२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

खैरहनी । बिबिएस प्रथम वर्षको नतिजामा खैरहनी–८ मा रहेको इन्टरनेसनल कलेजकी छात्रा सन्जिला विश्वकर्मा नेपाल तेस्रो तथा चितवन प्रथम भएकी छन् ।

त्रिभुवन विश्वविद्यालयले मङ्गलबार प्रकाशित गरेको बिबिएस प्रथम वर्षको नियमिततर्फको नतिजाअनुसार चितवनबाट इन्टरनेसनल कलेजकी छात्रा सन्जिला विश्वकर्माले ७९ दशमलव २ प्रतिशत अङ्कसहित नेपालकै तेस्रो र चितवन प्रथम भएकी हुन् । गत साउन महिनामा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायद्वारा बिबिएस प्रथम वर्ष नियमिततर्फको परीक्षा सञ्चालन भएको थियो ।

पूर्वी चितवनको राप्ती–८, थ्री ग्रुप निवासी सन्जिलाले बिबिएस प्रथम वर्षको नतिजामा ७९ दशमलव २ प्रतिशत अङ्कसहित नेपालकै तेस्रो र चितवन प्रथम भएको इन्टरनेसनल कलेज, खैरहनीका कलेज प्रमुख भीष्मराज पाठकले दाबी गरे ।

विद्यार्थीहरुको निरन्तर मेहनत, प्राध्यापक तथा कलेज प्रशासनको अथक प्रयास र अभ्यासले गर्दा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउँदै उनले कलेजको भौतिक पूर्वाधारसहितको आधुनिक प्रयोगशाला, आधुनिक डिजिटलाइज्ड कक्षाकोठा, योग्य तथा अनुभवी दक्ष जनशक्तिसहितको कक्षा सञ्चालनले गर्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको जिकिर गरे ।

उनका अनुसार यसै शैक्षिक सत्रमा कलेजबाट व्यवस्थापन सङ्कायतर्फ चितवन जिल्लामै पटक–पटक उत्कृष्ट नतिजासहित उच्च अङ्क प्राप्त गर्न सफल भएको र अघिल्लो महिना र अघिल्ला वर्षहरुमा समेत त्रिभुवन विश्वविद्यालयका विभिन्न सेमेस्टरको नतिजाहरुमा राष्ट्रिय स्तरमै दसौँ स्थान र चितवन प्रथमसमेत हुन सफल भएको छ ।

कलेजका प्रमुख पाठकले व्यवस्थापन सङ्कायका लागि कलेज उत्कृष्ट शैक्षिक गन्तव्य रहेको र दक्ष प्राध्यापकहरुको मह¤वपूर्ण भूमिकाले गर्दा कलेजका सम्पूर्ण कार्यक्रमहरु बिएचएम, बिआइएम, बिबिएस, एमबिएस र कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याइरहेको बताए ।

उनले कलेजले विद्यार्थीकेन्द्रित गुणस्तरीय शिक्षामा समर्पित रहेको उल्लेख गर्दै नयाँ सत्रका लागि अहिले व्यवस्थापन सङ्कायअन्तर्गत बिबिएस प्रथम वर्षमा धमाधम भर्ना खुलेको र कक्षा सञ्चालन भइरहेको जानकारी दिए । सो कलेजमा व्यवस्थापन सङ्कायअन्तर्गत कक्षा ११ देखि स्नातकोत्तर तह (एमबिएस) सम्म पूर्ण डिजिटल प्रणालीमा पढाइ हुँदै आइरहेको छ ।

रत्ननगर । रत्ननगर–१, बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा एक समारोहबीच सम्पन्न भएको छ ।

अर्पण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहदत्त पौडेल ‘सुरज’को अध्यक्षता एवम् संस्थाका सेयर सदस्य तथा रत्ननगर–१ का वडाध्यक्ष कुलप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष सापकोटाले अर्पण साकोसले वित्तीय अनुशासन कायम राख्दै सहकारीको साख जोगाएकोमा खुलेर प्रशंसा गरे ।

उनले सहकारीहरुले सेयर सदस्यहरुको विश्वास जितेर सहकारीको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । सो अवसरमा निवर्तमान अध्यक्ष मेघनाथ पौडेल, पूर्वअध्यक्ष यमन भुसाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाको अवसरमा बचततर्फ असल सेयर सदस्यका रुपमा रत्ननगर–१ का सरस्वती पौडेल, रत्ननगर–२ का अप्सरा श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट कर्जा कारोबारतर्फ असल सेयर सदस्यका रुपमा खैरहनी–१ का सन्तोष थपलिया, रत्ननगर–८ का मीनाकुमारी केसी, रत्ननगर–९ का दीपा मैनाली थपलिया, खैरहनी–१३ का फिबी तामाङ, ज्येष्ठ सदस्य रत्ननगर–१ का ताराप्रसाद शर्मा, प्लस टुमा उत्कृष्ट स्थान हासिल गर्ने सेयर सदस्यका छोराछोरीबाट रत्ननगर–१० का मुक्तिनाथ ढकाल र अंकिता पौडेललाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्याय रामकुमार बजगाईंले स्वागत मन्तव्य राखेको कार्यक्रममा अध्यक्ष मोहदत्त पौडेलले वार्षिक कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव महेश पाण्डेद्वारा प्रगति प्रतिवेदन, कोषाध्यक्ष टुकानाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य कृष्णप्रसाद आचार्यले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा कार्यक्षेत्र रहेको सो सहकारीमा करिब चार हजार सेयर सदस्य रहेका छन् । यस साकोसको रत्ननगर–१, बकुलहरमा मुख्य कार्यालय र खैरहनी–८ पर्सा बजारमा सेवाकेन्द्र रहेको छ ।

