२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

रत्ननगर । रत्ननगरका उद्योगी व्यवसायीहरुले मुलुकको व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा निजी क्षेत्र निसानामा पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले परिर्वतनको नाममा भएको जेनजी आन्दोलनमा समेत निजी क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै मुलुकमा लगानीको वातावरण नरहेको बताएका हुन् ।

रत्ननगर उद्योग वाणिज्य संघको २६औँ वार्षिक साधारण सभामा बोल्दै अगुवा व्यवसायीहरुले व्यवस्था परिवर्तनका नाममा हुने साना–ठूला आन्दोलनमा निजी क्षेत्र आक्रमणको सिकार बन्ने गरेको बताए । परिवर्तनको नाममा भएको जेनजी आन्दोलनमा समेत निजी क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै उनीहरुले मुलुकमा लगानीको वातावरण नरहेको बताए ।

कार्यक्रमका प्रमुखअतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा निजी क्षेत्र सधैँ निसानामा पर्ने गरेको बताए । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको भन्दै उनले जेनजी आन्दोलनले पनि निजी क्षेत्रलाई क्षति गरेको बताए । देशमा विद्यमान अनिश्चितता चिर्न निजी क्षेत्र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

महासंघका उपाध्यक्ष सुरजकृष्ण बैद्यले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले निजी क्षेत्र निराश रहेको भन्दै थप लगानीको वातावरणको सम्भावना हराउँदै गएको बताए । सरकारले लगानी सुरक्षाको ग्यारेन्टी गर्न नसकेको भन्दै उनले राज्यले कर लिएअनुसार दायित्व पूरा गर्न नसकेको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उच्च मनोबलका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्दै सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने बताए । जेनजी आन्दोलन मानवसिर्जित विपत्ति रहेको भन्दै उनले यसको असर धेरै समय नरहने बताए । ‘हामी सुरक्षा दिन तयार छौँ’, उनले भने, ‘तपाईंहरु उच्च मनोबलका साथ व्यवसाय अगाडि बढाउनुस् ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघले व्यावसायिक सुरक्षा, पर्यटन विकास, कर प्रणालीमा सुधार र पूर्वाधार निर्माणमा लगानीलाई केन्द्रित गरी विभिन्न मागहरु गरेको छ । संघका अध्यक्ष शंकर गिरीले सुरक्षा र स्थिरताको ग्यारेन्टी, कर प्रणालीको सरलीकरण, पूर्वाधारमा लगानी पर्यटन प्रवद्र्धन र सुरक्षामा जोड, वित्तीय राहत र सहयोगका लागि सरकारसँग माग गरिएको बताए ।

संघले चितवनको पर्यटकीय नगरी सौराहा र समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणा, सौराहामा एक साधनस्रोतसम्पन्न पर्यटन प्रहरी वृत्त स्थापना, पर्यटन तेस्रो प्रमुख सेवा उद्योगमा पर्ने भएकाले पर्यटन व्यवसायलाई उद्योगसरह मान्यता प्रदान गर्न तथा पर्यटन क्षेत्रको विविधीकरण र विस्तारका लागि विज्ञहरु नियुक्त गरी दिगो पर्यटकीय क्षेत्र विकाससँगै विस्तारका लागि आवश्यक नीति, कार्यक्रम र कानुन तर्जुमा गर्नुपर्ने माग गरेको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको अग्रसरतामा स्थापना भएको बकुलहर रत्ननगर अस्पताल प्रादेशिक अस्पतालमा दैनिक एक हजार ५०० भन्दा वढी बिरामीको चाप रहेको भन्दै संघले उक्त अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, कर्मचारी र आवश्यक उपकरणहरुको पर्याप्त व्यवस्थापन गर्न माग गरेको छ ।

चितवनको प्रमुख उद्योगको रुपमा रहेकोे माछा, केरा, पोल्ट्री, मह, च्याउ, दुग्ध, तरकारीको उत्पादन र बजार प्रवद्र्धनका लागि सरकारबाट कृषि, सडक तथा सिंचाइ पूर्वाधारका साथै बजार पूर्वाधार र सूचना प्रविधि विकासमा सहुलियत ऋण उपलब्ध गराउन, भारततर्फबाट हुने अवैध कृषि पैठारीमा कडाइ, क्वारेन्टाइन तथा विषादी परीक्षणको व्यवस्था गर्न, खाद्य स्वच्छता मापदण्ड निर्धारण गर्न र कृषि बिमामा सहुलियतका कार्यक्रमहरु अगाडि बढाउन माग गरिएको संघका अध्यक्ष गिरीले बताए ।

कार्यक्रममा संघका महासचिव उपेन्द्र शर्मा आचार्यले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विनोद घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, लेखनाथ उद्योग वाणिव्य संघकी अध्यक्ष जानुका पराजुलीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संघका महासचिव आचार्यले सञ्चालन गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।