२०८३ मंसिर ३ बुधबार
२०८३ मंसिर ३ बुधबार

दूधको मूल्य नबढे आन्दोलनमा उत्रिने दुग्ध किसानको चेतावनी

चितवन । उत्पादन लागत निरन्तर बढ्दै जाँदा पनि दूधको मूल्य चार वर्षदेखि पुनरावलोकन नभएको भन्दै चितवनका दुग्ध किसानले आन्दोलनको चेतावनी दिएका छन् ।

मूल्य समायोजनमा राज्यले चासो नदिए पुनः सडक आन्दोलनमा उत्रिने र आवश्यक परे दूध सडकमै बगाउनेसम्मका कार्यक्रम गर्न बाध्य हुने उनीहरूको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले भरतपुरमा पत्रकार सम्मेलन गर्दै दूध उत्पादनको लागत अस्वाभाविक रूपमा बढे पनि किसानले उचित मूल्य नपाएको जनाएको हो । संघका अध्यक्ष किशोर बगालेले हालको मूल्यमा किसानको लगानीसमेत सुरक्षित हुन नसकेको बताए ।

उनका अनुसार चार वर्षअघि प्रतिलिटर दूध उत्पादन गर्न ४५ देखि ४६ रुपैयाँ लागत पर्ने अवस्था रहेकामा अहिले त्यो बढेर ५५ देखि ६० रुपैयाँसम्म पुगेको छ । तर, यस अवधिमा दूधको मूल्य भने समायोजन हुन सकेको छैन । ‘दाना, चोकर, औषधि, श्रम र यातायात सबैको मूल्य बढेको छ, तर दूधको मूल्य पुरानै ढङ्गले कायम छ’, उनले भने, ‘उत्पादन लागत र बिक्री मूल्यबीचको अन्तरले किसान निराश बनिरहेका छन् ।’

विसं २०७६ सालमा चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो । जिल्लामा दैनिक करिब तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । किसानको बढ्दो आकर्षण र बजारको सम्भावनालाई हेर्दा उत्पादन अझ विस्तार गर्ने लक्ष्य भए पनि मूल्यसम्बन्धी अन्योलले दुग्ध व्यवसाय नै संकटतर्फ धकेलिन थालेको किसानहरूको भनाइ छ ।

अध्यक्ष बगालेका अनुसार चितवनमा उत्पादन हुने दूधमध्ये करिब ४५ प्रतिशत जिल्लाभित्रै खपत हुन्छ भने बाँकी अन्य जिल्लामा पठाउने गरिन्छ । अहिले बजार र भुक्तानीको समस्या नरहे पनि मूल्य समायोजन नहुँदा किसान आर्थिक दबाबमा परेको उनले बताए ।

चितवनका दुग्ध किसानले यसअघि पनि आन्दोलन गरेका थिए । विसं २०८० फागुन ६ गते दूधको भुक्तानी समस्या समाधानको माग गर्दै किसानहरूले भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए । अहिले भुक्तानी समस्या समाधान भए पनि मूल्य वृद्धि नहुँदा फेरि आन्दोलनको अवस्था सिर्जना भएको संघको दाबी छ ।

संघका सचिव कल्याण अधिकारीले सरकारले निर्धारण गरेको नीतिअनुसार निश्चित अवधिमा दूधको मूल्य पुनरावलोकन हुनुपर्ने भए पनि वर्षौंदेखि त्यसतर्फ बेवास्ता गरिएको बताए । ‘हामीले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझायौं, छलफल ग¥यौं र ध्यानाकर्षण पनि गरायौँ’, उनले भने, ‘अब पनि माग सम्बोधन नभए किसान सडकमा उत्रिन बाध्य हुनेछन् ।’

उनले एक साताभित्र समस्या समाधानका लागि पहल नभए जिल्लाभरका किसानलाई आन्दोलनमा उतारिने चेतावनी दिए। आवश्यकता परे गाईभैँसीसहित प्रदर्शन गर्ने, दूध बगाउने तथा अन्य दबाबमूलक कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११४ सहकारीमार्फत ४० हजारभन्दा बढी किसान दुग्ध उत्पादनमा संलग्न रहेको बताइएको छ । संघका अनुसार जिल्लामा करिब एक लाख गाई र ७० हजार हाराहारी भैँसीबाट व्यावसायिक रूपमा दूध उत्पादन हुँदै आएको छ ।

किसानहरूले उत्पादन लागत र बजार मूल्यबीचको बढ्दो असन्तुलन तत्काल समाधान गरी दूधको उचित मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । मूल्य समायोजनमा ढिलाइ भए दुग्ध व्यवसायबाट किसान पलायन हुने जोखिमसमेत बढ्न सक्ने किसानहरुले बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।