२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा पौष २५ गतेबाट सुरू हुने रत्ननगर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन् । महोत्सव उद्घाटनपूर्व बिहान रत्ननगरमा भव्य शोभायात्रा निकालिने छ ।

नेपाल माविको खेलमैदानबाट सुरू हुने शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी हुनेछन् । आयोजक संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

महोत्सवमा यसवर्ष महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । १३औँ संस्करणको उक्त महोत्सवमा महको उत्पादन र प्रवर्द्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको महत्त्व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको छ ।

यसपटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भब्य गेट निर्माण, जनजाती समुदायको सुन्दर गाउँ, बेरोजगार समस्या निराकरण गर्न रोजगार मेला लगायतका विषयहरुलाई अगाडि बढाइएको महोत्सव मूल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष शङ्कर गिरीले बताए ।

कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको खनालले बताए ।

महोत्सवअन्तर्गत भजन, शंखध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता हुनेछ । वालउद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी कस्मिर भ्याली निर्माण गरिँदैछ । पर्यटन प्रवर्द्धनतर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जिप सफारी सञ्चालन गरिने छ । महोत्सवमा अल्लो र गाजाको बोटबाट बनेका कपडाका स्टलहरुसमेत रहनेछन् ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरू रहनेछन् । महोत्सवमा उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा ‘बिर्सनु हुन्न बाजेबज्यैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।

महोत्सवअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहाचोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ आयोजना गरिएको छ । टाँडी बजारलाई चलायमान गराउन र स्थानीय खानाका परिकारको प्रवर्द्धनको लागि खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष एवम संयोजक ज्ञानबहादुर विसुरालले बताए ।

कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखेको कृषि प्रर्वद्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।

रत्ननगरमा आयोजना हुने १३औँ रत्ननगर महोत्सवमा दैनिक रक्तदान कार्यक्रम हुने भएको छ । समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति रत्ननगर महोत्सव यही पौष २५ गतेदेखि माघ ६ गतेसम्म टिकौली चौरमा हुँदैछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।