
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई बिहीबार रिहा गर्न आदेश भएको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले अदालतबाट अन्तिम फैसला हुँदा ठहरेबमोजिम हुने नै हुँदा बिगोका हकमा थप दायित्व सृजना गरेमा र तिर्न बुझाउन मञ्जुर भए सो को कागज गरी प्रतिवादी रवी लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी मुद्दाको रोहबाट थुनामुक्त गर्नु भनी आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।
सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरी पाउँ भनी माग गरेका थिए ।
सोही मागअनुसार लामिछानेले बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखिएकाले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता हुने ठहर गरी बैंक जमानत स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउन आदेश गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।
यसरी सुरू रुपन्देही जिल्ला अदालतले विसं २०८१ माघ १३ मा सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गरी प्रतिवादीले निवेदन साथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी) दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगोका हक सुरक्षित गर्ने भनी आदेशमा भनिएको छ ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरेका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे ।
यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् भने उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।
यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मतका साथ विजयी भए ।
यस्तै, सचिवमा महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत , शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भए ।
ओलीको सङ्घर्षपूर्ण राजनीतिक यात्रा :
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली मुलुकको राजनीतिक क्षेत्रमा एक जुझारु, सङ्घर्षशील एवम् जेलनेल भोगेको नेताका रुपमा स्थापित छन् । यसैगरी अध्ययनशील, निर्णयमा अडिग र आफूलाई विश्वास गर्ने नेता, कार्यकर्ता र शुभेच्छुकलाई साथ–सहयोगसहित यथाशक्य संरक्षण गर्न कन्जुस्याइँ नगर्ने नेताका रुपमा चिनिन्छन् ।
एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली काठमाडौँमा सम्पन्न ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९ मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भए ।
झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसकेका छन् ।
पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
गत मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरू भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठूलो दलका रुपमा रहेको एमालेलाई विशेषगरी जेन्जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।
अध्यक्ष ओली विसं २०७१ साउन १ गते काठमाडौँमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी २०७८ मङ्सिर दोस्रो साता चितवनको सौराहामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष भएका थिए ।
समृद्धि, विकास र राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्ने नेताका रुपमा छवि कमाएका अध्यक्ष ओली आत्मविश्वाससहित हठी नेताका रुपमा चिनिन्छन् ।
नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ असोज २४ गते अध्यक्ष ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । यसैगरी, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनी दोस्रोपटक सरकारको नेतृत्वमा पुगेका थिए ।
विसं २०७५ जेठ ३ मा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतापछि पहिलो वरियताको अध्यक्ष भएका उनी पार्टीभित्रको विवाद तथा विभाजनबीच संसद् विघटन गर्ने उनको निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि सरकारबाट बर्हिगमन भएका थिए ।
निम्नमध्यम् वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमायाका सुपुत्र पूर्वप्रधानमन्त्री ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटक–पटक कठोर यातना भोग्ने नेता हुन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ मा जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओली आफ्नो बाल्यकालमा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेको अहिले पनि स्मरण गर्ने गर्छन् ।
तेह्रथुम छोडेर २०२० सालमा उनको परिवार झापा बसाइँ सर्यो । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्थामै समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर केन्द्रित भए ।
अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका पक्षमा भएका आन्दोलनमा सदैव उनी नेतृत्वदायी भूमिकामा छन् ।
