घाटन सत्रमा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आँकलन गरिएको छ । साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेन्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनले बताए ।
रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताए । यसलगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन सुरु गरिएको छ । उद्योग सङ्घलाई प्रदर्शनी केन्द्र माग गरी पत्राचार गरिएको उनले बताए । उद्घाटन सत्रमा ५० हजार हाराहारी उपस्थित हुने अनुमान गरिएको भन्दै उनले त्यसको व्यवस्थापनका लागि जुटेको बताए ।
पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको छ । महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आआफ्नो काममा व्यस्त रहेको उनले बताए ।
पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।
रत्ननगर । नेपाल रेडक्रस सोसाइटी पालिका शाखा रत्ननगरको आयोजना तथा रत्ननगर नगरपालिकाको सहकार्यमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक नायकलक्षित तीन दिवसीय आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । तालिमपश्चात् सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीपलाई विद्यालय र समुदायस्तरमा व्यावहारिकरूपमा उतार्न जोड दिइएको छ ।
तालिमको अनुभव तथा प्रतिवेदन प्रस्तुत गर्दै शिक्षकहरू सिर्जना लम्साल, भीमबहादुर खड्का र दुर्गा दुलालले तालिम अत्यन्तै उपलब्धिमूलक र व्यावहारिक रहेको बताए । विगतका तालिमहरू सैद्धान्तिक मात्र हुने गरेकोमा यसपटक प्रयोगात्मक अभ्यास र परीक्षासमेत समावेश गरिँदा सिकाइ प्रभावकारी भएको उनीहरूको भनाइ थियो ।
सहभागीहरूले तालिममा सिपिआर गर्ने तरिका, रक्तस्राव नियन्त्रण, चोटपटक, हाडजोर्नी भाचिँदा, लेक लाग्दा वा ज्वरो आउँदा गरिने प्राथमिक उपचारका आधुनिक विधिहरू सिकेको जानकारी गराउँदै आगामी दिनमा प्राथमिक उपचारको पुस्तक, विद्यालयमा किट बक्स र प्रत्येक वर्ष पुनर्ताजगी तालिमको व्यवस्था मिलाइदिन आयोजकसमक्ष अनुरोध गरे ।
कार्यक्रममा विशिष्टअतिथि रत्ननगर–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कुलप्रसाद सापकोटाले तालिमको प्रभावकारितालाई मध्यनजर गर्दै रत्ननगर नगरपालिकाले आगामी दिनमा वर्षको कम्तीमा दुईपटक यस्ता तालिम सञ्चालन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुखअतिथि एवम् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति हरिप्रसाद पौडेलले शिक्षकहरू रेडक्रसका महत्त्वपूर्ण खम्बा रहेको बताउँदै सिकेको सीपलाई विद्यालय र समुदायमा प्रयोग गर्न आग्रह गरे । उनले सहभागीहरूले माग गरेको प्राथमिक उपचारको पुस्तक केन्द्रबाट प्राप्त हुनासाथ उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
जिल्ला शाखाका कार्यवाहक मन्त्री तथा राष्ट्रिय प्रशिक्षक महेश्वर थपलियाले शिक्षकले सिकेको सीप विद्यार्थी र समाजका लागि जीवनदायिनी हुने बताउँदै रेडक्रस सधैँ सहयोगका लागि तत्पर रहेको प्रस्ट पारे ।
यस्तै, बछौली उपशाखाका सभापति सुवास बिंडारी र प्याब्सन चितवनका सहसचिव पशुपति शर्मा उपाध्यायले तालिममा सिकेको मानव जीवन रक्षाको सीपलाई आफ्ना विद्यार्थीहरूसम्म पु¥याउनुपर्नेमा जोड दिए ।
नेपाल रेडक्रस सोसाइटी पालिका शाखा रत्ननगरका सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले सहभागीहरूबाट आएका जिज्ञासाहरूको सम्बोधन गरेका थिए । विद्यालयको पठनपाठन प्रभावित नहोस् भनेर सार्वजनिक बिदाको दिन पारेर तालिम सञ्चालन गरिएको प्रस्ट पार्दै सभापति पौडेलले आगामी बजेटमार्फत विद्यालयहरूमा ‘फर्स्ट एड बक्स’ व्यवस्थापनका लागि पहल गर्ने बताए ।
पालिका शाखा सचिव दिपेन्द्र श्रेष्ठले सञ्चालन गरेको तालिममा राष्ट्रिय प्रशिक्षकहरू चिजकुमार आले, रुद्र अधिकारी, शारदा शर्मा पौडेल र निता ढकालले सहजीकरण गरेका थिए ।
चितवन । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं–३ गढीमाइं बाहिनी मकवानपुरअन्तर्गत नं १७ गण हेडक्र्वाटर चितवनले सञ्चालन गरेको १० दिने गोताखोर पुनर्ताजगी तालिम सकिएको छ । चितवनको ठिमुरा तथा तनहुँको देवघाटस्थित त्रिशूली नदीकिनार र नदीमा विपद् पूर्वअभ्यास तथा उद्धार प्रदर्शन गरिएको थियो ।
तालिमको समापन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले यस्ता तालिमले विपद्का समयमा नागरिकलाई छिटो र प्रभावकारी सेवा दिन तथा राहत पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तीनै तहका सरकारले तालिम र उद्धार सामग्री व्यवस्थापनमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।
विपद्का घटना हुनासाथ सबैभन्दा पहिले सशस्त्र प्रहरी परिचालन हुने उल्लेख गर्दै मन्त्री अधिकारीले उद्धारकर्मीले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने भएकाले गुणस्तरीय उपकरण र सामग्रीको व्यवस्था अनिवार्य हुनुपर्ने बताए ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले गोताखोरका लागि उच्चस्तरीय उपकरणसहित ‘लाइफ ज्याकेट’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले आवश्यक सामग्री यथाशीघ्र वितरण गरिने र गोताखोरलाई सुरक्षित तथा प्रोत्साहित बनाउन स्थानीय तहले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदीजन्य विपद्मा गोताखोर उद्धारकर्मीको भूमिका अत्यन्त मह¤वपूर्ण हुने बताए । नेपालमा दक्ष गोताखोरको अभाव हुँदा विगतमा विदेशबाट गोताखोर झिकाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अहिले सशस्त्र प्रहरीले त्यो आवश्यकता अन्त्य गरेको उल्लेख गरे ।
सशस्त्र प्रहरी बल नेपाल नं–३ गढीमाई बाहिनीका बाहिनीपति किरण बस्नेतले बागमती प्रदेश विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै जुरे पहिरो, मेलम्ची बाढी, सिमलताल दुर्घटना, झ्याप्ले खोलाको दुर्घटना तथा रोशीखोला बाढीजस्ता घटनाको स्मरण गरे । उनका अनुसार नेपालमा हाल सशस्त्र प्रहरीका १३४ जना दक्ष गोताखोर कार्यरत छन् ।
बागमती प्रदेशमा एक विपद् व्यवस्थापन तालिम शिक्षालय, चार डेडिकेटेड विपद् व्यवस्थापन बेस र १० वटा अस्थायी मनसुन प्रतिकार्य टोली सञ्चालनमा रहेका बाहिनीपति बस्नेतले जानकारी दिए । उनका अनुसार चितवन र सिन्धुलीमा २२ जना गोताखोरसहितको उद्धार टोली चौबिसैघन्टा तयारी अवस्थामा छन् ।
चालु आर्थिक वर्षमा बागमती प्रदेशमा भएका ४३५ विपद्जन्य घटनामा सशस्त्र प्रहरी परिचालन भई ५१९ जनाको सकुशल उद्धार, एक हजार ९०८ घाइतेको उद्धार तथा ३०५ जनाको शव व्यवस्थापन गरी कुल दुई हजार ७३२ जनालाई उद्धार सेवा प्रदान गरेको बाहिनीपति बस्नेतले जानकारी दिए । तीमध्ये ३१ घटनामा दक्ष गोताखोर परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं १७ गण हेडक्र्वाटर चितवनका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर बानियाँले तालिम पौडी पोखरी तथा नारायणी नदी र त्रिशूली नदीमा सञ्चालन गरिएको जानकारी दिए । उनले तालिमबाट गोताखोरको क्षमता अभिवृद्धि भएको विश्वास व्यक्त गर्दै सशस्त्र प्रहरीले पहिलोपटक पुनर्ताजगी तालिम सञ्चालन गरेको बताए ।
जीवनरक्षा नै सशस्त्र प्रहरीको मुख्य उद्देश्य भएकाले यस्ता तालिमले उद्धारकार्यलाई थप प्रभावकारी बनाउने प्रमुख प्रहरी उपरीक्षक बानियाँको भनाइ छ । यसअघि सिन्धुलीको खुर्कोटमा १० जनालाई यस्तै तालिम प्रदान गरिएको थियो भने अहिले चितवनमा १० जना सहभागीलाई पुनर्ताजगी तालिम दिइएको हो ।
चितवन । चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका अग्रज पत्रकार तथा साहित्यकार धर्मराज अर्यालको आठौँ स्मृति दिवस मनाइएको छ ।
‘स्वतन्त्र, जिम्मेवार र सशक्त पत्रकारिता, समृद्धि साहित्य र समुन्नत समाजका लागि’ भन्ने मूल नारासहित चितवन पोष्ट दैनिकले पत्रकार महासंघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले धर्मराज अर्यालले चितवनको पत्रकारिता तथा साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले मोफसल पत्रकारिताको विकासमा धर्मराज अर्यालको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले अर्याललाई मोफसल पत्रकारिताका नायकका रूपमा उल्लेख गर्दै राष्ट्रिय समाचार समिति र चितवन पोष्टमार्फत उनले पत्रकारितामार्फत चितवनको विकासमा उल्लेखनीय योगदान पुर्याएको बताए ।
साहित्यकार तथा लेखक डिआर पोखरेलले साहित्य र पत्रकारिता दुवै क्षेत्रमा धर्मराज अर्यालको योगदान स्मरणीय रहेको बताए । उनले अर्यालको योगदानलाई भावी पुस्तासम्म पुर्याउन स्मृतिग्रन्थ प्रकाशन गर्न चितवन पोष्ट दैनिकलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष जनक अर्यालले धर्मराज अर्याल इमान्दार, निष्ठावान् र आफूले सही ठानेको विषयका लागि जुनसुकै मूल्य चुकाउन तयार रहने व्यक्तित्व भएको उल्लेख गरे । पत्रकार रामकुमार एलनले आफूहरूका लागि चितवन पोष्ट विश्वविद्यालयसरह रहेको बताउँदै धर्मराज अर्यालबाट पत्रकारिताका धेरै पाठ सिक्न पाएको स्मरण गरे ।
कार्यक्रममा साहित्यकार धनराज गिरी, पत्रकार वीरेन्द्रमणि पौडेल, शशिधर गैरे, अनिल ढकाल, प्रकाश ज्ञवाली, साहित्यकार उदय अधिकारी, भानु उपाध्याय, राजेन्द्र घायल, मधुसूदन दवाडीलगायतले धर्मराज अर्यालको व्यक्तित्व, कृतित्व तथा चितवनको पत्रकारिता र साहित्य क्षेत्रमा उनले पुर्याएको योगदानबारे चर्चा गरेका थिए । सहभागीहरुले धर्मराज अर्यालको निष्पक्ष, जिम्मेवार र समाजप्रति समर्पित पत्रकारिता आजका पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
चितवन । चितवनको राप्ती नगरपालिकामा व्यापक आर्थिक अनियमितता र वित्तीय अनुशासनहीनता देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनले नगरपालिकामा कुल ३८ करोड ९१ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ ।
प्रतिवेदनअनुसार समीक्षा वर्षमा २ अर्ब १ करोड ७८ लाख १६ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा २ करोड ८८ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको थियो । प्रतिक्रिया तथा फछ्र्यौटपछि अद्यावधिक बेरुजु थपिएर ३ करोड नजिक पुगेको उल्लेख छ ।
कायम बेरुजुमध्ये २९ लाख २३ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ करोड ६३ लाख ९० हजार रुपैयाँ प्रमाण कागजात पेस गर्नुपर्ने तथा १४ लाख ५७ हजार रुपैयाँ नियमित गर्नुपर्ने देखिएको छ। प्रतिवेदनले नगरपालिकाभित्र विभिन्न अनियमित खर्चसमेत औँल्याएको छ। वडा नं–७ स्थित मेलमिलाप केन्द्रका पदाधिकारीलाई कानुनविपरीत पोसाक भत्ता वितरण गरिएको पाइएको छ । साडी, चोलो तथा सर्ट–पाइन्ट खरिदका नाममा जनही ३ हजारका दरले कुल १५ हजार रुपैयाँ भुक्तानी गरिएकोलाई महालेखाले पूर्ण रूपमा अनियमित ठहर गरेको छ ।
त्यस्तै, सवारी इन्धन खर्चमा पनि ठूलो अनियमितता देखिएको छ । नगरपालिकाले पेस गरेको अभिलेखभन्दा १८ लाख २६ हजार रुपैयाँ बढी इन्धन खर्च भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यालय बाहिरका व्यक्ति तथा संस्थाका गाडीमा प्रयोग भएको ४ लाख ४३ हजार रुपैयाँ बराबरको इन्धन समेत नगरपालिकाले व्यहोरेको पाइएको छ ।
यस्तै, नगरप्रमुख र उपप्रमुखको इन्धन खर्चको स्पष्ट अभिलेख नराखिएको तथा २३ वटा मोटरसाइकलमा नियमविपरीत ४ लाख ४३ हजार रुपैयाँभन्दा बढी पेट्रोल खर्च गरिएको पनि प्रतिवेदनमा औँल्याइएको छ । महालेखाको प्रतिवेदनले राप्ती नगरपालिकाको वित्तीय व्यवस्थापनमा गम्भीर सुधार आवश्यक रहेको सङ्केत गरेको छ ।
चितवन । चितवनका सात वटा स्थानीय तहले ४ अर्ब ९६ करोड ४ लाख रुपैयाँ पाएका छन् । अर्थ मन्त्रालयले अन्तर–सरकारी वित्तीय हस्तान्तरण मार्फत जिल्लाका पालिकालाई सो रकम हस्तान्तरण गरेको हो । सरकारले स्थानीय तहलाई समानीकरण, सशर्त, विषेश र समपूरक अनुदानमार्फत रकम हस्तान्तरण गर्ने गर्दछ ।
चितवनका सात वटा स्थानीय तहले समानीकरण अनुदानअन्तर्गत एक अर्ब २७ करोड ४८ लाख, सशर्त अनुदानअन्तर्गत ३ अर्ब ५१ करोड ९९ लाख, विषेश अनुदानअन्तर्गत ७ करोड ५४ लाख, समपूरक अनुदानअन्तर्गत ९ करोड ३ लाख प्राप्त गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिकालाई सबैभन्दा बढी २ अर्ब ५ करोड १७ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । उसले समानीकरण अनुदानतर्फ ३९ करोड ६५ लाख, सशर्त अनुदानतर्फ १ अर्ब ६१ करोड ७ लाख, विशेष अनुदानतर्फ २ करोड ५० लाख र समपूरक अनुदाततर्फ १ करोड ९५ लाख प्राप्त गरेको छ ।
भरतपुर महानगरपालिकापछि रत्ननगर नगरपालिकाले सबैभन्दा बढी रकम पाएको छ । रत्ननगर नगरपालिकाले ५८ करोड ३४ लाख रुपैयाँ प्राप्त गरेको छ । उसलाई समानीकरण अनुदानतर्फ १८ करोड १७ लाख, सशर्त अनुदानतर्फ ३८ करोड ७७ लाख, विशेष अनुदानतर्फ ९० लाख र समपूरकतर्फ ५० लाख रुपैयाँ बजेट निकासा भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिकाले ५३ करोड ५ लाख रुपैयाँ रकम प्राप्त गरेको छ । राप्तीले विशेष अनुदान र समपूरकतर्फको अनुदान प्राप्त गर्न सकेको छैन । उसले समानीकरण अनुदानतर्फ १६ करोड ६७ लाख र सशर्त अनुदान ३६ करोड ३८ लाख रुपैयाँ प्राप्त गरेको छ ।
माडी नगरपालिकालाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ५० करोड २६ लाख रुपैयाँ प्रदान गरिएको छ । माडीले समानीकरण अनुदानतर्फ १२ करोड ९६ लाख, सशर्त अनुदान ३३ करोड ३९ लाख, विशेष अनुदान १ करोड ४६ लाख र समपूरक अनुदानतर्फ २ करोड ४५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै, खैरहनी नगरपालिकालाई ४५ करोड ९५ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । खैरहनीले सबैभन्दा बढी सशर्त अनुदानमार्फत २५ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, समानीकरण अनुदानतर्फ १५ करोड ७० लाख, विशेष अनुदानतर्फ २ करोड ३८ लाख र समपूरक तर्फ १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पाँच वटा नगरपालिकामध्ये कालिका नगरपालिकाले सबैभन्दा कम रकम प्राप्त गरेको छ । कालिकाले ४४ करोड ६८ लाख रुपैयाँ मात्र प्राप्त गरेको छ । उसले विशेष अनुदान प्राप्त गरेको छैन । समानीकरण अनुदानतर्फ १४ करोड ३ लाख, सशर्त अनुदानतर्फ २८ करोड ५३ लाख र समपूरकतर्फ २ करोड १२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले ३८ करोड ५९ लाख रुपैयाँ प्राप्त गरेको छ । उसले सबैभन्दा बढी सर्शत अनुदानतर्फ २८ करोड ३ लाख रकम प्राप्त गरेको छ । समानीकरण अनुदानतर्फ १० करोड ३० लाख र समपूरक अनुदानतर्फ २६ लाख रुपैयाँ प्राप्त गरेको छ । इच्छाकामनाले पनि विशेष अनुदान प्राप्त गरेको छैन ।
चितवन । चैते धान लगाउने सिजनमै सरकारले न्यूनतम समर्थन मूल्य तोक्दा चितवनका किसान उत्साहित भएका थिए । विगतका वर्षमा धान पाकिसकेपछि मात्र मूल्य निर्धारण गर्ने परिपाटी तोड्दै सरकारले यसपटक रोपाइँकै समयमा प्रतिक्विन्टल दुई हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा समर्थन मूल्य घोषणा गरेको थियो ।
किसानले यसलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने सरकारी प्रतिबद्धताका रूपमा बुझे । तर, खेतमा पसिना बगाएर धान भित्र्याउने बेला आइपुग्दा भने त्यो मूल्य कागजमै सीमित बनेको छ ।
पूर्वी चितवनका किसानहरू अहिले आफ्नो उत्पादन बिक्री गर्दा सरकारले तोकेको मूल्यको आधा जति रकममा समेत चित्त बुझाउन बाध्य छन् । यसले उत्पादन लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको किसानहरूको गुनासो छ ।
खैरहनीका किसान गणेशकुमार श्रेष्ठले डेढ बिघा जमिनमा चैते धान खेती गरेका छन् । उत्पादन घट्नुका साथै मूल्य पनि नपाउँदा आफू दोहोरो मारमा परेको उनी बताउँछन् । उनका अनुसार एक बिघामा २० देखि २२ हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । रोपाइँका लागि खेतालाको ज्याला प्रतिव्यक्ति ९ सय रुपैयाँ पुगेको छ भने मलखादको मूल्य पनि महँगो भएको उनले बताए ।
‘लागत मूल्य उठाउन मात्र पनि धानको मूल्य प्रतिक्विन्टल चार हजार रुपैयाँ जति हुनुपर्छ,’ श्रेष्ठले धानको रास देखाउँदै भने ‘सरकारले समर्थन मूल्य तोक्यो भनेर खुसी भएका थियौँ । तर, अहिले बजारमा त्यसको कुनै अर्थ देखिएन ।’ उनले आवश्यक समयमा मल सहजरूपमा नपाइने समस्यासमेत रहेको सुनाए ।
चितवनका अर्का किसान सुवास थापा कृषि उत्पादनको लागत निरन्तर बढिरहे पनि धानको मूल्य भने घट्दै गएको बताउँछन् । उनका अनुसार ट्याक्टरको भाडा, मजदुरी र कृषि सामग्रीको खर्च बढ्दो छ । ‘खेतालाको ज्याला एक हजार रुपैयाँ पुगिसक्यो । ट्याक्टरको भाडा पनि महँगो छ,’ उनले भने ‘यस्तो अवस्थामा कम्तीमा तीन हजार रुपैयाँ प्रतिक्विन्टल मूल्य भए किसानलाई केही राहत हुन्थ्यो ।’
उनले छिमेकी जिल्लाका केही स्थानीय तहले धान खरिदका लागि दर निर्धारण गरेर किसानलाई सहयोग गरिरहेको उल्लेख गर्दै चितवनमा त्यस्तो पहल नदेखिएको गुनासो गरे । अघिल्लो एक वर्ष व्यापारीबीच प्रतिस्पर्धा हुँदा धानको मूल्य २८ सय रुपैयाँसम्म पुगेको स्मरण गर्दै उनले यसपटक किसानमाथि अन्याय भएको बताए ।
पूर्वी चितवनका अधिकांश किसानले अहिले फरक–फरक मूल्यमा धान बिक्री गरिरहेका छन् । कतिले प्रतिक्विन्टल १ हजार ५ सय रुपैयाँ पाएका छन् भने कतिले १ हजार ८ सय रुपैयाँसम्ममा बिक्री गरेको उनले बताए । सरकारले तोकेको मूल्य र बजार मूल्यबीचको ठूलो अन्तरले किसान निराश बनेको उनको धनीराम चौधरी बताउँछन् ।
‘पाँच कठ्ठाको धान बेचेर परिवारको खर्च धान्न सकिन्थ्यो । अहिले त लागत उठाउन पनि गाह्रो भएको छ । मलको अभाव छ । जोताइको खर्च बढेको छ । सरकारले किसानलाई हेर्नुपर्छ ।’
कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा गत चैतको तेस्रो सातामै चैते धानको समर्थन मूल्य निर्धारण गरिएको थियो । किसानलाई उचित मूल्य सुनिश्चित गर्नु र उत्पादन वृद्धि गर्न प्रोत्साहित गर्ने सरकारको उद्देश्य थियो । तर व्यवहारमा भने उक्त निर्णय कार्यान्वयन हुन नसकेको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल बताउँछन् । उनले सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार खरिद–बिक्री हुन नसकेको बताए । उनका अनुसार किसानको
उत्पादन बजारसम्म पु¥याउने, खरिद प्रणालीलाई व्यवस्थित बनाउने र समर्थन मूल्य कार्यान्वयन गराउने विषयमा राज्यको सक्रियता आवश्यक छ ।
‘न्यूनतम समर्थन मूल्य घोषणा मात्रै गरेर हुँदैन,’ उनले भने ‘त्यो मूल्यमा खरिद सुनिश्चित गर्न सरकारी संयन्त्र र बजार व्यवस्थापन दुवै आवश्यक हुन्छ । किसानको पक्षमा सहजीकरण गर्नुपर्ने देखिएको छ ।’
सरकारले १८ प्रतिशत चिस्यान भएको चैते धानका लागि उक्त समर्थन मूल्य निर्धारण गरेको हो । यदि चिस्यान मात्रा १८ प्रतिशतभन्दा बढी भएमा प्रतिक्विन्टल एक किलो दुई सय ग्रामका दरले तौल घटाएर मूल्य कायम गर्ने व्यवस्था छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल ५५ रुपैयाँ ८० पैसा बढाइएको थियो । अघिल्लो वर्ष समर्थन मूल्य २ हजार ८ सय रुपैयाँ ६९ पैसा थियो ।
चितवन । निजामती कर्मचारीले स्वास्थ्य उपचारका लागि केन्द्रीय राजधानी काठमाडौँको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले प्रदेश स्तरमै अस्पतालको सेवा विस्तार गरेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारदेखि नै लागू हुनेगरी विभिन्न प्रदेश अस्पतालहरूबाट कर्मचारीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो । सेवा प्रदानका लागि भरतपुर अस्पतालसँग सम्झौता भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट विश्वबन्धु बगालेले जानकारी दिए । अब कार्ड भएका कर्मचारीहरूले सिभिल अस्पतालले दिने सरहकै सेवा भरतपुर अस्पतालबाट प्राप्त गर्ने उनले बताए ।
सरकारले बागमती प्रदेशका लागि भरतपुर अस्पताल र मधेस प्रदेशका लागि वीरगन्जस्थित नारायणी अस्पतालसँग सम्झौता गरेको हो । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारको सहजताका लागि यो नीति ल्याइएको हो ।
‘हाम्रो मुख्य उद्देश्य कर्मचारी र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उनीहरूकै प्रदेशमा उपलब्ध गराउनु हो,’ मन्त्री रावलले भनिन्, ‘यसले कर्मचारीहरूको समय र खर्च दुवैको बचत गर्नेछ र उनीहरूको मनोबल उच्च बनाउन सहयोग पुग्नेछ ।’
यस सम्झौताअनुसार अब निजामती कर्मचारीहरूले सिभिल अस्पताल काठमाडौँबाट पाउँदै आएका सबै प्रकारका छूट र सहुलियतहरू यी तोकिएका अस्पतालहरूबाटै पाउने छन् ।
सेवा प्राप्त गर्नका लागि कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालले जारी गरेको आधिकारिक परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको जिल्ला सभापतिमा इन्जिनियर मिनी माधव खनाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट खनालले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले १११ मत र प्रकाश आचार्यले २२ मत प्राप्त गरेका थिए । उपसभापतिमा निर्मला गिरी १९० मतसहित निर्वाचित भएकी छन् । अन्य उम्मेदवारमध्ये टीकादत्त इटनीले ८४ मत र प्रभाकर जोशीले ७३ मत प्राप्त गरेका थिए ।
यसैगरी सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल १९४ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गरेका थिए । सहसचिव पदमा कुशल पाठक १८७ मतसहित विजयी भए । सहसचिवका अन्य उम्मेदवार चुमबहादुर जिसीले ३७, पार्वती पाण्डेले ६९ तथा वेदप्रसाद आचार्यले ५४ मत प्राप्त गरेका थिए ।
यस्तै, क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा विष्णुप्रसाद पौडेल ५४ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी आशिष लो तामाङले ४१ मत पाए ।
चितवन । नेपाली सेनाको श्री नयाँ सबुज गणको आयोजना, खैरहनी नगरपालिकाको समन्वय तथा चितवन जिल्लाका विभिन्न अस्पतालहरूको सहकार्यमा खैरहनी नगरपालिका–४ चैनपुरस्थित नेपाल राष्ट्रिय भूपू सैनिक संघ, क्षेत्र नं १, इकाई नं ३ (कंकाली पिकनिक परिसर) मा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ग्रामीण भेगका सर्वसाधारणलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए।
शिविरमा श्री नयाँ सबुज गणका गणपति प्रमुख सेनानी सुदीपकुमार तामाङ्ग, गणका ज्येष्ठ सेनानी, डा अधिकृत, पदिक तथा अन्यदर्जा सैनिक, एनसिसी अल्मुनाई सदस्यहरू, विशेषज्ञ गैरसैनिक चिकित्सक तथा चितवन जिल्ला भूपू सैनिक संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रमुख सेनानी सुदिप कुमार तामाङ्गको कमाण्डमा १र२४ को नफ्रि तथा श्री नं ७ फिल्ड एम्बुलेन्स गुल्मबाट प्रा सहसे डा सुनिल गुरुङको कमाण्डमा १र६ को नफ्रिसहितको टोली परिचालन गरिएको थियो। शिविरमा मौलाकालिका अस्पतालका ३ जना, भरतपुर आँखा अस्पतालका ४ जना तथा नेशनल सि।टी। अस्पतालका २ जना विशेषज्ञ चिकित्सकहरूको सहकार्य रहेको थियो।
शिविरमा जनरल फिजिसियन, छाला रोग, स्त्री रोग, हाडजोर्नी तथा नशा रोग र मधुमेह सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको नेपाली सेनाले जनाएको छ।
आर्थिक अभाव तथा स्वास्थ्य चेतनाको कमीका कारण समयमै उपचार पाउन नसकेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरबाट खैरहनी नगरपालिकाका २८० महिला र १३३ पुरुष गरी कुल ४१३ जना लाभान्वित भएका थिए।
नेपाली सेनाका अनुसार यस्ता स्वास्थ्य शिविरहरूले नागरिक–सैनिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै स्थानीय नागरिकको स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउन एनसीसी अल्मुनाईका स्वयंसेवक, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताएका छन् । विश्व खाद्यसुरक्षा दिवसका सन्दर्भमा कुराकानी गर्ने क्रममा उनले विभिन्नथरी खाना राख्दै जाँदा प्लेट भरिने हुनाले त्यसको झण्डै आधा फालिने गरेको उल्लेख गरे ।
“होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसले गर्ने भोजरभतेरका कार्यक्रममा अधिक खाना फालिन्छ । घरमा पनि बढी खाना पकाउँदा फालिने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा फालिएका खाना पशु चौपालयले खाने भए पनि सहरी क्षेत्रमा त्यसरी फालिएका खाना फोहरका रूपमा परिणत हुन्छ”, चापागाईंले भने, “खाना फाल्न रोक्न धेरै प्रयास गरियो । सफल भइएन ।”
यसरी खाना फालिँदा खुवाउनेका लागि भोज भतेर महँगो हुने गरेको भन्दै उनले मुलुक बाहिरबाट खाद्यान्न आउने हुँदा समग्र अर्थतन्त्रमा यसले प्रभाव पार्ने बताए । बिहानको खानामा कम फालिने भए पनि दिउँसो र साँझ गरिने भोजमा अधिक फालिने गरेको चापागाईंको भनाइ छ । होटलमा मदिरासहितको भोजमा अरु बढी फालिने गरेको उनले अनुभव सुनाए ।
देशभर ३० वटा होटल, रेस्टुरेन्ट र क्याफे सञ्चालन गरिरहेका सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले ४० प्रतिशत खाना फालिने गरेको बताए । उनले भने, “सुरुसुरुमा हामीले खाना प्याकिङ गरेर घर पनि पठायौँ तर सकेनौँ ।” आफूहरूले व्यानरसमेत राखेर खाना फाल्नबाट बचाउने प्रयास गरे पनि सफल नभएको बताउँदै उनले खाना फाल्नेलाई नफाल्न आग्रह गर्दा उल्टै गाली गर्ने गरेका अनुभव सुनाए ।
आफ्नो कैलालीको होटलमा एक जना जापानिजले गरेको कार्यक्रममा फालिएको खाना देखेर ती जापानिजले ‘दैनिक चार पटक खाने खानाको अड्कल गर्न नसक्नेले के काम गर्न सक्छन्’ भन्ने प्रश्न गरेका न्यौपानेलेअनुभव सुनाए । केहीले आफूले खानसक्ने मात्र छानेर खाने गरे पनि धेरैले भोजमा राखिएका सबै चिज खान खोज्दा धेरै फालिने गरेको न्यौपानेले बताए । उनले भने, “खाना फाल्नबाट रोक्न सकियो भने भोजभतेरको खर्च कम हुन्छ ।” फालिने खानाको समेत हिसाब गर्नुपरेकाले आयोजकको खर्च बढ्ने गरेको उनको भनाइ छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले विश्वमा फालिएको खाना बचाउने हो भने ३० प्रतिशतलाई खान पुग्ने जानकारी दिए । आफू विद्यावारिधि गर्दा छ वर्ष जापान बसेको भन्दै उनले जापानिज खाना बाँकी रहेमा पोको पारेर घर लैजाने गरेकाले नै अन्य देशमा खानाको सुरक्षा कम हुने गरेको बताए । “नेपालमा खाना फाल्ने चलन धेरै छ । यसलाई रोक्न सबैको पहल र ऐक्यबद्धता जरुरी छ । खानालाई कसरी स्वस्थकर बनाउन सकिन्छ भन्नेबारेमा सोच्नुपर्ने देखिन्छ”, उनले भने ।
भारतमा महात्मागान्धीले कसैलाई असहज महसुस हुनासाथ एकछाक खाना छोड्न गरेको अपिल स्मरण गर्दै गान्धीले सधैँ भातको सट्टा खानामा विविधीकरण गर्नुपर्ने बताउने प्राडा घिमिरेले उल्लेख गरे । टर्कीका बासिन्दाले पहिलेपहिले बिहान बेलुका दालभात, तरकारी खाने गरेकामा अहिले एकछाक अन्य परिकार खाने गरेका भन्दै नेपालीले पनि यस विषयमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । खाद्य बचत र स्वास्थ्यका लागि यो उत्तम विकल्प हुनसक्ने उहाँको भनाइ छ । नियमित बिहान बेलुका दालभात तरकारी खाने प्रचलनका कारण कम उत्पादन भए पनि धान रोप्ने नेपाली परम्परालाई परिवर्तन गरेर जे धेरै उत्पादन हुन्छ त्यसमा ध्यान दिन प्राडा घिमिरेले आग्रह गरे । नेपालले वार्षिक रु ४५ देखि ५० अर्बको खाद्यान्न मात्र आयात गर्ने जनाउँदै उनले खाना नफाल्ने, खानामा विविधीकरण ल्याउने र बाँझो जमिनमा खेती गर्नसके आयात घट्ने बताए ।
चितवन । नेपाल स्काउट एण्ड गाइड फेलोसिप (एनएसजिएफ)को राष्ट्रिय कार्यसमितिको बैठक सभापति श्रीराम लामिछानेको सभापतित्वमा सम्पन्न भएको छ ।
बैठकले आर्थिक वर्षको समीक्षा, आगामी वर्षको बजेट एवम् कार्यक्रमको तर्जुमा गर्दै जाजरकोट भूकम्पपीडित बालबालिकाप्रति सहानुभूति व्यक्त गरिएको उपसभापति तीर्थराज न्यौपानेले जानकारी दिए । सो अवसरमा उपसभापति न्यौपाने र अन्तर्राष्ट्रिय सचिव वैकुण्ठ मरहठ्ठाले आगामी आर्थिक वर्षको कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
देवेन्द्र न्यौपाने र सहसचिव दिनेश पाण्डेले सहजीकरण गरेको बैठकमा पुष्प श्रेष्ठ, मुक्तिनाथ ढकाल, बुद्धिबहादुर गुरूङ र भानुभक्त अर्यालले छलफलमा भाग लिँदै समसामयिक प्रश्न राख्दै संस्थालाई अगाडि बढाउने विषयमा जोड दिए ।
बैठकले २०८३ असारको दोस्रो सातामा जनकपुर, गोरखा र ललितपुरमध्ये कुनै एक जिल्लामा नेपाल स्काउट एण्ड गाइड फेलोसिप (एनएसजिएफ)को सातौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनका लागि विभिन्न समितिको पदपूर्ति गर्ने र सोहीअनुसार कार्यविभाजन गर्ने निर्णय भएको उपसभापति न्यौपानेले बताए ।
अन्तर्राष्ट्रिय स्काउटको नीति तथा कार्यक्रमहरुलाई अंगिकार गर्दै नेपालको स्काउटिङ विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापित शैक्षिक तथा सेवामूलक सामाजिक संस्था एनएफजिएफ नेपाल स्काउटसँग सहकार्य गर्ने संस्था हो । यो संस्था सक्रिय स्काउटिङबाट निवृत्त भएका स्काउट र गाइड सदस्यहरूको संस्था हो, जसले अन्तर्राष्ट्रियस्तरमा इन्टरनेसनल स्काउट एण्ड गाइड फेलोसिप (आइएसजिफ) अन्तर्गत काम गर्छ ।
नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त श्रीराम लामिछानेले नेतृत्व गर्दै आएको यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउँदै कार्यक्रम विस्तार गरिरहेको छ । यस संस्थाले सामुदायिक विकास, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र पूर्वस्काउट/गाइडहरूको अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सातवटै प्रदेशमा आफ्ना गतिविधि विस्तार गर्ने क्रममा रहेको सभापति श्रीराम लामिछानेले बताए ।
भरतपुर । विद्यार्थीहरूमा नैतिक मूल्य, कानुनी चेतना तथा जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले आयोजित नैतिक तथा कानुनी शिक्षा रप्राथमिक उपचारसम्बन्धी विद्यार्थी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ को कार्यालयअन्तर्गत वडा शिक्षा समिति र अङ्कुरम् एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ७ भित्र रहेका अङ्कुरम् एकेडेमी, राष्ट्रिय माध्यमिक विद्यालय, कृष्णपुर र प्रेमबस्ती माध्यमिक विद्यालयका ७२ जना विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा शुभेच्छा मन्तव्य व्यक्त गर्दै भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सुवासचन्द्र आचार्यले विद्यालयलाई केवल भौतिक संरचनामात्र नभई सभ्य, जिम्मेवार र नैतिक नागरिक उत्पादन गर्ने सामाजिक संस्थाका रूपमा व्याख्या गरे । उनले कानुनी अज्ञानता कुनै पनि व्यक्तिका लागि छुटको आधार बन्न नसक्ने भएकाले विद्यार्थी अवस्थादेखि नै कानुनी साक्षरताको विकास गर्न आवश्यक रहेको बताए । ‘मैले नजानेर कानुन उल्लङ्घन गरेँ भनेर दायित्वबाट उम्कन सकिँदैन,’ उनले भने, ‘त्यसैले कानुनी ज्ञानसँगै नैतिक शिक्षाको विकास पनि उत्तिकै आवश्यक छ ।’
कार्यक्रम भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकाससँग जोडिनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई असल, सभ्य र जिम्मेवार नागरिकका रूपमा विकास गर्न यस्ता अतिरिक्त तथा व्यवहारिक कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।
उनले कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई आफ्ना विद्यालय तथा समुदायमा विस्तार गरी अन्य विद्यार्थीलाई समेत लाभान्वित गराउनुपर्नेमा जोड दिए । समय व्यवस्थापनको महत्त्वबारे चर्चा गर्दै उनले समयको मूल्य सबैले बुझ्ने गरे पनि व्यवहारमा त्यसको प्रभावकारी प्रयोग गर्न नसकिएको बताए । परिवर्तनको सुरुआत आफूबाटै गर्नुपर्ने उल्लेख गर्दै उनले प्रेरणादायी छोटो मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक प्रा.डा. होमबहादुर बस्नेतले आफ्नो प्रशिक्षणको ६२३औँ शृङ्खलाअन्तर्गत विद्यार्थीहरूलाई नैतिकता, सकारात्मक सोच, आत्मानुशासन तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिएका थिए । उनले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम नभई जीवनलाई सही दिशामा डो¥याउने प्रक्रिया भएको बताए । सफल जीवन निर्माणका लागि सकारात्मक सोच, समयको सदुपयोग, अनुशासन तथा निरन्तर प्रयास आवश्यक रहने उनको भनाइ थियो ।
प्रा.डा. बस्नेतले अभिवादन संस्कार, सम्मानजनक व्यवहार र जिम्मेवारीबोधले व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे । सकारात्मक दृष्टिकोण सफलताको मूल आधार भएको बताउँदै उनले ‘सकारात्मकताका रङले संसारलाई रङ्ग्याऔँ” भन्ने सन्देशसहित विद्यार्थीहरूलाई समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न प्रेरित गरेका थिए । उत्तरदायित्व पूरा गर्न सक्ने व्यक्तिले नै आफ्नो अधिकारको सही उपयोग गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रमको दोस्रो चरणमा सहभागी विद्यार्थीहरूलाई प्राथमिक उपचारसम्बन्धी व्यवहारिक तालिम प्रदान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटीका प्रशिक्षक चीजबहादुर आलेले सहजीकरण गरेको उक्त तालिममा आकस्मिक दुर्घटना वा स्वास्थ्य समस्या उत्पन्न हुँदा अस्पताल वा विशेषज्ञ चिकित्सकको सेवा प्राप्त नहुँदासम्म अपनाउनुपर्ने प्राथमिक उपचारका उपायहरूबारे जानकारी गराइएको थियो ।
तालिमका क्रममा अत्यधिक रक्तश्राव नियन्त्रण गर्ने विधि, सर्पदंश भएमा अपनाउनुपर्ने सावधानी, विषालु तथा विषरहित सर्पको पहिचान, हातखुट्टा भाँचिएको अवस्थामा गरिने प्राथमिक उपचार तथा आपत्कालीन अवस्थामा देखाउनुपर्ने सतर्कताका विषयमा व्यावहारिक अभ्याससमेत गराइएको थियो ।
वडा शिक्षा समिति सदस्य रामचन्द्र चालिसेले सञ्चालन गरेको कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
