२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

चितवन । उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि चुनावी सरगर्मी बढेको छ । आगामी पुस २१ गते हुन लागेको संघको ५९औँ साधारण सभा तथा अधिवेशनका सन्दर्भमा नयाँ नेतृत्वको लागि चिरञ्जीवी सुवेदी र शिरिष पन्तले अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । संघको वर्तमान वरिष्ठ उपाध्यक्ष सुवेदी र युवा व्यवसायी पन्त आमने–सामने भएका हुन् ।

उवासंघ चितवनमा कसले बाजी मार्ला भन्ने चासो उद्योगी–व्यवसायीमा बढेको छ । दुवै प्रत्याशीले आआफ्नो घोषणापत्रसमेत सार्वजनिक गरिसकेका छन् । पन्त यसअघि संघको वर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठसँग पराजित भएका थिए ।

अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका सुवेदीले चितवनको व्यावसायिक उत्थानका लागि एउटा नयाँ ऊर्जा, परिणाममुखी नेतृत्व र सुदृढ संस्थागत संरचना निर्माण गर्ने संकल्प लिएको बताएका छन् ।

संस्थाको गरिमालाई उच्च राख्दै चितवनको व्यावसायिक भविष्य सुनिश्चित गर्न संघको अध्यक्षमा आफ्नो उमेदवारी रहने उनको भनाइ छ । उनले भने, ‘मेरो नेतृत्वमा संघ अझ गतिशील, हरेक व्यवसायीको पीडामा मलहम लगाउने र नीतिगत तहमा सशक्त पैरवी गर्ने संस्था बन्ने विश्वास लिएको छु ।’

विसं २०६० सालदेखि संघमा आबद्ध रहेका सुवेदी कार्यसमिति सदस्य, तृतीय उपाध्यक्ष, द्वितय उपाध्यक्ष, प्रथम उपाध्यक्ष हुँदै हाल वरिष्ठ उपाध्यक्ष छन् । संस्थाको वित्तीय अनुशासन र पारदर्शिताका लागि आफू संघको प्रथम उपाध्यक्ष हुँदा संघको मासिक आम्दानी–खर्चलाई कार्यसमितिबाट अनिवार्य रूपमा अनुमोदन गर्नुपर्ने व्यवस्था मिलाएको उनले दाबी गरेका छन् ।

यस्तै, अध्यक्षका अर्का प्रत्यासी पन्तले आफ्नो उमेदवारी व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई सबै व्यवसायीको साझा आवाज भएको बताउँदै थकित बजारको पीडा सुन्न र समाधान खोज्न आफूमा साहस रहेको बताएका छन् । उनले भने, ‘म केवल पदको लागि होइन, नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी नेतृत्वको लागि व्यवसायीको विश्वास माग्न चाहन्छु ।’

आफू नेतृत्वमा आएपछि संघको पदाधिकारीमा कम्तीमा एक जना महिला व्यवसायीको प्रतिनिधित्व अनिवार्य गर्ने उनको भनाइ छ । बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता र स्थानीय उत्पादन प्रवर्द्धन आफ्नो मुख्य प्राथमिकतामा रहेको उनले बताए ।

यस्तै, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र आइटीजस्ता क्षेत्रलाई जोड्दै व्यवसाय र समाज दुवैलाई सशक्त बनाउने लक्ष्य लिएको उनको भनाइ छ । जिल्लाका व्यवसायीको पसिना र लगानीले चितवनको अर्थतन्त्र धानेको जिकिर गर्दै उनले विगत केही वर्षयता बजारहरु अव्यवस्थित र असन्तुलित हुँदै गएकोले यसलाई व्यवस्थित र सन्तुलित बनाउन आफूले अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको बताए ।

काठमाडौँ । लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो ।

१३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि साम हेजल्टले सर्वाधिक ३४ रन बनाए । यस्तै, नरेन भट्टले २१ रन बनाए । बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले तीन, रूबेन ट्रम्पलम्यान, अभिशेष गौतम र जेजे स्मीथले दुई–दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनिका लागि डार्सी सर्टले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । उनले ४१ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन जोडे । रुबेल ट्रम्पलम्यानले अविजित ११ रन बनाए ।

बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन–तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए । एनपिएलको फाइनल खेल शनिबार हुनेछ ।

रत्ननगर । रत्ननगर–१६, पिठुवाअन्तर्गत पर्ने पिठुवा प्रहरी चौकीको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो अस्थायी प्रहरी पोस्टको रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा, रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक सोभनविक्रम राणाले एकैसाथ उद्घाटन गरेका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएपछि सो चौकी पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । गोपाल श्रीमलको संयोजकत्वमा पुरुषोत्तम लामिछाने, लालबहादुर लामा, मधु बोगटी र रश्मी काप्री सदस्य रहेको भवन निर्माण समिति गठन गरी चौकी पुनर्निर्माण गरिएको हो ।