अध्यक्ष ओलीले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यताप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरुबाट समाजको रक्षा र जनताको जीवनमा सुखशान्तिका लागि अविचलितरूपमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर मुलुक र जनताको सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् ।
पन्ध्र वर्षको किशोर उमेरमा २०२३ सालमा उहाँ रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल भएका थिए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो ।
मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । कम्प्युनिस्ट आन्दोलनमा होमिएका ओली २०२६ सालमा पहिलोपटक पञ्चायती सरकारको गिरफ्तारीमा परेका थिए ।
पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ पर्नुभएको थियो । त्यसपछि चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन ओलीले बिताएका छन् ।
अध्यक्ष ओली जेलमा रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस् पार्टी (माले)को संस्थापक र २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले)को केन्द्रीय कमिटी बैठकबाट उनी केन्द्रीय सदस्य भए । यसैगरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।
नेकपा (माले)समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ, नेपालको संस्थापक अध्यक्ष भए ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य भए ।
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा झापा निर्वाचन क्षेत्र नं–६ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित ओली २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्य भए । यसैबीच, पार्टी जिम्मेवारीका क्रममा पोलिटब्युरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारी उनले सम्हाले । पछि उनी उपप्रधानमन्त्री र परराष्ट्र पनि बने ।
बहुदलीय व्यवस्थाको पुनः स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उनी पहिलोपटक मुलुकको गृहमन्त्री भए । रासस
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१, बकुलहर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा इभी भ्यानको ठक्करबाट स्कुटर चालक महिला गम्भीर घाइते भएकी छन् ।
वीरगन्जबाट भरतपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ५२२ नम्बरको इभी भ्यानले कृष्णमन्दिरबाट टाँडीतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००२ प ३८१६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर–११ बस्ने ३० वर्षीया रोशनी तामाङ गम्भीर घाइते भएकी हुन् ।
गम्भीर घाइते महिलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन र इभी भ्यान चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
भरतपुर । विद्यार्थीको गणितीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘जुनियर म्याथ च्यालेन्ज १.०’ प्रतियोगिता आयोजना गरिएको छ ।
प्राथमिक तहका बालबालिकामा गणितप्रतिको रुचि बढाउने, तार्किक सोचको विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउँदै विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा चितवनका विभिन्न स्कुलका २५ समूहको सहभागिता रहेको थियो ।
भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा समस्या समाधान गर्ने सीपको विकास गराउनु रहेको विद्यालयको गणित विभागका हेड अफ डिपार्टमेन्ट विनोद अधिकारीले जानकारी दिए ।
उनले भने, ‘सहभागी विद्यार्थीको स्तरअनुसार प्रश्नहरू तयार पारिएको थियो, जुन प्रश्नले प्रतियोगीलाई सोच्न, विश्लेषण गर्न र समाधान खोज्न प्रेरित गर्यो ।’ प्राथमिक तहका गणितीय अवधारणाहरूलाई विद्यार्थीले व्यावहारिक र सिर्जनात्मक तरिकाले बुझ्न सकून् भन्ने उद्देश्यले प्रश्नहरु तयार पारिएको उनले बताए ।
प्रतियोगितामा वाल्मीकि शिक्षा सदनका रिदम सापकोटा र प्रिसा अधिकारीको टिम पहिलो, डन एकेडेमीका विधान दुवाडी र स्मारिका डल्लाकोटीको टिम दोस्रो र स्मल हेभन मोडल स्कुल आँपटारीका स्वर्णिमा पन्त र रिजन गाहामगरको टिमले तेस्रो स्थान हासिल गरे । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद सात हजार ५००, पाँच हजार र तीन हजार रुपैयाँ तथा मेडल र प्रमाणपत्र पाए ।
कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरेका गणित शिक्षक माधव पोखरेलका अनुसार प्राथमिक तहको कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना र सामूहिक भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रतिस्पर्धाबाट विद्यार्थीहरूले नियमको पालना गर्न, एकापसमा सदासयता दर्शाउन, सफलतामा खुसी हुन र असफलतामा धैर्य गर्न सिकेको उनले बताए ।
यसले बालबालिकामा सकारात्मक सोच र आत्मविश्वास बढाउन सहयोग पुर्याएको तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए । प्रतिस्पर्धाबाट विद्यार्थीमा आत्मअनुशासन, समय व्यवस्थापन तथा आत्ममूल्याङ्कनजस्ता जीवनोपयोगी सीपको विकास गर्न सहयोग पुगेको उनले बताए । सीमित समयमै प्रश्न समाधान गर्नुपर्ने नियमका कारण विद्यार्थीहरूमा समयको सदुपयोग गर्ने सीपको विकास भएको उनको भनाइ थियो ।