रत्ननगर । रत्ननगर नगरपालिका–१६, हात्तीगाडेस्थित श्री भद्रकाली माध्यमिक विद्यालयमा शुक्रबार शिक्षक तथा विद्यार्थीहरूको मानसिक सुस्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थ तथा पिठुवा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यक्रम व्यवस्थापक डा. सुधांशु गौतम, मनोसामाजिक परामर्शदाता सुनिता जिरेल र सबिना भुसालको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक शंकर घिमिरेलगायत सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रमको आवश्यकता र मह¤वबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै डा. गौतमले नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले विगत तीन वर्षदेखि यस विद्यालय तथा आसपासका विद्यालयहरूमा विद्यार्थीकेन्द्रित मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले विद्यालय मानसिक स्वास्थ्यको विषय विद्यार्थीहरूमा मात्र सीमित नभई शिक्षकहरूको मानसिक सुस्वास्थ्यलाई पनि समानरूपमा प्राथमिकता दिन आवश्यक रहेको धारणा राखे ।
उनका अनुसार शिक्षक मानसिक स्वास्थ्य विद्यालयको समग्र शैक्षिक वातावरणसँग प्रत्यक्षरूपमा जोडिएको विषय हो । शिक्षकहरू ज्ञान प्रदान गर्ने व्यक्ति मात्र नभई विद्यार्थीका मार्गदर्शक, प्रेरणाका स्रोत र भावनात्मक सहारा पनि हुन् । यदि शिक्षक स्वयम् मानसिक तनाव, थकान, चिन्ता, अवसाद वा पेसागत दबाबबाट प्रभावित छन् भने त्यसले शिक्षण–सिकाइ प्रक्रियाको गुणस्तर, विद्यार्थीसँगको सम्बन्ध तथा विद्यालयको समग्र वातावरणमा प्रत्यक्ष असर पार्न सक्छ ।
हाल विश्वव्यापी रूपमा शिक्षकहरूमा ‘बर्नआउट’ (कामको अत्यधिक दबाबका कारण हुने मानसिक तथा शारीरिक थकान), तनाव, चिन्ता, अनिद्रा तथा अवसादका समस्या बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् । नेपालमा पनि बढ्दो कार्यभार, प्रशासनिक जिम्मेवारी, अभिभावक तथा समुदायको अपेक्षा, सीमित स्रोत–साधन तथा बदलिँदो शैक्षिक चुनौतीका कारण शिक्षकहरू मानसिक दबाबको सामना गरिरहेका छन् ।
विद्यार्थीहरूले आफ्नो अधिकांश समय विद्यालयमा बिताउने भएकाले उनीहरूको मानसिक, सामाजिक तथा भावनात्मक विकासमा शिक्षकहरूको मह¤वपूर्ण भूमिका रहने गर्दछ । मानसिकरूपमा स्वस्थ शिक्षकले विद्यार्थीलाई राम्रोसँग बुझ्न, सहयोग गर्न, सकारात्मक सिकाइ वातावरण निर्माण गर्न तथा मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक सङ्केत पहिचान गर्न सक्षम हुन्छन् । त्यसैले विद्यार्थीको मानसिक सुस्वास्थ्य सुनिश्चित गर्न शिक्षकको मानसिक सुस्वास्थ्यलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको विषयमा कार्यक्रममा सहभागीहरूको साझा धारणा रहेको थियो ।
छलफलका क्रममा शिक्षकहरूको मानसिक सुस्वास्थ्य कायम गर्न विद्यालयस्तरमा नियमित सचेतनामूलक कार्यक्रम, मनोसामाजिक सहयोग, तनाव व्यवस्थापन सीप तथा सहयोगी कार्य वातावरणको विकास आवश्यक रहेको विषयमा समेत जोड दिइयो । शिक्षकहरूको मानसिक स्वास्थ्य सुदृढ भएमा उनीहरूले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने, विद्यार्थी–शिक्षक सम्बन्ध थप सुदृढ बन्ने तथा त्यसको सकारात्मक प्रभाव विद्यार्थी, परिवार र समाजमा समेत पर्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा मनोसामाजिक परामर्शदाता सुनिता जिरेल र सबिना भुसालले कक्षा ९ र १० का विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, मानसिक स्वास्थ्य समस्या तथा मानसिक रोगसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेकी थिइन् । कार्यक्रममा १५ जना शिक्षक तथा ४० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा विद्यालयमा आगामी दिनहरूमा विद्यार्थी मानसिक स्वास्थ्यसँगै शिक्षक मानसिक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमहरूलाई समेत निरन्तरता दिन आवश्यक रहेको विषयमा सहभागीहरूबीच एकमत व्यक्त गरिएको थियो। शिक्षकको मानसिक सुस्वास्थ्यलाई प्राथमिकता दिएर मात्र स्वस्थ, सुरक्षित र सिकाइमैत्री विद्यालय निर्माण गर्न सकिने निष्कर्ष कार्यक्रमले निकालेको छ ।
कार्यक्रमको समापन गर्दै पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले रत्ननगर नगरपालिका वडा नं–१६ मा सञ्चालन गरिएका मानसिक स्वास्थ्यसेवाका विषयमा जानकारी दिएका थिए ।
भरतपुर । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ ।
यही जेठ १२ देखि १५ गतेसम्म काउन्सिलले सञ्चालन गरेको ‘लाइसेन्स’ परीक्षामा सिएमसी कलेजबाट ‘एमबिबिएस’ तह उत्तीर्ण गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका हुन् । काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्रमा यस वर्ष एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१।५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसैगरी, उक्त परीक्षामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९२.२१ प्रतिशत अर्थात् ७७ मध्ये ७१ उत्तीर्ण गराई दोस्रो र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको ८९.७७ प्रतिशत अर्थात् ८८ मध्ये ७९ जना उत्तीर्ण गराई तेस्रो हुन सफल भएका छन् । यसैगरी, भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत र फिलिपिन्समा पढेका २८.५७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् भने इजिप्ट र रसियामा पढेकाहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ ।
काउन्सिलको नतिजाअनुसार नेपाल बाहिर पढेका विद्यार्थीले सात–आठपटक परीक्षा दिने गरेका तर नेपालका मेडिकल कलेजमा पढेकाले बढीमा दुई पटकमै परीक्षा उत्तीर्ण गरेको यथार्थलाई विश्लेषण गर्दा चिकित्सा विधामा नेपालको पढाइ सन्तोषजनक रहेको देखिन्छ । काउन्सिलका अनुसार नेपालको समग्र नतिजा राम्रो भए पनि विदेशका मेडिकल कलेजमा पढेका नेपाली विद्यार्थीको नतिजाले सम्बद्ध सबैलाई पुनः चिन्तित बनाएको छ ।
यसै सन्दर्भमा चितवन मेडिकल कलेजका उपनिर्देशक अरुण कोइरालाले मेडिकल कलेजहरूको शैक्षिक गुणस्तरको मानकका रुपमा लिइने काउन्सिलको यस वर्षको परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको सिएमसीको उत्पादन गर्व गर्न लायक रहेको बताए । कुशल व्यवस्थापनसहित सिएमसीमा कार्यरत शैक्षिक तथा प्रशासनिक जनशक्तिको खटाइ र विद्यार्थीको मेहनतका कारण सर्वोत्कृष्ट हुन सफल भएको स्पष्ट गर्दै उपनिर्देशक कोइरालाले भने, ‘आउँदा दिनमा शत्प्रतिशत नतिजा प्राप्त गर्ने लक्ष्यका साथ अघि बढ्ने छौँ । स्वदेश तथा विदेशका प्रतिभावान् विद्यार्थीहरूको पहिलो रोजाइमा ‘सिएमसी’ पर्नेगरी सम्पूर्ण टिम परिचालित हुनेछ ।’
सिएमसी कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले शैक्षिक गुणस्तरका पक्षमा कुनै पनि सम्झौता नगरी अघि बढेकाले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले देशकै करिब मध्यभागमा अवस्थित चितवनको भरतपुरमा अवस्थित सुविधासम्पन्न सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिएका, अनुभवी एवम् क्षमतावान् शिक्षक तथा कर्मचारीको व्यवस्था गरिएको र पठनपाठनसहित अनुशासनलाई प्राथमिकता दिएकाले पछिल्ला वर्षहरूमा अब्बल विद्यार्थीको रोजाइमा सिमसी कलेज परेको स्पष्ट गरे ।
सो कलेजमा स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब), बिएस्सी एमआइटी (रेडियोग्राफी)को पढाइ हुने गरेको छ । यसैगरी, स्नातकोत्तर तहमा एमडी्एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडिएमसिएचको पढाइ हुने सो कलेजले जनाएको छ । सो क्याम्पसमा अहिले विभिन्न विधा र तहमा गरी एक हजार ४०० विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रशासनले जनाएको छ ।
रत्ननगर । पश्चिम नेपालमा मात्रै पाइने लोपोन्मुख कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिका–९ स्थित टिकौली जङ्गल क्षेत्रमा निर्माण गरिएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार ल्याउने तयारी भइरहेको छ ।
वन तथा वातावरणमन्त्री गीता चौधरीले आफ्नो कार्यभार सम्हालेपछि गरेका पहिलो चार निर्णयमध्ये कृष्णसार स्थानान्तरणका विषयलाई प्राथमिकतामा राखेपछि सात वर्षअघि रत्ननगर नगरपालिकाले अघि बढाएको अभियानले मूर्तरूप पाउन लागेको छ । केही समयअघि प्राविधिक टोलीले संरक्षण केन्द्र वरिपरि रहेका केही भित्र नुपुगेका र बाहिर ढल्केका रुख हटाउनुपर्ने सुझाव दिएपछि सो प्रक्रिया अघि बढाइएको हो ।
रत्ननगर नगरपालिकाले टिकौलीमा कृष्णसार राख्न आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको जनाएको छ । नगरप्रमुख प्रलाद सापकोटाले तारजालीलगायत भौतिक पूर्वाधार निर्माण पूरा भइसकेको जानकारी दिए । उनले भने, ‘तारजालीलगायत अन्य भौतिक पूर्वाधार पूरा भइसकेको छ । सबै नगरपालिकाकै खर्चमा कृष्णसार ल्याउन लागिएको हो ।’
उनका अनुसार पहिलो चरणमा १२ पोथी र छ भाले गरी १८ वटा कृष्णसार ल्याइने तयारी गरिएको छ । डिभिजन वन कार्यालय चितवनको प्राविधिक सहयोगमा संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । कृष्णसारका लागि तयार गरिएका क्षेत्रमा घाँसे मैदानको छेउछाउमा रहेका केही रुख व्यवस्थापन गर्ने काम मात्रै बाँकी रहेको उनले बताए ।
नगरप्रमुख सापकोटाका अनुसार कृष्णसार संरक्षण केन्द्र निर्माणमा हालसम्म करिब तीन करोड रुपैयाँ खर्च भइसकेको छ । ‘कृष्णसार ल्याएपछि यहाँको पर्या–पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरेका छौँ’, उनले भने ।
कृष्णसार संरक्षणलाई पर्या–पर्यटनसँग जोड्ने योजना रहेको बताउँदै प्रमुख सापकोटाले भने, ‘यहाँ कृष्णसार ल्याएर हुर्काउने र संरक्षण गर्ने आफ्नो ठाउँमा रह्यो, त्यसलाई पर्या–पर्यटनसँग जोड्ने पनि हाम्रो लक्ष्य हो । त्यही क्षेत्रमा हरियाली पार्क निर्माणको काम पनि भइरहेको छ ।’
केन्द्रनजिकै रहेको खगेरी खोलाको पानी उपयोग गरेर बोटिङ सञ्चालन गर्ने र पश्चिम चितवनतर्फ रहेको नहर सञ्चालनमा थप सहजता ल्याउने योजना रहेको बताए । ‘सौराहा आउने पर्यटकलाई टिकौलीसम्म आकर्षित गर्ने उद्देश्यले पर्या–पर्यटनको अवधारणा अघि बढाइएको हो’, उनले भने ।
टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेका छन् । नगरप्रमुख सापकोटाले कृष्णसारलाई चितुवाको जोखिमबाट जोगाउन केही रुख हटाउन आवश्यक देखिएको बताए । उनले आवश्यक प्रक्रिया पूरा भएपछि कृष्णसार चाँडै चितवन ल्याइने विश्वास व्यक्त गरे ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले कृष्णसार स्थानान्तरणका लागि अन्तिम चरणका काम भइरहेको बताए ।
चितुवालगायत वन्यजन्तुले रुख चढेर कृष्णसारमाथि आक्रमण गर्नसक्ने जोखिम रहेकाले इन्क्लोजर वरिपरिका केही रुख हटाउनुपर्ने निष्कर्षमा पुगेको उनले जानकारी दिए ।
उनले भने, ‘स्थलगत निरीक्षण एवं अध्ययन गर्दा केन्द्र वरिपरि रहेका केही भित्र नुगेका र बाहिर ढल्केका रुख हटाउनुपर्ने निष्कर्षमा पुगेका छौँ ।’ आचार्यका अनुसार संरक्षण क्षेत्र बाहिरतर्फ करिब १०६ वटा र भित्रतर्फ २३ वटा रुख व्यवस्थापन गर्नुपर्ने देखिएको छ । ‘अब स्थानान्तरण र रुख व्यवस्थापनको काम मात्रै बाँकी छ’, उनले भने ।
सालका रुख हटाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रतिवेदन प्रदेश वन निर्देशनालय र मन्त्रालयमार्फत वन विभागमा पठाइने उनले जानकारी दिए । ‘सरकारको प्राथमिकतामा परेको कार्यक्रम भएकाले मन्त्रालयले पनि यसलाई महत्त्वका साथ अगाडि बढाउने विश्वास गरेका छौँ’, उनले भने, ‘रुख व्यवस्थापनको काम सम्पन्न हुनासाथ करिब ९० प्रतिशत प्रक्रिया पूरा भएको मान्न सकिन्छ ।’
विसं २०७७ मा अध्ययन सुरू गरी २०७८ देखि कृष्णसार ल्याउन आवश्यक पूर्वाधार निर्माणको काम थालिएको थियो । विभिन्न प्राविधिक कारणले स्थानान्तरण प्रक्रिया केही समय ढिलाइ भएको थियो । कृष्णसार नेपालको संरक्षित वन्यजन्तुको सूचीमा रहेको लोपोन्मुख प्रजाति हो ।
विसं २०३३ मा बर्दियाको खैरापुर क्षेत्रमा यसको संख्या नौ वटामा सीमित रहेको थियो । संरक्षणका विभिन्न प्रयासपछि यसको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार विगतमा सदर चिडियाखाना र खैरापुरबाट गरी ४२ वटा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो । हाल खैरापुर र शुक्लाफाँटासहित प्राकृतिक बासस्थानमा कृष्णसारको सङ्ख्या ५०० भन्दाबढी पुगेको मन्त्रालयले जनाएको छ ।
भरतपुर । रोकिएको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरू भएको छ । बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो ।
बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिए ।
महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिलअनुसारको भुक्तानी भइसकेको बताए । रङ्गशालाको निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गर्दै छ ।
ठेक्का सम्झौताको म्याद आगामी पुस २२ गते सकिन्छ । हाल ५५ प्रतिशत काम पूरा भएको छ । विसं २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते काम सक्ने गरी कुल रु ७५ करोड ५० लाख ९१ हजार १८९ मा सम्झौता भएको थियो । धुर्मस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो ।
भरतपुर । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो ।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताए । कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो । वरण्डाभार क्षेत्र १० हजार ३०२ हेक्टर रहेको उनले जानकारी दिए ।
वन कार्यालयले वरण्डाभार वन क्षेत्रबाट एक लाख क्युफिट काठ सङ्कलन गरेपछि केही काठ बिक्रीका लागि वन निगमलाई दिइने प्रमुख आचार्यले जानकारी दिए । उनले भने, ‘चालिस लाख क्युफिट काठ वन निगमलाई दिन्छौँ, बाँकी हामीले बिक्री गर्छाैं ।’ गत वर्ष एक लाख २० हजार क्युफिट काठ निकालिएको थियो ।
यसैगरी, कार्यालयले जोखिमयुक्त स्थानका रुख पनि कटान गर्दैछ । प्रमुख आचार्यका अनुसार मानवीय र भौतिक क्षति हुनसक्ने ठाउँको पहिचान गरी रुख कटान गरिने छ । देवघाट जाने सडकका २५ वटा कटान गरिसकिएको जनाउँदै उनले भरतपुरबाट कालिका नगरपालिका जाने दुईवटा सडक किनारका र पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलको जोखिमपूर्ण रुख कटानको तयारी गरिएको बताए ।
प्रमुख आचार्यका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय नजिक नहरमा रहेका सुकेका सिसौका रुख पनि कटान गर्ने तयारी गरिएको छ । उनले भने, ‘जङ्गल क्षेत्रभित्र रहेको भए तापनि बाटोको जोखिम, टेलिफोनको जोखिम, बिजुलीको जोखिम र हवाई जोखिम यी चार वटा जोखिम भएका स्थानका रुख कटान गरिन्छ ।’
सरकारी कार्यालयमा हुनसक्ने जोखिम मध्यनजर गर्दै आसपासका रुख पनि कटान गरिँदै छ । सशस्त्र प्रहरी कार्यालय आँपटारी र प्रहरी तालिम केन्द्रमा पनि केही रुख काटिँदैछ । वन क्षेत्रमा रहेका भूमिहीन तथा सुकुमवासी बस्तीका रुखहरु भने जोखिम भए पनि काट्न नमिल्ने प्रमुख आचार्यको भनाइ छ ।
भरतपुरतर्फको देवघाट क्षेत्र, आँपटारी, गणेशस्थानलगायत क्षेत्रमा रुखहरू जोखिमपूर्ण भए पनि कटान गर्न नमिल्ने प्रमुख आचार्यले बताए । उनले भने, ‘लालपुर्जा नभएका क्षेत्रमा जोखिम भए पनि रुख काट्ने जोखिम लिन सक्दैनौँ । सरकारले निर्णय गरेर आयो भने गर्न सक्छौँ, नत्र सकिदैँन ।’
चितवन । रत्ननगर–१ मा अवस्थित माइलस्टोन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी (MIEC) ले वैदेशिक अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शतप्रतिशत छात्रवृत्ति तथा निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
विगत लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले हाल सञ्चालनमा रहेका IELTS, PTE, SAT, Duolingo English Test तथा जापानी भाषाका विभिन्न तहका कक्षाहरूमा विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म शुल्क छुट उपलब्ध गराउने घोषणा गरेको हो ।
कन्सल्टेन्सीकी सञ्चालक ज्योति सापकोटा भट्टका अनुसार विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार गर्ने तथा वैदेशिक अध्ययनको तयारीलाई सहज बनाउने उद्देश्यसहित उक्त योजना ल्याइएको हो । उनका अनुसार योजनाअन्तर्गत भर्ना हुने पहिलो ५० जना विद्यार्थीले निःशुल्करूपमा कक्षामा सहभागी हुन पाउनेछन् ।
“तपाईंको आजको कडा परिश्रमले नै भोलिको सफलता सुनिश्चित गर्छ” भन्ने मूल मन्त्रका साथ सञ्चालन भइरहेको संस्थाले विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै आर्थिक भार कम गर्ने लक्ष्य राखेको जनाएको छ ।
सीमित अवधिका लागि लागू गरिएको ‘गोल्डेन चान्स’ योजनाले चितवन तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई भाषागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।
माइलस्टोन इन्टरनेशनल विगतका वर्षहरूमा उत्कृष्ट विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि पठाउन सफल भएको संस्था हो । सो संस्थाले जापान, फिनल्याण्डसहित युरोपका विभिन्न मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । साथै ड्राइभिङ, हेयर कटिङ, बारिष्टालगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको जनाएको छ। अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा अध्यापन गराइने कक्षाहरूमा सिट संख्या सीमित रहेको संस्थाले जनाएको छ।
इच्छुक विद्यार्थीहरूले रत्ननगर–१, चितवनस्थित सहारा सुपरमार्केटनजिक रहेको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न वा ९८५५०८२४५४ तथा ०५६–५६१८४९ नम्बरमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नेछन्। संस्थाले विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित रहन, सकारात्मक सोच विकास गर्न तथा सफलताका लागि निरन्तर उत्कृष्ट प्रयास गर्न प्रेरित गर्दै आएको जनाएको छ।
भरतपुर । चितवन प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका २४ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला अदालतको विभिन्न मिति र फैसलाबमोजिम कैद तथा सजाय भई फरार रहेका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवन र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका १९ जना, जालसाजी मुद्दाका दुई जना, कुटपिट मुद्दाका दुई जना तथा राजस्व चुहावट मुद्दाका एक जना रहेका छन् ।
पक्राउ परेका प्रतिवादीहरूबाट अदालतले तोकेको कुल १८ लाख ६७ हजार ३०९ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदै कानुनी शासन कार्यान्वयनमा थप प्रभावकारी रूपमा काम गरिरहेको जनाएको छ ।
भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएर फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई चितवन जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका ऋाठ जना, लागूऔषध मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका एक जना, बैंकिङ कसुर मुद्दाका एक जना तथा कुटपिट मुद्दाका एक जना रहेका छन् ।
उनीहरूमध्ये बैंकिङ कसुर मुद्दाका एक जनालाई अदालतले जम्मा तीन दिन कैद सजाय तोकेको छ भने र सबैबाट १६ लाख २८ हजार रुपैयाँ जरिवाना असुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्र भुसन यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको प्रनाउ यादवले बताए ।
भरतपुर । ‘हरित भविष्यका लागि साइकल चलाऔँ’ भन्ने नाराका साथ विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२६ को अवसरमा भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा मङ्गलबार बृहत् साइकल र्यालीको आयोजना गरिएको छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवद्र्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजित र्यालीमा ९३ जना साइकलिस्टको सहभागिता रहेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र भरतपुर महानगरपालिका वडा नं–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेको उक्त कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, वडा नं–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायक, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पूर्जा पुनलगायतको उपस्थिति रहेको थियो ।
अङ्कुरम् एकेडेमीदेखि वनदेवी गेट, बीसहजारी ताल, बाटुली पोखरी, छितामाई हुँदै एलटिके फार्म एन्ड रिट्रिटसम्म २५ किलोमिटरको दूरीमा उक्त साइकल र्यालीको आयोजना गरिएको हो । विगत चार वर्षदेखिको अभ्यासलाई निरन्तरता दिँदै अङ्कुरम् एकेडेमी र चितवन साइकल राइडर्स क्लबको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवनको प्रवद्र्धनमा आयोजनामा भएको उक्त साइकल ¥यालीका सहभागीहरूलाई टि–सर्ट तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका हेड ब्याय उदयराज वाग्लेले भने, ‘आज हामीले लगाएका हेल्मेट, उपकरण र व्यवस्थापनका अन्य सामग्रीलाई एकैछिन पन्छाएर हेर्ने हो भने साइकल केवल एउटा सवारीसाधन मात्र नभई जीवनसँग जोडिएको विशेष अनुभूति हो ।’
उनले भने, ‘यहाँ उपस्थित अधिकांश व्यक्तिहरूले स्वतन्त्रताको पहिलो मीठो अनुभूति दुई पाङ्ग्रामै प्राप्त गरेका थियौँ’, ‘त्यो अविस्मरणीय क्षण जब आमाबुबाले पछाडिबाट समातेको सिट छोड्नुभयो र हामी आफैँ अघि बढ्न सिक्यौँ ।’
‘उनका अनुसार साइकल चलाउनु भनेको बाल्यकालको त्यो अद्भुत अनुभूतिसँग पुनः जोडिनु हो । जीवन जति नै व्यस्त, जटिल वा तीव्र गतिमा अघि बढे पनि वास्तविक खुसी र आनन्द सरल कुराहरूमा नै लुकेको हुन्छ । साइकलले आत्मनिर्भरता, धैर्यता, सन्तुलन र आत्मविश्वासको पाठ सिकाउँछ’, उनले भने ।
विश्व साइकल दिवस–२०२६ को सन्देशमा आधारित भई अङ्कुरम् एकेडेमीका बालबालिकाले बनाएको चित्रकलाको प्रदर्शनीसमेत गरिएको थियो । त्यसमध्ये ‘बी कुल ः राइड टु स्कुल’ नारासहितको आव्या अग्रवालको चित्रले तेस्रोे स्थान हासिल गरेको थियो । त्यस्तै अनन्त कँडेल र सनीजकुमार श्रेष्ठको चित्रकलाले क्रमशः दोस्रो र पहिलो स्थान प्राप्त गरेका थिए ।
एलाइभ अस्पताल एन्ड ट्रमा सेन्टरले चिकित्सा सहायता तथा एम्बुलेन्स व्यवस्थापन र डिआर साइकल स्टोर्सले मर्मत सम्भारको भूमिका निर्वाह गरेको र राउण्ड टेबलले टी–सर्ट सौजन्य गरेको थियो । विद्यालयका प्राचार्य सुमन पौडेलले सभापतित्व गरेको कार्यक्रममा प्लस संयोजक अर्जुनबाबु दौलियाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रमको समग्र संयोजक चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँले गरेका थिए ।
भरतपुर । चितवन प्रहरीले अवैधरूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१० बस्दै आएका २४ वर्षीय बुद्धिसागर भुसाल रहेका छन् ।
प्रहरीका अनुसार जेठ १८ गते बेलुका करिब ७ः४५ बजे भुसालले विद्युतीय उपकरणमार्फत बिनान्स एप प्रयोग गरी अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनको साथबाट मोबाइल फोन एक थान र नगद चार लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका भुसालमाथि अभौतिक मुद्रासम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
रत्ननगर । रत्ननगर वाङ्मय प्रतिष्ठानको चोथो साधारण सभा प्रतिष्ठानका संरक्षक एवम् नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो अवसरमा नगरप्रमुख सापकोटाले प्रतिष्ठानमार्फत रत्ननगरका अग्रजहरुबाट भाषा, साहित्य र कलाको विकासका लागि देखाएको असल अभ्यासको प्रशंसा गर्दै साहित्यको माध्यमबाट समाजलाई सही मार्गमा डोर्याउन सम्भव रहेको बताए । उनले रत्ननगरमा विभिन्न विधाका ख्यातिप्राप्त स्रष्टाहरु रहेकाले उनीहरुको प्रवद्र्धन र संवद्र्धन गर्न रत्ननगर नगरपालिका सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनालले सञ्चालन गरेको कार्यक्रममा सदस्य तिलकराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेले प्रतिष्ठानले सष्टा र साहित्यकारको वृत्तिविकास र कृति प्रकाशनका लागि प्रेरित गर्ने, साहित्यकारहरुलाई पुरस्कृत गर्ने, विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्नेजस्ता गतिविधि सञ्चालन गर्दै आएको बताए ।
उनले प्रतिष्ठानमा आवद्ध साहित्यकारहरु स्वयंसेवीका रुपमा काम गर्दै आएकोले साहित्य र साहित्यकारको जर्गेना गर्ने मूल उद्देश्यका साथ कृति प्रकाशनका लागि आर्थिक सहयोग गरिएको, रत्न प्रभाको प्रकाशन गरिएको र उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको बताए । यसअघि तीन स्रष्टालाई पुरस्कृत गरिएको उनले जानकारी दिए ।
उनले रत्ननगर नगरपालिकाबाट भाषा, साहित्य, कला र संस्कृतिको विकासमा देखाएको चासो अत्यन्त सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा भाषा, साहित्यको उन्नयनका क्षेत्रमा काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका सदस्यसचिव विश्वनाथ खनालले वार्षिक प्रतिवेदन तथा आव २०८३–८४ को लागि प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपप्रमुख यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले र सामाजिक विकास समितिका सयोजक सोहेन्द्रराज खरेल, रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरी, कार्यपालिका सदस्य राजेन्द्र हमाल, देवेन्द्र भुजेललगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहित्यकारहरु गोकर्ण मल्ल, केशवराज आमोदी, धनराज गिरी, तिलकराज पौडेल, दुर्गा पुरी, दुर्गा घिमिरे, लक्ष्मण अर्याल, खैरहनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष चेतराज रेग्मी, राजेन्द्र घायल, लीला अधिकारी, गिरिराज अधिकारी, सुरेशचन्द्र आचार्य, सुमन घिमिरेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कार्यालय सचिव अशोक भुसालले गरेका थिए ।
चितवन । चितवनको रामनगरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै १५ दिनमा १५ वटा काम गरेको छ । विगतमा राजनीति खिचातानी र भागबण्डाका कारण विभिन्न नाममा हुने विवादले यहाँ कार्यसम्पादनमा समस्या हुने गरेको थियो । वर्तमान सरकार बनेपछि उपकुलपतिमा प्रा डा होमबहादुर बस्नेतलाई अर्को व्यवस्था नहुञ्जेलका लागि जिम्मेवारी दिएपछि कामले गति लिएको हो ।
प्रा.डा. बस्नेतलाई वैशाख ३० गते प्रधानमन्त्री एवम् विश्वविद्यालयको कुलपतिस्तरको निर्णयमार्फत उपकुलपति नियुक्त गरिएको थियो । यससँगै उनले विश्वविद्यालयमा रजिस्टार, डिन र रिक्त निर्देशकहरू नियुक्त गरी कामलाई तीव्रता दिएका हुन् ।
नयाँ सरकार बनेसँगै यसअघि राजनीतिक भागवण्डामा नियुक्त भएका उपकुलपति, रजिस्टार, डिन र निर्देशकहरूलाई एकमुष्ठ पदमुक्त गरिएको थियो । विश्वविद्यालय स्थापनायता नियमित रूपमा राजनीतिक भागवण्डामा नियुक्त भएका पदाधिकारीमार्फत हुन नसकेका कामसमेत हाल अगाडि बढेका छन् । उपकुलपति बस्नेतले राजनीतिक पक्षधरता नहेरी काम गर्नसक्ने सक्षम व्यक्तिलाई नियुक्त गरेर कामलाई तीव्रता दिएकाले काम गर्न सहज भएको बताए ।
आफूले गरेका १५ काम सार्वजनिक गर्दै उनले विश्वविद्यालयअन्तर्गतको वन विज्ञान सङ्काय हेटौँडा र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान क्याम्पस हेटौँडाको विवाद तत्कालका लागि समाधान गरिएको बताए । यहाँ रहेका विवाद र समस्याको दिगो समाधानका लागि शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराइएको उपकुलपति बस्नेतले जानकारी दिए ।
विश्वविद्यालयमा भएका गुनासालाई सम्बोधन गर्दै सुशासनको प्रत्याभूति दिन एवं विभिन्न निकायको परिपत्रलाई समेत मध्यनजर गर्दै मातहतका निकायलाई अभिप्रेरित गर्ने, विद्युतीय हाजिरी प्रणालीको नियमन तथा कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोगको नियमन गरिएको उनले बताए ।
बागमती प्रदेश सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री एवम् सचिवसँग छलफल गरी सोही मन्त्रालयको प्राथमिकतामा रहेका मल उद्योग स्थापनाको लागि सम्भाव्यता अध्ययनको लागि प्रारुप तयार गर्न यस विश्वविद्यलयसँग माग भएबमोजिम अवधारणापत्र तयार गरिएको उनको भनाइ छ ।
नेपाल सरकारले चीन सरकारको सहयोगमा भैँसी एवम् राँगाको मासु निर्यातको उद्देश्य लिई सिन्धुलीको मरिण गाउँपालिकामा स्थापना गरिरहेको मासु प्रशोधन उद्योगमा प्राविधिक एवं विशेषज्ञ सेवा उपलब्ध गराउन सहकार्यका लागि पहल गरिएको बस्नेतले बताए ।
यस्तै, तीनवटै सङ्कायमा रोकिएको स्नातक, स्नातकोत्तर एवम् विद्यावारिधि कार्यक्रमका गतिविधि, प्रयोगशाला मर्मतसम्भार, कृषि सङ्कायमा विद्युत् टान्र्सफर्मर जडान, अडिटोरियमहल मर्मत प्रक्रिया सुरू गरिएको उनको भनाइ छ ।
उपकुलपति बस्नेतले भने, ‘विशेष परिस्थितिका कारण स्थगित भएको यस विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह एवं छैटौँ विशेष बैठकको मितिसमेत तय गरी तयारी थालिएको छ । विश्वविद्यालयले विभिन्न दातृ निकायका अधिकारीसँग छलफल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा थप प्रयास गरिएको छ ।’
यस विश्वविद्यालयको अनुसन्धान एवम् प्रसार निर्देशनालयले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन आगामी असार ११ देखि १३ गतेसम्म गर्नेगरी तयारी अगाडि बढाइएको पनि उनले जानकारी दिए । विश्वविद्यालयले प्राध्यापकहरूको अभाव एवम् बढ्दो कक्षा भारको समस्या समाधानका लागि काम अघि बढाइएको छ ।
असार ३ गते विश्वविद्यालयको स्थापना दिवस भव्यरूपमा मनाउनको लागि जिल्ला आइपिएम कृषक समूहको सहकार्यमा समुदायस्तरमा बाली उपचार शिविर गरिँदै छ । विविध कारणले रोकिएर बसेका पूर्वनिर्धारित कार्यक्रम अघि बढाइएको छ ।
समग्र कृषि शिक्षा, कृषि प्रसार एवम् अनुसन्धान एकै छातामा रहने गरी अगाडि बढ्न राष्ट्रिय योजना आयोगका सदस्य डा. देवेन्द्र गौचन एवम् कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रासँग गहन छलफल गरी काम अघि बढाइएको बस्नेतले जानकारी दिए ।
विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय रहेका छन् । जहाँ स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन गर्ने तीन हजार ९०० विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयअन्तर्गत आठ वटा आङ्गिक क्याम्पस र सात वटा सम्बन्धन प्राप्त निजी क्याम्पस छन् । विसं २०६७ मा विश्वविद्यालय स्थापना भएको हो ।
चितवन । ज्यानको जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी बल (एपिएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक २०० रुपैयाँ मात्र रहेको छ ।
पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने, शव निकाल्ने र पानीजन्य घटना तथा दुघर्टनामा अग्रपङ्तिमा खटिएको समयमा दिइने दैनिक प्रोत्साहन भत्ता न्यून रहेकाले त्यसमा पुनर्विचार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरिएको छ ।
सशस्त्र प्रहरी बलअन्तर्गतका ‘गोताखोर’लाई समयसापेक्ष रूपमा तालिमसहित अत्यवश्यक उपकरणको व्यवस्था गर्न नसकिएको, जोखिम मोलेर काम गर्नुपर्ने भए पनि प्रोत्साहन भत्ता कमी भएको, पछिल्ला दिनमा यो कामप्रति आकर्षण नदेखिएको र काम गरेका सीमित ‘गोताखोर’ पनि पेसाबाट पलायन हुने अवस्था रहेको भनी चिन्ता व्यक्त गरिएको छ ।
सशस्त्र प्रहरी बलको गढीमाई बाहिनी मकवानपुरअन्तर्गत १७ नं गण, चितवनले आजदेखि सुरू गरेको ‘गोताखोर’ अनुशिक्षण तालिमको उद्घाटन सत्रका प्रमुखअतिथि एवम् भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सहभागीहरूहरुको पीडा सुनेपछि तीन थान उच्चस्तरका उपकरण जडित ‘लाइफ ज्याकेट’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले कार्यविधि बनाएर सहयोग गर्न मिल्ने भए ज्यानको बाजी राखी जुनसकै समय उद्धारमा खटिनुपर्ने जिम्मेवारीमा रहेका ‘गोताखोर’लाई प्रोत्साहन भत्ता दिन महानगरपालिका तयार रहेको बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदीजन्य विपद्मा गोताखोरहरुको भूमिका मह¤वपूर्ण हुने बताउँदै जोखिम व्यहोरेर काम गर्ने पेसाकर्मीको मनोबल बढाउनुपर्नेमा जोड दिए ।
बाहिनीपति एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अन्जनीप्रसाद पोखरेलले आफ्नो ज्यानको जोखिम मोलेर संवेदनशील क्षेत्रमा काम गरिरहेका ‘गोताखोर’को मनोबल बढाउनुपर्ने समय आएको बताए ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल १७ नं गण हेडक्वाटर चितवनका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर बानियाँले १० दिने अनुशिक्षण कार्यक्रममा सहभागीहरूलाई पौडी पोखरी र नारायणी नदीमा तालिम प्रदान गरिने जानकारी दिए ।
सशस्त्र बल नेपाल, गढीमाई बाहिनीअन्तर्गतका १० जना ‘गोताखोर’का लागि चितवनको कुरिनटारमा १० दिनको पुनर्ताजगी तालिम सुरू भएको हो । नेपालमा सबैभन्दा पहिला २०६८ सालमा २५ जना सशस्त्र प्रहरीलाई बङ्गलादेश पठाएर गोताखोरको तालिम दिएको थियो ।
सशस्त्र प्रहरी बलले अहिले १६ जना गोताखोर रहेको कुरिनटारस्थित विपद् व्यवस्थापन शिक्षालयमा नियमित तालिम दिँदै आएको छ । यही शिक्षालयबाट शिक्षित सशस्त्र प्रहरीले आवश्यकताअनुसार अन्य प्रदेशहरुमा ‘गोताखोर’को सेवा दिइरहेका छन् ।
सशस्त्र प्रहरी वलको नेतृत्वमा पछिल्ला दिनमा स्वदेशमै तालिमप्राप्त जनशक्ति उत्पादन हुनथालेपछि ‘गोताखोर’को अभाव हटेको शिक्षालयले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिकाले मौरीपालक किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान प्रदान गरेको छ । महको उत्पादन बढाउन ५९ जना किसानलाई १८ लाख रूपैयाँ अनुदान वितरण गरिएको कृषि शाखा प्रमुख प्रविन लामाले जानकारी दिए ।