प्रहरी चौकी भवन पुनर्निर्माणका लागि विभिन्न संघसंस्था र स्थानीय व्यक्तिहरूले आवश्यक सामग्री तथा आर्थिक सहयोग गरेका थिए । कुल ८ लाख २१ हजार रुपैयाँको लागतमा निमाृण भएको सो भवनमध्ये ४ लाख ६५ हजार रुपैयाँ स्थानीयवासीकै सहयोगमा सङ्कलित रकमबाट जुटाइएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।

भवनमा आवश्यक पर्ने जिप्सन रोटरी क्लब अफ रत्ननगरले उपलब्ध गराएको थियो भने छानाका लागि आवश्यक पर्ने जस्तापाता कुन्हा इन्टरनेसनल अर्गेनिक फर्टिलाइजर म्यानुफ्याक्चरिङ इन्डस्ट्री प्रालिले उपलब्ध गराएको थियो ।

प्रहरी चौकी भवन उद्घाटन कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटा, रत्ननगर–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङ, भवन निर्माण समितिका संयोजक गोपाल श्रीमल, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक सोभनविक्रम राणालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो क्रममा उनीहरुले राज्यको सम्पत्ति आगजनी र तोडफोड गर्नेहरुले जवाफ दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, सहयोगी दाता, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, पिठुवा प्रहरी चौकीका प्रहरी कर्मचारीलगायत वडावासीको सहभागिता रहेको थियो । 

चितवन । चितवनको खैरहनीका एक युवकले १३ वर्षीया बालिकालाई फेसबुकमार्फत प्रेममा फसाएर बलात्कार गरेको अभियोगमा एक युवक जेलको फन्दामा परेका छन् ।

चितवन जिल्ला अदालतका जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा खैरहनी घर भई कालिकास्थित मामाघर बस्दै आएका २२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रतिवादी विराज गुरूङलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

चितवनको खैरहनी नगरपालिका घर भई कालिका नगरपालिकास्थित मामाघरमा बस्दै आएका गुरूङले १२ वर्ष १० महिना १३ दिनकी बालिकालाई ललाईफकाई गरी प्रेमजालमा पारेर बलात्कार गरेको आरोप छ । मामाघरमा बसेर ट्याक्टर चलाउने काम गर्दै आएका गुरूङ र पीडित बालिका करिब छ महिनाअगाडि फेसकुमा साथी बनेका थिए । फेसबुकमा साथी बनेर म्यासेन्जरमार्फत कुराकानी गर्न थालेका उनीहरुबीच माया बसेको थियो ।

गत कात्तिक २६ गते पीडित बालिका र प्रतिवादी गुरूङबिच भेटघाट भएको थियो । त्यस दिन बालिकालाई आफ्नै मामाघर लगेर गुरुङले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस रात उनीहरुबिच कतै घुम्न जाने सल्लाह भएको र भोलिपल्ट पाल्पाको रामपुर घुम्न गएको सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोजनपत्रमा उल्लेख छ ।

बालिकाकी आमाले पटकपटक फोन गरेपछि उनीहरु सोही दिन फर्किएका थिए । रामपुरबाट फर्किएकी बालिकाले आफूलाई युवकले बलात्कार गरेको बताएपछि बालिकाकी आमाले गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रतिवादी गुरूङलाई काात्तिक २९ गते जुटपानीबाट पक्राउ गरेको थियो ।

‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि बालिकालाई जबरजस्ती करणी गरेको पुष्टि भएपछि मङ्गलबार अदालतमा मुद्दा दर्ता गरेका हौँ’, सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता रवि न्यौपानेले भने । प्रतिवादी गुरूङले मुलुकी अपराध संहिता २०७४ को उपदफा ९१० र ९२० बमोजिमको कसुर गरेको देखिएकाले सोही दफाको ३ ९क० को खण्ड ९क० बमोजिम जरिवाना समेत गर्न माग गरिएको छ ।

बलात्कारका घटनामा वृद्धि

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट बालबालिकाहरुमाथि अपराध हुने क्रम बढ्दो छ । धेरैजसो बालबालिकाहरु सामाजिक सञ्जालमार्फत विभिन्न अपराधको सिकार भएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भएको अवधिमा सरकारी वकिलको कार्यालयले जबरजस्ती करणीका दुई वटा मुद्दा अदालतमा दर्ता गरेको छ । यसअघि मङ्सिर १६ गते बालकले बालिकालाई जबरजस्ती करणी गरेको मुद्दा अदातलमा दर्ता भएको थियो ।

चितवनमा एकै महिनामा तीनदेखि चार वटासम्म बलात्कारका मुद्दा अदालतमा पुग्ने गर्छन् । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा नै ‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने रहेको छ । यो अभियान बुधबारदेखि सकिएको छ ।

सामाजिक सञ्जालमार्फत हुने हिंसा भयावह रहेको जिल्ला न्यायाधिवक्ता न्यौपाने बताउँछन् । अष्ट्रेलियाले हालै मात्र १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।#कुलप्रसाद काफ्ले/किरणपुञ्ज

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।