चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योग करिब १० महिनापछि पुनः सञ्चालनमा आएको छ । कात्तिक लागेसँगै बिदाका दिनबाहेक नियमितरूपमा दूध आपूर्ति हुन थालेपछि उद्योगले पुनः प्रशोधन कार्य सुरू गरेको हो ।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिकरूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति उल्लेख्य रूपमा बढेको छ । हाल उद्योगमा दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको छ । अघिल्ला वर्षहरूमा भने दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको उनले जानकारी दिए ।
गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यसवर्ष भने भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध बन्द भएपछि आपूर्तिमा समस्या देखिएको प्रबन्धक पराजुली बताउँछन् । साथै, सहकारी र डेरीहरूले संकलित दूध प्रत्यक्ष बिक्री गर्न पाउने अवस्था बनेपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाड्दा पनि उद्योगमा दूधको मात्रा घटेको थियो ।
किसानबाट संकलित दूध बजारमा बिक्री नभएपछि सहकारी र डेरीहरूले बाँकी रहेको दूध उद्योगमा ल्याएर धुलो दूध र नौनी उत्पादन गराउँदै आएका छन् । दूधको आपूर्ति रोकिएपछि उद्योगले आफैँ दूध खरिद गरी सञ्चालन गर्ने तयारी गरेको भए पनि पर्याप्त दूध उपलब्ध नभएकाले योजना कार्यान्वयन हुन नसकेको पराजुलीले बताए ।
हाल चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध उद्योगमा आउन थालेको छ। गत वर्ष बिक्री नभएर थन्किएका नौनी, घ्यू र धुलो दूध डेरी तथा सहकारीहरूले लगेपछि उद्योगका भण्डारणस्थल पनि खाली भएका छन् । यसअघि ती उत्पादनले गोदाम भरिएको अवस्था थियो ।
भरतपुर महानगरपालिका–१, ठिमुरामा रहेको उद्योगले विसं २०७५ यता डेरी तथा सहकारी संस्थाहरूबाट संकलित दूध प्रशोधन गर्दै आएको छ । उद्योगले धुलो दूध उत्पादनका लागि प्रतिलिटर ११.३० रुपैयाँ र नौनी प्रशोधनका लागि प्रतिकिलो ५५ रुपैयाँ शुल्क लिने गरेको जनाएको छ ।
विसं २०६४ मा स्थापना भएको चितवन मिल्क उद्योग विसं २०७२ को भूकम्पपछि केही समय बन्द भएको थियो । उद्योग सञ्चालनका प्रारम्भिक वर्षहरूमा भने आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने गरेको प्रबन्धक पराजुलीले जानकारी दिए ।