सोमबार आयोजित एक औपचारिक कार्यक्रममा किसानले उत्पादनका आधारमा प्राप्त गरेको रकमको चेक हस्तान्तरण गरिएको छ । सो नगरपालिकाले नेपालमै पहिलोपटक मह उत्पादनमा अनुदान प्रदान गरेको दाबी गरेको छ । अनुदान पाउनेमा ४ वटा घारदेखि १६२ घारसम्म मौरी पालेका किसान रहेका छन् । सबैभन्दा धेरै रत्ननगर वडा नं–१३ का किसान शंकर भट्टले १ लाख तीन हजार ५५८ रूपैयाँ अनुदान पाएका छन् । उनको १६२ घार मौरी रहेका छन् ।
मौरीपालक किसानलाई उत्पादनमा आधारित अनुदान वितरणका लागि नगरपालिकाले कार्यविधि नै बनाएको छ । अनुदानलाई व्यवस्थित र दीर्घकालीनरुपमा अगाडि बढाउन कार्यविधि बनाएरै किसानलाई सम्बोधन गरिएको लामाले बताए । उत्पादनका आधारमा प्रतिकिलो २५ रूपैयाँ तथा प्रतिघार ५२५ रूपैयाँ अनुदान प्रदान गरिएको छ । ‘काम गर्ने र उत्पादन गर्ने किसानलाई अनुदान दिएका छौैँ’, उनले भने, ‘यसो गर्दा वास्तविक र व्यावसायिक किसानलाई राहत मिल्ने छ ।’
यसअघि रत्ननगर नगरपालिकाले दूधमा मात्र उत्पादनमा आधारित अनुदान दिँदै आएको छ । दूधमा मात्र वार्षिक ५० लाख अनुदान दिँदै आएको सो नगरपालिकाले कृषि र पशुपालनमा वार्षिक ४ करोड बढी अनुदान वितरण गर्दै आएको छ ।
कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले उत्पादन र यान्त्रिकीकरणमा अनुदानले मात्र कृषि र पशुपालनको विकास हुने बताए । ‘चार वर्षमा १६ करोड रूपैयाँ अनुदान दियौँ’, उनले भने, ‘तर कसैले पायौँ भन्दैनन् । नामको मात्र किसानले अनुदान पाउँदा अनुदान शब्द नै आलोचित बन्यो, त्यसैले रत्ननगरले कामका किसानलाई अनुदान दिन सुरू गरेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले किसानको संरक्षण गर्दै महको उत्पादन बढाउन उत्पादनमा आधारित अनुदान प्रदान गरिएको बताए । स्थानीय सरकारले दिएको अनुदान रकम सही ठाउँमा प्रयोग गर्न आग्रह गर्दै उनले यसको सही सदुपयोग गर्न आग्रह गरे ।
जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले राज्यले दिने अनुदानले किसानलाई व्यावसायिक बनाउन मद्दत गर्ने बताए । मौरीपालक विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंले रत्ननगर नगरपालिकाले प्रदेशमै पहिलोपटक मौरीमा अनुदानमा आधारित अनुदान वितरण गरेको बताए ।
नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव पौडेलले उत्पादनमा आधारित अनुदानले मात्र किसानको हित हुने बताए । ‘यो वैज्ञानिक छ’, उनले भने, ‘यसो गर्दा कृषि र पशुपालनको विकासले गति लिन्छ ।’ आर्थिक विकास समितिका संयोजक कलाधर पौडेलको अध्यक्षतमा भएको कार्यक्रम कृषि अधिकृत संयोग पौडेलले सञ्चालन गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह (बालेन)ले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने विषयमा दिएको अभिव्यक्तिप्रति छ जना सीमाविद्हरूले खेद व्यक्त गरेका छन् ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा पीताम्बर शर्मा, प्राध्यापक डा नरेन्द्र खनाल, डा जगत भुसाल, अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा र डा द्वारिकानाथ ढुङ्गेलले आइतबार खेद विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आश्चर्यचकित बनाएको बताएका हुन् । उनीहरूले प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गरेका हुन् स्पष्ट पार्नसमेत भनेका छन् ।
‘आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलोपटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै सुन्न पाइयो,’ वक्तव्यमा उल्लेख छ, ‘प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गर्नुभएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त गर्न हामी इच्छुक छौँ ।’
नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो कार्यको करिब ९८ प्रतिशत हिस्सा सम्पन्न गरिसकेको जानकारी सार्वजनिक भइसकेको तर, उक्त आयोग वा अन्य कुनै आधिकारिक निकायबाट नेपालले भारतको सीमा अतिक्रमण गरेको भन्ने निष्कर्ष सार्वजनिक नभएको वक्तव्यमा उल्लेख छ ।
उनीहरूले बरु महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमाविवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको तथ्य सार्वजनिकरूपमा स्थापित रहेको भनेका छन् ।
‘राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमासम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय महत्वका विषय हुन् । यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र बोलिनु आवश्यक हुन्छ,’ उनीहरूले भनेका छन्, ‘साथै, प्रधानमन्त्रीलाई नेपाल सरकारले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सासमेत जारी गरिसकेको तथ्य स्मरण गराउन चाहन्छौँ ।’
यस परिस्थितिमा प्रधानमन्त्रीले भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति के–कस्तो तथ्य, प्रमाणका आधारमा दिनुभएको हो भन्ने प्रश्न स्वाभाविकरूपमा उठेको छ । यस्ता अभिव्यक्तिले तथ्यमा आधारित स्पष्टता प्रदान गर्नुको सट्टा भ्रम सिर्जना गर्ने भएकाले हामी त्यसप्रति गम्भीर खेद व्यक्त गर्दछौँ ।’
उनीहरूले प्रधानमन्त्रीले यसबारे सार्वजनिकरुपमा स्पष्टीकरण दिनुका साथै क्षमायाचनासमेत गर्नुपर्ने र संसद्को रेकर्डबाट प्रधानमन्त्रीको उक्त अभिव्यक्ति हटाउन पनि माग गरेका छन् ।
‘यसबाट आम नेपाली जनतामा उत्पन्न भएको भ्रम निवारणका लागि प्रधानमन्त्रीले सार्वजनिकरूपमा स्पष्टीकरण दिनुका साथै आफ्नो अभिव्यक्तिप्रति क्षमायाचनासमेत गर्नुपर्छ भन्ने हाम्रो धारणा छ,’ उनीहरूले थप भनेका छन्, ‘यसका अतिरिक्त, प्रधानमन्त्रीबाट प्रतिनिधि सभामा व्यक्त उक्त गलत अभिव्यक्तिलाई प्रतिनिधिसभाको अभिलेख बाट हटाउन सम्माननीय सभामुखसमक्ष आग्रह गर्दछौँ ।’
यस्तो छ : खेद वक्तव्य
मिति: २०८३ साल जेठ १७ गते
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति खेद वक्तव्य
आज प्रतिनिधि सभामा आयोजित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सम्माननीय प्रधानमन्त्रीले “नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिनुभएको जानकारी प्राप्त मात्र भएन, उक्त अभिव्यक्ति प्रत्यक्ष रूपमा सुन्न र देख्नसमेत पाइयो। सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीबाट व्यक्त यस्तो धारणाले हामीलाई आश्चर्यचकित बनाएको छ र यसले अनावश्यक भ्रमसमेत सिर्जना गरेको छ।
आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै सुन्न पाइयो। प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गर्नुभएको हो भन्नेबारे स्पष्ट जानकारी प्राप्त गर्न हामी इच्छुक छौं।
स्मरणीय छ, नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो कार्यको करिब ९८ प्रतिशत हिस्सा सम्पन्न गरिसकेको जानकारी सार्वजनिक भइसकेको छ। तथापि, उक्त आयोग वा अन्य कुनै आधिकारिक निकायबाट नेपालले भारतको सीमा अतिक्रमण गरेको भन्ने निष्कर्ष सार्वजनिक गरिएको छैन। बरु महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमाविवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको तथ्य सार्वजनिक रूपमा स्थापित छ।
राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय महत्त्वका विषय हुन्। यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र बोलिनु आवश्यक हुन्छ । ।
साथै, प्रधानमन्त्रीलाई नेपाल सरकारले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सासमेत जारी गरिसकेको तथ्य स्मरण गराउन चाहन्छौं।
यस परिस्थितिमा प्रधानमन्त्रीले “भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ” भन्ने अभिव्यक्ति के–कस्तो तथ्य, प्रमाणका आधारमा दिनुभएको हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ। यस्ता अभिव्यक्तिले तथ्यमा आधारित स्पष्टता प्रदान गर्नुको सट्टा भ्रम सिर्जना गर्ने भएकाले हामी त्यसप्रति गम्भीर खेद व्यक्त गर्दछौं। साथै, यसबाट आमनेपाली जनतामा उत्पन्न भएको भ्रम निवारणका लागि प्रधानमन्त्रीले सार्वजनिक रूपमा स्पष्टीकरण दिनुका साथै आफ्नो अभिव्यक्तिप्रति क्षमायाचनासमेत गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।
यसका अतिरिक्त, प्रधानमन्त्रीबाट प्रतिनिधिसभामा व्यक्त उक्त गलत अभिव्यक्तिलाई प्रतिनिधिसभाको अभिलेख (रेकर्ड)बाट हटाउन सम्माननीय सभामुख समक्ष आग्रह गर्दछौं।
नेपाल-भारत सीमासम्बन्धी अध्येताहरू :
१. सीमाविद् बुद्धिनारायण श्रेष्ठ
२. प्राध्यापक डा. पीताम्बर शर्मा
३. प्राध्यापक डा. नरेन्द्र खनाल
४. डा. जगत भुसाल
५. अन्तर्राष्ट्रिय सीमाविद् प्रभाकर शर्मा
६. डा. द्वारिकानाथ ढुङ्गेल
खैरहनी । खैरहनी नगरपालिका वडा नं–६, तुल्सीपुरस्थित भित्री सडक खण्डमा न २ ह १७९५ नम्बरको अटोको ठक्करबाट तीन पैदलयात्री महिला घाइते भएका छन् ।
घाइते हुनेहरुमा खैरहनी–६ बस्ने ५० वर्षीया सावित्री रिजाल, सोही ठाउँ बस्ने ६३ वर्षीया छायादेवी छत्कुली र ५४ वर्षीया राममाया तिवारी रहेका छन् ।
घाइते महिलाहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अटो र चालक खैरहनी–२ बस्ने २७ वर्षीय कुमार थापा इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–८, चित्रसारीस्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धा घाइते भएकी छन् ।
चित्रसारीबाट टाँडीतर्फ जाँदै गरेको ना २० प ३६९२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री रत्ननगर–८ बस्ने ७० वर्षीया उजेली अधिकारी घाइते भएकी हुन् ।
घाइते वृद्धाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उपचारमा निजकी बुहारी मीना अधिकारी संलग्न रहेकी छन् ।
स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ भने नामथर, वतन नखुलेका स्कुटर चालक फरार रहेकाले खोजतलास कार्य भइरहेको जनाएको छ ।
कालिका । कालिका नगरपालिका वडा नं–४, माछापुच्छ्रे टोलमा टिप्परले अटोलाई ठक्कर दिँदा अटोमा सवार आठ जना घाइते भएका छन् ।
दुईसय बिघाबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०२३२ नम्बरको इलेक्ट्रिक अटोलाई ना ८ ख ३२०५ नम्बरको टिप्परले ठक्कर दिँदा आठ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा अटो चालक कालिका–३ बस्ने ४२ वर्षीय लेखबहादुर थापामगर, अटोमा सवार भरतपुर–६ बस्ने २३ वर्षीया लक्ष्मी तामाङ, उनकी २ वर्षीया छोरी श्रेया महतो, कालिका–३ बस्ने २८ वर्षीय वसन्त तामाङ, धादिङको बेनिघाट रोराङ–१ बस्ने ४६ वर्षीया वसन्ती तामाङ, सोही ठाउँ बस्ने ४१ वर्षीय धनराज तामाङ, कालिका–३ बस्ने २१ वर्षीय सुनिल प्रजा र कालिका–३ बस्ने ६८ वर्षीया रमा थापामगर रहेका छन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र टिप्पर चालक मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं –३ बस्ने ३० वर्षीय राजेन्द्र बज्यु प्रहरी बिट पदमपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९ सत्रकिलोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा योद्धा गाडीसँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००१ य २६१२ नम्बरको योद्धा गाडीसँग ठोक्किँदा रा ७ प ६९५३ नम्बरको मोटरसाइकल चालक रोल्पाको गंगादेवी गाउँपालिका–७ बस्ने २० वर्षीय चूडामणि पुनमगर र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने १७ वर्षीय गोपाल बस्नेत घाइते भएका हुन् ।
घाइते दुई युवकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उपचारमा निजहरुका साथी दाङको घोराही उपमहानगरपालिका वडा नं–५ बस्ने १९ वर्षीय घनश्याम घर्ती संलग्न रहेका छन् ।
योद्धा चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं–१५ बस्ने ३४ वर्षीय केवल बम्जन प्रहरी चौकी जुगेडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताएका छन् ।
चितवनमा प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ल्याउने तयारी गरेको बताएका हुन् । मुख्यमन्त्री बानियाँले भने, “व्यवसायीलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री बजेट ल्याउने तयारी भइरहेको छ । प्रदेश सरकारले वातावरण तथा पर्यापर्यटनसँग जोडिएका उद्योगहरूलाई बैंकिङ ब्याजमा सहुलियत दिने नीतिअनुसार काम गरिरहेका छौँ । अन्य क्षेत्रको विकासको लागि पनि सोहीअनुसारको नीति अगाडि सार्छौं ।”
ऊर्जा क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयसँगै त्यसलाई उत्पादनसँग जोड्ने गरी योजना ल्याउने उनको भनाइ थियो ।
निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यका साथ स्थापित प्रिफ्याव प्यानल नेपाल उद्योगले अत्याधुनिक स्मार्ट प्यानलसहित विभिन्न नयाँ निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ । उद्योगका अध्यक्ष नारायण रेग्मीका अनुसार नेपाली बजारमा नेपालको उत्पादन पु¥याउन सक्ने गरी काम अघि बढाइएको छ ।
उद्योग स्थापित भएको छोटो समयमा नै उद्योगले आधुनिक निर्माण प्रविधिलाई देशभर विस्तार गर्न सफलता मिल्दै गएको बताए । “अनुभवी र दक्ष कामदारबाट यस उद्योगले निर्माणका लागि आवश्यक प्यानलहरु उत्पादन गर्दै आएको छ । हाल ५० जिल्लामा हाम्रा उत्पादन उपलब्ध गराइरहेका छौँ, यसलाई विस्तार गर्दै जान्छौँ”, अध्यक्ष रेग्मीले भने ।
भरतपुर महानगरपालिका–८ मा रहेको यस उद्योगको उत्पादन भवन रहेको छ ।
चितवन । चितवनको भरतपुरमा आजदेखि दोस्रो बागमती साहित्य महोत्सव सुरु भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजन तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको सम्वर्द्धन’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्य मानिसको जीवनको यथार्थता प्रतिबिम्बित गर्ने माध्यम भएको बताए । “जन्म र मृत्यु जसरी यथार्थ हो, साहित्य त्यसैगरी यथार्थ हो । जन्मसँग पीडा जोडिएको हुन्छ भने मृत्युको क्षणमा पनि पीडा हुन्छ । साहित्य त्यही पीडा, यथार्थ र शक्तिको प्रतिबिम्ब हो”, उनले भने ।
मुख्यमन्त्री बानियाँले साहित्यबाट ज्ञान प्राप्त हुने र ज्ञानसँगै विज्ञानको विकास हुने उल्लेख गर्दै पछिल्लो समय कला, संस्कृति, साहित्य तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार निरन्तर लागिरहेको बताए । परम्परा र संस्कृतिको जगेर्ना गर्नु राज्य सञ्चालनकर्ताको मूल दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्रका भाषा, लिपि, संस्कृति, संस्कार र साहित्यको संरक्षण तथा र्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए । साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रदेश सरकारले आवश्यक व्यवस्थापन र सहयोग गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले महोत्सव आयोजना गर्न विभिन्न साहित्यिक सङ्घसंस्था तथा व्यक्तित्वहरूको योगदान प्रशंसनीय रहेको बताए । उनले चितवनसँगै बागमतीको मौलिक नाच, सांस्कृतिक सम्पदा र परम्पराको साहित्यसँगै प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री श्रेष्ठले साहित्य र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै भने, “चितवन पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त जिल्ला हो । साहित्यिक कार्यक्रममार्फत देश, विदेशका पर्यटकलाई यहाँको कला, संस्कृति, साहित्य र सम्पदाबारे जानकारी गराउन सकिन्छ ।”
बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले नेपाल प्रकृति र संस्कृतिको मौलिक पहिचान बोकेको देश भएको उल्लेख गर्दै कला र साहित्य राष्ट्रको आत्मा भएको बताइन् । साहित्यले समाजलाई सचेत र जागरूक बनाउने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । महोत्सव भरतपुरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै उनले साहित्यकारको योगदानले लोपोन्मुख सांस्कृतिक मूल्य र परम्पराको संरक्षणमा टेवा पुगेको बताए । उनले भौतिक पूर्वाधारको विकाससँगै ज्ञान, चेतना, कला र साहित्यको विकास समान रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, डा लक्ष्मणप्रसाद गौतम, रत्ननगर वाङ्मय प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीलगायतले शुभकामना व्यक्त गरे ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले सञ्चालन गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको सभापतित्वमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्यका विभिन्न विधासम्बन्धी छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम भइरहेका छन् । महोत्सव विभिन्न सत्र, विचार–विमर्श र साहित्यिक गतिविधिसहित आइतबार सम्पन्न हुनेछ । यसअघि बागमती प्रदेशस्तरीय साहित्यिक भेला धादिङमा आयोजना गरिएको थियो ।
रत्ननगर । रत्ननगर–१ वडा कार्यालयको आयोजना एवम् भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
रत्ननगर–१, बकुलहरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा सञ्चालित शिविरमा ४६७ जनाले आँखाको जाँच गरेका थिए । सो शिविरमा आँखाको पावर जाँच, उपचार, औषधि वितरण तथा मोतियाविन्दुको पहिचान गर्ने कार्य गरिएको थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा रत्ननगर–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कुलप्रसाद सापकोटाले शिविरमा देखिएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको बताए । उनले आँखाको समस्याले धेरै नागरिक पीडित रहेको महसुस गर्दै अबदेखि हरेक तीन–तीन महिनामा यस प्रकारको शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
वडाध्यक्ष सापकोटाले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिरहेको लगानीबारे चर्चा गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा, एम्बुलेन्स सेवा र विभिन्न अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि खडा गरिएको उपचार कोषबाट नागरिकले लाभ लिइरहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले दृष्टिबिनाको जीवन अधुरो हुने बताउँदै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए । उनले रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देशभरिकै उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै विपन्न नागरिकको उपचारका लागि नगरपालिकाले विभिन्न अस्पतालसँग समन्वय गरी उपचार कोष खडा गरेको बताए।
शिविरमा वरिष्ठ नेत्र सहायक सुवास सापकोटाले सेवा प्रवाहका विविध पक्षबारे प्रकाश पार्दै आवश्यक पर्ने बिरामीलाई निःशुल्क चस्मा र मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रिया गरिने जानकारी गराए । शिविरमा परीक्षण गरिएकामध्ये २२ जनामा मोतियाविन्दुको समस्या देखिएको छ, जसमध्ये १९ जनालाई थप उपचार र शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल पठाइएको छ । शल्यक्रिया, आवश्यक औषधि र चस्मा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ । साथै, शिविरमा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने तथा मासु पलाउनेजस्ता समस्या भएका बिरामीहरूलाई परामर्शसहित निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरको उद्घाटन कार्यक्रममा वडा सदस्य उमादेवी पौडेल, वडा सचिव महेश सुवेदी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गिरी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
शिविरमा नजिकको दृष्टिका लागि १०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई भरतपुर आँखा अस्पताल रेफर गरिएको छ । वडा कार्यालयको यो पहलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका वडावासीमा ठूलो राहत पुगेको सहभागीहरुले बताएका छन् ।
काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ ।
विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी गरेको हो ।
पेट्रोलियम पदार्थको आन्तरिक उत्पादनका लागि चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाले दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पहिलो चरणको ‘ड्रिलिङ’, अन्वेषण कार्यलगायत सकिएको जनाएको छ । पेट्रोलियम पदार्थको ड्रिलिङ र अन्वेषण कार्यहरू सम्पन्न गरेको विभागले व्यावसायिक उत्पादन सुरू गर्न उक्त सम्झौताका लागि विभागले आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वय गरेको हो ।
विभागले चीनको प्राविधिक टोलीसँगको सहकार्यमा हालै सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरेको पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काले जानकारी दिए ।
पेट्रोलियम पदार्थ उत्पादन तथा भण्डारण परिमाणको अध्ययनका लागि गरिएको नमुना परीक्षणले समेत पेट्रोल र प्राकृतिक ग्यासको सम्भावनालाई पुष्टि गरेको जनाइएको छ ।
परियोजनाको सफल कार्यान्वयन हुन सके पेट्रोल र प्राकृतिक ग्यासको आयातमा खर्च भइरहेको ठूलो रकम कटौती गर्न सकिने बताइएको छ । यसले आयात प्रतिस्थापनका साथै मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने छ ।
चितवन । चितवनको सौराहा भन्नेबित्तिकै जंगल सफारी, हात्ती प्रजनन केन्द्र, थारु संस्कृति र वन्यजन्तु अवलोकनको चित्र आँखाअघि आउँछ । पछिल्लो समय भने सौराहामा थपिएको नयाँ पर्यटकीय गतिविधि ‘राप्ती नदी बोटिङ’ पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। जंगलको बीचबाट बग्ने राप्ती नदीमा सञ्चालन गरिएको बोटिङ सेवाले सौराहाको पर्यटनमा नयाँ आयाम थपेको छ ।
गत कार्तिक महिनादेखि सञ्चालनमा आएको बोटिङ सेवा अहिले आन्तरिक तथा विदेशी पर्यटकका लागि विशेष आकर्षण बनेको छ। चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा जिन्दगानी घाटदेखि भिमपुर घाटसम्म करिब ६ किलोमिटर दूरीमा बोटिङ गराइन्छ। यस क्रममा पर्यटकले नदी यात्रा गर्दै निकुञ्जको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको अवलोकन गर्न पाउँछन् ।
हाल बोटिङका लागि आठवटा डुङ्गा सञ्चालनमा रहेका छन् । प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिरेर जोकोही पर्यटकले सेवा लिन सक्छन्। सञ्चालनमा आएको केही महिनामै करिब दुई हजार पर्यटकले बोटिङको अनुभव लिइसकेको व्यवस्थापन पक्षले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले टेन्डर आह्वान गरेपछि यो सेवा सञ्चालनमा आएको हो। यसको व्यवस्थापनको जिम्मा किनार रेष्टुरेन्ट एण्ड बारले लिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार सौराहामा बसाइ लम्ब्याउने र पर्यटकलाई थप गुणस्तरीय सेवा दिने उद्देश्यले बोटिङ सेवा सुरु गरिएको हो ।
बन्बास होटलका प्रबन्ध निर्देशक बासु ढुङ्गानाका अनुसार सौराहा केवल सस्तो पर्यटन गन्तव्य मात्र नभई उच्चस्तरीय तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि समेत उपयुक्त गन्तव्य हो । “सौराहामा आउने पर्यटकलाई होटल र जंगल सफारीमा मात्रै सीमित नराखी थप स्तरीय अनुभव दिन बोटिङ सेवा सुरु गरिएको हो,” उनले भने। उनका अनुसार विशेषगरी स्तरीय होटलमा बस्ने पर्यटकहरू बोटिङमा सहभागी हुने गरेका छन् ।
राप्ती नदीको शान्त जलयात्राका क्रममा पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधतालाई नजिकबाट अवलोकन गर्न सक्छन्। नदी किनार र आसपासका जंगल क्षेत्रमा एकसिङ्गे गैँडा, चितवनका प्रसिद्ध रोयल बंगाल बाघ, मृग, घडियाल गोही, गोहीका अन्य प्रजाति तथा सयौं प्रजातिका चराहरू देख्न सकिन्छ। जाडोयाममा नेपाल आउने प्रवासी (माइग्रेटरी) चराहरूको अवलोकनसमेत बोटिङको अर्को आकर्षण बनेको छ।
सन् १९८४ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। ९५२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज जैविक विविधताको दृष्टिले विश्वकै महत्वपूर्ण संरक्षित क्षेत्रमध्ये एक मानिन्छ। यहाँ ७०० भन्दा बढी वनस्पति, ६० भन्दा बढी स्तनधारी, ५४० भन्दा बढी चराचुरुङ्गी तथा विभिन्न सरीसृपका प्रजातिहरू पाइन्छन्। यही प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर सौराहामा पर्यापर्यटन गतिविधि विस्तार हुँदै गएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार बोटिङले केवल पर्यटकलाई नयाँ अनुभव मात्र दिएको छैन, स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको छ। डुङ्गा चालक, पर्यटन श्रमिक, होटल व्यवसायी तथा स्थानीय समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यसका साथै बोटिङबाट संकलित आम्दानीको १० प्रतिशत रकम सामुदायिक वनलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले संरक्षण र पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ ।
पछिल्ला वर्षहरूमा नेपालमा दिगो पर्यटन र पर्यापर्यटनको अवधारणाले महत्व पाउँदै गएको छ। सौराहाको बोटिङ सेवा त्यसैको एक उदाहरण बनेको छ, जहाँ प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन र पर्यटकलाई गुणस्तरीय अनुभव प्रदान गर्ने प्रयास गरिएको छ।
जंगलको बीचमा बग्ने राप्ती नदीमा डुङ्गा चढ्दै वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गर्ने अवसरले सौराहाको पर्यटनलाई थप आकर्षक बनाएको छ । तस्बिरः प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
चितवन । नेपाल चिकित्सक सङ्घको आयोजनामा चितवनमा ‘अल नेपाल मेडिकल कन्फ्रेन्स ‘एनएमए कन २०२६’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरू भएको हो ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा नेपालसहित भारत र चीनका विशेषज्ञ चिकित्सकहरु, नर्स र स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । यसैगरी, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी छन् । साथै, स्वास्थ्य मन्त्रालय र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी छन् ।
सङ्घका चितवन जिल्ला सचिव डा महेन्द्र अग्रहरिका अनुसार प्यानल छलफल सुरू भएको छ । तीन वटा सभाकक्षमा छुट्टाछुट्टै छलफल भएको उनले जानकारी दिए ।
यसैगरी, कार्यपत्र प्रस्तुतीकरण र रोगका बारेमा अनुसन्धात्मक कार्यप्रगति प्रस्तुतीकरण भइरहेका छन् । कार्यपत्र ४० र कार्यप्रगति ३० वटा रहेका छन् । आज बिहानदेखि प्राविधिक सत्र सुरू भएको सम्मेलनको आइतबार बिहान औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।
कार्यक्रममा देशभरबाट ३५० जना सहभागी छन् । सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिएको उनको भनाइ छ ।
हरेक दुई/दुई वर्षमा हुँदै आएको यो कार्यक्रम बाह्र वर्षयता तीन/तीन वर्षमा गर्न थालिएको छ । यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ भन्ने रहेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल थालिएको छ ।
सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरु सुरु भएका छन् । कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटालगायत सरकारी निकायका अधिकारीहरु पनि सहभागी छन् ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालय चितवनले घरघरमा राहदानी पुर्याउन सुरू गरेको छ ।
हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पुर्याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिए ।
पहिले चिठीपत्र पुर्याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पुर्याउनमा लागिपरेको छ । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्याउन थालिएको हो । हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ ।
भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् । जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन् ।
चितवन । सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि सार्वजनिक गरेको बजेटपछि यहाँका उद्योगी व्यवसायीले बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । उद्योगी व्यवसायीसँगै पेसाकर्मी पनि बजेटबाट लाभान्वित भएका सरोकार भएकाहरूले भन्दै खुसी व्यक्त गरेका हुन् ।
उद्योगलाई लक्षित गरी सरकारले भन्सार दर घटाउने, अन्तःशुल्क हटाउनेलगायत नीति लिएसँगै प्रत्यक्षरूपमा उद्योगी व्यवसायी लाभान्वित भएका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले बताए । व्यक्तिगत करमा ठूलो राहत मिलेको छ । वार्षिकरूपमा रु छ लाखबाट बढाएर रु १० लाख आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याउनु सकारात्मक रहेको उनले प्रतिक्रिया दिए ।
अधिकतम आयकर दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा ल्याइँदै गर्दा यहाँका चिकित्सक, इञ्जिनियरलगायत ठूलो आम्दानी गर्ने पेसाकर्मी प्रत्यक्ष लाभान्वित भएका श्रेष्ठको भनाइ छ । उनले अन्तःशुल्क ३६० प्रकारका वस्तुमा हटाउने र उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास स्वागतयोग्य भएको बताए ।
यो बजेटबाट बजारमा उपभोग र माग बढ्ने सम्भावना देखिएको भन्दै उनले बैंकिङ, अटोमोबाइल र घरजग्गा कारोबारी लाभान्वित हुने महासंघका केन्द्रीय सदस्य श्रेष्ठले धारणा राखे । देवघाटलगायत धार्मिक क्षेत्रको प्रवर्द्धन र भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन उडान गर्दा यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ ।
बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष त्रिलोचन कँडेलले यो बजेटबाट उत्पादनको लागत घट्ने, केही वस्तु सस्तो हुने र घरेलु उद्योग प्रतिस्पर्धी बन्ने बताए । दुई सय ७३ औद्योगिक कच्चापदार्थमा भन्सार दर घट्नु र तयारी वस्तुभन्दा कच्चापदार्थ सस्तो हुनुले यहाँका उद्योग प्रत्यक्ष लाभान्वित हुने उनले उल्लेख गरे ।
परिसङ्घका अध्यक्ष कँडेलले भने, “यो बजेटसँगै उद्योग सञ्चालनमा लागत घट्ने छ ।” उत्पादन तथा निर्यात बढ्नसक्ने र पुँजीबजारमा सुधार आउने उनको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतमले हालसम्मकै सबैभन्दा उत्कृष्ट बजेट आएको भन्दै यसले आमनागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । पहुँचका आधारमा आफ्नो क्षेत्र केन्द्रित बजेट वितरण नगरिएको बताउँदै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएकाले समग्र नेपाली प्रत्यक्ष लाभान्वित हुने प्रतिक्रिया दिए ।
बजेटले कृषि क्षेत्रलाई समयानुकूल प्रोत्साहन दिएको पूर्वअध्यक्ष गौतमको भनाइ छ । उनले रु दुई करोडसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशत अनुदान दिइएको जनाउँदै यसले कृषिमा व्यवसायीकरण बढ्ने, खाद्य सुरक्षामा सुधार हुने बताए । उनले भने, “यो बजेटले ग्रामीण अर्थतन्त्रलाई सक्रिय बनाउँछ ।”
बजेटले सबै क्षेत्रलाई सम्बोधन गर्न सकेको भन्दै अब सरकारले सोहीअनुरुप कार्यान्वयनमा लैजानुपर्नेमा पूर्वअध्यक्ष गौतमले जोड दिए । यसअघिका वर्षमा पनि बजेट सकारात्मक हुँदाहुँदा पनि अस्थिर सरकारका कारण कार्यान्वयन पक्ष फितलो भएको भन्दै उनले अब यो समस्या नआउने विश्वास व्यक्त गरे ।
च्याम्बर अफ कमर्स चितवनका अध्यक्ष गोपाल भट्टराईले बजेट आशावादी र तुलनात्मकरूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले बजेटले मध्यमवर्गलाई सम्बोधन गरेको भन्दै उद्योगी व्यवसायी पनि लाभान्वित भएका बताए । उनले भने, “बजेट सकारात्मक छ, कार्यान्वयन पक्ष सवल बन्छ भन्ने हामी विश्वस्त छौँ ।”
रत्ननगर । रत्ननगर वडा नं–१६, पिठुवामा बहुउद्देश्यीय कभर्ड हल निर्माणमा आर्थिक अभाव सिर्जना भएको छ । आर्थिक अभावकै कारण निर्माणकार्य सुरू भएको पाँच वर्षमा ५० प्रतिशत मात्र काम भएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।
२०७८ सालमा वडा कार्यालयले पाँच लाख लगानी गरेको कभर्ड हल तत्कालीन मेयर नारायण वनले शिलान्यास गरेका थिए । अहिलेसम्म ७१ लाख लगानी हुँदा कभर्ड हलको छानो छाउनेसम्मको काम भएको छ । वडा कार्यालयको पाँच लाख, नगरपालिकाको ३० लाख र बागमती प्रदेश सरकारको ३६ लाखको लगानीमा ५० प्रतिशत काम भएको छ ।
‘आर्थिक अभावकै कारण निर्माणमा ढिलाइ भएको हो’, वडाध्यक्ष थापाले भने, ‘तीनै तहको सरकारलाई हारगुहार गरिरहेका छौँ ।’ साबिक पिठुवा गाविस अर्थात् रत्ननगर–१४, १५ र १६ लाई लक्षित गरी कभर्ड हल निर्माण गरिएको हो । अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी कभर्ड हल निर्माण गरिएको उनले बताए ।
समग्र रत्ननगरको खेलकुद विकासलाई मध्यनजर गरी सुरू गरिएको कभर्ड हलको निर्माण सम्पन्न गर्न सरकारी तवरबाट त्यति चासो नभएको वडाध्यक्ष थापा बताउँछन् । ब्याडमिन्टन, टेबुल टेनिस, भलिबल खेल्न मिल्ने गरी कभर्ड हल निर्माण सुरू गरिएको हो । ‘अब एक करोड रूपैयाँ सरकारले लगानी गरेमात्रै भवनले पूर्णता पाउने थियो’ थापाले भने ।
अघिल्लो स्थानीय सरकारले सार्वजनिक जग्गा संरक्षण गरेर पूर्वाधार निर्माण गरेको हो । सार्वजनिक जग्गा फिर्ता गर्ने क्रममा रत्ननगरका तत्कालीन मेयर नारायण वन नेतृत्वको स्थानीय सरकारले दर्जनौँ मुद्दा खेपेको थियो ।
–केशव भट्टराई
रत्ननगर । रत्ननगर नगरपालिकाले देशका ७५३ स्थानीय तहमध्ये पहिलोपटक स्थानीय तहको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मापन गरी यससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक सुशासन र तथ्याङ्कमा आधारित विकासको क्षेत्रमा ऐतिहासिक सुरुवात गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजनामा सो प्रतिवेदन सार्वजनिक गरिएको हो ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले नगरपालिकाले हासिल गरेको यो उपलब्धि रत्ननगरको मात्र नभई समग्र नेपालका स्थानीय तहहरूको आर्थिक योजना र नीति निर्माणका लागि कोसेढुङ्गा साबित हुने बताए । उनले विश्वसनीय तथ्याङ्कबिना दिगो विकासको परिकल्पना असम्भव रहेको उल्लेख गर्दै अबको विकास योजनाहरू तथ्यमा आधारित हुने र यसले स्रोतको प्रभावकारी परिचालन तथा परिणाममुखी विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
