
काठमाडौँ । हाल देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै देशमा पश्चिमी वायुको सक्रिय प्रभाव छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” को आंशिक प्रभाव परेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ । महाशाखााले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही भागमा मध्यम हिमपात हुन सक्ने जनाएको छ । वर्षा र हिमपातको सम्भावना रहेका स्थानको यात्रा गर्ने तथा ती भेगका किसानलाई महाशाखाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
रत्ननगर । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय अचार र सस उत्पादन गर्दै आएको रिजाल एग्रोले बजारमा आफ्नो छाप छोड्न सफल भएको छ ।
रत्ननगर ३ मा रहेको यसका उत्पादनहरु उपभोक्ताले रूचाएपछि मागमा उल्लेखनीय वृद्धि भएको छ । एग्रोका सञ्चालक सौरभ रिजालका अनुसार विशेषगरी अकबरे खुर्सानी, आँप र मिक्स अचारको माग धेरै बढेको छ, जसले कम्पनीको व्यवसायलाई नयाँ उचाइ दिइरहेको छ ।
२०७८ फागुनदेखि औपचारिकरुपमा सञ्चालनमा आएको रिजाल एग्रोले १५ प्रकारका विभिन्न स्वादका अचार उत्पादन गर्दै आएको छ । अकबरे, आँप, लप्सीलगायतका स्वादिष्ट अचारहरुका अलावा सस, भेनिगर, सोया सस र मायोनिज सस पनि उत्पादन गर्ने यो एग्रोले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहेको छ । ‘हाम्रा उत्पादनहरुले उपभोक्ताको मन जित्न सफल भएका छन् । विशेषगरी अकबरे खुर्सानी, आँप र मिक्स अचारको माग अत्यधिक छ’, सञ्चालक रिजालले भने ।
एग्रोले स्थानीय किसानहरुको उत्पादनलाई प्राथमिकता दिँदै अचार र सस उत्पादन गर्दै आएको छ । चितवनका किसानहरुबाट टमाटरलगायतका कच्चा पदार्थ खरिद गरिरहेको र चितवनमा उपलब्ध नभएका कच्चा पदार्थ मात्र अन्य जिल्लाबाट ल्याइरहेका उनले बताए । यस्तै इलामबाट अकबरे खुर्सानी, रोल्पाबाट लसुन, सिरहा, लहान र सप्तरीबाट आँप, पनौतीबाट लप्सी तथा तनहुँबाट तामाजस्ता उत्पादनहरु ल्याउने गरेको उनले बताए ।
रिजाल एग्रोका उत्पादनहरु विर्तामोड, इलाम, मोरङ, सुनसरी, जनकपुर, बर्दिबास, उदयपुर, वीरगन्ज, सिमरा, हेटौँडा, चितवन, नवलपरासी, पोखरा, काठमाडौँ, रूकुम, सुर्खेत, चरिकोट, डडेल्धुरा, महेन्द्रनगर, भाटभटेनी, रत्ननगरको सेभ सुपरमार्केट तथा स्थानीय पसलहरुमा उपलब्ध छन् । यसबाहेक, दराजजस्ता अनलाइन प्लेटफर्महरुबाट पनि उत्पादनहरु बिक्री भइरहेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरेको यो एग्रोले हरेक वर्ष ५० प्रतिशतभन्दा बढी कारोबार वृद्धि गरिरहेको छ । उत्पादनहरु २०० ग्रामदेखि ५ किलोग्रामसम्मका प्याकेजिङमा उपलब्ध छन्, जसको खुद्रा मूल्य ५० रूपैयाँदेखि एक हजार २०० रूपैयाँसम्म पर्छ । एग्रोले विशेषगरी होटल, रेस्टुरेन्ट तथा विवाह र व्रतबन्धमा क्याटरिङ गर्नेहरुका लागि लक्षित गरी ५ किलोग्रामसम्मको प्याकेजिङमा उत्पादन गरिरहेको छ । होटल तथा रेस्टुरेन्टलाई चाहिने सस, भिनेगर, सोया सस, मायोनिज ससजस्ता उत्पादनहरुको माग बढ्दै गएको र मागबमोजिम गुणस्तरीय उत्पादन गरिरहेको रिजालले बताए ।
रोजगारी सृजनामा पनि योगदान पु¥याउँदै आएको रिजाल एग्रोले स्थानीयस्तरमा १० जनाभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै यो एग्रोले हङ्कङ, अमेरिका र अस्ट्रेलियाजस्ता देशहरुमा उत्पादन निर्यात गर्दै आएको छ । ‘आगामी दिनमा अन्य देशहरुमा पनि निर्यात गर्न पहल गरिरहेका छौँ । यसले नेपाली उत्पादनलाई विश्वव्यापी बनाउन मद्दत गर्नेछ’, रिजालले भने ।
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–६, हात्ती चोकस्थित होटल पार्क सेन्चुरीमा काम गर्ने मजदुर मृत अवस्थामा फेला परेका छन् ।
रत्ननगर–६ बस्ने ४४ वर्षीय राम परियार खाना खाएर सुतेकोमा बुधबार बिहान ८ः०० बजे निजसँगै काम गर्ने साथी जीतबहादुर माझीले उठाउन जाँदा मृत भेटिएपछि प्रहरी चौकी बछौलीलाई जानकारी गराएका थिए ।
घटनास्थलको मुचुल्कापश्चात् शव भरतपुर अस्पतालमा पोस्ट मार्टमपछि आफन्तले बुझिलगेको प्रहरीले जनाएको छ ।
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–७, बुद्ध चोकमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते भएका छन् ।
बा १३ च ६३७२ नम्बरको कुखुरा लोड गरेको बलेरोले ना ५३ प ३२४५ नम्बरको स्कुटर चालक भरतपुर–७ बस्ने ४५ वर्षीय पुष्कल बानियाँ घाइते भएका हुन् ।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने दुवै सवारीसाधन र बलेरो चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।




