२०८३ मंसिर ३ बुधबार
२०८३ मंसिर ३ बुधबार

भरतपुर । सौराहामा हात्ती सफारी गर्ने पर्यटकको संख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ । कोभिडपछि हात्ती चढ्न आउने पर्यटकको संख्या यसवर्ष बढी भएको पर्यटन व्यवसायीले जनाएका छन् ।

सौराहा आएका पर्यटक हात्ती चढेर बाघमारा, चित्रसेन र कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन् । हात्तीबाट पर्यटकले दुर्लभ एक सिंगे गैँडा, पाटेबाघ जस्ता वन्यजन्तु हेरेर रमाउने गर्दछन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यस वर्ष एउटा हात्तीले दैनिक सरदर दुई पटक निकुञ्ज घुमाएको बताए । उनले भने, ‘कोभिडपछि सबैभन्दा बढी हात्ती चढ्न आएका पर्यटकको संख्या यसै वर्ष हो ।’

चाडपर्वमा हुने बिदामा एकै दिन एउटा हात्तीले चार पटक पर्यटक घुमाउँदा पनि यहाँ आएका सबैले घुम्न नपाएका खतिवडाले बताए । पालो कुरेर पर्यटकले सफारी गरिरहेका उनको भनाइ छ । उनका अनुसार सहकारीअन्तर्गत २७ वटा हात्ती छन् ।

पछिल्लो समय हात्तीको संख्या घटेको बताउँदै सञ्चालन खतिवडाले सफारी गर्ने पर्यटक भने बढ्दै गएका जानकारी दिए । गत आर्थिक वर्षमा सरदर पर्यटक हात्ती चढेको संख्या एक दशमलव पाँच पटक भएको उनले जानकारी दिए । उनले भने, ‘समग्रमा सौराहा आउने पर्यटक बढेकाले हात्ती सफारी गर्नेको संख्या पनि बढेको हो ।’

क्षेत्रीय होटल संघ चितवनका वरिष्ठ उपाध्यक्ष गुणराज थपलियाले करिब एक सातायता सौराहा विदेशी र आन्तरिक पर्यटकले भरिएको बताए । उनका अनुसार तिहारको लामो बिदा भएकाले आन्तरिक पर्यटकको संख्या पनि बढेको हो । उनले भने, ‘एक सातायता कोठा खोज्नेहरू सबैलाई पु¥याउन सकिएको छैन ।’ सौराहाका अधिकांश होटल भरिएका उनले जानकारी दिए ।

चाडपर्वको बिदामा विदेशबाट नेपाल आएकाहरू परिवारसहित पर्यटकीय गन्तव्यमा धेरै घुम्न जाने भएकाले आगन्तुकको संख्या बढेको संघका वरिष्ठ उपाध्यक्ष थपलियाले बताए ।

‘योसँगै नेपालमा रहेकाहरू पनि पारिवारिक घुमफिर गर्न रुचाउँछन् । यतिबेला यहाँको वातावरण रमाइलो भएकाले पर्यटक घुम्न आउन रुचाउँछन् । सफारी पर्यटकका लागि नेपालको प्रमुख गन्तव्यका रूपमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनलाई लिने गरिन्छ’, उनले भने ।

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योग करिब १० महिनापछि पुनः सञ्चालनमा आएको छ । कात्तिक लागेसँगै बिदाका दिनबाहेक नियमितरूपमा दूध आपूर्ति हुन थालेपछि उद्योगले पुनः प्रशोधन कार्य सुरू गरेको हो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिकरूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति उल्लेख्य रूपमा बढेको छ । हाल उद्योगमा दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको छ । अघिल्ला वर्षहरूमा भने दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको उनले जानकारी दिए ।

गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यसवर्ष भने भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध बन्द भएपछि आपूर्तिमा समस्या देखिएको प्रबन्धक पराजुली बताउँछन् । साथै, सहकारी र डेरीहरूले संकलित दूध प्रत्यक्ष बिक्री गर्न पाउने अवस्था बनेपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाड्दा पनि उद्योगमा दूधको मात्रा घटेको थियो ।

किसानबाट संकलित दूध बजारमा बिक्री नभएपछि सहकारी र डेरीहरूले बाँकी रहेको दूध उद्योगमा ल्याएर धुलो दूध र नौनी उत्पादन गराउँदै आएका छन् । दूधको आपूर्ति रोकिएपछि उद्योगले आफैँ दूध खरिद गरी सञ्चालन गर्ने तयारी गरेको भए पनि पर्याप्त दूध उपलब्ध नभएकाले योजना कार्यान्वयन हुन नसकेको पराजुलीले बताए ।

हाल चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध उद्योगमा आउन थालेको छ। गत वर्ष बिक्री नभएर थन्किएका नौनी, घ्यू र धुलो दूध डेरी तथा सहकारीहरूले लगेपछि उद्योगका भण्डारणस्थल पनि खाली भएका छन् । यसअघि ती उत्पादनले गोदाम भरिएको अवस्था थियो ।