नगरप्रमुख सापकोटाले यस अध्ययनले रत्ननगरको कृषि, पर्यटन, साना तथा मझौला उद्योग र सेवा क्षेत्रले स्थानीय अर्थतन्त्रमा पुर्याएको योगदानलाई स्पष्ट पारेको र यसले आगामी दिनमा थप लगानी र रोजगारी सिर्जना गर्न मार्ग प्रशस्त गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले यस अभ्यासको महत्त्वमाथि प्रकाश पार्दै नेपालको तथ्याङ्कीय प्रणालीलाई स्थानीयस्तरसम्म सुदृढ गर्ने प्रयासका रूपमा यसलाई लिइएको बताए ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज अधिकारीले स्थानीय तहको जिडिपी मापन गर्ने विधि र प्रक्रियाका बारेमा विस्तृत जानकारी गराएका थिए भने निर्देशक दिनेश भट्टराईले रत्ननगरको आर्थिक अवस्था समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एशियाली विकास बैंक (एडिबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) तथा विश्व बैंकका प्रतिनिधिहरूले नेपालको तथ्याङ्कीय प्रणालीमा अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग र स्थानीय तहको क्षमता अभिवृद्धिमा पुर्याइरहेको सहयोगका बारेमा चर्चा गरेका थिए । सहभागी विकास साझेदारहरूले स्थानीय तहको आर्थिक तथ्याङ्कले राष्ट्रिय अर्थतन्त्रको चित्रलाई थप स्पष्ट र विश्वसनीय बनाउने धारणा राखेका थिए ।
स्वागत मन्तव्य राख्दै सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सविता अर्यालले गरेकी थिइन् । रत्ननगर नगरपालिकामा गरिएको यो परीक्षणको सफलतासँगै राष्ट्रिय तथ्याङ्क कार्यालयले अब अन्य स्थानीय तहहरूमा पनि यस्तै अभ्यास विस्तार गर्ने योजना बनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा एकल महिलालाई मनोसामाजिक स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा रत्ननगर–८ देखि १६ सम्मका ९० जना बढी एकल महिलाहरूको सहभागिता रहेको थियो । एकल महिलालाई तनाव व्यवस्थापन र मनोसामाजिक स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले तालिम प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले जानकारी दिइन् ।
नगरपालिकाले सोमबार रत्ननगर–१ देखि ८ सम्मका एकल महिलाहरूलाई सोही तालिम प्रदान गरेको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवम् लक्षित वर्ग छनोट समितिका संयोजक यशोदा अधिकारी पौडेलले तनाव नभएको मानिस भेट्न गाह्रो हुने बताउँदै हरेक व्यक्तिले तनावको व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने बताइन् ।
उनले एकल महिलालाई आफ्ना पीडा बिसाउन र भविष्यमा समस्या नहोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउँदै कुनै पनि समस्या लुकाएर समाधान नहुने बताइन् । उनले १६ वटै वडामा मनोसामाजिक स्वास्थ्यमा सहयोग गर्नका लागि २६ जना मनोसामाजिक विमर्शकर्ता रहेको जानकारी दिँदै हरेक वडामा कुनै पनि समस्या परेमा विमर्शकर्ताहरुले सहजीकरण गर्ने बताइन् ।
रत्ननगर–३ का वडाध्यक्ष एवम् सामाजिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले हरेक व्यक्तिका आआफ्नै समस्या र पीडा रहेको बताउँदै त्यसको व्यवस्थापनका लागि व्यायाम, योग, सङ्गीतजस्ता उपाय रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश अर्यालले विश्वका कुनै पनि व्यक्तिको स्वभाव, विचार, बुझाइ र धारणा फरक फरक हुने भएकाले एउटै प्रकृतिका समस्याको हल एउटै उपायबाट सम्भव नहुने बताए । उनले मन र समाज मिलेर मनोसामाजिक बन्ने भएकाले सामाजिक मूल्य, मान्यता, दृष्टिकोणलाई हेरेर मनले काम गर्नुपर्ने बताए ।
तालिममा मनोविद् कपिल शर्माले सहजीकरण गरेका थिए । उनले एकल महिलाहरूलाई तनाव व्यवस्थापन, आत्मसम्मान बढाउने तरिका, भावनात्मक सन्तुलन कायम गर्ने विधि र सामाजिक समर्थनको मह¤वबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे वडा सदस्य चन्द्रकला पनेरु, शारदा न्यौपाने, चमेली दमैलगायतको उपस्थिति रहेको थियो ।
भरतपुर । चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् जिआइजेड–आरएसआरएसडीको प्राविधिक सहयोगमा आन्तरिक राजस्व कार्यालय परिसरमा निर्माण गरेको कर सहायता कक्षको उद्घाटन गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीन वर्षअघिदेखि चितवनका उद्योगी व्यवसायीहरुलाई निःशुल्करुपमा करसम्बन्धी झन्झटलाई निराकरण गर्ने उद्देश्यले कर सहायता कक्ष निर्माण गरी सञ्चालन गरेको बताए ।
उनले गत भदौ २३ र २४ गते जेनजी विद्रोहको समयमा सो कार्यालय जलेर नष्ट भएको र यसलाई जिआइजेड–आरएसआरएसडी र आन्तरिक राजस्व कार्यालय भरतपुरको सहयोगमा पुनर्निर्माण गर्न सफल भएको बताए । उनले कर सहायता कक्ष संघको मात्र नभई चितवनका सबै निजी क्षेत्रको साझा भएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रजिअ गणेश अर्यालले राज्य सञ्चालनको मूल खम्बा नै कर भएको बताउँदै करदातालाई सहज वातावरण बनाउनका लागि कर सहायता कक्ष निर्माण गरी सञ्चालन गरेकोमा चितवन उद्योग वाणिज्य संघलाई आभार प्रकट गरे ।
उनले कतिपय अवस्थामा करसम्बन्धी प्राविधिक ज्ञान, झन्झटिलो प्रक्रिया वा नयाँ नियमहरूको अन्योलताका कारण करदाताहरू चाहेर पनि समयमा कर बुझाउन असमर्थ भइरहेको सन्दर्भमा नवनिर्मित कर सहायता कक्षले करदाता र कर प्रशासनबीचको दूरीलाई मेटाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विशिष्टअतिथि जिआइजेड–आरएसआरएसडीका कार्यक्रम प्रमुख सय्यद मेहदी रिजा रिजवीले चितवनका करदातालाई कर दाखिला गर्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले करदाता सहायता कक्ष निर्माणका लागि सहयोग गरेको बताए । उनले सहायता कक्षले करदाता कार्यालयमा आउँदा झन्झटमुक्त, मैत्रीपूर्ण र सहयोगी वातावरण पाउन सहज हुने बताए ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, जिआइजेड–आरएसआरएसडीका वित्तीय व्यवस्थापन तथा प्रशासन सल्लाहकार नवीनलाल श्रेष्ठलगायत आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरु, चितवनका निजी क्षेत्रका पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको थियो । चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
रत्ननगर । पूर्वी चितवनको अग्रणी शैक्षिक संस्था न्यु क्यापिटल कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष अर्थात् ‘रजत जयन्ती’को अवसर पारेर वर्षभरि नै विभिन्न सिर्जनात्मक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसै क्रममा सोमबार कलेज परिसरमा महानायक राजेश हमालसँग एक विशेष अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
कलेजका प्राचार्य भूपेन्द्र धितालले सहजीकरण गरेको कार्यक्रममा महानायक हमालले आफ्नो बहुचर्चित कृति ‘युगदेखि युगसम्म’को चर्चा गर्नुका साथै विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा र उत्प्रेरणा प्रदान गरे ।
कार्यक्रममा महानायक हमालले आफ्नो अभिनय यात्राको कठिन सङ्घर्ष, परिवारको चाहनाविरुद्ध आफ्नो सपना पछ्याउँदा भोगेका चुनौती र सफलताका कथा सुनाउँदै विद्यार्थीहरूलाई अध्ययनमा दत्तचित्त भएर लाग्न प्रेरित गरे । उनले शिक्षाको महत्त्वमाथि प्रकाश पार्दै मेहनत र परिश्रमले नै मानिसलाई शिखरमा पु¥याउने कुरामा जोड दिए ।
कलेजका प्राध्यापक विष्णु सापकोटाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रम निकै प्रभावकारी र प्रेरणादायी रहेको भन्दै सहभागी विद्यार्थी तथा अभिभावकहरूले खुसी व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा महानायक हमालसँग तस्बिर खिचाउन र सेल्फी लिन विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिन्थ्यो । यसका साथै, हमालले कार्यक्रममा उपलब्ध आफ्ना पाठकहरूका लागि पुस्तकमा हस्ताक्षर गर्दै उनीहरूसँग भलाकुसारी गरे ।
महानायक हमालले विद्यार्थीहरूलाई आफ्नो करिअर निर्माणमा केन्द्रित हुन र शिक्षालाई जीवनको आधार बनाउन विशेष आग्रहसमेत गरे । रजत जयन्ती वर्षभरि यस्तै बहस, साहित्यिक र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने कलेजले जनाएको छ ।
रत्ननगर । नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको आयोजनामा तीन दिवसीय समुदायमा आधारित प्राथमिक उपचार तालिम समापन गरिएको छ ।
जुनसुकै विपद् वा आकस्मिक दुर्घटनाको समयमा घाइतेको ज्यान बचाउन अवस्था थप बिग्रन नदिन र उचित स्वास्थ्य उपचारमा पुग्नुअघिको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाकी कार्यवाहक सभापति अनु गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापति हरिप्रसाद पौडेलले रेडक्रस संस्थाको मह¤व, यसले समाजमा गरेका निस्वार्थ काम र विपद् व्यवस्थापनमा निर्वाह गर्दै आएको अहम् भूमिकाबारे प्रकाश पारेका थिए ।
उनले यस्तो गौरवमय संस्थाबाट प्रदान गरिएको प्राथमिक उपचार तालिमको प्रमाणपत्रको छुट्टै मूल्य र महत्त्व रहेको जानकारी गराउँदै सिकेको ज्ञानलाई मानवीय सेवामा लगाउन प्रेरित गरे । कार्यक्रमका विशिष्टअतिथि एवम् रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्दै सहभागीहरूलाई तालिममा सिकेका जीवनदायी कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गरे ।
कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् नेपाल रेडक्रस सोसाइटी उपमन्त्री महेश्वर थपलियाले तालिमको समग्र नतिजा प्रकाशन गर्नुका साथै तीन दिनको प्रशिक्षण अनुभव सुनाएका थिए । सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट सरस्वती चालिसे र केशव रिजालले तालिमबाट आफूहरूमा नयाँ आत्मविश्वास जगाएको अनुभव सुनाए ।
यस्तै, नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य नवराज तिमिल्सिनाले तालिमको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरे । समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला कोषाध्यक्ष विजयराज खनाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य एवम् प्रशिक्षक रुद्र अधिकारी, पालिकास्तरीय तदर्थ समिति संयोजक रामचन्द्र पौडेल, कोषाध्यक्ष हुतराज पन्त, रत्ननगर उपशाखा पूर्वसचिव एवम् प्रशिक्षक निता ढकाल र प्रशिक्षक देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।
रत्ननगर उपशाखाका सचिव युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा सभापति अनु गौतमले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग पु¥याउने सम्पूर्णलाई विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गरेकी थिइन् ।
रत्ननगर । रत्ननगर नगरपालिकाले एकल महिलाहरूलाई मनोसामाजिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सोमबार भएको तालिममा रत्ननगर–१ देखि ८ सम्मका ९० जना बढी एकल महिलाहरूको सहभागिता रहेको शाखा प्रमुख दीपा घिमिरेले जानकारी दिइन् । उनले मङ्गलबार रत्ननगर–९ देखि १६ सम्मका एकल महिलाहरूलाई सोही तालिम दिइने बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले एकल महिलाहरूको सम्मानजनक जीवन र क्षमता विकासका लागि रत्ननगर नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए । उनले भने, ‘एकल महिलाहरू समाजको मह¤वपूर्ण अङ्ग हुन् । उनीहरूको मनोसामाजिक स्वास्थ्य राम्रो भएमा मात्र परिवार र समाज पनि स्वस्थ रहन्छ ।’
तालिममा मनोविद् कपिल शर्माले सहजीकरण गरेका थिए । उनले एकल महिलाहरूलाई तनाव व्यवस्थापन, आत्मसम्मान बढाउने तरिका, भावनात्मक सन्तुलन कायम गर्ने विधि र सामाजिक समर्थनको मह¤वबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य बबिता चौधरी, यशोदा अधिकारी पौडेल, वडा सदस्य सीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
चितवन । पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि र सरकारले लगाएको विभिन्न शीर्षकका करहरूको विरोधमा आइतबार चितवनमा फरक खालको प्रदर्शन गरिएको छ । जेनजी अभियन्ता मिराज ढुङ्गाना नेतृत्वको ‘गरी खान देऊ’ अभियान चितवन शाखाले मोटरसाइकल नचलाई हातले दोहोर्याएर विरोध र्याली आयोजना गरेको हो ।
चितवनको चौबिसकोठीबाट सुरू भएको उक्त र्याली लायन्स चोकसम्म पुगेको थियो । र्यालीको नेतृत्व गरेका युवा विशु लामा गुरूङले दैनिक उपभोग्य वस्तुदेखि खाद्यान्नसम्म सबै कुराको मूल्य अकासिएको बेला आर्थिक संकटको समयमा जनतामाथि थप करको भार थोपर्नु अन्यायपूर्ण भएको बताए । उनले सरकारलाई ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको जानकारी दिए ।
अभियन्ता मिराज ढुङ्गानाले सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका करहरू लगाउँदै आएको बताए । हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुग्दा सरकारले झन्डै ६५ देखि ७० रुपैयाँ त कर मात्रै लिने गरेको उनको भनाइ छ ।
आन्दोलनको उद्देश्य सरकारसँग घाटामा पेट्रोल माग्नु नभई, सङ्कटको घडीमा लगाइएका अनावश्यक करहरू हटाउन दबाब दिनु रहेको ढुङ्गानाको भनाइ छ । र्यालीमा एक सय बढी युवाको सहभागिता रहेको थियो ।
भरतपुर । चितवन उद्योग वाणिज्य संघले आइतबार अपिल जारी गर्दै अबदेखि सोमबार व्यवसाय नियमित सञ्चालन गर्न र शनिबार मात्रै व्यवसाय बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।
विगत लामो समयदेखि प्रत्येक सोमबार व्यवसाय बन्द गर्ने अभ्यास व्यावसायिक अनुशासन, ऐक्यबद्धता तथा बजार व्यवस्थापनको सकारात्मक अभ्यासका रूपमा रहँदै आएको भन्दै संघले नेपाल सरकारले शनिबार र आइतबारलाई सार्वजनिक बिदा लागू गरिसकेको अवस्थामा सोमबारसमेत बजार बन्द हुँदा व्यवसायी, उपभोक्ता तथा सेवाग्राहीमा अन्योल सिर्जना भएको जनाएको छ ।
यसै सन्दर्भमा आइतबार संघ र विभिन्न वस्तुगत संघबीच सम्पन्न संयुक्त बैठकले अब उप्रान्त सम्पूर्ण व्यवसाय सोमबार नियमित सञ्चालन गर्ने तथा शनिबार सामूहिकरूपमा व्यवसाय बन्द गर्ने निर्णय गरेको संघका अध्यक्ष चिरन्जीवी सुवेदीले बताए ।
उनले संघले व्यवसाय सञ्चालन गर्ने वा नगर्ने अधिकार प्रत्येक व्यवसायीमा निहित रहे पनि एउटै दिन सामूहिकरूपमा व्यवसाय बन्द गर्ने अभ्यासले व्यवसायीहरूको साझा आवाजलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । विशेषगरी कर नीति, बजार व्यवस्थापन, व्यावसायिक हकहित, आर्थिक चुनौती तथा निजी क्षेत्रसँग सम्बन्धित विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउन सामूहिक एकता महत्त्वपूर्ण हुने संघले अपेक्षा गरेको छ ।
यस्तै, शनिबार एक दिन व्यवसाय बन्द गर्दा व्यवसायी तथा कर्मचारीलाई नियमित विश्राम मिल्नुका साथै सरसफाइ, स्टक व्यवस्थापन, मर्मत सम्भार तथा आन्तरिक प्रशासनिक कार्य व्यवस्थित गर्न सहज हुने संघले जनाएको छ ।
चितवन । निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ ।
टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ ।
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ । अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उनले बताए । गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन् ।
हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ । नहर मर्मत गरी पानी छोडिएको हो । यस क्षेत्र गैँडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरुङ्गीको बासस्थान रहेको छ ।
चितवन । नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको हो ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीका अनुसार सम्मेलनमा भारत र चीनका विशेषज्ञ चिकित्सकहरुसहित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
विश्व मेडिकल एसोसिएसनका विज्ञहरुको भिडियो प्रस्तुतीकरण रहनेछ । देशभरबाट प्रतिनिधिमूलक रुपमा चिकित्सकहरु सहभागी हुनेछन् । अध्यक्ष डा कार्कीका अनुसार सम्मेलनमा चार वटा समूहगत छलफल गरिने छ । कार्यक्रममा ६० कार्यपत्र र अन्य वैज्ञानिक प्रस्तुतीकरणसहित गरी १०० भन्दा बढी प्रस्तुतीकरण हुनेछन् । सोही अवसरमा संघका नवनिर्वाचित पदाधिकारीलाई जिम्मेवारी हस्तान्तरणसमेत गरिने छ ।
सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा र मानव संसाधन व्यवस्थापनजस्ता विषयमा विशेष सत्रहरू सञ्चालन गरिने उनले बताए । हरेक दुई÷दुई वर्षमा हुँदै आएको यो कार्यक्रम १२ वर्षयता तीन÷तीन वर्षमा गर्न थालिएको छ । उनका अनुसार नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौतीलाई समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर छलफल गरिनेछ ।
यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि र आविष्कारहरूलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित रहेर वैज्ञानिक सत्रहरू सञ्चालन हुने अध्यक्ष डा कार्कीले जानकारी दिए ।
भरतपुर । चितवन उद्योग वाणिज्य संघले चितवन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेललाई स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रूपमा आएका प्रहरी उपरीक्षक रामेश्वर पौडेललाई संघमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गदै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको बारेमा विस्तृत जानकारी गराउँदै उनले विगत लामो समयदेखि उद्यमी एवम् व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको बताए । उनले चितवनको व्यावसायिक विकासका लागि सुरक्षा महत्त्वपूर्ण एवम् अपरिहार्य रहेको बताउँदै जिल्ला प्रहरी कार्यालयले चाल्ने सकारात्मक कदममा चितवन उद्योग वाणिज्य संघको पूर्ण सहयोग रहने जनाउँदै चितवन बसाइको पूर्ण सफलताको कामनासमेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले निजी क्षेत्र र व्यावसायिक संस्थाहरु देशको आर्थिक मेरुदण्ड भएको र शान्ति सुरक्षा बिना आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताए । उनले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर बाँकी नराख्ने बताउँदै शान्ति सुरक्षा र व्यवस्थापनमा उद्योगी, व्यवसायीहरूबाट पनि सहकार्यको अपेक्षा राखेको बताए ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले प्रहरी एक्लैले समाजलाई सुरक्षित राख्न नसक्ने बताउँदै उनले व्यवसायीहरु पनि आफ्नो सुरक्षाको लागि आफँै सचेत हुनका लागि अनुरोध गर्दै व्यवसायीहरुलाई सिसी क्यामेरा पसलभित्र मात्र जडान नगरी बाहिर बाटोतिरसमेत जडानका लागि अनुरोध गरे । उनले जिल्लाको शान्ति सुरक्षाको सवालमा संघ प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने जनाउँदै जिल्ला प्रहरी प्रमुखको चितवन बसाइ सफल, उपलब्धिमूलक र ऐतिहासिक एवम् पूर्ण सफलताको कामनासमेत व्यक्त गरे ।
कार्यक्रममा संघका उपाध्यक्षत्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरूको उपस्थिति रहेको थियो । संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापनसहित समापन गरेको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका थिए ।
रत्ननगर । रत्ननगर वडा नं–१६ का उद्यमी महिलाहरुका लागि व्यनवसायिक योजना निर्माणसम्बन्धी प्रशिक्षण सुरू भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा नारी जागरण केन्द्रले आयोजना गरेको सो कार्यक्रममा ५० जना महिलाहरु सहभागी छन् ।
केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालको अध्यक्षतामा भएको कार्यक्रम वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरेका थिए । सो अवसरमा वडाध्यक्ष थापाले महिला उद्यमशीलताको क्षेत्रमा गरिएको लगानी खेर गएको बताए । ‘वडाका हरेक महिलाहरुलाई सिपमूलक तालिम दिएका छौँ’, उनले भने, ‘तालिम दिएकामध्ये ३० प्रतिशत महिला पनि उद्यमी बनेका छैनन् ।’ आफूले सिकेको सीपलाई आर्थिक उपार्जनको माध्यम बनाउन नसक्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
केन्द्रकी अध्यक्ष खनालले सीप सिकेका र व्यवसाय सुरू गरिसकेका महिलाहरुलाई व्यावसायिक योजना निर्माणमा सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताइन् । सीप सिकेकालाई आत्मबल बढाउन र व्यवसाय सफल बनाउन कार्यक्रम कोसेढुङ्गा साबित हुने उनको भनाइ छ ।
कार्यक्रममा विष्णु शर्माले व्यावसायिक योजना निर्माण, सफलताको सूत्रलगायतका विषयमा सहजीकरण गरेका थिए । उद्घाटन कार्यक्रममा केन्द्रकी महासचिव सरस्वती लामाले केन्द्रले महिला सशक्तीकरण, सीप विकास, उद्यमशीलता प्रबद्र्धन तथा विपन्न छोरीहरुको उच्च शिक्षाका लागि छात्रवृत्ति वितरण गर्दै आएको बताइन् ।
जनजागृति माविमा गरिएको कार्यक्रम दुई दिनसम्म चल्नेछ । कार्यक्रममा भरतपुर–१०, हाकिमचोकस्थित प्रकृति कपास उद्योगकी सञ्चालिका चन्दना कोइरालाले व्यावसायिक सफलताको कथा सुनाएकी थिइन् ।
भरतपुर । भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका शहीद सारकुमार राईको डेरा केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो । लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा शहीद राईकी छोरी आकृति राईले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३.४० जिपिएसहित एसइई उत्तीर्ण भएपछि खुसी छाएको हो ।
आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उनलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढाएको बताइन् । उनले भनिन् ‘अब आँट आउन थालेको छ । मेरो नानीले केही गर्छे जस्तो लागेको छ ।’
उनले छोरीको शिक्षामा सहयोग गर्ने गोल्याण ग्रुपप्रति आभार व्यक्त गर्दै दुःख र अन्योलबीच आएको सहयोग परिवारका लागि मलमसरह बनेको बताइन् । परिवारमा परेको पीडाले छोरी पहिलेभन्दा अझ आत्मविश्वासी र समाजमा केही गर्न सक्ने खालकी बनेको उनको भनाइ थियो ।
उनले भनिन्, ‘पहिले धेरै नबोल्ने छोरी अहिले तीन–चार जना मानिस भएको ठाउँमा बोल्न सक्ने भएकी छ । उसले मलाई सम्झाउने गर्छे ।’
गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृतिले पीडालाई पन्छाएर पढाइमा उत्कृष्ट नतिजा ल्याएको बताए । उनले आफूहरूसँगै शिक्षक र परिवारको सहयोगले आकृतिलाई विज्ञान विषय अध्ययनतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गरे ।
उनले भने, ‘पीडाबाट कसरी अगाडि बढ्ने भन्ने कुरा आकृतिको पढाइले सिकाउँछ । राम्रो अभिभावक र शिक्षक पाए विद्यार्थी अझ राम्रो गर्न सक्छन् । आकृतिकी आमाले पीडाका बाबजुद ठूलो साथ दिनुभएको छ ।’
उनले विद्यार्थी पास मात्रै नभई आत्मनिर्भर बन्न सक्ने खालको हुनुपर्ने बताउँदै विद्यार्थीको चाहना र क्षमताअनुसार शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएको जानकारी दिए ।
उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मनशिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका हुन् । उनले विद्यालय परिवार र सहयोगी संस्थाको साथले पढाइ सहज भएको बताए । उनले भने, ‘गोल्याण के हो भन्ने पहिले थाहा थिएन । भेट भएपछि आफ्नै परिवार जस्तो लागेको छ ।’
आकृतिले अब भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने बताउँदै भविष्यप्रति आशावादी रहेको धारणा राखे । प्लस टु अध्ययनपछि बिएससी नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने इच्छा रहेको उनले बताए ।
मनशिक्षा मन्दिर माध्यमिक विद्यालय का प्रधानाध्यापक इन्द्रेश शाहले आकृति मेहिनती र जिम्मेवार विद्यार्थी रहेको बताए। उनले पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि गोल्याण ग्रुपबाट प्राप्त सहयोगले आकृतिमा थप उत्साह आएको उल्लेख गरे । उनले भने, ‘परिवारमा पीडा नभई अनुकूल वातावरण भएको भए आकृतिको बढी अङ्क ल्याउने सम्भावना थियो ।’
अब आृकतिले अध्ययन गर्ने कलेज आरोमा कलेज भरतपुरका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले आकृतिको अध्ययनका लागि कलेज पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताए । गोल्याण ग्रुपसँग समन्वय गरेर आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता उनले व्यक्त गरे।
गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एण्ड पिआर प्रमुख ज्योति गैरेले आकृतिको सफलताको सम्मान स्वरूप घरमा नै आएर भेटेर बधाई कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार आकृति जेनजी आन्दोलनका शहीद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन् । जेनजी आन्दोलनका शहीदका ३२ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु चार लाख ८० हजार उपलब्ध गराइँदै आएको छ ।
उनले चितवनमा आकृतिसहित कक्षा ४ मा अध्ययनरत अर्का एक शहीद परिवारका बालबालिकालाई सहयोग गरिरहेको बताए । देशभरका विद्यालय जाने तयारीमा रहेका तथा विभिन्न कक्षामा अध्ययनरत शहीद परिवारका बालबालिकालाई गोल्याण ग्रुपले सहयोग गर्दै आएको उनले जानकारी दिए ।
चितवन । २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित एक कार्यक्रममा एसइई नजिताप्रति असन्तुष्टि व्यक्त गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ, चितवनको आयोजनामा ‘विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी प्रधानाध्यापकसँग अन्तक्र्रिया तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) समीक्षा’ कार्यक्रममा प्रतिक्रिया राख्ने विद्यालयका प्रधानाध्यापकहरूले प्रकाशित परीक्षाफलप्रति असन्तुष्टि जनाएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ, चितवनका प्रमुख लक्ष्मण देवकोटाले परीक्षाका सुधार गर्नुपर्ने पक्षहरूबारे प्रकाश पार्ने क्रममा जिल्लामा परीक्षा उपकेन्द्र स्थापना गर्नुपर्ने, गोश्वारा भौचर, चार्टपेपरलगायतका सामग्री विद्यार्थीलाई परीक्षा केन्द्रले उपलब्ध गराउनुपर्ने, एसइई परीक्षाको अपनत्व स्थानीय पालिकाहरुले लिन नसकेको र स्थानीय तहको भूमिका पनि स्पष्ट नभएको बताए ।
उनले सङ्घीय सरकारको निर्देशनबमोजिम सम्बन्धित परीक्षा केन्द्रमा नै उत्तरपुस्तिकाको परीक्षण तथा सम्परीक्षणका क्रममा १८ घन्टासम्म खटेर निर्धारित समयमा नै नतिजा प्रकाशन सम्भव तुल्याउने परीक्षक तथा केन्द्राध्यक्षहरूप्रति आभार व्यक्त गरे । प्रमुख देवकोटाको प्रस्तुतिपश्चात प्रतिक्रिया दिँदै सहभागी प्रधानाध्यापकहरूले परीक्षाफलप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिने क्रममा प्रधानाध्यापकहरूले अत्यन्तै छोटो समयमा १८ घन्टासम्म खटेर निकालिएको परीक्षाफलका क्रममा त्रुटि भएको हुनसक्ने आशङ्का व्यक्त गरे ।
परीक्षाफलको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै परीक्षार्थी र सम्बन्धित विद्यालयको बारेमा जानकारी भएकाले उत्तरपुस्तिका जाँचका क्रममा बदमासी या आग्रह–पूर्वाग्रह भएको हुनसक्ने शङ्का गर्ने ठाउँ रहेको उनीहरूको भनाइ थियो । एक प्रधानाध्यापकले भनिन्, ‘मेरो छोरीको एसइईमा चार जिपिए आयो, सो कुरा उत्तरपुस्तिका जाँच गर्ने शिक्षकले परीक्षाफल प्रकाशन हुनुभन्दा एकहप्ता पहिले नै भन्नुभएको थियो ।’ उनका अनुसार उत्तरपुस्तिकामा कोडिङ÷डिकोडिङ नभएका कारण गोपनीयता कायम हुन नसकेको हो ।
कार्यक्रममा सहभागीले चितवन जिल्लाको शैक्षिक स्तर खस्केको नभई हतारमा उत्तरपुस्तिका जाँच गरी परीक्षाफल प्रकाशन गरिँदा गडबडी भएको हुनसक्ने आशङ्का गरे । उनीहरूले स्थानीयस्तरमै उत्तरपुस्तिका जाँच गरी परीक्षाफल प्रकाशन गर्ने हो भने रोस्टर टिचर आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा जिल्लाबाट सबैभन्दा बढी चार जिपिए ल्याउने सामुदायिकतर्फबाट भरतपुरको नारायणी नमुना मावि र संस्थागततर्फ रत्ननगरस्थित स्काइराइडर आवासीय माविका प्रधानाध्यापकलाई प्रशंसापत्रसहित दोसल्ला ओढाइएर सम्मान गरिएको थियो । यस्तै, शतप्रतिशत नतिजा ल्याउने रत्ननगरस्थित कपुरफोरी मावि र भरतपुरको गार्गी कन्या गुरुकुलम् तथा कुरिनटारस्थित प्रगति पाठशाला र भरतपुरस्थित न्यू चितवन इङ्ग्लिस स्कुलका प्रधानाध्यापकलाई सम्मानपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख वक्ता राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष महाश्रम शर्माले गुणस्तरीय विद्यालय शिक्षा र सिकाइ, चितवनको प्राज्ञिक नेतृत्व, समावेशी शासन र रणनीतिक मार्गचित्र पेस गरेका थिए । कार्यक्रममा सहभागीहरूले उठाएको जिज्ञासाको उत्तर दिँदै शर्माले बितेका दिनमा भएको कमजोरी औँल्याउनुभन्दा आगामी दिनमा ‘परफेक्ट’ बन्ने कोसिस जारी राख्नुपर्ने बताए । उनले यहाँ उठेका जिज्ञासा र सुझावहरू नेपाल सरकारका लागि महत्त्वपूर्ण हुने बताए ।
शर्माले भने, ‘विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदा र धेरै विद्यार्थीले जिपिए चार ल्याउँदा खुसीको अनुभव हुनु एउटा पक्ष हो तर विद्यार्थीको सिकाइ उपलब्धि कति भयो भन्ने कुराले महत्त्व राख्छ ।’ विद्यालयमा विद्यार्थी संख्याको तुलनामा गहिरो सिकाइ अझै चुनौतीपूर्ण रहेको उनले बताए । उनले चितवनको एसइई नतिजा हेर्दा गणित विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण रहेको र सो हुनुमा गणित शिक्षकको कमजोरी नभई सानैदेखिको गहिरो सिकाइ नहुनु मुख्य कारण रहेको बताए ।
जिल्ला समन्वय समिति चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षता तथा प्रजिअ गणेशप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेल, सशस्त्र प्रहरीका उपरीक्षक धनबहादुर बानियाँ, उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौँडाका प्रमुख बद्रि पाठक, शैक्षिक प्रशासन महाशाखा भरतपुरका उपसचिव सुवास आचार्यलगायत चितवनका विभिन्न पालिकाका शिक्षा निर्देशक र जिल्लास्थित सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
चितवन । चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमुना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो लाग्ने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ । सङ्क्रमितहरु सबै बिदेशबाट आएका बिरामी हुन् ।
नेपालमा मुख्य गरी दुई प्रजातिका औलोका परजीवीहरु पाइने गर्दछ । प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सिपारम रहेका छन् । नेपालमा तीमध्ये भाइभेक्स जातको परजीवी बढी देखिने गर्दछ । फाल्सिपारम जातको परजीवी औलो रोगका सङ्क्रमितमध्ये १५ देखि २० प्रतिशमा देखिने गर्दछ । जसले मानिसको स्नायु प्रणालीमा समेत प्रभाव पार्ने उनले बताए ।
भाइभेक्स परजीवी ७० देखि ८० प्रतिशत देखिने गरेको छ । विदेशबाट आउने नेपालीमा फाल्सिपारम परजीवी भेटिने गरेको उनले बताए । औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । घर गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्नेजस्ता कार्य गर्नु आवश्यक रहेको उनले बताए ।
चितवन । चितवन जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् ।
कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिए । उनका अनुसार जिल्लामा ९३ वटा एम्बुलेन्स दर्ता रहेका छन् । ती सबैलाई अध्यावधिक गर्न आग्रह गरिएको थियो । अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका हुन् । जिल्लामा अहिले ‘क’ वर्गका एम्बुलेन्सहरू नरहेको उनले जानकारी दिए । उनले भने, ‘अहिले अध्यावधिक गर्न आएका एम्बुलेन्समध्ये ‘ख’ र ‘ग’ वर्गका रहेका छन् ।” ‘ख’ वर्गका १२ वटा र ‘ग’ वर्गका ७४ वटा रहेका छन् ।
‘क’ वर्गका एम्बुलेन्समा भेन्टिलेटरसहित मेडिकल अधिकृत, एचए वा स्टाफनर्स सहितको सुबिधा हुनुपर्ने हुन्छ । ‘ख’ वर्गका एम्बुलेन्समा एचए वा स्टाफनर्स सहितको सुबिधा हुनुपर्ने हुन्छ । ‘ग’ वर्गका एम्बुलेन्सले अक्सिजनसहित बिरामी ओसार्ने काम मात्रै गर्छन् । अध्यावधिक गर्न आएका एम्बुलेन्समध्ये स्वास्थ्य संस्थाका १७ वटा, नेपाल रेडक्रस सोसाईटीका १७ वटा र प्रतिष्ठान, ट्रष्ट लगायतका ५२ वटा रहेका छन् । घिमिरेका अनुसार अध्यावधिक गर्न आएकामध्ये २९ वटा दश वर्ष पूरा गरिसकेका रहेका छन् । दश वर्ष पूरा भएका एम्बुलेन्सहरू एम्बुलेन्स सञ्चालन निर्देशिका २०८२ बमोजिम नविकरण गर्न नमिल्ने उनले बताए ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार ती एम्बुलेन्स अद्यावधिक गरिएको हो । यहाँ अद्यावधिक गर्न आएका एम्बुलेन्समध्ये जिपिएस जडान भएर प्रयोग नभएका ४२ वटा रहेका छन् भने जडान नभएका ४४ वटा रहेको उनले बताए । समितिले सबै एम्बुलेन्समा जिपिएस जडान गरी सञ्चालन गर्न निर्देशन गरेको छ ।
जिल्लाका सात पालिकामामध्ये भरतपुर महानगरपालिकामा ४३, खैरहनी नगरपालिकामा १६, कालिका नगरपालिकामा १०, राप्ती नगरपालिकामा छवटा, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा तीन–तीनवटा एम्बुलेन्स रहेका छन् । यस्तै माडी नगरपालिकमा दुईवटा एम्बुलेन्स रहेका छन् । अन्य जिल्लामा दर्ता भएर भरतपुर महानगरपालिकामा सञ्चालित तीनवटा एम्बुलेन्स रहेको उनले जानकारी दिए ।
अद्यावधिक नभएका एम्बुलेन्सलाई अद्यावधिक गरेरमात्र सञ्चालन गर्नका लागि स्थानीय प्रशासनलाई आग्रह गरिने उनले जानकारी दिए । उनका अनुसार अद्यावधिक नभएकालाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाइने छ ।
कालिका । दुग्ध उत्पादनमा प्रोत्साहनस्वरुप कालिका नगरपालिकाले कृषकहरुलाई प्रतिलिटर दूधमा एक रुपैयाँ र बागमती प्रदेश सरकारबाट एक रुपैयाँ ६१ पैसा गरी दुई रुपैयाँ ६१ पैसाका दरले अनुदान वितरण गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा दूध उत्पादन गरी दुग्ध उत्पादक सहकारी संस्थाहरुमा बिक्री गर्ने कृषकहरुलाई कालिका नगरभित्रका सातवटा सहकारी संस्थामार्फत एक करोड ५ लाख १२ हजार ८१३ रुपैयाँ ६ पैसा अनुदान रकम वितरण गरिएको हो ।
मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले २७ लाख १५ हजार ५ सय ३० रुपैयाँ ६५ पैसा, पदमपुर दुग्ध उत्पादक सहकारी संस्थाले २९ लाख ६८ हजार ७ सय ९६ रुपैयाँ ७ पैसा, नवमिलिजुली दुग्ध उत्पादक सहकारी संस्थाले १३ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ ९३ पैसा, उत्थान दुग्ध उत्पादक सहकारी संस्थाले २१ लाख ३२ हजार २ रुपैयाँ ५१ पैसा, सामुदायिक दुग्ध उत्पादक सहकारी संस्थाले ४ लाख १ हजार ३ सय ७९ रुपैयाँ ६३ पैसा, कन्चन दुग्ध उत्पादक सहकारी संस्थाले ३ लाख ९९ हजार १ सय ६६ रुपैयाँ १७ पैसा, भटेनी दुग्ध उत्पादक सहकारी संस्थाले ५ लाख ११ हजार २ सय ९९ रुपैयाँ गरी जम्मा एक करोड ५ लाख १२ हजार ८१३ रुपैयाँ ६ पैसा अनुदान वितरण गरिएको कालिकाका पशु शाखाका प्रमुख डा.राजुप्रसाद न्यौपानेले जानकारी दिए ।
अनुदानमा पाएका रकम दुग्ध उत्पादक सहकारी संस्थाहरुले आफ्ना कृषकहरुको बैंक खातामार्फत नै रकम भुक्तानी गर्ने उनको भनाइ छ ।
कालिकाका कृषकहरुले वार्षिक ४० लाख २७ हजार ८९६ लिटर दूध सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । दुग्ध उत्पादक सहकारी संस्थालाई दूध बिक्री गर्ने कृषकहरुलाई प्रतिलिटर दूधमा अनुदान कार्यक्रमअन्तर्गत अनुदान रकम सहकारीमार्फत नगरपालिकाले वितरण गरेको हो ।
कार्यक्रममा नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले संयुक्तरुपमा सातवटा सहकारीका अध्यक्ष र व्यवस्थापकलाई उनीहरुले बिक्री गरेको दूधको आधारमा पाउनुपर्ने अनुदान रकमबराबरको चेक हस्तान्तरण गरे ।
सो अवसरमाच नगरप्रमुख रेग्मीले कालिका नगरपालिकाले कृषि र पशुपालनलाई विशेष प्राथमिकता दिँदै आएको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषि र पशुपालनलाई प्राथमिकता दिएको उनले बताए । आगामी आवमा पनि प्रतिलिटर दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिएको उनले जानकारी दिए । अनुदान दिने कार्यक्रमबाट साना, ठूला सबै किसानहरु लाभान्वित भएको उनको भनाइ छ ।
पशुपालन गर्ने कृषकहरुलाई घाँसको बीउ पर्याप्त मात्रामा पालिकाले उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् । उत्पादनमा लागत घटाउँदै आर्थिक वृद्धिदर बढाउनेतर्फ किसानहरुलाई लाग्नसमेत उनले सुझाव दिए ।
कार्यक्रममा नगरउपप्रमुख विमला तमाङले दूध उत्पादनसँगै यसलाई विविधिकरण गरेर बजारीकरणमा जोड दिन आग्रह गरिन् । चिसो पेयपदार्थको विगविगी भइरहेका बेला कालिकामा उत्पादन भएको दूध, दही, मही सबैले खान पाउनेगरी बजारीकरण गर्न उनले सुझाव दिइन् ।
स्थानीय बजारमा बाहिरबाट आएका उत्पादनलाई निरुत्साहित गर्न स्थानीय उत्पादनबाट बन्ने विभिन्न परिकार स्थानीय बजारबाटै खपत गराउनेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । कालिकाको उत्पादनलाई यहाँका स्थानीय बजारका पसल–पसलमा पु¥याउन सके आर्थिक वृद्धि हुने उनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले दुग्धजन्य परिकार उत्पादनमा सहकारीहरुले ध्यान दिनुपर्नेमा जोड दिए । आफ्नै उत्पादन गरेर ब्रान्डिङ गर्नसमेत उनले सुझाव दिए । कालिकाको दूध भन्नेवित्तिकै गुणस्तरीय छ भन्ने सन्देश दिनुपर्ने गरी काम गर्न सहकारीलाई उनले निर्देशन दिए ।
उत्थान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राजेन्द्र्रप्रसाद ढुङ्गानाले दूध उत्पादनमा प्राप्त अनुदान रकमले कृषकहरुमा उत्साह थपिएको बताए । पालिकाले स्थापना भएदेखि नै किसानलाई उत्प्रेरणा दिने खालका कार्यक्रम गर्दै आएको उनले बताए । हरेक किसानको अभिभावक नगरपालिका भएकाले पालिकाबाट प्राप्त हुने अनुदानलगायत अन्य सहयोगहरु सबैको पहुँचसम्म पु¥याउन उनले आग्रह गरे । माग्ने आउनेलाई मात्रै दिने परिपाटी अन्त्य गरी आवश्यकताका आधारमा वितरण भए सबैको पहुँच हुने उनको भनाइ छ ।
कार्यक्रम आर्थिक विकास समिति संयोजक दीपकसिंह परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
रत्ननगर । रत्ननगर नगरपालिकालाई बिहीबार सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ ।
कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले नगरप्रमुख सापकोटालाई रत्ननगर सडक मानवमुक्त भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख सापकोटा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । रत्ननगरका १६ वटै वडालाई वडा सडक मानवमुक्त भएको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष अधिकारीले चितवन जिल्लाबाट सडकमा आश्रित एक हजार २१५ जना मानिसलाई उद्धार गरिएको बताए । चितवनमा हाल ६ जना बालबालिका, ६३ जना महिला र ५६ जना पुरूष गरी १२६ जना मानवसेवा आश्रममा रहेको उनले बताए ।
मानवसेवा आश्रमले अहिलेसम्म देशभरबाट १३ हजार ४४७ जना सडकमा आश्रित मानिसको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ५ हजार ६४० जनालाई पारिवारिक पुनर्मिलन तथा एक हजार ७२४ जनालाई सामुदायिक पुनस्र्थापना गरिएको छ । भरतपुर महानगर, राप्ती, माडी र इच्छाकामना गाउँपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ ।
चितवन । विभिन्न समयमा मानव बस्तीमा प्रवेश गरी मानिसमाथि आक्रमण गर्ने तथा स्थानीयवासीमा त्रास फैलाउने पाँच वटा समस्याग्रस्त बाघ अहिले चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएका छन् । नियन्त्रणमा लिएर विगत पाँचदेखि छ वर्षसम्म खोरमै राखिएका ती बाघको पालनपोषण गर्न बजेट अभाव भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार कसरास्थित खोरमा दुई वटा, देवनगरमा एक वटा र पूर्वी क्षेत्र सौराहामा एक वटा बाघ राखिएको छ । मानव बस्तीमा पसेर आक्रमण गर्ने, पशु चौपायामा क्षति पु¥याउने तथा स्थानीयमा डर–त्रास फैलाउने गतिविधि गरेपछि ती बाघलाई नियन्त्रणमा लिइएको हो ।
खोरमा राखिएका बाघलाई नियमित आहाराको व्यवस्था गर्न नै निकुञ्जलाई कठिन भइरहेको सूचना अधिकारी थापामगरले बताए । उनका अनुसार एउटा बाघलाई हरेक दुई दिनमा करिब सात किलो राँगाको मासु खुवाउने गरिएको छ । एकपटकको आहार व्यवस्थापनमै करिब चार हजार रुपैयाँ खर्च हुने गरेको निकुञ्जले जनाएको छ ।
निकुञ्जले चालु आर्थिक वर्षका लागि समस्याग्रस्त बाघको पालनपोषणतर्फ जम्मा सात लाख ६२ हजार रुपैयाँ मात्रै बजेट पाएको जनाएको छ । उक्त बजेट पर्याप्त नभएकाले अपुग खर्च राष्ट्रिय प्रकृति संरक्षण कोष तथा संरक्षण क्षेत्रमा क्रियाशील अन्य सहयोगी संस्थामार्फत व्यवस्थापन हुँदै आएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।
समस्याग्रस्त बाघलाई पुनः जङ्गलमा छाड्न नसकिने अवस्था भएकाले उनीहरूको दीर्घकालीन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको निकुञ्ज प्रशासनको भनाइ छ । मानव सुरक्षा र वन्यजन्तु संरक्षणबीच सन्तुलन कायम गर्न समस्याग्रस्त बाघको उचित व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सात वर्षअघि कर्तव्य गरी फरार रहेका प्रतिवादी पक्राउ गरेको छ । कर्तव्य ज्यान लिई फरार रहेका बाराको फेटा गाउँपालिका–४ बस्ने ३० वर्षीय पन्नेदेव भन्ने पञ्चदेव महरालाई चितवन प्रहरीले जेठ ६ गते पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७६ साल मङ्सिर २३ गते राति भरतपुर महानगरपालिका–९ स्थित नेपाल ग्यास उद्योगनजिक मजदूर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका–३ बस्ने ४६ वर्षीय सचिचन महराको मृत अवस्थामा शव फेला परेको थियो ।
सोही आरोपमा उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई बारा फेटा गाउँपालिका–१ त्रिवेणी टोलस्थित गाउँघरमा लुकीछिपी बसेको अवस्थामा जेठ ६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि खोजतलास तीव्र पारिएको थियो । पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिए । जिल्लामा कमाण्ड सम्हालेसँगै पौडेलले जिल्लाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने प्रतिबद्धतासहित प्रहरी सक्रियरूपमा परिचालन गरेका छन् ।
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले अध्यक्ष शंकर गिरीलाई बधाई तथा चितवन जिल्लाबाट सरूवा भएका एसपी गोविन्द पुरीलाई बिदाइ गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचनमा कार्यकारिणी सदस्य पदमा विजयी भएका संघका अध्यक्ष गिरीलाई बधाई तथा जिल्लामा शान्ति तथा व्यावसायिक सुरक्षा सबल बनाउन भूमिका खेलेका एसपी पुरीलाई बिदाइ गरिएको हो ।
संघका पूर्वअध्यक्ष हरिशरण पाठक, केशवनारायण श्रेष्ठ, नारायणकाजी श्रेष्ठलगायतले गिरीलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । संघका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले नेउवा महासंघमा खेलेको मह¤वपूर्ण भूमिकाका कारण रत्ननगर उद्योग वाणिज्य संघले फेरि केन्द्रीय सदस्य पाउन सफल भएको भन्दै गिरीको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य गिरीले महासंघको सदस्य पदमा रहेर आफूले व्यावसायिक सुरक्षा, उद्यमशीलता विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । एसपी पुरीले चितवनमा रहेर काम गर्ने दौरानमा व्यवसायीहरुबाट आफूले पाएको साथ र सहयोग अविस्मरणीय रहेको बताए ।
चितवन । भरतपुर महानगरपालिका वडा नं–१० कार्यालयले विश्वव्यापीरूपमा देखिएको इन्धन संकटका कारण आफ्ना वडावासीहरुलाई इन्धन खपतमा कटौती गर्न आह्वान गरेको छ । कार्यवाहक वडाध्यक्ष रेशमराज थापाले एक सूचना जारी गर्दै अति आवश्यक र अनिवार्य कामबाहेक पेट्रोल तथा डिजेलबाट सञ्चालित सवारी साधनहरुको प्रयोगलाई कम गर्न आह्वान् गरेका हुन् ।
इन्धन खपत कम गरी आर्थिक व्ययभार घटाउन, वातावरणीय प्रदूषण नियन्त्रण गर्न र सङ्कटको घडीमा जिम्मेवार नागरिकको परिचय दिनका लागि वडा नं १० अन्तर्गत पर्ने सम्पूर्ण सरकारी कार्यालयहरु, गैरसरकारी संस्था, शैक्षिक प्रतिष्ठान, टोल विकास संस्था, व्यवसायी तथा आमवडावासीमा आह्वान् गरिएको कार्यवाहक वडाध्यक्ष थापाले बताए ।
वडाले छोटो दूरीको यात्राका लागि साइकलको प्रयोगलाई प्राथमिकता दिँदै पैदल हिँड्न बानी बसाल्न, सम्भव भएसम्म वातावरणमैत्री विद्युती सवारी साधनहरुको प्रयोगमा जोड दिन, कार्यालय वा संस्थागत काममा जाँदा सवारी साधनको साझेदारी गर्ने अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरेको छ ।
कार्यवाहक वडाध्यक्ष थापाले अहिलेको जटिल अवस्थामा आमनागरिकलाई जिम्मेवार बन्न आह्वान् गर्दै इन्धन खपत घटाउन सकिए नेपालको पैसा पनि बाहिरिनमा रोकिने बताए । यसका लागि सरकारी कार्यालयका कर्मचारीदेखि सबै वडावासी जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
इन्धनको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुहरुको बजार भाउमा प्रत्यक्ष प्रभाव पार्नुको साथै आमनागरिकको जीवनस्तरमा समेत प्रतिकूल असर पु¥याइरहेको विषयलाई वडा कार्यालयले गम्भीररूपमा लिएको कावा वडाध्यक्ष थापाले बताए । सोहीअनुसार सूचना जारी गरिएकोले जिम्मेवार नागरिक बन्न आग्रह गरे ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा रत्ननगर–१६ स्थित मिलिजुली एकता टोलमा समुदायलक्षित मानसिक रोगसम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले हरेक व्यक्ति शारीरिकसँगै मानसिकरूपमा स्वस्थ हुनुपर्ने बताउँदै वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीले निरन्तररुपमा मनोसामाजिक परामर्शका कार्यक्रमहरुमार्फत वडावासीलाई सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।
यस्तै, पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले वडाभित्र रहेका ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिलाको घर–घरमा गई मानसिक स्वास्थ्य परामर्श प्रदान गर्ने क्रममा मिलिजुली एकता टोलमा अन्तर्क्रिया गरिएको बताए ।
मानसिक स्वास्थ्यका बारेमा समयमै सबै जना सचेत हुनुपर्ने बताउँदै रोग लुकाएर होइन, आफ्नो समस्याबारे खुलेर परामर्श लिनुपर्नेमा जोड दिए । उनले रत्ननगर–१६ का ११ वटै टोलसुधार समितिमा समुदायलक्षित मानसिक रोगसम्बन्धी अन्तर्क्रिया आयोजना गरिँदै आएको जानकारी दिए ।
मानसिक स्वास्थ्यको क्षेत्रमा रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । उक्त परामर्शसेवाका लागि वडाका दुई जना मानसिक स्वास्थ्य स्वयम्सेवक मीनाकुमारी सिंखडा र सम्झना ढकाललाई परिचालन गरी हरेक घरमा मानसिक स्वास्थ्यका लागि सचेतना प्रदान गरिएको छ ।
यसअघि विद्यालयस्तरमा पनि विद्यार्थीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ । यस्तै, हरेक महिना विशेषज्ञ डाक्टरद्वारा ओपिडी क्लिनिक सञ्चालन गर्दै आएको इन्चार्ज शर्माले बताए । वडामा स्वास्थ्यसम्बन्धी रेडियो स्रोता कार्यक्रमसमेत सम्पन्न भएको उनको भनाइ छ ।
मिलिजुली एकता टोलका ५० जना महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा भरतपुरस्थित एकीकृत मानसिक स्वास्थ्य सेवाकेन्द्रका मनोसामाजिक परामर्शकर्ता सुनिता जिरेल र सविना भुसालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र रेग्मी पनि सहभागी थिए ।

रत्ननगर । रत्ननगरमा आयोजित प्रथम रत्ननगर कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि एन्फा मकवानपुरले जितेको छ । वडा नं–८ स्थित बाघमारा खेल मैदानमा भएको फाइनल खेलमा कटारी टाइगरलाई पराजित गर्दै मकवानपुरले उपाधि रक्षा गरेको हो । मकवानपुरले कटारीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
उपाधि जितेको मकवानपुरलाई चार लाख रूपैयाँ पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेतालाई दुई लाख पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । समापन कार्यक्रमका प्रमुखअतिथि मेयर प्रलाद सापकोटा, रत्ननगर खेलकुद विकास समितिका संयोजक तथा वडा नं–८ का वडाध्यक्ष कृष्ण चौधरी, युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सरोज महतो, खेल संयोजक सञ्जय लामाले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर प्रलाद सापकोटाले रत्ननगरमा गरिएको राष्ट्रियस्तरको प्रतियोगिताले खेल पर्यटनको विकासमा दीर्घकालीन प्रभाव पर्ने बताए । उनले आगामी वर्ष मेयर कपलाई निरन्तरता दिने र त्यसलाई राष्ट्रियस्तरको बनाउने प्रतिबद्धता जनाए ।
खेलकुद विकास समितिका संयोजक चौधरीले मेयर कप हुन नसकेपछि राष्ट्रियस्तरको प्रतियोगिता गरिएको बताए । खेल संयोजक लामाले रत्ननगर कपलाई निरन्तरता दिने भन्दै त्यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताए ।
उत्कृष्ट गोलरक्षक एन्फा मकवानपुरका गोपी बर्तौला, सार्वाधिक गोलकर्ताको उपाधि कटारी टाइगरका प्रताप राई, एन्फा मकवानपुरका विजय श्रेष्ठ उत्कृष्ट कोच, फाइनल खेलको म्यान अफ द म्याच एन्फा हेटौँडाका जन्मे धामी घोषित भएका थिए । उनीहरुलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिएको आर्थिक समितिका संयोजक एसके चौधरीले जानकारी दिए ।
चितवन । नेपाल स्काउटको अभियानलाई थप प्रभावकारी, अनुशासित र नेतृत्वमुखी बनाउने उद्देश्यसहित चितवनमा ‘स्काउटर्स मिट चितवन–२०८३’ आयोजना हुने भएको छ ।
चितवन स्मार्ट स्काउट क्र्युको आयोजनामा उक्त कार्यक्रम यही जेठ ३ गते आइतबार भरतपुर–७, तेह्रसाल चोकस्थित अङ्कुरम् एकेडेमीमा सञ्चालन हुने भएको हो ।
स्काउट आन्दोलनमार्फत युवाहरूमा नेतृत्व क्षमता, अनुशासन, सामाजिक उत्तरदायित्व तथा सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको सो कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुखअतिथिका रूपमा सहभागी हुनेछन् ।
त्यस्तै, नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवम् चिकित्सक प्रणवमान कर्माचार्य विशेषअतिथिका रूपमा रहने क्र्युका सचिव शिवप्रसाद बरालले बताए ।
कार्यक्रममा जिल्लाभरका स्काउट मास्टर्स, कब मास्टर्स, ब्राउनी आउल्स, रोभर तथा रेंजर लिडर्स, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षकलगायत स्काउट अभियानमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने बरालले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रमले स्काउटहरूबीच अनुभव आदान–प्रदान, आपसी सम्बन्ध विस्तार, नेतृत्व विकास तथा समाजसेवामूलक गतिविधिप्रति साझा प्रतिबद्धता निर्माण गर्ने विश्वास गरिएको छ ।
पछिल्लो समय युवापुस्तामा बढ्दो सामाजिक चुनौती, निराशा तथा अनुशासनहीनताको अवस्थाबीच स्काउट आन्दोलनले सकारात्मक ऊर्जा र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा आयोजकको छ । त्यसैले ‘स्काउटर्स मिट चितवन–२०८३’ लाई केवल औपचारिक भेटघाट नभई स्काउट आन्दोलनलाई थप गतिशील र प्रभावकारी बनाउने अभियानका रूपमा लिइएको छ ।
यसअघि तय गरिएको मितिमा प्रदेशस्तरीय ‘गिलवेल एड्भान्स स्काउट्स रियुनियन’ कार्यक्रमसमेत परेकाले सहभागीहरूको सहजता र व्यापक उपस्थितिलाई ध्यानमा राख्दै कार्यक्रमको मिति परिवर्तन गरिएको कार्यक्रम संयोजक एवम् स्काउटर तथा रोभर लिडर आकाश न्यौपानेले बताए ।
चितवन स्मार्ट स्काउट क्र्युले जिल्लामा कार्यरत सम्पूर्ण स्काउटरहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गर्दै समयमै दर्ता गर्न अनुरोध गरेको छ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ।
चितवनमा आयोजना हुन लागेको ‘स्काउटर्स मिट चितवन–२०८३’ लाई स्काउट अभियानको सुदृढीकरण, युवा नेतृत्व विकास तथा सामाजिक सेवाको संस्कार विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, लायन्सचोकस्थित भित्री बाटोमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक अज्ञात युवकको मृत्यु भएको छ ।
आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा ९२ प ३१३१ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नामथर वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष व्यक्तिको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र मोटरसाइकल चालकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१५, देवीचोकमा दुई स्कुटर एकापसमा ठोक्किँदा दुवै चालक महिला घाइते भएका छन् ।
मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००८ प २८६३ नम्बरको स्कुटर र ना ४४ प ७५५२ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना भएको हो ।
७५५२ नम्बरको स्कुटर चालक महिला भरतपुर–७ बस्ने ३४ वर्षीया इन्दिरा लम्सालको नयाँ मेडिकल कलेज भरतपुरमा र २८६३ नम्बरको स्कुटर चालक भरतपुर–१९ बस्ने ४२ वर्षीया शान्ति गुरूङ पाख्रिनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुवै स्कुटर इलाका प्रहरी कार्यालय, फूलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
कालिका । कालिका नगरपालिका वडा नं–३, पदमपुरमा स्कुटर दुर्घटनामा चालक किशोरको मृत्यु भएको छ ।
बागमती प्रदेश ०६–००१ प ९२७ नम्बरको स्कुटर बिजुलीको तारमा अल्झिन गइ दुर्घटना हुँदा स्कुटर चालक कालिका–५ बस्ने १६ वर्षीय भीमबहादुर राणाको भरतपुर अस्पतालका उपचारका क्रममा शुक्रबार बिहान ११ः१४ बजे मृत्यु भएको हो ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी पोस्ट मार्टमपश्चात् दिउँसो ३ः१० बजे आफन्तले शव बुझिलगेको प्रहरीले जनाएको छ ।
भरतपुर । राप्ती नगरपालिका वडा नं–७, वीरेन्द्रनगरस्थित साङ्ग छेवाङ् टासी बौद्ध गुम्बाको प्रथम ऐतिहासिक भेला गुम्बा परिसरमा सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुखअतिथि भूमि सुधार आयोग चितवनका अध्यक्ष इमानसिंह मोक्तानले गुम्बाको संरक्षण र सम्वद्र्धनमा जोड दिँदै गुम्बालाई विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा गुम्बाका पूर्वअध्यक्ष अक्कलबहादुर थिङ, धर्मगुरु पेमा लामा, स्थानीय बुद्धिजीवी टङ्क पाठक, समाजसेवी निलिमा बोम्जन, राप्ती नगरपालिका वडा नं–७ का वडासदस्य ओमबहादुर पुनलगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा गत आर्थिक २०८२/८३ को आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । आर्थिक प्रतिवेदनका लागि कोषाध्यक्ष धर्मबहादुर बालपालाई डिलबहादुर थिङले सहजीकरण गरेका थिए । गुम्बाका महासचिव देवबहादुर मोक्तानले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन श्रीमान् नेगीले गरेका हुन् ।
कार्यक्रम गुम्बाका अध्यक्ष राजेश रूम्बा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष लामाले गुम्बाको विगतदेखि वर्तमानसम्मका गतिविधि प्रकाश पारेका थिए ।
चितवन । भरतपुर महानगरपालिका–२२, पटिहानीस्थित सहनशिला बुहारी ग्रुपले भरतपुर महानगरपालिका–२९ कमलपुरमा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयका चेपाङ तथा दलित समुदायका बालबालिकालाई विद्यालय पोसाक र स्टेसनरी सामग्री वितरण गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीलाई पोसाक तथा स्टेसनरी सहयोग गरिएको हो । कार्यक्रममा ग्रुपकी अध्यक्ष राधिका भण्डारी, उपाध्यक्ष सृजना घिमिरे, सहसचिव अङ्किता भण्डारी, कोषाध्यक्ष मधुमाया केसी थापा तथा सदस्यहरू शान्ता घिमिरे, मधु अधिकारी, सन्तोषी क्षेत्री, देवी थापा, विनिता थापा, सुजता थापा र सुमि भण्डारीको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद पौडेलले विसं २०२८ सालमा स्थापना भएको विद्यालयमा पहिले टाढा–टाढाबाट विद्यार्थी अध्ययनका लागि आउने गरे पनि हाल बसाइँसराइका कारण चेपाङ र दलित समुदायका १८ जना बालबालिका मात्र अध्ययनरत रहेको जानकारी दिए । उनले कतिपय विद्यार्थी अभिभावकविहीन रहेको उल्लेख गर्दै सहयोग गर्ने बुहारी समूहप्रति आभार व्यक्त गरे ।
सहनशिला बुहारी ग्रुपकी अध्यक्ष राधिका भण्डारीले २०८० सालमा समूह गठन गरिएको बताउँदै फजुल खर्च कटौती गरेर सामाजिक सेवामा लाग्ने उद्देश्यसहित अभियान सुरू गरिएको जानकारी दिइन् । उनका अनुसार समूहका सदस्यहरूले मासिक एक सय रुपैयाँ बचत गर्ने तथा जन्मदिन र वैवाहिक वर्षगाँठमा हुने खर्च कटौती गरेर सहयोग कोष सङ्कलन गर्ने गरेका छन् ।
तीन वर्षको अवधिमा समूहले ३४ औँ सामाजिक सहयोग कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष भण्डारीले बताइन् । गत वर्ष इच्छाकामना गाउँपालिका–१, तिपाङस्थित चेपाङ विद्यालयमा समेत सहयोग गरिएको उनले जानकारी दिइन । महिलाहरूलाई घरभित्र मात्र सीमित गर्ने सोच परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै गाउँ–टोलमा यस्ता परोपकारी अभियान विस्तार गर्नुपर्नेमा भण्डारीले जोड दिइन् ।
चितवन । नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी पनि सरुवाकोे सूचीमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार एसपी पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको हो । उनी काजस्वरूप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ ।
उनको स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखामा कार्यरत एसपी रामेश्वर पौडेल चितवन आउने भएका छन् । यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी रवीन्द्र खनालको पनि सरुवा भएको छ । उनको ठाउँमा डिएसपी चन्द्र भूषण यादव चितवन आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले एकैदिन १४९ जना डिएसपी र ४६ जना एसपीको सरुवा गरेको जनाएको छ । प्रहरी सङ्गठनभित्र नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत सरुवा गरिएको बताइएको छ ।
चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पीड गन’ प्रयोग गर्न थालेको छ ।
जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिकरूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ । अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख डिल्लीनारायण पाण्डेले बताए ।
बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ । पहिलो दिनमै मापदण्डविपरीत तीव्र गतिमा सवारीसाधन चलाउने ६० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको प्रमुख पाण्डेले बताए ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका बढी दुर्घटना हुने सडक खण्डहरूमा पनि क्रमशः नियमितरूपमा यस्तो जाँच गरिने उनले बताए ।
भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना–१ कुलबाङकी छ वर्षकी नमुना चेपाङको च्याउ खाँदा घरमै मृत्यु भएको हो । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन् । उनको शव भरतपुर अस्पताल ल्याइँदै छ । च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङसमेत गम्भीर बिरामी परेका छन् । उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । उनीहरू तिनै जना एकै परिवारका हुन् ।
सजन हात्तीबाङ स्कुलमा कक्षा ३ र मनिता कक्षा ५ मा अध्ययनरत छन् । गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए । आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरू घटनाबारे थाहा पाएका थिए । त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिए ।
‘हात्तीबाङ स्कुलनजिकै स्वास्थ्य संस्थामा बिहान ल्याएको देखेपछि मैले नै गाडी खोजेर सँगै भरतपुर अस्पताल ल्याएको छु, च्याउ खाँदा एक जनाको निधन भइसकेकाले दुई जनालाई बचाउन अस्पताल पु¥याउन सफल भएका छौँ, उनीहरूको उपचार भइरहेको छ’ प्रधानाध्यापक मगरले भने ।
बिरामी परेकामध्ये अहिले १२ वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचारमा उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेसु डा. प्रमोद पौडेलले मनिताको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार गर्न लागिएको जानकारी दिए ।
मङ्गलबार बुबा श्यामबहादुर र आमा पदममाया चेपाङसँगै तीन जना बच्चाले पनि च्याउ खाएका थिए । वडाध्यक्ष सन्तबहादुर मगरले एक जनाको निधन भएपछि अरु दुई जनालाई हतारहतार अस्पताल पठाइएको बताए । अस्पतालले घरमै रहेका बुबाआमालाई पनि अस्पताल ल्याउन भनेको छ । ठूलो मान्छेलाई पछि लक्षण देखापर्ने भएकाले बुबाआमालाई ल्याउन लागिएको हात्तीबाङ स्कुलका प्रधानाध्यापक लोकबहादुर मगरले जानकारी दिए ।
डा. प्रमोद पौडेलका अनुसार जङ्गली च्याउमा ‘एमेनिटा’ भन्ने बिष हुन्छ । यसले कलेजोमा असर गर्छ र केलेजो फेल हुने समस्या हुन्छ । विस्तारै दिमागमा असर गर्ने, बेहोस हुने, मिर्गौलामा पनि असर गर्ने हुँदा बिरामीको मृत्यु हुने गरेको छ ।
चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह परीक्षणका क्रममा प्राविधिक समस्या आएपछि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन । गत असोज २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले निर्माण सम्पन्न गरीे शवगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार परीक्षणका क्रममा सहज रूपमा शव दहन नभएपछि समस्या उत्पन्न भएको हो । ‘कतिपय शव एक घन्टामा दहन भएका थिए भने कतिपय आठ–नौ घन्टामा पनि दहन हुनसकेको थिएन । लामो समयसम्म शवगृहमा राख्दासमेत नपोलिएपछि यहाँ आएका मलामीले आक्रोश व्यक्त गर्दै तोडफोडसमेत गरेका थिए । यससँगै बन्द भएर मर्मतसम्भार थालिएको शवगृह सञ्चालनमा आएको छैन’, उनले भने ।
महानगरपालिकाले १६ जना ‘स्वीपर’लाई शव दहनसम्बन्धी तालिम दिएको थियो । उनीहरूले तालिम लिए पनि प्रभावकारी हुन नसकेको थपलियाले बताए । शव दहन गर्ने उपकरण चलाउन प्राविधिक जनशक्ति आवश्यक पर्ने जनाउँदै उनले त्यस्तो जनशक्ति पाउन कठिन भएपछि नियमित सञ्चालनमा समस्या भएको उल्लेख गरे ।
शवदाह गृह जडान गरेका निर्माण कम्पनीले मर्मत गरिएको पत्र महानगरलाई प्राप्त भएको भन्दै जनाउँदै विपद् शाखा प्रमुख थपलियाले अब कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनका अनुसार जनशक्तिको अभाव हुने, चौबिसै घन्टा जनशक्ति राखेर उपकरण तताउँदा खर्चिलो हुने, धुवाँ स्थानीय बस्तीमा जाँदा गुनासो बढेकोलगायत समस्या देखिएपछि बृहत् छलफल गरेरमात्र निर्णय लिने पक्षमा महानगरपालिका छ ।
महानगरका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले बोलपत्र आहवान गरेर शवदाहको जिम्मेवारी दिन लागिएको बताए । महानगरले जारी गरेको बोलपत्रपछि एउटा निजी फार्मले प्रस्ताव पेस गरेको जनाउँदै उनले कुनै संस्थाले जिम्मेवारी स्वीकारेमा सहज हुने भएकाले सोहीअनुसार त्यस्तो संस्थाको खोजी भइरहेको बताए ।
निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याइएको थियो । विसं २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै निर्माण गरिएको थियो । गृहमा दुईवटा शवदाह गर्ने उपकरण जडान गरिएको छ भने चार वटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।
सहरी विकास कार्यालयले रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरिएको जनाएको छ । देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट यहाँ शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । सहज रूपमा शवदाहस्थल सञ्चालन हुनसकेमा दाउराको समस्या र वर्षात्मा शवदाह गर्दा हुने समस्या समाधान हुनेछ । यसले बेवारिसे शवको अन्त्येष्टिका लागि पनि सहयोग पुग्ने स्थानीय बताउँछन् ।
चितवन । चितवन जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको संख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा. प्रमोद पौडेलले जानकारी दिए ।
सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको संख्या वृद्धि हुने जोखिम बढेको र निर्दाेष व्यक्ति सङ्क्रमित हुने गरेको डा. पौडेलले बताए । जिल्लामा रहेका सङ्क्रमितमध्ये ६१६ जना पुरुष, ५९८ जना महिला, २८ जना बालबालिका र १८ जना तेस्रोलिङ्गी रहेका छन् ।
अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामीमध्ये चितवनका ८६८ जना, नवलपरासीका २६७ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र तराई भेगका ३७ जना रहेको डा. पौडेलले जानकारी दिए ।
चितवन जिल्लाका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका ४७७ जना, रत्ननगरका १०१ जना, खैरहनी नगरपालिकाका ६१ जना, राप्ती नगरपालिकाका ५९ जना, कालिका नगरपालिकाका ५६ जना, इच्छाकामना गाउँपालिकाका १३ जना, माडी नगरपालिकाका १२ जना रहेका छन् । डा. पौडेलले भने, ‘सरकारी स्वास्थ्य संस्थामा ‘कण्डम’ वितरणमा कमी आउँदा समस्या आएको हो, एचआइभी एड्स न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धिसहित एकीकृत कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।’
एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०२६ मा मात्र ७१ जना नयाँ एचआइभी–एड्स सङ्क्रमित औषधि सेवन गर्न आएका छन् ।
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष दीपकराज पौडेलले नेतृत्व सम्हालेसँगै उपभोक्ताहरुलाई राहत दिने निर्णय सार्वजनिक गरेका छन् । संस्थाको सातौँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पहिलो बैठकबाट उपभोक्तालाई राहत दिने निर्णय गरेको हो ।
बैठकले २०८३ जेठ महिनाको खानेपानी महसुलमा न्यूनतम ८० रुपैयाँ छूट दिने निर्णय गरेको छ । यस्तै, जेठ १ गतेदेखि एक महिनासम्म नयाँ धारा जडान गर्दा ५० प्रतिशत छूट सुविधा दिइने भएको छ । संस्थाले नयाँ धारा जडान गर्दा ८ हजार ५०० रुपैयाँ लिँदै आएको थियो ।
बैठकले भूमिहीन उपभोक्ताका लागि विशेष सहुलियत दिने घोषणासमेत गरेको छ । विपन्न वर्गको हकमा ५० प्रतिशत शुल्कमा थप ५० प्रतिशत छूट दिइने छ । अब विपन्न वर्गले नयाँ धारा जडान गरेका २ हजार १२५ रुपैयाँमात्रै तिरे पुग्ने छ ।
नयाँ नेतृत्वले पदभार सम्हालेलगत्तै उपभोक्तालाई राहत हुने निर्णय गरेपछि चुनावअघि बोलेका कुरा अब कामबाट देखिन थालेको भन्दै प्रशंसा हुन थालेको छ ।
रत्ननगर । रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा सुत्केरी आमा तथा नवजात शिशुलाई पौष्टिक आहार वितरण गरिएको छ । सुत्केरी आमालाई वडा कार्यालय साथमै रहेको अनुभूति दिलाउन प्रोत्साहनस्वरुप पौष्टिक आहार वितरण हो ।
पौष्टिक आहार वितरण गर्दै वडाध्यक्ष हेमराज थापाले विगतदेखि नै वडावासीलाई विभिन्न सहयोग गर्दै आइरहेको र अहिले सुत्केरी र नवजात शिशुलाई प्रोत्साहनस्वरुप पोषण आहार वितरण गरिएको बताए ।
पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले सरकारको दिगो विकास लक्ष्य हासिल गर्न पोषण कार्यक्रम प्रभावकारी हुने बताउँदै सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खुवाउन सचेतनाका लागि साङ्केतिकरूपमा पोषण आहार वितरण गरिएको बताए ।
१८ जना सुत्केरी आमालाई जनही एक केजी नौनी घिउ, एक केजी चिउरीको मह, एक क्रेट अण्डा, एक–एक केजी रहर दाल, मसुरो दाल, चना, नुन, नुहाउने साबुन, सर्फ, मन्जन, ब्रस गरी नाङ्लोभरि पौष्टिक आहार वितरण गरिएको वडाका कर्मचारी उज्ज्वल देवकोटाले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्यहरु ज्ञानेन्द्र रेग्मी, चिजकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
रत्ननगर । जनस्वास्थ्य कार्यालय चितवनको आयोजना एवम् रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लगायत स्तनपानसम्बन्धी सरोकारवाला निकायहरुसँग अभिमुखीकरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ र नियमावली २०५१ बने पनि कानुन कार्यान्वयन नहुँदा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको खुलेआम बिक्री वितरण भइरहेको बताए । उनले भने, ‘बजारमा नियमनको अभावका कारण कानुनको पालना भएको छैन । बालबालिकाको स्वास्थ्य र पोषणका सवालमा कसैसँग सम्झौता गर्नुहुन्न ।’
उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वितरण गर्ने औषधि पसल, खाद्यान्न पसल र सपिङ सेन्टरहरुले व्यापारभन्दा माथि उठेर सामाजिक जिम्मेवारी वहन गर्न जोड दिए । उनले ऐनको बर्खिलाप भए कारबाही गर्ने चेतावनी दिए ।
