
भरतपुर । अण्डाको मूल्य फेरि बढेको छ । देशभरका पोल्ट्री फार्महरुको मूल्यलाई आधार मानेर समर्थन मूल्य जारी गर्दै आएको नेपाल लेयर्स कुखुरा पालक संघले मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य कायम गरेको छ ।
ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडिएम रु ५५० पुगेको छ । यसअघि गएको साउनमा हालसम्मकै सबैभन्दा बढी ठूलो अण्डाको प्रतिक्रेट रु ५६० पुगेको थियो । क्रमशः मूल्य घटेर रु ४०० मा झरेको थियो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यभन्दा प्रतिक्रेट रु २० ले बढेको हो । उनका अनुसार भारतीय अण्डा सीमाबाट अवैध रूपमा छिर्न रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाएको हो । भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ र त्यहाँको अण्डाको खपतसँगै मूल्य बढेपछि अवैध रूपमा अण्डा नेपाल भित्रन नपाएको उनले बताए ।
संघका सल्लाहकार त्रिलोचन कँडेलका अनुसार भारतमा समेत अण्डाको मूल्य बढेको छ । भारतमा नै राम्रो मूल्य पाएपछि अवैध रूपमा नेपाल अण्डा आउन कम भएको उनले बताए । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा रु १६ दशमलव ५७ पर्न आउँछ । अहिलेको दरमा अण्डा बिक्री गर्दा नेपालका किसानले नाफा पाएको उनले बताए ।
पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष एवं संघको अण्डाको बजारीकरण अभियानमा लागि रहनुभएका राजेन्द्र लामिछाने जाडो महिनामा अण्डाको खपत बढ्ने बताए । उनको भनाइमा जाडोमा चिसोबाट जोगिनका लागि अण्डा खानुपर्छ भन्ने जनचेतना जगाउन सकेका कारण पनि माग बढेको हो ।
अहिले नेपालमा दैनिक ४० लाख गोटा हाराहारी अण्डा उत्पादन हुने गरेको अनुमान छ । अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका छन् भने बैंकिङ ऋण लिएर किसानहरुले ठूलो संख्यामा कुखुरा पाल्दा माग धान्न सकेको छ ।
काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिकरुपमा बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई केही दिन पहिले आमन्त्रण गरी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो । निर्माण व्यवसायी र सम्बन्धित आयोजनाले सवारीसाधन निरन्तर आवतजावत हुँदा सडक निर्माणले गति लिन नसकेको बताएका थिए ।
ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घन्टा सडक बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रुपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा उक्त सडकको काठमाडौँ जिल्ला भित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकताका राखिएको छ । सो सडकखण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्रका लागि एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुन्छ । यसैगरी धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।
सूचना अनुसार नागढुङ्गा देखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा यही मङ्सिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म बिहान १०ः३० बजेदेखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द हुनेछ । सो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समय भन्दा अगाडी वा पछाडी व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ ।
सो समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ । सूचनामा अत्यावश्यकीय प्रकृतिका एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल, शव वाहन जस्ता सवारीसाधनको आवागमन ट्राफिक प्रहरीबाट सहजीकरण हुने जनाइएको छ ।
मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीसाधन खानीखोला (नौबिसे), जुंगेखोला (थाक्रे), गल्छी–गजुरी खण्डको लागि गल्छी, बैरेनी र मासटारमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनले अत्यावश्यक अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सूचनाअनुसार सीतापाइला भीमढुङ्गा,रामकोट धार्के सडक, सामाखुसी टोखा–छहरे सडक वैकल्पिक रुपमा प्रयोग गर्न सकिने छ ।
रोकिएका सबै सवारीसाधनलाई अपराह्न ३ः३० बजेपछि मात्र छाडिने सूचनामा उल्लेख छ ।