भरतपुर महानगरपालिका–१, ठिमुरामा रहेको उद्योगले विसं २०७५ यता डेरी तथा सहकारी संस्थाहरूबाट संकलित दूध प्रशोधन गर्दै आएको छ । उद्योगले धुलो दूध उत्पादनका लागि प्रतिलिटर ११.३० रुपैयाँ र नौनी प्रशोधनका लागि प्रतिकिलो ५५ रुपैयाँ शुल्क लिने गरेको जनाएको छ ।

विसं २०६४ मा स्थापना भएको चितवन मिल्क उद्योग विसं २०७२ को भूकम्पपछि केही समय बन्द भएको थियो । उद्योग सञ्चालनका प्रारम्भिक वर्षहरूमा भने आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने गरेको प्रबन्धक पराजुलीले जानकारी दिए ।

भरतपुर । चितवन जिल्लामा यसवर्षको दसैँ–तिहारको अवधिमा सडक दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण भएको छ भने ट्राफिक कारबाही र राजस्व संकलनमा वृद्धि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना संकलन बढेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८३/०८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् ।

कार्यालयका अनुसार सडक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि गरिएको ट्राफिक कारबाही तथा जरिवाना संकलनमा भने उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट रु नौ लाख २४ हजार ५३१ जरिवाना संकलन भएको थियो ।

चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको संख्या बढेर एक हजार ८६१ पुगेको छ । यसबाट रु १७ लाख ७२ हजार ५०० राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ । गत आर्थिक वर्षमा ६९ वटा मापसे कारबाहीबाट रु ३७ हजार राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट रु ३० हजार संकलन भएको छ ।

यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकामा यस वर्ष २४ वटा कारबाही भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले अनुसार चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक चेकजाँच, नियम उल्लंघन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए ।

उनले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरे । सुरक्षित यात्रालाई प्राथमिकता दिन पनि उहाँले चालक तथा यात्रुलाई अनुरोध गरे ।

चितवन । उत्पादन लागत निरन्तर बढ्दै जाँदा पनि दूधको मूल्य चार वर्षदेखि पुनरावलोकन नभएको भन्दै चितवनका दुग्ध किसानले आन्दोलनको चेतावनी दिएका छन् ।

मूल्य समायोजनमा राज्यले चासो नदिए पुनः सडक आन्दोलनमा उत्रिने र आवश्यक परे दूध सडकमै बगाउनेसम्मका कार्यक्रम गर्न बाध्य हुने उनीहरूको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले भरतपुरमा पत्रकार सम्मेलन गर्दै दूध उत्पादनको लागत अस्वाभाविक रूपमा बढे पनि किसानले उचित मूल्य नपाएको जनाएको हो । संघका अध्यक्ष किशोर बगालेले हालको मूल्यमा किसानको लगानीसमेत सुरक्षित हुन नसकेको बताए ।

उनका अनुसार चार वर्षअघि प्रतिलिटर दूध उत्पादन गर्न ४५ देखि ४६ रुपैयाँ लागत पर्ने अवस्था रहेकामा अहिले त्यो बढेर ५५ देखि ६० रुपैयाँसम्म पुगेको छ । तर, यस अवधिमा दूधको मूल्य भने समायोजन हुन सकेको छैन । ‘दाना, चोकर, औषधि, श्रम र यातायात सबैको मूल्य बढेको छ, तर दूधको मूल्य पुरानै ढङ्गले कायम छ’, उनले भने, ‘उत्पादन लागत र बिक्री मूल्यबीचको अन्तरले किसान निराश बनिरहेका छन् ।’

विसं २०७६ सालमा चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । जिल्लामा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । किसानको बढ्दो आकर्षण र बजारको सम्भावनालाई हेर्दा उत्पादन अझ विस्तार गर्ने लक्ष्य भए पनि मूल्यसम्बन्धी अन्योलले दुग्ध व्यवसाय नै संकटतर्फ धकेलिन थालेको किसानहरूको भनाइ छ ।

अध्यक्ष बगालेका अनुसार चितवनमा उत्पादन हुने दूधमध्ये करिब ४५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ भने बाँकी अन्य जिल्लामा पठाउने गरिन्छ । अहिले बजार र भुक्तानीको समस्या नरहे पनि मूल्य समायोजन नहुँदा किसान आर्थिक दबाबमा परेको उनले बताए ।

चितवनका दुग्ध किसानले यसअघि पनि आन्दोलन गरेका थिए । विसं २०८० फागुन ६ गते दूधको भुक्तानी समस्या समाधानको माग गर्दै किसानहरूले भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए । अहिले भुक्तानी समस्या समाधान भए पनि मूल्य वृद्धि नहुँदा फेरि आन्दोलनको अवस्था सिर्जना भएको संघको दाबी छ ।

संघका सचिव कल्याण अधिकारीले सरकारले निर्धारण गरेको नीतिअनुसार निश्चित अवधिमा दूधको मूल्य पुनरावलोकन हुनुपर्ने भए पनि वर्षौंदेखि त्यसतर्फ बेवास्ता गरिएको बताए । ‘हामीले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझायौं, छलफल ग¥यौं र ध्यानाकर्षण पनि गरायौँ’, उनले भने, ‘अब पनि माग सम्बोधन नभए किसान सडकमा उत्रिन बाध्य हुनेछन् ।’