यस्तै, नेपाल औषधि व्यवसायी संघ चितवनका अध्यक्ष इन्द्रराज गैरेले नियमनकारी निकायले सरोकारवाला व्यवसायीहरुलाई अपराध नै गरेजस्तो व्यवहार गर्न नहुने बताए । उनले भने, ‘औषधि पसलहरुले केही प्याकेट बिक्री गर्छन् तर सुपरमार्केटहरुबाट लाखौँ प्याकेट प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण हुने गरेको छ । यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।’
स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले गुणस्तरीय स्वास्थ्य सेवाको लागि निजी स्वास्थ्य संस्थाको ७० प्रतिशत भूमिका रहेको बताउँदै आमाको दूध र स्तनपानसम्बन्धी सचेतनाका लागि सेवा प्रदायक संस्थाहरु अझै बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाबाट भएको अनुगमनबाट १६ वटा स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा ल्याइएको बताउँदै स्तनपानको संरक्षण र सम्वर्द्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणलाई पनि नियमन गरिने बताए ।
आमाको दूधबाट बच्चाको शारीरिक तथा मानसिक विकासमा टेवा पुग्नुका साथै बाल मृत्युदरमा समेत कमी ल्याउने, प्राण घातक रोग लाग्न नदिने भएकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई सबै सरोकारवालाले निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमाल र भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन र स्तनपानबारे सहजीकरण गरेका थिए । कार्यक्रममा रत्ननगरका औषधि पसलका सञ्चालक, प्रतिनिधि एवम् जनस्वास्थ्य कार्यालय चितवनका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो ।
तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस सञ्चालन निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका १४४ वटा बसको यान्त्रिक परीक्षण गरिएको थियो । सो क्रममा नियमिति मर्मत नभएका, चक्काको टायर नियमानुसार परिवर्तन नगरिएकोलगायत समस्या पाइएको उनले बताए ।
निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन तथा अग्नि नियन्त्रण यन्त्र नभएको, प्राथमिक उपचारका लागि सामग्री नभएको पाइएपछि ती बसलाई तत्काल निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताए । उनले भने, “स्कुल बस निर्देशिका, २०७४ ले तोकेबमोजिम मापदण्ड पूरा नगर्ने बसलाई १५ दिनभित्र निर्देशिका कार्यान्वयनका लागि निर्देशन दिइएको हो ।”
कार्यालयले यही वैशाख २३ देखि २५ गतेसम्म विद्यालयका बसको यान्त्रिक परीक्षण तथा सवारी चालकको स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा २५० जना सवारीचालक तथा परिचालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले सोही क्रममा महानगरभित्र रहेका विद्यालयका बसको वायुप्रदूषणको अवस्थासमेत परीक्षण गरेको थियो । विद्यालयले सञ्चालनमा ल्याएका पुराना २५ वटा बसको वायुप्रदूषण मापन गरिएकामा आठ वटाले धुवाँ उत्सर्जन गरेको पाइएको थापाले जानकारी दिए ।
कार्यालयले वैशाख २४ र २५ गते वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागको सहयोगमा वायु प्रदूषण मापन गरेको थियो । सार्वजनिक र विद्यालयका १७३ वटा बसको वायु प्रदूषण मापन गरिएको प्रहरी निरीक्षक थापाले उल्लेख गरे ।
उनका अनुसार ५४ वटा सवारीसाधनले धुवाँ उत्सर्जन गरेको पाइएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ उपदफा (१) को खण्ड (च) अनुसार आवश्यक कारबाही गरिएको छ । साथै सम्भावित दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।
चितवन । भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।
“हालसम्म बिरामी भएका ९३ जनामध्ये ५० जना उपचाररत रहेको छन् । दुई जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएकोमा अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ । बिरामी सबैको अवस्था खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ”, प्रहरी उपरीक्षक पुरीले भने ।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले जानकारी दिए ।
डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएको र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने बताए । बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ ।
चितवन । ‘पानको पात माया तिम्लाई झम्झिन्छु दिनको रात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बमबहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर, गायक बमबहादर कार्की, निर्देशक देवेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिति थियो ।
प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्त्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि एउटा गहन सन्देश प्रवाह गरिएको छ ।
म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी महानायक राजेश हमाल र नायिका करिष्मा मानन्धरको अभिनय छ । केही समयको अन्तरालपछि यो जोडीले एउटै भिडियोमा काम गरेका हुन्, जहाँ हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिष्माले आफ्नो नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छन् । भिडियोमा उनीहरूसँगै सगुन कार्कीको पनि सशक्त अभिनय देख्न सकिन्छ ।
गीतमा बमबहादुर कार्की स्वयम्को शब्द र सङ्गीत छ । स्वरमा कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बि.बि.अनुरागीले गरेको छन् ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईंले छायाङ्कन गरेका हुन् । भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी र प्राकृतिक दृश्यहरूलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विकास दाहालले सम्पादन गरेको यस भिडियोमा पानीका विभिन्न रूपहरू पनि देखाइएको छ । गीतको मूल भाव ‘पानी नै जीवन हो’ भन्ने रहेको छ । गीतले पानीले आफ्नो महत्त्व दर्साउँदै मानिसहरूलाई यसको संरक्षण गर्न र प्रदूषित नबनाउन आग्रह गरेको छ । गोरखा म्युजिकमार्फत गीत सार्वजनिक भएको हो ।
कार्यक्रममा महानायक हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्त्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे । उनले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे उनले चर्चा गरेका थिए ।
कार्यक्रममा हमालले गायक बम बहादुर कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर चर्चा पाएको स्मरण गरे । आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतहरूमा नाच्ने गरेको बताउँदै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
अभिनेत्री करिष्मा मानन्धरले गीत र भिडियो राम्रो बनेको भन्दै प्रशंसा गरिन् ।
गायक बमबहादुर कार्कीले मानव जीवनमा पानीको महत्त्व बुझाउन र संरक्षणसम्बन्धी सन्देश दिन गीत बनाएको बताए ।
चितवन । जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई सात दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ ।
सोअनुसार दर्ता भएका एम्बुलेन्सले १५ दिनभित्र जिपिएस प्रणाली जडान गरी त्यसको जानकारी जनस्वास्थ्य कार्यालयमा बुझाउनुपर्ने निर्णय गरिएको प्रजिअ अर्यालले जानकारी दिए । विवरण दर्ता नगर्ने र जिपिएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ ।
भाडादर र पार्किङ व्यवस्थापनका लागि जनस्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, एम्बुलेन्स चालक सङ्घ र भरतपुर महानगरपालिका सम्मिलित उपसमितिले सिफारिस गरेको भाडादर अनुसार मात्र सेवा सञ्चालन गर्नुपर्ने निर्णय भएको प्रजिअ अर्यालले बताए ।
बिरामीसम्बन्धी स्वास्थ्य संस्था पुर्याइसकेपछि एम्बुलेन्स तत्काल आफ्नो कार्यक्षेत्रमा फर्कनुपर्ने र अस्पताल वा स्वास्थ्य संस्था परिसरमा अनावश्यक पार्किङ गरी अन्य एम्बुलेन्सलाई अवरोध पुर्याएमा कारबाही गर्ने निर्णय भएको उनले उल्लेख गरे । बिरामीलाई समयमै अस्पताल पुर्याउन र एम्बुलेन्सको सही अवस्थिति थाहा पाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।
सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्लाको पूर्वी भाग भण्डारा र मुग्लिङ खण्डमा स्वास्थ्यकर्मीसहित एक/एक वटा ‘डेडिकेटेड एम्बुलेन्स’ २४सै घण्टा परिचालन गरिने भएको छ । ती एम्बुलेन्स चालकको नाममा छुट्टाछुट्टै टोलफ्री नम्बर उपलब्ध गराइनेछ । यस्तै, २४सै घण्टा खटिने चालकको खाजा, खाना र चिया खर्चका लागि चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले बताए ।
चालक र स्वास्थ्य संस्थाबीच हुनसक्ने अनावश्यक मिलेमतो वा गोप्य कारोबार रोक्न एम्बुलेन्स चालक सङ्घ र स्वास्थ्य संस्थाले संस्थागत पहल गर्ने निर्णय भएको छ । जिल्लाभरका एम्बुलेन्सले निर्देशिका बमोजिम अनिवार्य रूपमा यान्त्रिक जाँच गराउनुपर्ने र चालकले अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी अर्यालले निर्णय कार्यान्वयनमा जोड दिँदै भने, “यी निर्णयहरू कार्यान्वयन भएपछि हामीले अपेक्षा गरेभन्दा सकारात्मक परिवर्तन हुन्छन् । नागरिक तथा बिरामीले सहज रूपले सेवा पाउनेछन् ।” उनले चितवनको एम्बुलेन्स सेवालाई गुणस्तरी र प्रभावकारी बनाउने उद्देश्यले गरिएका यी निर्णयले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी सुवेदी, जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कायममुकायम कार्यकारी निर्देशक डा उमेश नेपाल, बकुलहर रत्ननगर अस्पतालका डा रमेश पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष बिक्रम अधिकारी, संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।
रत्ननगर । रत्ननगर–१३, अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा अटिजम भएका बालबालिकाको व्यवस्थापनसम्बन्धी दुईदिने शिक्षक तथा अभिभावक तालिम सुरू भएको छ।
रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित तालिमको औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । घर तथा विद्यालयमा अटिजम भएका बालबालिकालाई कसरी स्याहार र व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले वैशाख २६ र २७ गतेका लागि यो तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन सत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाको नगरस्तरीय सामाजिक विकास समिति संयोजक तथा रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल प्रमुखअतिथि रहेका थिए । यस्तै, विशिष्टअतिथि रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको उपस्थिति रहेको थियो ।
शिक्षिका सरु पौडेलले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्यहरू यशोदा अधिकारी, बबिताकुमारी चौधरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरे, शिक्षा शाखा अधिकृत निता कट्टेललगायतको सहभागिता रहेको थियो । यस्तै, अटिजम केयर सोसाइटी चितवनका अध्यक्ष सुनिल गैरे, आधारभूत स्वास्थ्य सेवाकेन्द्र रत्ननगर–१५ की इन्चार्ज रोजिना गिरी, विद्यालय व्यवस्थापन समितिका सदस्य ज्योति भट्ट र शिक्षक अभिभावक संघका अध्यक्ष युवराज खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा चितवनसहित वीरगञ्ज (पर्सा), मकवानपुर, र नवलपरासीलगायतका क्षेत्रबाट ८० जनाको सहभागिता रहेको छ । जसमा अटिजम भएका बालबालिकाका अभिभावक र शिक्षकहरू सहभागी छन् । सहभागीहरूलाई विषय विशेषज्ञहरूले प्रशिक्षण दिने व्यवस्था मिलाइएको छ। समावेशी शिक्षा तथा पेडियाट्रिक फिजियोथेरापिस्ट समितकुमार कतिला, बाल मनोविज्ञ (चाइल्ड साइकोलोजिस्ट) सिम्रन बस्न्यात र स्पीच थेरापिस्ट सुष्मा लामिछानेले यस तालिममा सहजीकरण गरेका छन् ।
कार्यक्रममा विद्यालयमा सञ्चालित अटिजम केयरको वर्तमान अवस्था र चुनौतीहरूको बारेमा पनि जानकारी गराइएको थियो । हाल यस विद्यालयको अटिजम कक्षामा दुई जना स्वयम्सेवी शिक्षक र एकजना सहयोगी शिक्षकले मात्र सेवा दिइरहेका छन् । पहिलेदेखि नै २६ जना विद्यार्थी अध्ययनरत रहेको यस केन्द्रमा हाल जारी नयाँ भर्ना अभियानमार्फत थप ७ जना नयाँ बालबालिका जोडिएका छन् भने भर्ना अभियान अझै जारी छ।
विद्यार्थीहरूको सङ्ख्या बढ्दै गए पनि विद्यालयमा यसको व्यवस्थापनका लागि दक्ष जनशक्ति, आवश्यक भौतिक पूर्वाधार र बालबालिकाको लागि खेल्ने बाल उद्यान (पार्क) को भने निकै अभाव रहेको विद्यालयले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा रत्ननगर–१६ स्थित भद्रकाली टोलमा समुदायलक्षित मानसिक रोगसम्बन्धी अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले हरेक व्यक्ति शारीरिकसँगै मानसिकरूपमा स्वस्थ हुनुपर्ने बताउँदै वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीले विगतदेखि नै मनोसामाजिक परामर्शका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको जानकारी दिए ।
यस्तै, पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले वडाभित्र रहेका ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिलाको घर–घरमा गई मानसिक स्वास्थ्य परामर्श प्रदान गर्दै आइरहेको बताए ।
मानसिक स्वास्थ्यका बारेमा समयमै सबै जना सचेत हुनुपर्ने बताउँदै रोग लुकाएर होइन, आफ्नो समस्याबारे खुलेर परामर्श लिनुपर्नेमा जोड दिए । उनले रत्ननगर–१६ का ११ वटै टोलसुधार समितिमा समुदायलक्षित मानसिक रोगसम्बन्धी अन्तर्क्रिया आयोजना गरिँदै आएको जानकारी दिए ।
मानसिक स्वास्थ्यको क्षेत्रमा रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । उक्त परामर्शसेवाका लागि वडाका दुई जना मानसिक स्वास्थ्य स्वयम्सेवक मीनाकुमारी सिंखडा र सम्झना ढकाललाई परिचालन गरी हरेक घरमा मानसिक स्वास्थ्यका लागि सचेतना प्रदान गरिएको छ ।
यसअघि विद्यालयस्तरमा पनि विद्यार्थीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ । यस्तै, हरेक महिना विशेषज्ञ डाक्टरद्वारा ओपिडी क्लिनिक सञ्चालन गर्दै आएको इन्चार्ज शर्माले बताए । वडामा स्वास्थ्यसम्बन्धी रेडियो स्रोता कार्यक्रमसमेत सम्पन्न भएको उनको भनाइ छ ।
भद्रकाली टोलका ५० जना महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मा र भरतपुरस्थित एकीकृत मानसिक स्वास्थ्य सेवाकेन्द्रका मनोसामाजिक परामर्शकर्ता सुनिता जिरेल र सविना भुसालले प्रशिक्षण दिएका थिए ।
भरतपुर । चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले ‘बिएचएम’ तथा ‘बिआइटिएम’ चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।
बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले ३.८३ जिपिए ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ वम्जम तामाङले ३.८० जिपिएसहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै, बिआइटिएम चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ जिपिएसहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गिता अधिकारीले ३.८१ जिपिएसहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ जिपिएसहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।
कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले जानकारी दिए ।
भरतपुरस्थित कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको उनले बताए ।
रत्ननगर । नेपाली कांग्रेस रत्ननगर नगरकार्यसमितिको आयोजनामा बिहीबार ‘जरा अभियान–२०८३’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी सङ्गठनलाई तल्लो तहदेखि नै सुदृढ र प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा सदस्यता अद्यावधिकको मह¤व र साङ्गठनिक अवस्थाबारे छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी प्रशिक्षण दिइएको थियो । सो अवसरमा वडा सभापतिहरूले आआफ्नो वडाको साङ्गठनिक अवस्थाबारे जानकारी गराएका थिए । छलफलका क्रममा सहभागीहरूले पार्टीको डिजिटल अभिलेखीकरण अभियानले जरा तहका सदस्यलाई केन्द्रको सूचना र पहुँचसँग जोड्ने बलियो सेतुको काम गर्ने विश्वास व्यक्त गरे । यसले हरेक सदस्यको योगदानको अभिलेख राखी सङ्गठनलाई थप सबल बनाउने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा बोल्दै अधिकांश वडा सभापति र सहभागीहरूले पार्टी नेतृत्वलाई मह¤वपूर्ण सुझाव दिएका छन ्। कांग्रेसको एकता तल्लो तहमा मात्र नभई माथिल्लो तहबाटै झल्किनुपर्ने उनीहरूको माग थियो ।
विवाद, मनमुटाव र नेतामुखी गुटबन्दीलाई पन्छाएर सामाजिक कार्य र जनसहभागितासहितको सङ्गठन निर्माणमा जोड दिनुपर्ने आवाज उठेको छ । विशेषगरी नयाँ पुस्ता, युवा र जेनजी उमेर समूहलाई पार्टीमा आकर्षण गर्न सोहीअनुसारका आधुनिक र सिर्जनात्मक गतिविधि सञ्चालन गरिनुपर्नेमा सहभागी वक्ताहरूले जोड दिए ।
सोही अवसरमा हालै सम्पन्न विभिन्न सामाजिक संघसंस्थाको निर्वाचनमा विजयी भएका कांग्रेसनिकट नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोविन्द सिङ्तान, रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपकराज पौडेल र मृगकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष गणेश खतिवडालाई पार्टीको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । उनीहरूलाई आफ्नो
कार्यसम्पादनमा कुशल, दक्ष र निष्पक्ष रहेर संस्थाको उद्देश्य र जनहित अनुकूल काम गर्दै अनुकरणीय बन्न शुभेच्छा प्रकट गर्दै केन्द्रीय सदस्य विष्णुदेवी पाण्डे, जिल्ला सभापति राजेश्वर खनाललगायतले सम्मान प्रकट गरे ।
कार्यवाहक नगरसभापति कमलनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘जरा अभियान’का लागि केन्द्रबाट खटिएर आएकी केन्द्रीय सदस्य विष्णुदेवी पाण्डे प्रमुखअतिथि रहेकी थिइन् । यस्तै, विशिष्टअतिथिका रूपमा नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल र संविधानसभा सदस्य शेषनाथ अधिकारीलगायतले मन्तव्य राखेका थिए । नगरसभापति प्रलाद सापकोटाले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगरसचिव अनिता अर्यालले गरेकी थिइन् ।
चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा गठबन्धनका उमेदवार दीपकराज पौडेल निर्वाचित भएका छन् । संस्थाको १५औँ साधारण सभा तथा सातौँ अधिवेशनमा पुराना दलको गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा भएको थियो ।
कांग्रेसका क्षेत्रीय सचिवसमेत रहेका पौडेलले रास्वपाका नन्दुकेशरी खनाललाई ३१४ मतान्तरले पराजित गरेका भएका हुन् । पौडेलले २५४४ र खनालले २२३० मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का उमेदवार राष्ट्रिय जनमोर्चाका देवीराम शर्माले १६३ मत ल्याए ।
उपाध्यक्षमा नेपाली कम्युनिष्ट पार्टीका रामहरि अधिकारी २४८८ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उमेदवारले १७९९ मत प्राप्त गरे । सचिवमा एमालेका प्रताप डल्लाकोटी विजयी भए । डल्लाकोटीले २१९९ मत प्राप्त गर्दा उपविजेता बनेका रास्वपाका टेकनाथ प्रसाईंले १८६३ मत र जनमोर्चाका डिल्लीप्रसाद पाध्यले ३०४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा एमालेकी विरन्जना सापकोटा घिमिरे विजयी भइन् । उनले २४१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जयन्तीदेवी रानाभाटले १७९० मत पाइन् । लेखा समितिको संयोजक र दुई सदस्य रास्वपाले जितेको छ । लेखा समितिको संयोजकमा १५७३ मतसहित पुण्यप्रसाद देवकोटा विजयी भए । उनले नेपाली कम्युनिष्ट पार्टीका उमेदवार जीवनलाल नगरकोटीलाई पराजित गर । नगरकोटीले १५३२ मत प्राप्त गरे ।
लेखा समिति सदस्यहरुमा कल्पना शर्मा (१५११) र तिलक पौडेल (१७६३) विजयी भए । मूल समिति सदस्यमा बद्रिप्रसाद सुवेदी (१२३८), ईश्वरबहादुर घिमिरे (१२२३), आनन्दप्रसाद सुवेदी (११४१), रेनुका खनाल (११३३) र संगीता बस्ताकोटी (१०९९) विजयी भए ।
यस्तै, वडा नं १ को संयोजकमा भोजराज पौडेल, २ मा भरतमणि आचार्य, ३ मा गोपालप्रसाद पौडेल, ४ मा डम्बर गिरी, ५ मा इन्द्रप्रसाद रिमाल, ९ मा लेखनाथ आचार्य, १० मा खगनाथ पराजुली, ११ मा बमबहादुर गुरूङ, १२ मा रामप्रसाद भट्ट र १३ मा सन्तोषचन्द्र घिमिरे निर्वाचित भए । यस्तै, वडा नं ६ मा पुरुषोत्तम लामिछाने, ७ मा मथुरा चौधरी, ८ मा सन्तोषचन्द्र घिमिरे निर्विरोध निर्वाचन भए ।
निर्वाचित मुल समिति, लेखा समिति, वडा समितिलाई पद तथा गोपनीयताको शपथग्रहण तथा प्रमाणपत्र रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका प्रमुख निर्वाचित अधिकृत प्रकाश खनालले वितरण गरे ।
नवनिर्वाचित अध्यक्ष दीपकराज पौडेलले रत्ननगरमा भविष्यमा खानेपानीको अभाव झेल्न नपर्ने गरी योजना बनाएर काम गर्ने बताए । उनले गरिब तथा सीमान्तकृत समुदाय पैसा नभएर स्वच्छ खानेपानीबाट वन्चित हुनु नपर्ने बताए ।
चितवन । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीको भनाइ छ ।
क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाले शुक्रबार, शनिबार र आइतबार स्वदेशी पर्यटकको आगमन बढेकाले सौराहा चलायमान भएको छ । उनले भने, ‘बिदाको दिनमा विदेशी पर्यटक मात्रै पनि ४० प्रतिशतभन्दा बढी छन् ।’ भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटक सौराहा आएका छन् । बिदाको दिनमा पर्यटकको संख्या नेपाली बढी हुने भए पनि अन्य दिनहरुमा विदेशी ७० प्रतिशत हाराहारी छन् । सरदर यो वर्ष ५० प्रतिशत कोठाहरु भरिएका छन् । उनका अनुसार गत वर्ष यो प्रतिशत ४० हाराहारी थियो ।
चितवन आउने बाटो राम्रो भएमा पर्यटक संख्या अरू थपिने व्यवसायीको भनाइ छ । पोखराबाट चितवन आउने बाटो राम्रो भए पनि काठमाडौँ र भैरहवाबाट यहाँ आउने बाटो विस्तारका क्रममा रहेकाले सोचेजस्तो पर्यटक आगमन छैन ।
होटल भिस्टा सौराहाका सञ्चालक रमेश सिलवाल बिदा हुँदा स्वाभाविकरूपमा पर्यटक बढ्ने बताउँछन् । उनले बिदा हुँदा देशका विभिन्न ठाउँबाट पनि पर्यटक आउन सहज भएको बताए । यसवर्ष आफूले स्वीमिङ पुल पनि थप गरेकाले आफ्नो होटलमा पर्यटक बढेको उनको भनाइ छ ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा बिदाको समयमा हात्ती चढ्न पालो कुर्नुपर्ने बताउँछन् । बिदामा पर्यटकको आगमन बढेसँगै पर्यटकीय गतिविधिमा रमाउनेहरुको संख्या पनि बढेको हो । सहकारीअन्तर्गत २५ वटा हात्ती रहेका छन् । ती हात्तीले बिहान र बेलुका पर्यटक घुमाउने गर्दछन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)का पूर्वअध्यक्षसमेत रहेका खतिवडा रेस्टुरेन्टहरु पनि बिदाको समयमा भरिभराउ हुने गरेका छन् । अघिल्लो वर्षका तुलनामा अन्य समयमा पनि पर्यटक बढेको उनले बताए ।
सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । ती होटलमा चार खर्बभन्दा बढी लगानी रहेको अनुमान व्यवसायीको छ । प्रत्यक्षरूपमा ६ हजार ४०० जनाले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको संख्या १२ हजारभन्दा बढी छ । बर्सात लागेसँगै यहाँ आउने पर्यटकको संख्या घट्ने गर्दछ ।
देवघाटधाम । भरतपुर–१ स्थित कौडिन्य ऋषि आश्रममा न्यौपाने कल्याण समाज, देवघाटधाम नेपालको वार्षिक कुलायन पूजा, कृति लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यमुनाप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवम् तनहुँ क्षेत्र नं–२ का प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपाने विशिष्टअतिथि रहेका थिए । साथै, ज्येष्ठ सदस्यहरू मुक्तिनाथ न्यौपाने, हेमबहादुर न्यौपाने, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद न्यौपानेलगायत न्यौपाने बन्धुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्यकार होमनाथ घिमिरेद्वारा लिखित ‘मुक्तिनाथ न्यौपानेको जीवनयात्रा (सङ्घर्ष र प्रेरणा)’ नामक पुस्तकको लोकार्पण गरिएको थियो । सो अवसरमा लेखकले आफ्नो लेखन अनुभवबारे काव्यात्मक शैलीमा प्रस्तुति दिएका थिए । कार्यक्रममा आमा गोमा न्यौपाने, छोरीहरू पार्वती घिमिरे र गङ्गा काफ्ले, नाति ई. रवि घिमिरे, नातिनी रक्षा घिमिरे, सरु बास्तोला तथा छोराहरू विश्वनाथ न्यौपाने, लक्ष्मण न्यौपाने र नवराज न्यौपानेलगायत परिवारजनहरूको उपस्थिति रहेको थियो ।
९० वर्षीय मुक्तिनाथ न्यौपानेको जीवनमा आधारित उक्त कृतिका नायकलाई न्यौपाने बन्धुहरूद्वारा विशेष सम्मान गरिएको थियो । साथै, उनले न्यौपाने कल्याण आश्रममा पुर्याएको योगदानबारे संस्थाका अध्यक्ष रामहरि न्यौपानेले विशेषरूपमा चर्चा गरेका थिए ।
सोही अवसरमा प्रतिनिधिसभा सदस्य ई. श्रीराम न्यौपानेलाई न्यौपाने कल्याण समाज, देवघाटधाम चितवनको तर्फबाट सम्मान प्रदान गरिएको थियो । वार्षिक कुलपूजामा देशका विभिन्न स्थानबाट करिब ३०० जना न्यौपाने बन्धुहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष ई. सूर्यकान्त न्यौपानेले गरेका थिए ।
चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बसोबास खाली गराइएका तर सट्टाभर्ना जग्गा नपाएका घरधुरीहरूको विवरण १५ दिनभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मुख्य सचिवलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट निर्देशन आएपछि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ताकेता गरिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वैशाख ८ गते चलानी नम्बर ७१२/४००३ मार्फत उक्त पत्र अर्याललाई पठाइएको थियो ।
चितवनको पदमपुर क्षेत्रका बासिन्दालाई जग्गा सट्टाभर्नामार्फत स्थानान्तरण गर्ने विषयमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरी त्यसको जानकारी पठाउन निर्देशनालयले वैशाख ४ गते नै परिपत्र जारी गरेको थियो । सोहीअनुरूप प्रधानमन्त्री कार्यालयले ताकेता गरेपछि अबको ७ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने भएको छ ।
साबिक पदमपुर गाविस वडा नम्बर ८ (क) अन्तर्गत रहेका विभिन्न कित्ताका जग्गाबाट प्रभावित घरधुरीलाई प्रतिघरधुरी ३ कठ्ठाका दरले सट्टाभर्ना जग्गा उपलब्ध गराउन सर्वोच्च अदालतले अन्तिम फैसलामा आदेश दिएको छ । साथै, अदालतले पहिले भोगचलन गर्दै आएको जग्गाको अनुपातमा उचित मुआब्जा वा वैकल्पिकरूपमा उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउने विकल्पसमेत खुला राखेको छ ।
चितवन । चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् ।
भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको थियो । राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालिएको हो ।
आयोगका अध्यक्ष इमानसिंह मुक्तानका अनुसार यही आर्थिक वर्षमा २५० हाराहारी पुर्जा निर्माण गरी वितरण गर्ने तयारी गरिएको छ । यस वर्ष जग्गाधनी प्रमाण पुर्जा वितरणबाट रु १४ करोड ७२ लाख ७५ हजर ३५० राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए ।
पुराना अयोगहरूबाट नापी नक्सा भई अधुरो रहेका कामबाट सो राजस्व सङ्कलन भएको हो । नापी नक्सा, फिल्डबुकमा नाम भएका व्यक्तिलाई आवासीय हकमा एक हजार वर्गमिटरसम्म मालपोतको मूल्याङ्कनको १० प्रतिशत राजस्व बुझाउनुपर्ने हुन्छ । यस्तै कृषि क्षेत्रका लागि एक हजार ७०० वर्गमिटरसम्म पाँच प्रतिशत र त्यसभन्दा बढीमा १० प्रतिशत राजस्व बुझाउनुपर्ने हुन्छ ।
उनले भने, ‘अहिले पुर्जा वितरणको कामसहित अन्य कानुनी बाधा हटाउन अन्तर्क्रिया र बैठकहरू भइरहेका छन् ।’ पुर्जा वितरणसँगै नापजाँच र राजस्व सङ्कलन पनि तीव्र बनाइएको उनले बताए । उनले थपे, ‘अन्य जिल्लाको तुलनामा यस जिल्लामा काम तीव्र पारिएको छ ।’
आयोगले गत आर्थिक वर्षको वैशाखमा ३०५ जना भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थितलाई पुर्जा वितरण गरेको थियो । जिल्लामा विभिन्न समयमा बनेका आयोगमा जग्गाधनी पुर्जाका लागि ४० हजार हाराहारीले निवेदन दिएको उनको भनाइ छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीको आयोजनामा रत्ननगर–१६ स्थित हात्तीगाडे टोलमा समुदायलक्षित मानसिक रोगसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्ष रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले हरेक व्यक्ति शारीरिकसँगै मानसिकरूपमा स्वस्थ हुनुपर्ने बताउँदै वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीले विगतदेखि नै मनोसामाजिक परामर्शका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको जानकारी दिए ।
यस्तै, पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले वडाभित्र रहेका ६० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिलाको घर–घरमा गई मानसिक स्वास्थ्य परामर्श प्रदान गर्दै आइरहेको बताए ।
मानसिक स्वास्थ्यका बारेमा समयमै सबै जना सचेत हुनुपर्ने बताउँदै रोग लुकाएर होइन, आफ्नो समस्याबारे खुलेर परामर्श लिनुपर्नेमा जोड दिए । उनले रत्ननगर–१६ का ११ वटै टोलसुधार समितिमा समुदायलक्षित मानसिक रोगसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
मानसिक स्वास्थ्यको क्षेत्रमा रत्ननगर–१६ वडा कार्यालय र पिठुवा स्वास्थ्यचौकीले विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । उक्त परामर्शसेवाका लागि वडाका दुई जना मानसिक स्वास्थ्य स्वयम्सेवक मीनाकुमारी सिंखडा र सम्झना ढकाललाई परिचालन गरी हरेक घरमा मानसिक स्वास्थ्यका लागि सचेतना प्रदान गरिएको छ ।
यसअघि विद्यालयस्तरमा पनि विद्यार्थीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेको छ । यस्तै, हरेक महिना विशेषज्ञ डाक्टरद्वारा ओपिडी क्लिनिक सञ्चालन गर्दै आएको इन्चार्ज शर्माले बताए । वडामा स्वास्थ्यसम्बन्धी रेडियो स्रोता कार्यक्रमसमेत सम्पन्न भएको उनको भनाइ छ ।
हात्तीगाडे टोलका ५० जना महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्मा र भरतपुरस्थित एकीकृत मानसिक स्वास्थ्य सेवाकेन्द्रका मनोसामाजिक परामर्शकर्ता सुनिता जिरेल र सविना भुसालले प्रशिक्षण दिएका थिए ।,
चितवन । चितवनका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवम् सञ्चालकसंगको बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुधार गर्न निर्देशन दिएका छन् । स्वास्थ्य संस्थामा आएका बिरामीहरुलाई चिकित्सकहरुले संवेदनशील व्यवहार र अस्पतालको विधिभित्र रहेर काम गर्न पनि उनले निर्देशन दिएका हुन् ।
चिकित्सकहरुको व्यवहार राम्रो नभएको, डायलासिसलगायतका सेवा दर्ता नगरी दिएको, एम्बुलेन्सहरुले बिरामी ल्याएबापत कमिसन दिने गरेको, अस्पतालजन्य फोहोर व्यवस्थित नगरिएको उनको भनाइ थियो ।
उनले भने, ‘बिरामीको मृत्यु हुँदा आँसु झार्नु भनेको होइन, तर चिकित्सक संवेदनशील हुनैपर्छ ।’ अस्पतालहरुले बिमा र नगदका बिरामीलाई फरक व्यवहार गरेको, अनावश्यक परीक्षणहरु गर्ने गरेको, विपन्नको उपचार प्रबन्ध राम्रो नभएको, ज्येष्ठ नागरिकले छूट नपाएको उनले बताए । कर्मचारीले तोकेअनुसारको सुविधा नपाएको, सरकारी अस्पतालको टोकन प्रणाली राम्रो नभएको, बहिरङ्ग सेवामा जनशक्तिको व्यवस्थापन राम्रो नभएको, आन्तरिक र बाह्य ‘रिफरल’को राम्रो व्यवस्थापन भएको उनले बताए ।
अस्पतालहरुको सेवाको गुणस्तर राम्रो नभएको भन्दै उनले भने, ‘गुणस्तरका व्यवहार र शैली परिवर्तन गर्नुपर्छ ।’ जिल्ला प्रशासन कार्यालय चितवन र जनस्वास्थ्य कार्यालयले यहाँ आयोजना गरेको ‘जिल्लामा नागरिक स्वास्थ्यसेवा विषयक परामर्श’ कार्यक्रममा उनले अस्पतालका व्यवस्थापक र सञ्चालकहरुको कुरा सुनेपछि निर्देशन दिएका हुन् ।
कार्यक्रममा भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालका समस्याहरु, कमजोरीहरु र अब सुधार्नुपर्ने विषयमा प्रस्तुति दिएका थिए । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवामा व्यापक सुधार गरिएको भन्दै उनले विगतमा बिरामीले चिकित्सक खोज्नुपर्ने अवस्था रहेकामा अहिले चिकित्सकले अस्पतालमा बिरामी खोज्ने गरेको बताए ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा धेरै सुधार भएको भन्दै तथ्याङ्कले त्यो कुरा पुष्टि गर्ने बताए । उनले अझै धेरै सुधार गर्नुपर्ने भन्दै सरकारले दिनुपर्ने विपन्न र बिमाको भुक्तानी समयमा दिएमा अस्पताल सुधार गर्न सहज हुने बताए ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले ऐनका बारेमा जानकारी गराउँदै तत्अनुसार काम हुन नसकेको बतए ।
निजी अस्पताल समन्वय समितिका अध्यक्ष विक्रम अधिकारीले निजी क्षेत्रले स्वास्थ्य ठूलो लगानी गरेको भए पनि राज्यका तर्फबाट सम्बोधन गर्नुपर्नेमा ध्यान नदिइएको बताए ।
कार्यक्रममा निजी अस्पताल र क्लिनिकहरुका सञ्चालकहरुले आफ्ना गुनासाहरु राखेका थिए । यस्तै यातायात व्यवसायीहरुले स्वास्थ्य क्षेत्र सुधारका लागि गर्नुपर्ने सुझाव दिएका थिए ।
चितवन । चितवनका ३० हजार पशुचौपायालाई लम्पीस्किनविरुद्धको खोप लगाइने भएको छ । यहाँका पशुमा लम्पीस्किनको समस्या आउन सक्ने भएकाले खोप लगाउन लागिएको हो ।
पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार खोप कार्यालयमा ल्याएर पालिकालाई वितरणको काम सुरू गरिएको छ । जिल्लाका सातै पालिकालाई खोप वितरण गरी लगाइने बताउँदै गर्मीयाममा लामखुट्टे, झिँगालगायतको टोकाइबाट हुनसक्ने सङ्क्रमणका कारण पनि यो रोगको जोखिम देखिने गरेकाले रोकथानका खोप लगाउन लागिएको न्यौपानेले जानकारी दिए ।
उनका अनुसार गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।
रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकताअनुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने उनले बताए ।
भरतपुर । आरम्भ कलेजद्वारा आयोजित तीनदिने अनुसन्धान विधि (रिसर्च मेथोडोलोजी) तालिम कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चारवर्षे सेमेस्टर प्रणालीअन्तर्गतको बिएचएम एवम् बिआइटिएम कार्यक्रम सञ्चालन गर्दै आएको भरतपुरको अग्रणी संस्था आरम्भ कलेजले उच्च शिक्षा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले युनिभर्सिटी ग्रान्ड कमिसनको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको थियो ।
