२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

रत्ननगर । पौष २५ गतेबाट सुरू हुने रत्ननगर महोत्सवको १३औँ संस्करणको मुख्य आकर्षण रामजानकी मन्दिरको आकृति रहने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव आउन तीन दिनमात्रै बाँकी रहँदा ९० प्रतिशत काम सकिएको संघले जनाएको छ ।

यसपटकको महोत्सवमा मह उत्सव, रोजगार मेला र रामजानकी मन्दिरको झल्को दिने गेट र जलपरी मुख्य आकर्षणको रुपमा रहेको संघका अध्यक्ष शंकर गिरीले बताए । महोत्सव परिसरमा महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवद्र्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ ।

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर पहिचान गर्न आयोजना गरिएको रोजगार मेला–२०८२ ले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने गिरीले बताए । महोत्सवको प्रवेशद्वारमा पहिलोपटक जनकपुरको रामजानकी मन्दिरको आकृतिसहितको गेट निर्माणको काम भइरहेको छ ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको उनले बताए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरु रहने छन् । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा महोत्सव स्थलमा थारु, मगर, गुरूङ, दराई, माझी, तामाङ र कुमाल जातिका परम्परागत सांस्कृतिक घरहरु बनाइएका छन् ।

‘बिर्सनु हुन्न बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

महोत्सवअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको छ । महिलाहरु, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराइने छ भने कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरु सञ्चालन हुनेछन् । उद्घाटनका दिन विभिन्न संघसंस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा निकालिने छ ।

समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुँदैछ ।

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा यही पुस २५ गतेदेखि सुरू हुन लागेको रत्ननगर महोत्सवको १३ औँ संस्करणमा हरेक दिन रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

रगत अभावको समस्या समाधान गर्न र रक्तदानसम्बन्धी जनचेतना फैलाउन ब्लड डोनर्स सोसाइटी रत्ननगर कमिटीले महोत्सव अवधिभर महोत्सव परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रम २६ पुसदेखि माघ ५ गतेसम्म टिकौली चौरमा सञ्चालन हुने कमिटीका संस्थापक अध्यक्ष रमेश नेपालले जानकारी दिए । उनले भने, “रगत आफूलाई चाहिँदा मात्र होइन, अरुलाई पनि दिने बानीको विकास गर्नुपर्छ । यस कार्यक्रममार्फत चितवनका नागरिकलाई रगत दिन उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ ।”

सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले रत्ननगर समितिले महोत्सवस्थलमा यस किसिमको रचनात्मक काम गर्न लागेकामा प्रशंसा व्यक्त गर्दै भने, “युवाहरू नियमितरूपमा रक्तदान गर्न उत्प्रेरित हुनुपर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा स्वास्थ्यमा पनि लाभ पुग्छ, तर युवाहरुमा जनचेतना जगाउन आवश्यक छ ।”

उनले आगामी माघ १७ र १८ गते नवलपुरमा रक्तदान कार्यक्रम आयोजना गरी रक्तदान महोत्सवको रूपमा मनाउँदै एक हजार आठ पिन्ट रगत सङ्कलन गर्ने उद्देश्य राखिएको बताए । गत वर्ष भरतपुरमा आयोजित रक्तदान महोत्सवमा एक हजार ७०० पिन्ट रगत सङ्कलन गरिएको थियो ।

रक्तदान कार्यक्रमका लागि प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोग रहनेछ भने महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर नगरपालिकाले सहकार्य गर्ने आयोजकले जनाएको छ ।

रत्ननगर महोत्सव विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ । यस १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टल रहने आयोजकले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।