उनले एक साताभित्र समस्या समाधानका लागि पहल नभए जिल्लाभरका किसानलाई आन्दोलनमा उतारिने चेतावनी दिए। आवश्यकता परे गाईभैँसीसहित प्रदर्शन गर्ने, दूध बगाउने तथा अन्य दबाबमूलक कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११४ सहकारीमार्फत ४० हजारभन्दा बढी किसान दुग्ध उत्पादनमा संलग्न रहेको बताइएको छ । संघका अनुसार जिल्लामा करिब एक लाख गाई र ७० हजार हाराहारी भैँसीबाट व्यावसायिक रूपमा दूध उत्पादन हुँदै आएको छ ।

किसानहरूले उत्पादन लागत र बजार मूल्यबीचको बढ्दो असन्तुलन तत्काल समाधान गरी दूधको उचित मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । मूल्य समायोजनमा ढिलाइ भए दुग्ध व्यवसायबाट किसान पलायन हुने जोखिमसमेत बढ्न सक्ने किसानहरुले बताएका छन् ।

भरतपुर । चाडपर्व सकिएसँगै भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । दसैँतिहार र छठ पर्वमा लामो बिदा र चाडपर्वका बेला खानपानको शैलीमा हुने परिवर्तनका कारण नियमित स्वास्थ्य जाँच गराउने तथा औषधि सेवन गर्ने बिरामीहरूको चाप बढेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले जानकारी दिए ।

डा. बगालेका अनसार असार, साउन, भदौ र असोज महिनाको अन्त्यसम्म अस्पतालमा अत्यधिक बिरामीको चाप हुने गर्छ । अस्पतालमा दैनिक औसत तीन हजारदेखि तीन हजार ५०० जना नयाँ बिरामी आउने गर्छन् ।

विशेषगरी, बिहान ९ः०० बजेदेखि २ः०० बजे सम्मको समय अवधिमा अत्यधिक भिडभाड हुने उनको भनाइ छ । सो अस्पतालमा मुख्य सिजनमा दैनिक तीन हजार ८०० जनासम्म बिरामी आएको रेकर्ड छ भने मङ्गलबार पनि सोही अनुपातमा सेवाग्राहीहरूको उपस्थिति रहेको उनले बताए ।

बिरामीको चाप वृद्धि भएसँगै अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय चुनौती थपिएको उनको अनुभव छ । उनी भन्छन्, ‘मन्त्रिपरिषद्बाट अस्पताल ५०० बेडको लागि स्वीकृत भए पनि सोहीअनुसारको दरबन्दी अझै प्राप्त हुन सकेको छैन । अस्पतालमा चिकित्सकसहित कुल १७५ जनाको मात्रै स्थायी दरबन्दी छ ।’

मन्त्रिपरिषद्बाट ५०० बेडको स्वीकृति आएको तीन वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी सिर्जना नहुँदा बाँकी जनशक्ति अस्पताल विकास समितिमार्फत व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । हाल ५०० बेडको स्वीकृतिप्राप्त अस्पताल भए पनि संरचनागत रूपमा भने १०० बेडको मात्र दरबन्दी सञ्चालनमा रहेको र त्यसमा पनि जनशक्ति पर्याप्त नभएको डा. बगालेले गुनासो गरे ।

अस्पतालमा हुने अत्यधिक भीडभाडलाई न्यूनीकरण गर्न र बिरामीको स्वास्थ्य सेवा सहज सहज बनाउन प्रविधिको प्रयोगलाई व्यापक बनाइएको छ । मेसु डा. बगालेले नेपालमै सबैभन्दा बढी अनलाइन टिकट काट्ने अस्पतालका रूपमा भरतपुर अस्पताल रहेको दाबी गरे ।

दैनिक ३०० देखि ४०० जनासम्मले अनलाइनमार्फत टिकट लिने तथा भुक्तानी गर्ने गरेको र जसका कारण सेवाग्राहीलाई लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । बिरामीले आफ्नो रिपोर्ट मोबाइलबाटै हेर्न र मेसिनमार्फत प्रिन्ट लिन सक्ने सुविधा भएकाले बिरामीको चाप बढे पनि व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ ।

चितवन । हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सोमबार नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको छ।

मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेर पुनः फर्किएको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले बताए। ‘देशका विभिन्न स्थानको यात्रा गर्दै मेची र महाकालीको जल ल्याएका छौँ। उक्त जल गण्डकीमा अर्पण गर्नेछौँ’, प्रवक्ता प्रपन्नाचार्य भने। उनका अनुसार रथयात्राको स्वागत तथा दर्शनका लागि स्थानीय भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो।

रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने महायज्ञ सुरु हुँदैछ। महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गरिने प्रवक्ता प्रपन्नाचार्यले जानकारी दिए।

कलश यात्रा गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी यज्ञस्थलमा पुग्नेछ। त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ। बिहान ११:३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गरिने कार्यक्रम रहेको उनले बताए।

मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यले एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान गरिने बताए। ‘प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिका लागि पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको हो’, उनले भने। उनले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गरे।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।