२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१, सौराहा चोकमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् ।

सौराहाबाट सौराहा चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००४ प २२०४ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको ड्रममा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक कालिका–३ बस्ने २४ वर्षीय सानु चौधरी र मोटरसाइकलपछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय विनायक महतो घाइते भएका हुन् ।

दुवै घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी)मा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।

कालिका । ग्रीन सोसाइटी नेपाल सौराहाको आयोजना एवम् कालिका नगरपालिका वडा नं–११ को सहआयोजनामा राष्ट्रिय माध्यमिक विद्यालय कालिका–११, मझवाङमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

ग्रीन सोसाइटी नेपाल सौराहाका अध्यक्ष सिरिलाल परियारको अध्यक्षता एवम् कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा नाक–कान–घाँटी, हाडजोर्नी तथा नसा, स्त्री तथा बालरोग, आँखा र जनरल फिजिसियन गरी २११ जना लाभान्वित भएका थिए । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिविरमा कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) भरतपुरले विशेषज्ञ डाक्टरसहित प्राविधिक सहयोग गरेको थियो । यस्तै, लायन्स क्लब अफ चितवन सौराहा, ग्रीन सोसाइटी पब्लिक स्कुल र नेपाल हाइलाइफ डिरेक्ट जर्मनीले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा कालिका नगरपालिका वडा नं–११ क वडाध्यक्ष कृष्णबहादुर प्रजा, गैसस महासंघ चितवन शाखाका पूर्वअध्यक्ष केशव आचार्यलगायतको आतिथ्यता रहेको थियो । सोही अवसरमा विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।

भरतपुर । लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक ३२५ आर, क्लस्टर नं–३ को आयोजना एवम् होटल व्यवसायी संघ चितवनको सहकार्यमा शुक्रबार चौबीसकोठी चोक भरतपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित सो कार्यक्रममा ३०७ जनाले स्वेच्छिकरूपमा रक्तदान गरेका हुन् ।

मेडिकल सिटीका रूपमा परिचित चितवनमा रगतको अभाव निरन्तर देखिँदै आएको अवस्थालाई मध्यनजर गर्दै यस कार्यक्रम आयोजना गरिएको हो । रगतको अभावमा देशका विभिन्न स्थानबाट उपचारका लागि चितवन आउने बिरामीहरूले रगत नपाएर उपचारमा समस्या भोग्दै आएका छन् । यस्तो संवेदनशील अवस्थालाई सम्बोधन गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताए । यस्ता कार्यक्रमले भरतपुर आसपासका अस्पतालहरूमा रगतको आपूर्तिमा सहयोग पुग्ने उनको विश्वास छ ।

डिस्ट्रिक गर्भनर लायन नवराज सापकोटा प्रमुखअतिथि रहेको कार्यक्रमको सभापतित्व क्लस्टर नं–३ का चिफ लायन अजामिन ढकालले गरेका थिए । सो कार्यक्रमका प्रथम भाइस डिस्ट्रिक गर्भनर लायन प्रभाकर पण्डित, द्वितीय भाइस डिस्ट्रिक गर्भनर लायन दीपेन्द्रप्रसाद खतिवडा, पूर्व डिस्ट्रिक गर्भनरहरू, साथै लायन्स तथा लियो सदस्यहरू, सामाजिक व्यक्तित्वहरू र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुखअतिथि लायन नवराज सापकोटाले आफ्नो मन्तव्यमा मानवताको आवश्यकता पर्ने ठाउँमा यस्ता गर्विला र अर्थपूर्ण कार्यक्रमहरूले संस्थाको गौरव बढाउने बताउँदै आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यहरू निरन्तर सञ्चालन गर्न सबै लायन र लियो सदस्यहरूलाई आह्वान् गरे । उनले लायन्स क्लबका हरेक क्रियाकलाप समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणाको स्रोत रहेको उल्लेख गरे ।

लायन्स क्लब अन्तर्राष्ट्रियले विगतदेखि नै शिक्षा, स्वास्थ्य, अन्धोपन निवारण, मधुमेह सचेतना, वातावरण संरक्षण, भोकमरी निवारण, स्वास्थ्य शिविर, विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर र सक्रिय योगदान गर्दै आइरहेको छ ।

यस्ता बृहत् रक्तदान कार्यक्रममा भएको उल्लेखनीय सहभागिताले चितवनमा स्वेच्छिक रक्तदानप्रति जनचेतना र सामाजिक उत्तरदायित्वबोध बढ्दै गएको लायनहरुले विश्वास लिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।