तालिममा विभिन्न प्राइभेट एवम् सामुदायिक गरी १५ बढी संस्थाका विभिन्न विषयका प्राध्यापक तथा अनुसन्धानमा रुचि राख्ने ३५ भन्दा बढी अनुसन्धानकर्ता एवम् विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा अनुसन्धानको परिचय, समस्या पहिचान, अनुसन्धान प्रस्ताव लेखन, तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्क विश्लेषण, प्रतिवेदन लेखन तथा अनुसन्धान नैतिकताका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमका रिसोर्स पर्सनको रुपमा एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. गोविन्द ढुङ्गाना एवम् डा. गुणराज क्षेत्री रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य सुरज शिवाकोटीले अनुसन्धानकर्ताहरूको अनुसन्धान क्षमतालाई सहयोग प्रदान गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्दै जाने जानकारी गराए । साथै, कार्यक्रमको सुरूवाती सत्रमा विभिन्न कलेजका प्राचार्यहरुले धेरैभन्दा धेरै शैक्षिक संस्थाहरूलाई निमन्त्रणा गरी कार्यक्रम आयोजना गरेकामा खुसी व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रमका प्रमुखअतिथि एसोसिएट प्रोफेसर डा. हरिप्रसाद अधिकारीले अनुसन्धान ज्ञान, नवप्रवर्तन र सामाजिक विकासको आधार भएकाले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । उनले सहभागीहरूलाई तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै गुणस्तरीय अनुसन्धानमा लाग्न आग्रह गरे ।
कलेजका प्रतिनिधिले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अनुसन्धानमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिए । प्रशिक्षकहरूलाई सम्मानपत्र तथा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले तालिम उपयोगी, ज्ञानवर्धक तथा व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन् । आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–३, शान्तिचोकस्थित पूर्व–पश्चिम सडकखण्डमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ ।
झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश.१–१०–००१ ख ३९०१ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको तरकारी बोक्ने रिक्सालाई ठक्कर दिँदा चालक पर्साको जिराभवानी गाउँपालिका वडा नं–२ घर भई हाल खैरहनी–१ डेरा गरी बस्ने ४३ वर्षीय किसुन महतो थारूको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारको लागि भरतपुर अस्पतालमा पठाइएकोमा चेकजाँजपश्चात् डाक्टरले मृत घोषणा गरेका हुन् । मृतकको शव दिदी नाता पर्ने लक्ष्मी दराईले सनाखत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस र बस चालक सिराहाको लहान नगरपालिका वडा नं–१ बस्ने २६ वर्षीय श्यामकुमार राम जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
भरतपुर । लेखक तथा पत्रकार वसन्त पराजुलीको ’बखान’ उपन्यासमाथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाले आइतबार नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो ।
उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरूङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्तरूपमा चित्रण गरिएको छ ।
पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक मिलन समीरले बखान उपन्यास बखानसिंह गुरूङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताए । ‘बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्बिर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ’, समीरले भने, ‘चितवनको बस्ती विकासको इतिहास, नेपाली कांग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।’
कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताए । चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरूङले पुर्याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताए ।
कार्यक्रममा नेपाल शिक्षक सङ्गठनका पूर्वकेन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरूङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई धन्यवाद दिए ।
कार्यक्रमलाई कवि एवम् निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि ‘कुमाता’, ’मोम्चो’ र ‘ड्रिमी आइज’ कथासङ्ग्रह प्रकाशित छन् ।
चितवन । नेपाल पर्यटन बोर्डले पहिलोपटक चितवनको मेघौलीमा ‘सफारी मार्ट’को औपचारिक सुरूवात गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको पहिलो ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यस कार्यक्रमलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पु¥याउने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । उनले भने, ‘नेपाल केवल हिमालका लागि मात्र होइन, यसको समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि चिनिन्छ ।” उनले यस मार्टमा हुने छलफलहरूले लगानी, सहकार्य र नेपालको विशिष्ट वन्यजन्तु पर्यटन उत्पादन प्रवद्र्धनका नयाँ अवसरहरू खोल्ने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न तयार रहेको बताए । उनले स्थानीय सरकारको भूमिका दिगो पर्यटन पूर्वाधार र समुदाय सहभागितामा महत्वपूर्ण रहेको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले यस कार्यक्रमलाई नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुङ्गाका रूपमा रहेको उल्लेख गर्दै यो विशिष्ट र जिम्मेवार पर्यटन अवधारणा भएको बताए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले मार्टलाई केवल व्यावसायिक कार्यक्रम नभई एक साझा ‘प्लेटफर्म’का रूपमा चित्रण गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थापलियाले यो मार्ट रणनीतिक प्लेटफर्मका रूपमा भएको बताए ।
अन्तर्राष्ट्रिय संरक्षणविद् तथा प्रमुख वक्ता मोहित अग्रवालले जिम्मेवार पर्यटन यात्राको विश्वव्यापी माग तीव्र रूपमा बढिरहेको बताए । उनले भने, ‘विश्व अब त्यस्ता गन्तव्य खोजिरहेको छ, जहाँ पर्यटन र संरक्षणबीच सन्तुलन कायम हुन्छ र मानव तथा प्रकृतिबीच गहिरो सम्बन्ध स्थापित हुन्छ ।’
कार्यक्रममा चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे डा विश्वराज सुवेदीले प्रस्तुति दिएका थिए भने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षण उपलब्धि र भविष्यका प्राथमिकताबारे जानकारी गराएका थिए ।
चितवन । चितवनका अस्पतालहरुमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । दुई हजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो संख्यामा सङ्क्रमण देखिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार गत आर्थिक वर्षमा आठ हजार ४०५ को औलो परीक्षणका क्रममा ११ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । उनले भने, ‘यहाँ भेटिएका सङ्क्रमित रोजगारीका शिलशिलामा बाहिर गएर आएकाहरूमा देखिने गर्दछ ।’ उनका अनुसार वैदेशिक रोजगारमा भारत र शान्ति मिसनका लागि अफ्रिकन मुलुकमा गएर फर्किएकाहरूमा यो रोगको सङ्क्रमण देखिने गरेको छ ।
सीमा आवागमन र श्रम प्रवासमा गएकाहरुबाट औलोको उच्च जोखिम देखिएको किट नियन्त्रक केसीले जानकारी दिए । उनका अनुसार यो रोग एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । जटिल प्रकारको औलो देखिएमा सङ्क्रमितको ज्यानै जोखिममा पर्ने उनले बताए । सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका रोगहरु शून्यमा पु¥याउने योजनासहित काम गरिरहेको उनले उल्लेख गरे ।
किट नियन्त्रक केसीका अनुसार यो रोग लागेमा टाउको दुख्ने, कामज्वरो आउने, जोर्नीहरू दुख्ने, रगतको कमी हुने, शरीर सिथिल हुने, वान्ता हुने, पेट दुख्ने, फियो सुनिने जस्ता लक्षण देखिन्छन् ।
यस रोगबाट बाँच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, ज्वरो आउना साथ नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्ने, औलो देखिएमा उपचार गर्ने, झ्याल ढोकामा जालीको प्रयोग गर्ने, घर वरिपरि सरसफाइ राख्ने जस्ता उपाय अपनाउन उनले सुझाव दिए । जिल्लामा स्थानीयमा औलोको सङ्क्रमण नभएको उनको भनाइ छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९ को कार्यालयको आयोजना स्वम् वडास्तरीय एकल महिला समन्वय समिति रत्ननगर–९ को संयोजनमा ‘सुखी जीवन कसरी जिउने’सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम होटल बेडरक रिसोर्ट, निपनीमा सम्पन्न भएको छ ।
कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले राज्यले सबैका लागि आआफ्नो हकअधिकार सुरक्षित गरेकोले आफ्नो अधिकार आफैँले खोज्नुपर्ने बताए । नगरवासीलाई स्वस्थ बनाउन विभिन्न समयमा कार्यक्रम आयोजना गरिएको बताउँदै यसपटक एकल महिलाहरुलाई लक्षित गरी सुखी जीवन जिउने कलासम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
सकारात्मक सोच र मुस्कानसहित जिउने कला आआफ्नो व्यवहारमा अपनाउन योग, ध्यान र व्यायामको आवश्यकता रहेको बताउँदै आगामी आर्थिक वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । वडाबासीको कुनै पनि समस्या पूरा गर्न वडा कार्यालय तत्पर रहेको बताउँदै उनले समय–समयमा वडा कार्यालयमा आएर सेवासुविधाका विषयमा जानकारी राख्न सहभागीहरुलाई सुझाव दिए ।
योग विज्ञान गुरु पवन नेपालले प्रशिक्षण दिएको कार्यक्रममा एकल महिला नगर समन्वय समितिका सदस्य गीता अधिकारीले मुस्कानले मात्र पनि ४० प्रतिशत तनाव कम हुने भएकाले हरेक समय खुसी बन्ने र मुस्कान दिनुपर्ने बताइन् ।
एकल महिलाको अधिकार तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत प्राप्त गर्ने सेवाबारे महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिएकी थिइन् । वडा सचिव सूर्यप्रसाद ढुङ्गानाले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा ५० जना एकल महिलाको सहभागिता रहेको थियो ।
चितवन । राप्रपाका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ।
उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाण्डे ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
पाण्डेविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, सिँचाइ टोलमा स्कुटर दुर्घटना हुँदा चालक पुरुष घाइते भएका छन् ।
भित्री सडकखण्डमा गणेश चोकबाट सिँचाइ टोलतर्फ आउँदै गरेको ना ५० प ९६९० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक खैरहनी–१ बस्ने ३२ वर्षीय विक्रम महतो गम्भीर घाइते भएका हुन् ।
शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर घाइते भएका महतोको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा निजकी बहिनी रोजी महतो संलग्न रहेको प्रहरीले जनाएको छ ।
कालिका । कालिका नगरपालिका वडा नं–८, न्युरेनीमा अटोबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
कालिका–८ नं बडा कार्यालयबाट जुटपानीतर्फ आउदै गरेको ना २ ह २२३७ नम्बरको अटोमा सवार कालिका–९, शक्तिखोर बस्ने ५५ वर्षीया फूलमाया परियारको अटोबाट ओर्लने क्रममा लडेर मृत्यु भएको हो ।
टाउकोमा चोट लागी गम्भीर घाइते परियारको कालिका नगरअस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा डाक्टरले बुधबार दिउँसो १ः२० बजे मृत घोषणा गरेका हुन् । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए ।
नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा सबैभन्दा धेरै १४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । रत्ननगर–४ मा भने वर्षभरि एउटा पनि सम्बन्धविच्छेदको घटना दर्ता भएको छैन । यस्तै, रत्ननगर–८ मा सबैभन्दा कम एक जोडीले मात्र सम्बन्धविच्छेद गरेको पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।
अन्य वडाहरुको विवरणअनुसार वडा नं–१ मा १०, वडा नं–९ मा नौ, वडा नं–१४ मा आठ तथा वडा नं–२ मा १३, रत्ननगर–१५ र १६ मा सात/सात जोडीले सम्बन्धविच्छेद गरेका छन् । त्यसैगरी, वडा नं–३, ६, ७ र १० मा छ/छ जोडी तथा वडा नं–५ मा पाँच जोडीको सम्बन्धविच्छेदको घटना दर्ता भएको छ ।
नगरपालिकामा वर्षभरि भएका घटना दर्तामध्ये सबैभन्दा धेरै जन्मदर्ता भएको पाइएको छ । एक वर्षमा कुल ८७५ जनाको जन्मदर्ता भएकोमा ४३१ बालिका र ४४४ बालक रहेका छन् । सबैभन्दा धेरै जन्मदर्ता रत्ननगर–१५ मा ८७ जना र सबैभन्दा कम रत्ननगर–६ मा २९ जनाको भएको छ ।
सरकारले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्न र सो समय कटेमा जरिवाना लाग्ने व्यवस्था गरे पनि मानिसहरु आवश्यक परेको बेलामात्र दर्ता गर्न आउने गरेको बस्ताकोटीले बताए । उनले भने, ‘हरेक वर्ष वडा–वडामा अभियान सञ्चालन गर्दा पनि जन्मदर्ता शतप्रतिशत हुन सकेको छैन, हाल ७० प्रतिशतको हाराहारीमा मात्र छ ।’
यस अवधिमा नगरपालिकामा ४६३ वटा मृत्युदर्ता भएका छन् । सबैभन्दा धेरै रत्ननगर–१४ मा ४८ जना र सबैभन्दा कम रत्ननगर–२ मा १२ जनाको मृत्युदर्ता भएको छ । विशेषगरी, सम्पत्ति लेनदेन वा भागबन्डाको काम नपर्दासम्म मृत्युदर्ता गर्न नआउने प्रवृत्तिले गर्दा मृत्युको वास्तविक तथ्याङ्क आउन कठिन भएको प्रमुख बस्ताकोटीको भनाइ छ ।
विवाहदर्तातर्फ रत्ननगरका १६ वटा वडामा कुल ५५० जोडीले विवाहदर्ता गरेका छन् । जसमध्ये रत्ननगर–१३ बाट सबैभन्दा धेरै ५१ जोडी र रत्ननगर–७ बाट सबैभन्दा कम २३ जोडीले विवाहदर्ता गराएका छन् ।
यस्तै, बसाइँसराइको तथ्याङ्क हेर्दा रत्ननगरबाट बाहिर जानेभन्दा भित्रिनेको संख्या निकै धेरै देखिएको छ । एक वर्षको अवधिमा ४८८ परिवार (एक हजार ५५५ जना) रत्ननगरमा बसाइँ सरेर आएका छन् भने सोही अवधिमा १९० परिवार (४८० जना) मात्र यहाँबाट अन्यत्र बसाइँ सरेर गएका छन् । यस तथ्याङ्कले रत्ननगर नगरपालिका बसाइँसराइका लागि प्रमुख रोजाइको केन्द्र बनिरहेको तथ्याङ्कले देखाएको छ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको छ । थ्री ब्रदर्स मिडियाले सौराहा सिटी कलेज निर्माणका लागि रत्ननगर वडा नं–१५, विन्देश्वरी टोल माधवपुरमा श्रीमद्भागवत ज्ञानमहायज्ञ आयोजना गरेको हो ।
आयोजकले पत्रकार सम्मेलनको आयोजना सोमबारदेखि महायज्ञ सुरू हुने जनाएको छ । महायज्ञ सुरू हुनुपूर्व माधवपुरमा भव्य कलशयात्रा निकाल्ने तयारी गरिएको छ । महायज्ञको प्रदेशसभा सांसद् कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गर्नेछन् भने चर्चित कथा वाचक पण्डित चैतन्य कृष्णले महायज्ञमा कथा वाचन गर्नेछन् ।
थ्री ब्रदर्स मिडियाका सञ्चालक फणीन्द्र लामिछानेले आफूले प्रकाशन गरेको किताब बेचेको पैसाले कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापनाका लागि आर्थिक जुटाउन महायज्ञ आयोजना गरेको बताए । ‘गाउँ आएको मोटरबाटो’ नामक उपन्यासका लेखक लामिछानेले किसाब बेचेर आर्जेको पैसाले महायज्ञ लगाउने आँट गरेका हुन् ।
देशभर रहेका ७५३ वटा स्थानीय तह पुगेर त्यहाँका स्थानीयवासीले भोगेको समस्यालाई उजागर गरी लेखिएको उपन्यास अहिले चर्चामा छ । ‘धेरै दुःख गरेर प्रकाशन गरेको उपन्यास बेचेर आफ्नै ठाउँमा कलेज स्थापना गर्ने योजना बनाएको छु’, उनले भने, ‘महायज्ञबाट सङ्कलित रकमबाट सम्भव नभए पनि आधारशिला निर्माण हुन्छ ।’
तीन करोडको लगानीमा कलेज स्थापना गर्ने योजना रहेको भन्दै उनले कलेज स्थापनाका लागि तीनै तहको सरकार र विदेशमा रहेका नेपालीहरुबाट सहयोगको आह्वान गर्ने बताए । ग्रामीण क्षेत्रमा कृषि, विज्ञान तथा प्राविधिक कलेज नहुँदा ठूलो रकम खर्चेर गाउँका युवाहरु कलेज पठ्न सहर जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्यका लागि गाउँमै कलेज स्थापना गर्न खोजेको उनको भनाइ छ ।
‘एक्लै महायज्ञ गर्ने आँट गरेको छु’, कलेज निर्माण अभियन्तासमेत रहेका लामिछानेले भने, ‘राम्रो कामका लागि पुण्य कार्य सुरू गरेको छु, सबैको साथ र सहयोग पाउने आशा छ । फलफूल र तरकारीलाई प्राथमिकता दिएर बिएस्सी एजीसम्मको पढाइ हुने कलेज स्थापना गर्ने उनले बताए ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२८, बर्दाहा मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक दम्पती घाइते भएका छन् ।
बर्दाहा मध्यवर्ती सामुदायिक वनमा घाँस दाउरा गर्न जाँदा आइतबार बिहान ६ः३० बजेको समयमा ४३ वर्षीय युवराज महतो र निजकै श्रीमती ३६ वर्षीया रिकुमायाँ महतो घाइते भएका हुन् ।
दुवै घाइतेको बिहान ८ः४० बजे भरतपुर अस्पतालका ल्याई उपचार भइरहेको छ । युवराजको अवस्था गम्भीर र रिकुमायाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
–राजु चौधरी
चितवन । बिरामीलाई आवश्यक समयमा सहजरुपमा रगत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालमा राजनीतिकरण भएपछि भाँडभैलो मच्चिएको छ ।
शनिबार गैँडाकोटमा आयोजित पाँचौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमै संस्थामा राजनीतिकरण भएपछि ब्लड डोनर्स सोसाइटीको भविष्यमाथि नै प्रश्न उब्जिएको छ ।
सोसाइटीको वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने अध्यक्षका प्रत्यासी थिए । तर, महासचिव अञ्जन दवाडीले अध्यक्षमै दाबी गरेपछि संस्था जोगाउन भन्दै वरिष्ठ उपाध्यक्ष न्यौपाने पछि हट्न बाध्य भए ।
‘वरिष्ठ उपाध्यक्ष भएकाले मेरो अध्यक्ष बन्नेबाहेक अर्को ठाउँ थिएन, महासचिव अब कार्यकारिणी उपाध्यक्ष हुने ठाउँ थियो, तर राजनीतिकरण गरेर संस्थालाई नै बदनाम गर्ने कोसिस भएपछि पछि हटेँ, शुभेच्छा दिएर फर्किएँ’–न्यौपानेले भने ।
संस्थामा जम्मा ५० जना मात्रै मतदाता रहेका थिए । थोरै मतदातामा चुनाव गर्न नहुने पक्षमा न्यौपाने थिए । तर, अर्को पक्ष जसरी पनि अध्यक्ष बन्ने ढिपी कसेपछि संस्था जोगाउन भन्दै न्यौपाने पछि हटे । बहुसंख्यक मतदाताले वरिष्ठ उपाध्यक्षलाई अघि नबढाएको भन्दै रुष्ट हुन पुगे । फलस्वरुप सानो संस्थालाई विधिसम्मत र सर्वसम्मत नबनाई राजनीतिकण भएपछि ब्लड डोनर्स सोसाइटी भरतपुर र माडी नगर कमिटीसहितका प्रतिनिधिहरुले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका छन् ।
‘भर्खर पाइला सार्दै गरेको सामाजिक संस्थामा राजनीतिकण गर्न थालियो, सर्वसम्मत रुपमा सबैलाई मिलाएर लैजानुपर्नेमा एकलौटी गर्न थालिएपछि माडी कमिटीले बहिष्कार गरेको हो’, माडी नगरकमिटी अध्यक्ष डोलराज आचार्यले भने ।
भरतपुर महानगर कमिटी अध्यक्ष दीपक घिमिरेले पनि सामाजिक संस्थामा गुटउपगुट बन्न थालेपछि महाधिवेशन छाडेर निस्किएको बताए । ‘रगत नपाएर छटपटिएका रगत व्यवस्थापन गर्छौं भनेर संस्थामा लागेको हो, तर गुटउपगुट राजनीति अहिले नै देखिन थालेपछि बस्न उचित नलागेर हामी निस्कियौँ’–महानगर कमिटी अध्यक्ष घिमिरेले भने ।
अध्यक्ष बन्न कस्सिएका अञ्जन दवाडी र यसअघिका केन्द्रीय सदस्य रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सक्रिय कार्यकर्ता हुन् । सोसाइटीका जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी रास्वपाका कोषाध्यक्ष हुन् । ब्लड डोनर्स सोसाइटीलाई राजनीतिकरण गर्दै रास्वपाको एकलौटी गर्न थालेपछि लामो समयदेखि सामाजिक सेवामा सक्रिय प्रतिनिधिहरु निराश हुँदै बहिष्कार गर्न पुगेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार जिल्ला समितिका केही पदाधिकारी, केन्द्रीय सदस्यहरुले पनि निर्वाचन बहिष्कार गरेका छन् । एक प्रतिनिधिले नाम नबताउने शर्तमा भने, ‘हामी सबै रास्वपा हौँ, एक हुनुपर्छ, हामीमात्रै आउनुपर्छ भन्दै अघिल्लो दिन भोट माग्दै फोन गरेका थिए ।’
स्रोतका अनुसार रास्वपा भनिएकाहरुले अधिवेशनको अघिल्लो दिन राति विभिन्न ठाउँमा पुगेर प्रतिनिधिहरुलाई पार्टी खुवाएका थिए ।
रत्ननगर । रत्ननगर–१३, जयमङ्गलास्थित पञ्चकन्या स्वास्थ्यचौकीमा एआई प्रविधिबाट निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर गरिएको छ । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवम् राष्ट्रिय क्षयरोग केन्द्र (एनटिसी) भक्तपुरको प्राविधिक सहयोगमा शिविर गरिएको हो ।
रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेलका अनुसार कुल २७० जनाको छातीको एक्स–रे परीक्षण गरिएकोमा २३ जनामा पिसिडी केस (छातीको क्षयरोग) शङ्कास्पद देखिएको छ । शङ्कास्पद देखिएका ११ जनाको खकार सङ्कलन गरी थप जाँचका लागि बकुलहर रत्ननगर अस्पतालमा ‘जिन एक्सपर्ट’ परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।
रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले कार्यक्रमको उद्घाटन गरेका हुन् । खनालले सकभर रोग लाग्न नदिनेतर्फ हरेक व्यक्ति सचेत हुनुपर्ने र रोग लागेमा पनि उपचार गरे पूर्णरुपमा निको हुने भएकाले क्षयरोगका शङ्कास्पद व्यक्तिले परीक्षण गर्नुपर्नेमा जोड दिए ।
उनले क्षयरोगको मृत्युदर उच्च रहेकाले आफूलाई शङ्का लाग्नासाथ क्षयरोगको परीक्षण गराउन अनुरोध गर्दै आगामी दिनमा अन्य वडाहरुमा पनि स्क्रिनिङ कार्यक्रमलाई निरन्तरता दिने बताए । वडाध्यक्ष घिमिरेले क्षयरोग लागेका बिरामीहरुका लागि वडा कार्यालयको तर्फबाट पौष्टिक आहार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले क्षयरोग लाग्दैमा डराउनु नपर्ने र छ महिना नियमित औषधि सेवन गरेमा पूर्णरुपमा निको हुने बताए । रत्ननगर नगरपालिकाले सम्भावित जोखिमका क्षेत्रहरु पहिचान गरी रत्ननगर–९, रत्ननगर–११ र रत्ननगर–१४ मा यसअघि नै एआई प्रविधिबाट निःशुल्क छातीको एक्स–रे गरी क्षयरोगको स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।
जनस्वास्थ्य अधिकृत पौडलले क्षयरोग सरूवा रोग भएकाले हरेक व्यक्ति आफू सुरक्षित हुनुपर्ने बताए । रत्ननगरमा गत वर्ष १३४ केस पत्ता लागेकोमा यस आर्थिक वर्षमा १०० जनामा टिबी पत्ता लागेको उनले बताए ।
निःशुल्क स्क्रिनिङ कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट पदमनाथ घिमिरे, जनस्वास्थ्य अधिकृत शिवशङ्कर महतो, रेडियोग्राफर निरीक्षक मुकेशकुमार निकलम, नर्सिङ अधिकृत थुमा पुन, बकुलहर रत्ननगर अस्पतालकी मेडिकल अधिकृत डा. अनुपमा घिमिरे, सिअहेव अधिकृत पब्लिक हेल्थ फोकल पर्सन नारायण ढुङ्गानालगायतको प्राविधिक टोली खटिएका थिए ।
राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिस्ट पदमनाथ घिमिरेले एआई प्रविधिको माध्यमबाट एक्स–रे गर्दा फोक्सोको अवस्था, श्वासप्रश्वासको अवस्था, धुवाँ–धुलोको असर र मुटुको आकारबारे थाहा पाइने भएकाले यो प्रविधि निकै प्रभावकारी रहेको बताए ।
मधुमेह, एचआइभी लागेका व्यक्ति, उद्योगमा काम गर्ने मजदुर, वृद्धाश्रममा रहेका र एउटै कोठामा धेरै जना बस्नेहरुमा क्षयरोगको जोखिम बढी हुने घिमिरेले बताए । रत्ननगर–१२ र १३ का विपन्न बस्ती, सुकुमबासी बस्ती र घना बस्तीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।
रत्ननगर । रत्ननगर–२ निवासी पूर्वसांसद् गुणराज पाठकको ३२ औँ स्मृति दिवसमा उनको जीवनवृत्ति र समाजप्रतिको योगदानको स्मरण गरिएको छ । गुणराज पाठक स्मृति समाजकल्याण संघले बिहीबार रत्ननगरमा आयोजना गरेको औपचारिक कार्यक्रममा पाठकलाई नजिकबाट चिनेका व्यक्तिहरूले उनको पूर्वी चितवनको विकास, शिक्षा, स्वास्थ्य र बजार निर्माणमा गरेको उल्लेख्य योगदानको चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुखअतिथि शहीद स्मृति बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रामबाबु घिमिरेले पाठकले रत्ननगरसहित पूर्वी चितवनमा शिक्षाको जग बसाल्न मह¤वपूर्ण भूमिका खेलेको बताए । उनले शिक्षा, स्वास्थ्य र स्थानीय बजार विकासमा पाठकको योगदान शब्दमा वर्णन गर्न नसकिने बताउँदै उनलाई कुशल राजनीतिज्ञ तथा समाजसेवीको रूपमा स्मरण गरे ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले गुणराज पाठकले समाज विकासमा गरेको काम युवापुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताए । उनले शहीद स्मृति क्याम्पस स्थापनामा पाठकको भूमिकाको प्रशंसा गर्दै अहिलेका युवाहरूलाई उनको योगदानबारे जानकारी गराउनुपर्नेमा जोड दिए ।
नगरपालिका उपप्रमुख यादवप्रसाद पाठकले रत्ननगर निर्माणमा पाठकले पु¥याएको योगदान पर्याप्त सम्झना नभएको गुनासो गर्दै राम्रा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्ने बताए । उनले समाजमा राम्रो–नराम्रो छुट्याउने होइन, हुलले जे भन्छ त्यही हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे ।
संघका अध्यक्ष हरिशरण पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक सदस्य लीलाराज पाठकले स्वागत मन्तव्य राखेका थिए भने समाजसेवी प्रकाश श्रेष्ठ, साहित्यकार धनराज गिरी, श्री कमर्श क्याम्पसका संस्थापक क्याम्पस प्रमुख रामशरण पाठक, समाजसेवी रामहरि कँडेललगायतले पाठकको योगदानबारे मन्तव्य राखेका थिए । कार्यक्रम संयोजन बिजेन्द्रराज पाठकले गरेका थिए भने सञ्चालन संस्थाका आजीवन सदस्य गुरुप्रसाद अधिकारीले गरेका थिए ।
यसैबीच, स्मृति दिवसको अवसरमा गुणराज पाठक स्मृति समाजकल्याण संघले बकुलहर रत्ननगर अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । अस्पतालका विभिन्न वार्डमा भर्ना भएका बिरामीहरूलाई फलफूल प्रदान गरिएको कार्यक्रम संयोजक बिजेन्द्रराज पाठकले जानकारी दिए । कार्यक्रममा संघका अध्यक्ष हरिशरण पाठक, अस्पतालका अध्यक्ष गोपालराज कर्माचार्य, मेडिकल सुपरिटेन्डेन्ट अंकुर पौडेल, कार्यपालिका सदस्य राजेन्द्र हमाललगायतको उपस्थिति थियो ।
किसानको छोराको रूपमा विसं १९८४ मा जन्मिएका गुणराज पाठक उद्योगी तथा व्यवसायी हुँदै २०४१ सालमा सांसद् बनेका थिए । उनी दुईपटक साबिक देवौली गाविसको प्रधानपञ्चसमेत भएका थिए । उनको २०५१ साल वैशाख ३ गते निधन भएको थियो ।
रत्ननगर । रत्ननगरको व्यस्त बजार सौराहाचोकमा नयाँ वर्ष २०८३ को अवसरमा एक आकर्षक रेस्टुरेन्ट ‘द भाइब्स कार्ड’ रेष्ट्रो सञ्चालनमा आएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले मंगलबार औपचारिक रूपमा उद्घाटन गरेको यस रेष्ट्रो पूर्वी चितवनका चार जना युवाहरूको संयुक्त प्रयासबाट तयार भएको हो । रमेश महतो, किरण लामा, अनुप विसुराल र दीपक महतोको संयुक्त लगानीमा सञ्चालनमा आएको यस रेष्ट्रोमा कुल ६० लाखभन्दा बढीको लगानी भएको सञ्चालक किरण लामाले बताए ।
‘एकैपटकमा १२० जना भन्दा बढी पाहुनालाई आरामदायी सेवा दिन सकिने क्षमता रहेको छ’, लामाले भने । मुख्य राजमार्गको छेउमा रहेको यस रेष्ट्रोले पारिवारिक वातावरण, शान्त र आकर्षक दृष्यसहित सेवा प्रदान गर्ने बताउँदै अर्का सञ्चालक रमेश महतोले थपे, ‘यहाँ आएर गुणस्तरीय कफी र स्वादिष्ट खानाको मजा लिन सकिन्छ ।’
रेष्ट्रोमा कफीका विभिन्न प्रकारका आइटमका साथै पिज्जा, बर्गर, स्यान्डविच, मःम, चाउमिन, चिकेनका विभिन्न परिकार तथा अन्य खानेकुराहरू सुपथ मूल्यमा उपलब्ध हुने महतोले बताए । मुख्य राजमार्ग नजिकैको सुविधाजनक स्थान र पारिवारिक वातावरणले गर्दा यो रेष्ट्रो खानाका पारखीहरुका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा सञ्चालकहरुको छ ।
उद्घाटन समारोहमा बोल्दै रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले व्यवसायको उत्तरोत्तर सफलताको कामना गर्दै भने, ‘मुख्य राजमार्गमा यस्तो पारिवारिक र शान्त वातावरण भएको रेष्ट्रोको निकै अभाव थियो । द भाइब्स कार्ड रेष्ट्रोले यो अभाव पूरा गर्नेमा म पूर्ण विश्वस्त छु ।’
चार युवा उद्यमीहरूको यो संयुक्त प्रयासले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै चितवनको पर्यटन तथा व्यावसायिक क्षेत्रलाई मद्दत गर्ने छ । नयाँ वर्षको सुरुवातसँगै ‘द भाइब्स कार्ड’ रेष्ट्रोले स्थानीय तथा बाहिरी पाहुनाहरूलाई स्वागत गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
भरतपुर । न्यूजप्रवाह साप्ताहिकको आयोजनामा नयाँ वर्ष २०८३ सालको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुखअतिथि नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि योगदान गरेका पत्रपत्रिकाको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व रहेको बताए ।
मोफसलमा पत्रिका सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको अवस्थामा सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा रोक लगाउनु दुर्भाग्यपूर्ण रहेको र यसले निजी सञ्चारमाध्यम धराशयी हुने खतरा रहेको बताए ।
निजी सञ्चारमाध्यमलाई जोगाउन सरकारले लोककल्याणकारी विज्ञापन बढाउनुपर्ने अवस्थामा वन्चित गर्ने कार्यले सरकार प्रेसमैत्री नरहेको उनले बताए । उनले भने, ‘सरकारको यस निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले विरोध गर्दै आएको छ । महासंघले आन्दोलन घोषणा गरेमा सबैले यसमा ऐक्यबद्धता जनाउन आवश्यक छ ।’
यस्तै, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र अधिकारीले आफ्नो अस्तित्वलाई जीवन्त राख्न न्यूजप्रवाह साप्ताहिकले गरेको पहल सराहनीय रहेको बताउँदै राज्यले स्थानीय तहमा सञ्चालित सञ्चारमाध्यमलाई जोगाउन निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष सागर कुमाल, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, मञ्जुश्री म्हाणिपा आमा समूहका सचिव पासाङ तामाङलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए ।
न्यूजप्रवाह साप्ताहिकका अध्यक्ष एवम् प्रधानसम्पादक बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एस एण्ड पी कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठ, पत्रकारहरु केशव भट्टराई, टीकादत्त तिमिल्सिना, सुरज शर्मा, रोहिणी त्रिपाठी, राजेन्द्र कार्की, पत्रकार संघ चितवनका अध्यक्ष प्रकाश तामाङ, उपाध्यक्ष सन्तोष तामाङ, सचिव प्रतिमा तामाङलगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा न्यूजप्रवाह साप्ताहिकले प्रकाशन गरेको भित्तेपात्रोको विमोचन गरिएको थियो ।
रत्ननगर । रत्ननगर–१० मा कार्यालय रहेको गोरखा रत्ननगर सम्पर्क समाजले नयाँ वर्ष २०८३ सालको अवसरमा शुभकामना आदानप्रदान तथा संस्थाको नयाँ भित्तेपात्रो विमोचन गरेको छ ।
रत्ननगर–१० स्थित एकता शिशु निकेतनको सभा हलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष वेदप्रसाद पाण्डेको सभापतित्व एवम् समाजसेवी एवम् राजनीतिज्ञ बलराम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समाजका सचिव सूर्यमणि ढकालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष युवराज पाण्डेले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रमुखअतिथि खनालले ्संस्थाको प्रगति र समाजमा यसले पु¥याएको योगदानको प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे । कार्यक्रममा विशिष्टअतिथिहरु समाजका सल्लाहकार समिति संयोजक लक्ष्मीप्रसाद वस्ती, रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष वेदप्रसाद पाण्डेले संस्था स्थापना भएको करिब एक वर्ष पुग्न लागेको र आगामी भदौ महिनामा प्रथम साधारण सभा एवम् अधिवेशन हुने जानकारी गराए । समाजमा सद्भाव, आत्मीयता, भाइचारा र मेलमिलापको भावना जागृत गराउने उद्देश्यले सहयोगीदाताहरूको आर्थिक सहयोगमा भित्तेपात्रो प्रकाशन गरिएको बताउँदै उनले सम्पूर्ण सहयोगी हातहरूलाई विशेष धन्यवाद ज्ञापन गरे ।
अध्यक्ष पाण्डेले हाल समाजमा २०७ जना साधारण सदस्य आबद्ध रहेको र इच्छुक व्यक्तिले पाँच हजार रुपैयाँ तिरेर आजीवन सदस्य बन्न सक्ने व्यवस्था रहेको जानकारी दिए । यसैगरी, साधारण सदस्यहरूले प्रत्येक वर्ष असार मसान्तभित्र एक सय पचास रुपैयाँ तिरेर सदस्यता नवीकरण गर्नुपर्ने नियम रहेको पनि उनले प्रष्ट पारे ।
चितवन । चितवनका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो ।
कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ जनामा क्षयरोग पुष्टि भएको जानकारी दिए । ‘परीक्षण गरिएकामध्ये दुई सय नौ जनामा क्षयरोगको लक्षण देखिएको थियो । लक्षण देखिएकाको थप परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो”, उनले भने ।
भरतपुर महानगरपालिकामा १६, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा २३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको क्षयकुष्ठ अधिकृत दुवाडीले जानकारी दिए ।
उक्त एक्सरे उपकरणमा एआई प्रविधिको जडान गरिनुका साथै उक्त उपकरणले बिरामीको अवस्थासहितको जानकारी दिने बताउँदै उनले उपकरणको सही प्रयोग गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकको सहायतामा क्षयरोग पहिचानसम्बन्धी शिविर सञ्चालन गरिएको उल्लेख गरे ।
क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ । ‘रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुन थाल्छ । मानिसले यस्ता लक्ष्यणलाई गम्भीरतापूर्वक लिँदैनन् । विस्तारै क्षयरोगको व्याक्टेरियाले सङ्क्रमणको रूप लिई गम्भीर समस्या निम्त्याउने गर्दछ’, उनले भने ।
रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सक कहाँ जानुपर्ने क्षयकुष्ठ अधिकृत दुवाडीले सुझाव दिए ।
यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरू गरेको भए तुरुन्तै छोड्नुपर्छ । अधिक मदिरा, लागूपदार्थ वा औषधि सेवन गर्न नहुने क्षयकुष्ठ अधिकृत दुवाडीले बताए ।
स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरू गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेलगायत कार्य गर्न आवश्यक रहेको उनले सुझाव दिए ।
