
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, गाईघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार बिहान ७ः३० बजे उक्त दुर्घटना भएको हो । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेसनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीततर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना ७ ख ९६०७ नम्बरको टेलर, टेलरपछाडि बागमती प्रदेश ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, माइक्रोपछाडि ग २ ख १६२६ नम्बरको बस, बसपछाडि ना३च ३२५६ नम्बरको बलेरो र बलेरोपछाडि बिएबी ८४७० नम्बरको कार लहरैसँग ठोक्कएका हुन् ।
सवारी साधनहरू ठक्कर खाँदा घाइते भएकामध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेज (सिएमसी)मा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा जिप्रका चितवनबाट प्रहरी निरीक्षक लक्ष्मण केसीसहितको टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
माडी । माडी नगरपालिका वडा नं–२, लौगाईस्थित कल्बटको ओराला मोटरसाइकल पल्टिँदा चालक घाइते भएका छन् ।
भरतपुरबाट इनारबरुवातर्फ जाँदै गरेको बा ८३ प ७४३२ नम्बरको मोटरसाइकलका चालक माडी–३, इनारबरुवा बस्ने ३८ वर्षीय विनोद अर्याल घाइते भएका हुन् ।
घाइतेको बघौडा अस्पतालमा उपचार भइरहेकोमा थप उपचारको लागि भरतपुर रिफर गरिएको र उपचारमा निजका बुबा संलग्न रहेको प्रहरीले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१६, हात्तीगाडेस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जुटपानीबाट दोबाटोतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ३३२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक खैरहनी–२ बस्ने ४७ वर्षीय रामलाल दराई र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने ५३ वर्षीय केदार शिवाकोटी घाइते भएका हुन् ।
दुवै घाइतेको बकलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको अस्थायी प्रहरी पोस्ट पिठुवाले जनाएको छ ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१०, त्रिनेत्र पेट्रोल पम्पअगाडि पूर्व–पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको बा १५ च ८५४ नम्बरको बलेरोले विपरीत दिशातर्फ जाँदै गरेको ना ४४ प ३०९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर–२६ बस्ने ३१ वर्षीय सुशील रिमाल घाइते भएका हुन् ।
टाउको र अनुहारको भागमा चोट लागी गम्भीर घाइते रिमालको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र बलेरो चालक राप्ती–३ बस्ने २६ वर्षीय आकाश मुक्तान जिप्रका चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
राप्ती । राप्ती नगरपालिका वडा नं–६, हर्दीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु भएको छ ।
असोज २१ गते भण्डारादेखि खुरखुरेमा मधेश प्रदेश ०३–०२६ प ७ नम्बरको मोटरसाइकलको ठक्करबाट खैरहनी–९ बस्ने ७५ वर्षीय रामेश्वर चौधरी घाइते भएका थिए । घाइते चौधरीको एलाइभ हस्पिटल भरतपुरमा उपचारपश्चात् घरमा लगिएकोमा असोज ३० गते राति ११ः०० बजेको समयमा मृत्यु भएको हो ।
मृतकको शव भरतपुर अस्पतालमा पोस्ट मार्टमपश्चात् मृतकका छोराले बुझिलगेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका वडा नं–१६ बस्ने २९ वर्षीय आयुष दुवेको एलाइभ हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