रत्ननगर । रत्ननगर-१. बकुलहरस्थित हिमालयन सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा शनिबार शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति चयन गरिएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित अभिभावक भेला तथा अन्तर्क्रिया कार्यक्रममा आगामी तीनवर्षे कार्यकालका लागि गोपालप्रसाद पौडेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरिएको हो ।

संघको नयाँ समितिका सदस्यहरूमा तुलसी गिरी, विजय रिजाल, लेखनाथ पौडेल, ममता घिमिरे, शिला भुसाल, सरिता पौडेल र मनीषा मैनाली चयन भएका छन् । यस्तै, समितिको शिक्षक प्रतिनिधिमा कमला खनाल र सदस्य सचिवमा विद्यालयका प्राचार्य नरेन्द्रप्रसाद बेलबासे रहेका छन् ।

कार्यबाहक अध्यक्ष सरस्वती पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सो स्कुलमा लामो समय शिक्षणसेवा गरी अवकाश प्राप्त सावित्री भट्टराई सुवेदी र विद्यालयका बस चालक विक्रम महतोलाई सम्मान गरिएको थियो ।

अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रकुमार चौधरी, निर्देशक हरि शर्मा आचार्य, सहप्राचार्यद्वय उमेश कुँवर र नवराज गिरीलगायत शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सञ्चालकसमेत रहेका स्कुलका प्राचार्य तथा संघका सदस्य सचिव नरेन्द्रप्रसाद बेलबासेले नयाँ कार्यसमितिका पदाधिकारीहरुबाट विद्यालयको शैक्षिक उन्नयन र मार्ग निर्देशमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

भरतपुर । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम एकेडेमीमा चितवन स्मार्ट स्काउट क्र्युको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा प्राथमिक उपचार तथा सिपिआर तालिम सुरू भएको छ ।

आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘र्कार्डियोपल्मोनरी रिससिटेसन’(सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तालिम सुरू भएको हो । तालिममा अङ्कुरम एकेडेमी र चितवन स्मार्ट स्काउट क्र्युका २४ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।

तालिममा चितवन स्काउटका पूर्वप्रमुख आयुक्त तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बराल, नेपाल रेडक्रस सोसाइटी चितवनका तालिम संयोजक चीजकुमार आले, प्रशिक्षकद्वय शारदा पौडेल र नरबहादुर केसीले प्रशिक्षण सञ्चालन गरेका छन् ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम विद्यालयका आवासीय निर्देशक नइम चौधरीको प्रमुख आतिथ्यता, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक शिवप्रसाद बरालको सभापतित्वमा उद्घाटन भएको हो । स्काउटर रोभर लिडर आकाश न्यौपानेले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य रेन्जर निर्जला श्रेष्ठले गरेकी थिइन् भने प्रमुखअतिथि चौधरीले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

तालिमले प्रशिक्षार्थीहरुलाई आकस्मिकरुपमा चोटपटक लाग्दा वा बिरामी पर्दा तात्कालिक र सही प्राथमिक उपचार दिन सक्षम बनाउने, दुर्घटना वा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थामा ज्यान बचाउने, दुर्घटनामा लागेको चोटलाई थप गम्भीर हुन नदिन र उपचार सहज बनाउन सहयोग पुर्‍याउने सीपको विकास गर्ने, जोखिम पहिचान, सुरक्षित ढङ्गले सहायता, र मद्दत माग्ने सही प्रक्रिया सिकाउने, हृदयघात वा श्वास रोकिने अवस्था आउँदा शीघ्र र प्रभावकारी सिपिआर विधि सिकाउने, एम्बुलेन्स वा चिकित्सक आइपुग्ने समयसम्मका लागि बिरामीको जीवन बाँच्ने सम्भावना बढाउनेलगायतका सीप सिकाउने विश्वास गरिएको छ ।

 

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४, नवदुर्गा चोकमा अटोको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।

नवदुर्गा चोकबाट क्यान्सर अस्पतालतर्फ जाँदै गरेको बागमती प्रदेश ०३०३ प १९० नम्बरको स्कुटरलाई पेन्सन क्याम्प चोकबाट नवदुर्गा चोकतर्फ आउँदै गरेको ना २ ह १०१० नम्बरको अटोले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक भरतपुर–४ बस्ने ६२ वर्षीय नारायण पौडेल र स्कुटरपछाडि सवार भरतपुर–१८ बस्ने ५२ वर्षीय राजकुमार परियार घाइते भएका हुन् ।

दुवै घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको र अटो चालक भरतपुर–१८ बस्ने २७ वर्षीय धीरज तामाङलाई नियन्त्रणमा लिइएको अस्थायी प्रहरी पोस्ट कल्याणपुरले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।