रत्ननगर । रत्ननगर नगरपालिकामा शिक्षामा गरिएको लगानी बालुवामा पानी हालेसरह भएको छ । भर्खरै सार्वजनिक बिइई परीक्षाको नतिजाले सामुदायिक विद्यालयमा गरिएको लगानी बालुवामा पानीबराबर भएको हो ।
कक्षा ८ मा १९ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ३७.९८ प्रतिशतमात्र उत्तीर्ण (ग्रेडेड) भए । रत्ननगरको कमजोर नतिजाले स्थानीय शिक्षाप्रणालीमाथि नै गम्भीर सवाल खडा गरिदिएको छ । सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी ६८२ विद्यार्थीमध्ये ४२३ जना कक्षा ९ मा अध्ययनका लागि अयोग्य हुँदा समग्र उत्तीर्ण प्रतिशत ३७.९८ मा झरेको छ ।
परीक्षामा सहभागी १९ मध्ये १६ वटा विद्यालयको नतिजा ५० प्रतिशतभन्दा तल रहेको छ । बैरिया माध्यमिक विद्यालयको ६४.४९ प्रतिशत, आधारभूत विद्यालय बेल्सीको ६४.२९ प्रतिशत र जनजागृति माध्यमिक विद्यालय ५१.३५ प्रतिशत रहेको छ भने १७ वटा विद्यालयको अवस्था चिन्ताजनक छ ।
अन्य सबै १६ विद्यालयको नतिजा ५० प्रतिशतभन्दा तल छ । भद्रकाली मावि र आधारभूत विद्यालय देवौलीको नतिजा सबैभन्दा कमजोर देखिएको छ । यी दुवै विद्यालयका १० प्रतिशत विद्यार्थी पनि अपग्रेडेड हुन सकेनन् । जसमध्ये ३२ जना विद्यार्थीले परीक्षा दिएको भद्रकाली माविका जम्मा ३ जना विद्यार्थी ग्रेडेड भएका छन् २९ जना विद्यार्थी ननग्रेडेड भए । जुन कुल विद्यार्थी संख्याको ९.३८ प्रतिशत मात्र हो ।
यसैगरी, आधारभूत विद्यालय देवौलीमा कुल १६ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा १ जना मात्र कक्षा ९ मा अध्ययन गर्नयोग्य भएका छन् । सो विद्यालयका १५ जना विद्यार्थी ननग्रेडेड भए । जुन कुल विद्यार्थी संख्याको ६.२५ प्रतिशत मात्र हो । परीक्षामा सहभागी विद्यालयमध्ये ७ वटा विद्यालयको नतिजा ३० प्रतिशतभन्दा कम छ ।
संस्थागत विद्यालयतर्फ भने ७० प्रतिशत विद्यार्थी २३ वटा विद्यालयबाट उत्तीर्ण (ग्रेडेड) भएका छन् । २० वटा विद्यालयबाट कक्षा आठको परीक्षामा सहभागी एक हजार ६९ विद्यार्थीमध्ये ७५३ विद्यार्थी उत्तीर्ण (ग्रेडेड) हुँदा ३१६ विद्यार्थी अनुत्तीर्ण (ननग्रेडेड) भएका छन् ।
गायत्री हरिहर गुरूकुलम र श्रीराम वैदिक गुरूकुलले सात प्रतिशत नतिजा हासिल गरेका छन् । गायत्रीबाट १७ जना र श्रीराम वैदिकबाट १० जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकले शिक्षण सिकाइ प्रभावकारी नभएकै कारण कक्षा आठको परीक्षामा नतिजा कमजोर आएको बताएका छन् ।
भरतपुर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट खरानीमा परिणत भएको भरतपुर हाइटमा रहेको भाटभटेनी सुपरमार्केट सात महिनापश्चात् सञ्चालनमा आएको छ ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङले भने, ‘हामी खरानीबाट फेरि उठेका छौँ । कर्मचारीहरुको अथक मेहनतले सात महिनामै भाटभटेनीलाई उठाउन सफल भएका छौँ ।’
भाटभटेनीको अगाडि भागमा आगजनी हुँदा कैद गरिएका केही तस्बिरहरु राखेर बोर्डमा लेखिएको छ, ‘हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’ सञ्चालक गुरुङका यी शब्दले अब यस्तो नहोस् भन्ने कामना गरिएको छ ।
भाटभटेनीका व्यवस्थापक विनोद भट्टराई भन्छन्, ‘भदौ २४ गते भएको आगजनीका कारण भरतपुर भाटभटेनी स्टोरमा भएका सबै सामान जलेर खरानी भए ।’ भरतपुर भाटभटेनीमा मात्रै एक अर्ब बढीको क्षति भएको उनी बताउँछन् ।
जलेर खरानी भएको भरतपुर भाटभटेनी सात महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको छ । आगजनीमा भाटभटेनीका ११ वटा स्टोर परेका थिए । ११ वटा स्टोर आगजनीमा परे पनि एक जना कर्मचारीलाई पनि भाटभटेनीले निकालेन् स्टोर सञ्चालनमा नआए पनि सेवासुविधा दिलाइरह्यो ।
‘भदौ २४ अघि हामीसँग १७० जना भरतपुर भाटभटेनीमा कर्मचारी थिए, ती कर्मचारी सबै अहिले पनि छन्, कसैको जागिर गएको छैन, कसैको सुविधा कटौती भएको छैन’, व्यवस्थापक भट्टराईले भने । भरतपुर भाटभटेनीले चैत २७ पछि २५० कर्मचारी पार्टटाइममा थप्ने योजना रहेको उनले बताए । १२ कक्षा सकेका छात्राहरुलाई पार्टटाइम काममा अवसर दिने उनले बताए । भाटभटेनीका स्टोरहरुमा ९० प्रतिशत कर्मचारी महिला छन् ।
भरतपुर भाटभटेनी पूरा सञ्चालनमा आएपछि पोखरा, विराटनगर, बिर्तामोड, धरानका स्टोरहरुलाई सञ्चालनमा ल्याउने उनले बताए ।
चितवन । साताको दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । सरकारले यसअघि छोटो समयका लागि गरेको दुई दिन बिदाले पर्यटकीय क्षेत्रमा केही सुधार देखिएको थियो ।
सरकारले इन्धन खपत घटाउन शनिबार र आइतबार बिदा दिएको छ । इन्धनको खपत घटाउने भएकाले यो बिदामा पर्यटकको आगमन धेरै नबढे पनि यसलाई निरन्तरता दिन सकिएमा पर्यटकीय क्षेत्र पूर्ववत् अवस्थामा फर्कने व्यवसायीहरु बताउँछन् । दुई दिन बिदा हुँदा कम्तीमा एक रात र दुई दिनको छोटो प्याकेज लिएर आन्तरिक पर्यटक हिँड्न पाउने छन् । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष दीपक भट्टराई इन्धन खपत घटाउन खोजिएकाले अहिले ठूलो प्रभाव नभए पनि यसलाई निरन्तरता दिन सकिएमा पर्यटकीय क्षेत्रमा राम्रो प्रभाव पर्ने बताउँछन् ।
उनी भन्छन्, ‘साताको दुई दिन बिदालाई दीर्घकालीन बनाउन सरकारसँग हामीले आग्रह गर्दै आएका हौँ ।’ आफू संघको अध्यक्ष हुँदा यस विषयमा धेरै पहलकदमी भएको जनाउँदै उनले अहिलेको सरकारले यसलाई निरन्तरता दिन्छ भन्नेमा आशावादी रहेको पनि बताए ।
संघका उपाध्यक्ष गुणराज थपलिया विश्वबजार आइतबार पनि बन्द हुने भन्दै उनले यसलाई निरन्तरता दिन माग गरिएको बताए । उनले भने, ‘सातामा दुई दिन बिदा गर्दा सरकारी व्ययभार घट्ने छ । यो विश्वभरि नै हुने गर्दछ ।’ झण्डै दुई तिहाइको सरकार भएका कारण राजनीतिक स्थायित्व हुनेमा आशावादी भएका व्यवसायीहरु अबको दिन पर्यटकीय हिसाबले राम्रो हुनेमा विश्वस्थ छन् ।
होटल भिष्टा चितवनका सञ्चालक रमेश सिलवाल सातामा दुई दिन बिदाले निरन्तरता पाउनेमा ढुक्क छन् । उनले भने, ‘आन्तरिक पर्यटक बढ्नेमा हामी ढुक्क छौँ ।’
शुक्रबार र शनिबार अहिले पनि आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको भन्दै उनले अब आइतबार पनि पर्यटकको संख्या बढ्ने बताए । वनवास रिसोट चितवनका महाप्रबन्धक प्रकाश न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सातामा दुई दिन बिदा दिन सुरू गरिएको भए पनि निरन्तरता दिन नसकिएको बताए । पछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई हुँदा केही दिन बिदा दिइएको जनाउँदै उनले यसलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन व्यवसाय चलायनमान हुन्छ । राज्यको भार घट्छ ।’ यसलाई निरन्तरता दिइनेमा आफू विश्वस्त भएको पनि उनले बताए ।
जिल्लाको सौराहा, पटिहानी, मेघौली, भरतपुरलगायतका क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकहरु आउने गर्दछन् । दुई दिन बिदा हुँदा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु घुम्न आउन सहज हुन्छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, नगरवनस्थित वडा कार्यालयनजिकै नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट ३ वर्षीया बालिका घाइते भएकी छन् ।
बुधबार दिउँसो ३ः३० बजेको समयमा भरतपुर–३ वडा कार्यालयनजिकै नम्बर नखुलेको बुलेट मोटरसाइकलको ठक्करबाट भरतपुर–४, खैरेटोल बस्ने कुन्दन मालीको ३ वर्षीया छोरी आरतीकुमारी माली घाइते भएकी हुन् ।
बायाँ खुट्टा भाँचिएको अवस्थामा निज बालिकाको भरतपुर अस्पतालमा उपचार भइरहेको र फरार रहेका मोटरसाइकलको खोज तलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।
रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा उमेदबारी दिएका छन् ।
रत्ननगर वडा नं–३ निवासी गिरी लामो समयदेखि यातायात क्षेत्रमा क्रियाशील छन् । रत्ननगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा रहेर कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीले महासंघको जिल्ला, नगर उद्योग वाणिज्य संघको खुल्ला तर्फबाट महासंघको कार्यकारिणी सदस्य पदमा उमेदवारी दिएका हुन् । महासंघको ६०औँ वार्षिक साधारण सभा तथा महाधिवेशन चैत २९ र ३० गते काठमाडौँमा हुँदैछ ।
गिरीले लगानी सुरक्षा, व्यावसायिक विकास र पर्यटन प्रवर्द्धनको विषयलाई चुनावी एजेन्डा बनाएका छन् । बागमती प्रदेशको प्रमुख पर्यटकीय केन्द्र चितवनमा पर्यटक भित्र्याउन निजी क्षेत्रको तर्फबाट भूमिका खेल्ने र सौराहाको पर्यटनलाई फराकिलो बनाउन तीनै तहका सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए ।
‘म निर्वाचित भएपछि चुप लागेर बस्दिनँ’, उनले भने, ‘लगानी सुरक्षा र पर्यटन विकासको कामलाई जोडतोडका साथ अगाडि बढाउने छु ।’ महासंघमा आफू रहँदा विदेशी पर्यटक नेपाल भित्र्याउन र गन्तव्यको विकासका लागि भूमिका खेल्ने उनले बताए ।
‘रत्ननगर उवासंघले गरिरहेको कामलाई महासंघसँग जोड्ने छु’, उनले भने, ‘उद्यमशीलतामार्फत युवा तथा महिलाहरुलाई उद्यमी बनाउन लागिरहने छु ।’
रत्ननगर । रत्ननगर नगरपालिका–९, ढिकुवामा रहेको सहभागी संस्थाको ३०औँ स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिक आनन्द भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । संस्थाको केन्द्रीय कार्यालय परिसरमा संस्थाका अध्यक्ष शालिग्राम शर्माले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
संस्थाका अध्यक्ष शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यसमितिका सचिव डा. एकनारायण पौड्यालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन तथा संस्थाले वर्तमान समयमा गरेका कार्यहरुको प्रगति विवरण संस्थाका कार्यालय प्रमुख शुभराम शर्माले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थालाई वर्तमान अवस्थासम्म ल्याउने संस्थापक सदस्यहरु, आजीवन तथा साधारण सदस्यहरु, वर्तमान तथा पूर्वकार्यसमितिका पदाधिकारीहरु एवं कर्मचारी साथीहरुको विशिष्ट योगदानप्रति उच्च सम्मान प्रकट गरी हाल विभिन्न दातृ निकायको सहयोगमा सञ्चालन गरिएका परियोजनाबारे जानकारी दिइएको थियो ।
रत्ननगर नगरपालिका वडा नं–९ का अध्यक्ष अनन्त अधिकारीसहित ४० जनाको सहभागिता रहेको कार्यक्रममा सम्पूर्ण सहभागीहरुको प्रतिनिधित्व गर्दै वडा अध्यक्ष अधिकारीले संस्थाले २९ औँ वर्षको अन्तरालमा विभिन्न किसिमका समुदायकेन्द्रित सामाजिक, आयमूलक तथा जनचेतना सशक्तीकरण कार्यहरु गर्दै आइरहेकोमा प्रशंसा गर्दै संस्थाले सुरूवात गर्न लागेको ज्येष्ठ नागरिक आनन्द भवन निर्माण कार्यलाई समुदायले पनि चासो लिएको हुनाले सबैतिरबाट सहयोगको अपेक्षा राखे ।
कार्यक्रमका प्रमुखअतिथि एवम् रत्ननगर नगरपालिका वडा नं–९ का वडा अध्यक्ष र संस्थाका अध्यक्षले संयुक्तरुपमा भवनको शिलान्यास गरेका थिए ।
चितवन । चितवनमा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै सिँचाइ पुग्न सकेको छैन । जिल्लामा खेतीयोग्य जमिन ४८ हजार ६९४ हेक्टर रहेको छ ।
कृषि विकास कार्यालय चितवनकी सूचना अधिकारी बिन्दु पौडेलका अनुसार खेतीयोग्य जमिनमध्ये ४२ हजार ५५० हेक्टरमा खेती भइरहेको छ । खेती भइरहेको जमिनको ६१ दशमलव ८ प्रतिशत क्षेत्रफल मात्र सिँचाइ सुविधा पुगेको छ । खेती हुँदै आएको जमिनमध्ये २६ हजार ३०८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उनले बताए ।
सिँचाइ डिभिजन कार्यालय चितवनका अनुसार गत वर्षको तुलनामा यसवर्ष सिञ्चित क्षेत्रफल बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म २२ हजार ६३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा रहेकामा यसवर्ष थप क्षेत्रफलमा वृद्धि भएको हो ।
नारायणी लिफ्ट तथा खडेरी सिँचाइबाट भरतपुर र पश्चिम क्षेत्रमा हुने गरेको कृषियोग्य जमिनको क्षेत्रफल भने घटेको छ । नहरहरू मासिँदा सिञ्चित क्षेत्रफल घटेको हो ।
नारायणी लिफ्ट, खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार यो आयोजनाबाट हुने सिँचाइमध्ये ३८ प्रतिशत क्षेत्रफल घटेको छ । मुख्यगरी नारायणी लिफ्ट सिँचाइ प्रणालीको नहर प्रणालीका अधिकांश शाखा नहर मासिँदा सिँचाइको क्षेत्रफल घट्न गएको कार्यालयका प्रमुख कुलप्रसाद चालिसेले जानकारी दिए ।
उनका अनुसार यी नहरका सिएल एकदेखि पाँचसम्मका शाखा नहर मासिएका छन् । जुन भरतपुर महानगरपालिकाको वडा नं १०, ११ र १२ मा पर्दछन् । उनले भने, ‘मुख्यगरी बाइपास क्षेत्र हुँदै विभिन्न ठाउँमा सिँचाइको व्यवस्था हुने शाखा नहर मासिएका छन् ।’
नारायणी लिफ्टले चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्नसक्ने भए पनि हाल यो दुई हजार ९०६ दशमलव पाँच हेक्टरमा सिँचाइ हुँदै आएको छ । एक हजार ७९३ दशमलव पाँच हेक्टर सिञ्चित क्षेत्रफल घटेको उनले बताए ।
नहर बग्ने क्षेत्रमा सडक, भौतिक पूर्वाधार, पार्क निर्माण हुँदा सिञ्चित क्षेत्रफल घटेको उनले बताए। नहर मासिँदा सिँचाइको समस्यासँगै सहरको सौन्दर्यतामा समस्या पर्न गएको उनले जानकारी दिए ।
नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले खेती गर्नेले नै खेती गर्न छोडेर नहरमा सडक बनाउन थालेपछि यहाँको सिञ्चित क्षेत्रफल घटेको हो ।
चितवन । चितवनको कालिका नगरपालिकाले अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स सिटीसँग जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने तथा फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहकार्यको प्रस्ताव गरेको छ ।
हाल अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले फेयरफ्याक्स सिटीकी मेयर क्याथरिन रिडसँग उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।
सो क्रममा दुवै पालिकाबीच दिगो सम्बन्ध विस्तार गर्दै जाने सहमति गरिएको प्रमुख रेग्मीले जानकारी दिए । सो क्रममा प्रमुख रेग्मीले फेयरफ्याक्स सिटीको टेक्नोलोजी र उच्चतम विकासका ढाँचाबारेमा जानकारी लिँदै अनुभव आदानप्रदान गरिएको पनि बताए ।
प्रमुख रेग्मीले भने, ‘कालिका नगरपालिकामा कार्यान्वयन हुँदै गरेको घर नम्बरको जिपिएस प्रणालीका साथै फोहर व्यवस्थापन, स्वास्थ, शिक्षा, पूर्वाधार निर्माणलगायतका कार्यक्रमहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छु, सो सम्बन्धमा सकारात्मक जवाफ प्राप्त भएको छ, निकट भविष्यमा सहकार्य हुने विश्वास लिएको छु ।’
साथै, आगामी दिनहरूमा दुवै पालिकाबीच सहकार्य गर्दै दिगो सम्बन्ध विस्तार गर्ने सहमति भएको पनि उनले बताए । सो क्रममा मेयर क्याथरिनले उपयुक्त समय मिलाएर आफू टिमसँगै नेपाल आउने प्रतिबद्धता जनाएकी छन् । कार्यक्रमको सहजीकरण प्राडा रामहरि सुवेदीले गरेका थिए ।
चितवन । चितवनको इच्छाकामना गाउँपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गरिएको छ । मानवता प्रवद्र्धन महाअभियानलाई सफल बनाउने उद्देश्यका साथ मानवसेवा आश्रमसँगको सहकार्यमा आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई औपचारिकरूपमा सडकआश्रित मानवमुक्त घोषणा गरिएको हो ।
सडकमा आश्रयविहीन भई कष्टपूर्ण जीवन बिताइरहेका व्यक्तिहरुको स्याहार, सुरक्षा र संरक्षणका लागि मानवसेवा आश्रम भरतपुर र इच्छाकामना गाउँपालिकाबीच सहकार्य गर्ने सम्झौतासमेत गरिएको छ । सो सम्झौतामा गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङ र मानवसेवा आश्रमकी महासचिव सुशीला केसीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा हस्ताक्षर गर्दै अध्यक्ष गुरूङले राज्यको लक्ष्यअनुसार गाउँपालिकालाई सडक मानवमुक्त घोषणा गरिएको उनले बताए । सडकआश्रित सहयोगापेक्षी मानवमुक्त गाउँपालिका घोषणा कार्यान्वयन गर्न गर्नुपर्ने नीति सञ्चालन गर्नुपर्ने कार्यक्रम, तथा आवश्यक बजेटको व्यवस्थापनसमेत गरिने बताए । इच्छकामनालाई गाउँपालिका क्षेत्रभित्रका सडकआश्रित सहयोगापेक्षी मानवको उद्धार तथा औषधोपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गराउने कार्यका लागि आवश्यकताअनुसार कार्यक्रम, बजेट तर्जुमा गरी प्राथमिकतामा गाउँपालिकाले राख्ने लक्ष्य लिएको छ ।
मावनसेवा आश्रमको सहयोगमा आगामी २०८३ सालभित्र नेपाललाई सडक आश्रित अहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । यस अवधिमा गण्डकी र कर्णाली प्रदेशलाई सडक मानवमुक्त घोषणा गरिएको छ । मानवसेवा आश्रमले देशभर १३ हजार ४४ जनालाई उद्धार गरेको मानवसेवा आश्रमकी महासचिव केसीले जानकारी दिइन् । उनका अनुसार मानवसेवा आश्रमले २३ वटा जिल्लामा ३३ वटा सेवा केन्द्र खोलेर काम गरिरहेको छ । हाल यी आश्रममा २ हजार २७ जना रहेका छन् ।
उद्धार गरेर ५ हजार ४९५ जनालाई पारिवारिक पुर्नमिलन गराएको उनले जानकारी दिइन् । १ हजार ८४ जनाको सामुदायिक पुनस्र्थापन र १ हजार ७ सय ३ जनाको आश्रममा मृत्यु भएको छ । चितवनमा हालसम्म १ हजार ११८ जनाको उद्धार गरी आश्रय प्रदान गरिएको छ ।
उनका अनुसार आश्रममा हाल ११५ जना छन् । जसमध्ये इच्छाकामना गाउँपालिकाबाट ३७ जनाको उद्धार गरिएको उनले बताइन् ।
कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सडक मानवमुक्त अभियान घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै यस अभियानमा संलग्न संघसंस्थाहरुलाई धन्यवाद दिए । उनले मानवता प्रवद्र्धन महाअभियानलाई सफल बनाउन मानवसेवा आश्रमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर मगर, वडा नम्बरं २ का अध्यक्ष पञ्चबहादुर प्रजा, वडा नम्बर ४ का अध्यक्ष रुद्रप्रसाद उप्रेती वडा नम्बर ५ का अध्यक्ष तेजबहादुर शेरचन तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
चितवन । चितवनको भरतपुर र नारायणगढ बजार क्षेत्रमा सञ्चालित केही स्पा सेन्टरमा प्रहरीले छापा हानेको छ । बुधबार अपरान्ह जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक जहरलाल स्याङतानको कमान्डमा खटिएको १० जना प्रहरी टोलीले एक महिलासहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले स्पा तथा मसाज सेन्टरहरूमा अनुमतिबिना (दर्ता नगरी) सञ्चालन गरिएको, कोठामा क्युआर कोड राखिएको तथा अवैध गतिविधि हुने गरेको पाइएको जनाएको छ।
प्रहरीले नमस्ते किङ स्पा, कान्तिपुर स्पा, मुनस्टार हेल्थ केयर एण्ड स्पा, गुड हेल्थ स्पा, हेप्पी हेल्थ स्पामा छापा हानेको थियो । प्रहरीले छापा मार्ने क्रममा सञ्चालक, ग्राहक तथा स्टाफसमेत गरी जम्मा आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
चितवन । घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरूङको दैनिकी फेरिएको छ । पहिले जस्तो पैदल हिँडेर बजार जानु पर्दैन । गाडीमा जान आउन पाएपछि घरको काम गर्ने समय नै बचत भएको उनी बताउँछन् ।
स्थानीय स्वास्थ्य संस्थामा कार्यरत गुरूङले सडक सञ्जालले गाउँलेको जीवन फेरिएको बताए । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आसपासबाहेक इच्छाकामनाका अधिकांश भूगोल पहाडी क्षेत्रमा पर्दछ । यहाँ बहुसङ्ख्यक जनजाति बसोबास गर्दछन्, जसमा ३७ प्रतिशत चेपाङ छन् । कुल जनसङ्ख्याको ७५ प्रतिशत जनजातिको बसोबास छ ।
इच्छाकामना–२ का अध्यक्ष पञ्चबहादुर चेपाङ गाउँगाउँमा सडक, विद्युत्, खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम घटेको बताउँछन् । उनका अनुसार सडक सञ्जालले छोएसँगै यहाँ उत्पादित कृषिजन्य उत्पादन सहजै बजारसम्म पु¥याउन पाएका छन् ।
घरमै मोटरसाइकल पुग्ने भएपछि बजारमा काम गर्नेहरु पनि बिहान बेलुका घरबाटै धाउन थालेका छन् । गाउँपालिकाको पहाडी भू–भाग हुँदै शक्तिखोर–फिस्लिङ सडक बनेको छ । इच्छाकामना गाउँपालिका–२, ३ र ७ वडा हुँदै जाने सो सडक ३५ किलोमिटर लामो छ । यो सडकसँगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गसँग यहाँका भित्री सडक जोडिएका छन् ।
गाउँपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजनाका कारण सडक र पुल बनेपछि गाउँलाई सहरसँग जोड्न सकिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ बताउँछन् । इच्छाकामनामा मात्र तीन तहले बनाएका सडकको लम्बाइ ४०० किलोमिटरभन्दा बढी छ ।
उनले भने, ‘सबै टोलमा सडक पुगेको छ । जसले यहाँका नागरिकको जीवन फेरिएको छ । गाउँपालिकाले विकास बजेटको ४० प्रतिशतभन्दा बढी सडक र पुलमा खर्च गर्ने गर्छ’, गुरूङले भने, ‘सडक पुगेपछि बसाइँ सर्नेक्रम कम भएको छ ।’ यहाँबाट एक वर्षमा नौ करोड रुपैयाँ हाराहारीको सुन्तला बिक्री हुने गरेको उनले जानकारी दिए ।
गाउँपालिकाले तरकारी बोक्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सुन्तलाभन्दा बढी तरकारीबाट किसानले आम्दानी गर्ने गरेका छन् । खसी, बोका, कुखुरा मात्रै वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको बिक्री हुने गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सडक सञ्जालले इच्छाकामनाका सबै गाउँ छोएपछि यहाँको पर्यटकीय क्षेत्रको विकासमा पनि टेवा पुगेको बताउँछन् । धार्मिक मह¤व बोक्ने मठमन्दिर, मह¤वपूर्ण किल्ला उपरदाङगढी, जिल्लाकै सबैभन्दा अग्लो भू–भाग सिराइचुलीजस्ता क्षेत्रमा सडक सञ्जाल पुगेपछि आन्तरिक पर्यटक बढेको बस्नेत बताउँछन् ।
रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले तीन वर्षको अवधिमा गरेका काम र त्यसको उपलब्धि सार्वजनिक गरेको छ ।
संस्थाले मङ्गलबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०७९ भदौदेखि हालसम्म गरेका कार्यप्रगति सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष माधवप्रसाद अर्याल नेतृत्वको समितिले तीन वर्षको अवधिमा चार हजार उपभोक्ता थप गर्न सफल भएको छ भने ६४ किलोमिटर पाइपलाइन विस्तार गरी उपभोक्ताको घरघरमा पानी पुर्याएको छ ।
पानीको स्रोत संरक्षण तथा सुरक्षाको लागि ‘एक घर : एक पोखरी’, ‘एक घर : दुई विरुवा’ तथा ‘एक घर : एक घारा’ जडान गरिएको संस्थाका अध्यक्ष अर्यालले बताए । संस्थालाई बलियो बनाउन २०८० सालमा सौराहा–बछौली खानेपानी आयोजनालाई समायोजन गरिएको थियो ।
संस्था मर्ज गर्दा एउटा ओभरहेड ट्याङ्की र दुईवटा बोरिङसहित ७१३ उपभोक्ता, ५४ किलोमिटर पाइपलाइन थप तथा २८ लाख ३२ हजार रुपैयाँसमेत संस्थाको मातहतमा आएको अध्यक्ष अर्यालले बताए ।
सो संस्थाले मिटर ममर्तबापत १० रुपैयाँसहित र १२० रुपैयाँ न्यूनतम शुल्कबाट घटाएर ८० रुपैयाँ कायम गरेको छ । संस्थाले सामुदायिक विद्यालयलाई धारा जडानमा ५० प्रतिशत छूट, रातो कार्ड भएका अपाङ्ता भएकाहरुलाई निःशुल्क धारा जडान, किस्ताबन्दीमा धारा जडान गर्न सक्ने व्यवस्था गरेको छ । ९ हजार ५०० धारा जडान शुल्कबाट घटाएर ८ हजार ५०० कायम गरिएको छ ।
रत्ननगरका ८४ प्रतिशत घरधुरीमा पानी वितरण गर्दै आएको सो संस्थाले बाँकी रहेका ४ हजार ५०० बढी घरधुरीमा पानी पु¥याउन ३६ करोड रुपैयाँको सहलगानी आयोजनाअन्तर्गत दुईवटा ओभरहेड ट्याङ्कीलगायतका पूर्वाधार निर्माणको काम भइरहेको अध्यक्ष अर्यालले बताए ।
तेस्रो चरणको मर्मत सुधार कार्यक्रमअन्तर्गत दुई करोड ५४ लाख रुपैयाँ लगानीमा सुब्बाचोकमा एउटा बोरिङ, ३० वटा भल्ब चेम्बर, साढे १८ किलोमिटर पाइपलाइन विस्तार गरिएको संस्थाका सचिव प्रताप डल्लाकोटीले बताए । सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानीमा उक्त काम गरिएको उनले जानकारी दिए ।
संस्थाले बटुवाहरुको लागि सेवा क्षेत्रभित्रका १३ वटा चोकमा सार्वजनिक धारा सञ्चालन गरेको सचिव डल्लाकोटीले बताए । पानीको सुरक्षाको लागि सो संस्थाले घरघरमा रिचार्ज पिट निर्माण गरिरहेको छ । उपभोक्ताको ५० प्रतिशत र संस्थाको ५० प्रतिशत लगानीमा रिचार्ज पिट निर्माणको काम भइरहेको संस्थाकी कोषाध्यक्ष सरस्वती लामाले जानकारी दिइन् ।
घरमा खेर जाने पानीको सुरक्षा गरी जमिनमुनि पानीको रिचार्ज गर्नका लागि रिचार्ज पिट निर्माण सुरू गरेको भन्दै उनले हालसम्म १०२ घरधुरीमा पिट निर्माण भइसकेको जानकारी दिइन् । पानीको सुरक्षाको लागि सो संस्थाले उपभोक्तहरुलाई २५ हजार विरुवा वितरण गरेको उनले बताइन् ।
संस्थाले अपेक्षाकृत आर्थिक उपलब्धिसमेत हासिल गरेको पाइएको छ । चालु आर्थिक वर्षको चैत १५ गतेसम्म आठ करोड ९३ लाख ३५ हजार ०३२.४९ रुपैयाँ बैंकमा बचत रहेको रहेको लामाले बताइन् । २०५८ सालमा स्थापना भएको सो संस्थामा हाल १५ हजार ३०० उपभोक्ता रहेका छन् । २०७९ भदौमा सर्वसम्मत भएको सो संस्थाको यही चैत २८ गते साधारण सभा तथा अधिवेशन हुँदैछ ।
अधिवेशनले आगामी तीनवर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । १५ उपभोक्ताबराबर एक पार्षद चुनिएकाहरुबाट कार्यसमिति र लेखा समिति चयन गर्ने विगतको परम्परालाई तोड्दै यसपटक सबै उपभोक्ताले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि संस्थाको विधान संशोधनसमेत गरिएको छ ।
चितवन । रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क शिक्षा दिन लागिएको हो ।
नगरपालिकाका प्रमुख प्रलाद सापकोटाका अनुसार विद्यालयलाई अपुग रकम नगरपालिकाले उपलब्ध गराएर निःशुल्क शिक्षा दिन लागिएको हो ।
नगरपालिकाले माध्यमिक तह निःशुल्क शिक्षा कार्यान्वयन गर्न सुझाव समिति बनाएर अध्ययन गरेको थियो । समितिले दिएको प्रतिवेदनअनुसार नगरपालिकाले अहिलेको विद्यार्थी सङ्ख्यालाई आधार मानेर निःशुल्क गर्दा वार्षिक रु दुई करोड ४० लाख हाराहारी थप खर्च हुने जनाएको छ ।
प्रमुख सापकोटाका अनुसार निःशुल्क शिक्षाको व्यवस्था गर्दा एक विद्यार्थीलाई थप रु दुई हजार ५०० हाराहारी खर्च हुने प्रारम्भिक अनुमान छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि यो खर्च थप गर्न लागिएको हो । यसअघिनै आधारभूत तहमा निःशुल्क गरिएको थियो ।
शिक्षक र कर्मचारीको तलबबाहेक विद्यालय सञ्चालनका लागि वार्षिक रु दुई करोड ४० लाख खर्च लाग्ने समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । यस नगरपालिकामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दुई हजार १६७ रहेको छ । विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिने गरी निःशुल्क शिक्षा घोषणा गर्न लागिएको हो ।
समितिका संयोजक जगन्नाथ अधिकारीले अझै थप छलफल गर्न लागिएको बताए । सबै विद्यालयका प्रध्यानाध्यापकसँग छलफल गरि एक विद्यालयलाई आवश्यक पर्ने थप रकम के कति हो सङ्कलन गरी नगरपालिकाले थप गर्नुपर्ने रकमको टुङ्गो लगाइने छ । उनका अनुसार केही रकम बढ्न सक्ने देखिन्छ ।
नगरपालिकामा कक्षा ९ देखि १२ सम्मका २७ विद्यालय छन् । हाल विद्यालयहरुले भर्ना शुल्क, परीक्षा शुल्क र अतिरिक्त कक्षाका लागि आवश्यक पर्ने खर्च विद्यार्थीबाट लिँदै आएका छन् । माध्यमिक तहमा निः शुल्क शिक्षाको व्यवस्था गर्दा १५ थप शिक्षक आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । ती शिक्षकको पारिश्रमिक नगरपालिकाले दिनुपर्ने हुन्छ ।
माध्यमिक तहमा स्थानीय सरकारले कार्यविधि बनाएर निःशुल्क घोषणा गर्न पाउने संविधानमा उल्लेख भएअनुसार रत्ननगर नगरपालिकाले संविधानको धारामा टेकेर निःशुल्क शिक्षा लागू गर्न लागेको हो ।
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके समाजमा रहेको गरिबी उन्मूलन गर्न सकिने बताएका छन् ।
चितवनमा आयोजित ६९औँ सहकारी दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले सहकारीले समाजमा रहेका दुःखी, गरिबको साहरा बनेर काम गरेको र अझै गर्नुपर्ने बताए ।
उनले भने, “सहकारी बलियो बन्यो भनेमात्र देशको अर्थतन्त्र बलियो बन्दै दुःखी गरिबको सहारा बन्ने छ ।” जिल्ला सहकारी सङ्घले आयोजना गरेको सो कार्यक्रममा उनले आगामी दिनमा सहकारीलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको बताए । नेपालमा पहिलोपटक सहकारी स्थापना गरी देशको समृद्धिको यात्रा सुरु गरेको चितवनले अझै यसलाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले सहकारी बलियो भयो भनेमात्र देशको समृद्धि हुने बताए । समाजको विकासका लागि सहकारी आवश्यक छ । चितवनलाई सहकारीको उद्गम थलोका रूपमा विकास गर्दै अझै सशक्त बनाउन आवश्यक रहेको उनले बताए ।
भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले समाजको आर्थिक मेरुदण्डका रूपमा सहकारी अघि बढेको बताए । बखानसिंह गुरुङको सोच अहिले देशभरि फैलिएको भन्दै यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
सहकारी सङ्घ चितवनका अध्यक्ष शरदकुमार बर्तौलाले सहकारी संस्थाहरू कमजोर बन्न नदिनका लागि तीनै तहका सरकारहरू एक भएर लाग्न आवश्यक रहेको बताए । चितवनलाई सहकारीको जननिका रूपमा लिइँदै आइएको छ । कार्यक्रमअघि दिवसका अवसरमा प्रभातफेरी पनि गरिएको थियो ।
रत्ननगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गरेको छ । सो नतिजाअनुसार चितवन जिल्लाका सातवटा पालिकामध्ये रत्ननगर नगरपालिकाले सबैभन्दा उच्च अङ्क प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ ।
मूल्याङ्कनअनुसार रत्ननगर नगरपालिकाले ७६.२२ अङ्क ल्याएर पहिलो स्थान प्राप्त गरेको हो भने इच्छाकामना गाउँपालिकाले ७४.३२ अङ्कसहित दोस्रो स्थान र भरतपुर महानगरपालिकाले ६८.०२ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । चितवनका अन्य पालिकाहरूमा माडी नगरपालिकाले ६७.१०, खैरहनी नगरपालिकाले ६५.०९, कालिका नगरपालिकाले ६४.५० र राप्ती नगरपालिकाले ३६.२० अङ्क प्राप्त गरेका छन् ।
आयोगले स्थानीय तहको प्रशासनिक, वित्तीय र सामाजिक कार्यसम्पादन मापन गर्न १७ वटा मुख्य सूचकहरू निर्धारण गरेको थियो । यी सूचकहरूमा बजेट तर्जुमा तथा पारित, राजस्व परिचालन, खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, ‘सूत्र’ प्रणालीको प्रयोग, आवधिक योजना, शिक्षा (भर्ना दर, टिकाउ दर, जिपिए), स्वास्थ्य (गर्भ जाँच, संस्थागत सुत्केरी, खोप) र अनलाइन पोर्टलमा विवरण प्रविष्टिजस्ता विषय समावेश थिए ।
रत्ननगर नगरपालिका प्रथम भएपछि नगर प्रमुख प्रलाद सापकोटाले यो उपलब्धिलाई सम्पूर्ण नगरवासीहरूको साथ, सहयोग र कर्मचारीहरूको मेहनत, समर्पण तथा निरन्तरको प्रयासको परिणाम भएको बताएका छन् ।
‘हामीले प्रशासनिक पारदर्शिता, वित्तीय अनुशासन, राजस्व परिचालन, शिक्षा, स्वास्थ्य र योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेका छौँ’, उनले भने, ‘यो नतिजाले हामीलाई थप जिम्मेवार र जवाफदेही बनाएको छ । अब हामी अझ राम्रो सेवा प्रवाह, विकास निर्माण, सुशासन र नागरिकमुखी कामहरूलाई प्राथमिकता दिँदै रत्ननगरलाई नमुना नगर बनाउने छौँ ।’
भरतपुर । साहित्य संगम चितवनले वसन्त पराजुलीको कृति ‘बखान’लाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । साहित्य सङ्गम चितवनका अध्यक्ष शशिकिरण रेग्मीले पराजुलीको कृति ‘बखान’लाई २० हजार राशिको पुरस्कार शनिबार प्रदान गरेको बताए ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्षसमेत रहेका लेखक पराजुलीले प्राप्त पुरस्कारबाट लेखनमा थप ऊर्जा मिलेको बताए । बखानमा स्वर्गीय बखानसिंह गुरूङको जीवनीलाई आख्यानमा ढाल्ने प्रयास गरिएको छ । उपन्यासमा समावेश ७० प्रतिशत विषयवस्तु चितवनको इतिहास र माटोसँग जोडिएको छ ।
लेखक एवम् कम्युनिस्ट नेता अनिल शर्मा ‘विरही’ले नेपाली साहित्यको बजारमा ‘बखान’मार्फत एउटा ऐतिहासिक इँटा थप्ने काम भएको बताए ।
प्राडा कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यको सुन्दर सङ्गम प्रस्तुत गर्न लेखक सफल भएको बताए ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले चितवनबाटै देशलाई चिनाउने कृति बजारमा आउनुले चितवनको साहित्यलाई थप उर्वर बनाएको बताए । कार्यक्रममा समीक्षक एवम् लेखक उदय अधिकारी, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्य प्रकाश चापागाईंलगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।
साहित्य सङ्गम चितवनले २०६६ सालबाट प्रदान गर्दै आएको पुरस्कार १४ जनालाई प्रदान गरिसकेको साहित्य सङ्गम चितवनकी उपाध्यक्ष विद्या भण्डारी ‘चिराग’ले बताइन् ।
चितवन । प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि विचारहरु गाउँसम्म पु¥याउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज चितवनको २७औँ साधारणसभा तथा ११औँ अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि दल र आमनागरिकमा यसको भाष्य के हो भनेर बुझाउन आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देश र जनताले प्राप्त गरेको अधिकारको रक्षा गर्ने समय आएको बताए । जनताले प्राप्त गरेको अधिकार रक्षाका लागि आफ्ना विचारहरु गाउँसम्म पु¥याएर जनतालाई बुझाउन आवश्यक रहेको बताए । उनले भने, “राज्य सत्ता कहिले काँही निरंकुश बन्न सक्छ । त्यसको विषयमा आमजनतालाई बुझाउन आवश्यक छ ।”
समाजका पूर्वअध्यक्ष केदारनरसिंह केसीले आमजनताले लोकतन्त्रको महसुस हुने गरी यसको अर्थ जनतामा बुझाउन आवश्यक रहेको बताए । आमजनताको अधिकार रक्षाका लागि प्रजातान्त्रिक विचार समाजले आफ्नो सन्देश गाउँसम्म पुर्याउन आवश्यक रहेको उनको भनाइ थियो । ज्ञान र विचारको पुञ्जको रुपमा समाजमा सकारात्मक भूमिका खेल्न यो समाज सक्रिय हुन आवश्यक रहेको उनको बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वप्रमुख दयाराम पौडेल, नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाले समाजमा प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि आवश्यक सन्देश प्रवाह गर्न समाजको महत्त्वपूर्ण भूमिका रहने बताइन् । देशमा जब समस्या पर्छ त्यो समयमा शिक्षित वर्ग एक भएर लाग्न आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव विकास पौडेल, कोषाध्यक्ष सुनिता सडौलाले क्रमश साङ्गठनिक र आर्थिक प्रतिवेदन पेस गरेका थिए





