
चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ । कोतघरमा तोपसहितको हातहतियार राखेर सङ्ग्रहालयका रूपमा विकास गरिएको हो ।
नेपाली सेनाले सङ्ग्रहालय निर्माणका लागि ऐतिहासिक हातहतियारहरू सहयोग गरेको छ । नेपाली सेनाको नयाँ सवुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार छ पाउण्डको तोप एक थान, किटको गोला पचास वटा, भरुवा बन्दुक दुई नाल, छालाको ढाल एक थान, तरबार दुई थान, खुकुरी छवटा र खुँडा एक थान सेनाले उपलब्ध गराएको छ ।
कोतघर भने इच्छाकामना गाउँपालिकाले रु एक करोड ८३ लाख खर्चेर निर्माण गरेको हो । सङ्ग्रहालयको व्यवस्थापन र रेखदेख इच्छाकामना गाउँपालिकाले गर्दै आएको छ ।
सेनवंशीय राजा मणिमुकुन्द सेनले निर्माण गरेको यो गढी शाहवंशीय राजा बेलाबहादुर शाहको नायवीमा यसको थप मर्मत गरिएको इतिहास छ । नेपाल एकीकरणका बेला बहादुर शाहका छोरा शत्रुभन्जन शाह यहाँ आएर सेनाको टुकडी राखेको इतिहासमा उल्लेख छ ।
इच्छाकामना गाउँपालिका–७ मा रहेको गढीमा पुराना हातहतियारहरू प्रदर्शनमा राखिएपछि पर्यटकका लागि थप आर्कषणको केन्द्र बनेको छ ।
सङ्ग्रहालय तथा कोतघरको इच्छाकमना गाउँपालिकाको आयोजनामा उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाली सेनाका मध्यक्षेत्र पृतना हेडक्र्वाटर हेटौँडाका पृतनापति उपरथि विष्णुकुमार खड्काले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले गढीको जीर्णोद्धार गर्दै कोतघर बनाउँदा मौलिकपन दिइएकाले पर्यटकका लागि आर्कषक केन्द्र बन्ने बताए । उनले यही गढीबाट अङ्ग्रेजका सेनालाई नेपाली सेनाले युद्धमा लखेट्न सफल भएको बताए । पुरातत्व विभागको स्वीकृतिमा परम्परागत कला, संस्कृति झल्किने गरी कोतघर निर्माण गरिएको उनको भनाइ छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटन प्रवर्द्धनका लागि गढीमा कोतघर निर्माण गरी सङ्ग्रहालयका रूपमा विकास गरिएको बताए । गढीसम्म पुग्ने सडकलाई थप व्यवस्थित गर्ने, स्थानीयले सञ्चालन गरेका घरबासलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्ने योजना आफूहरूको रहेको बताए । उनले भने, “चितवनको समथर भूभागमा गर्मी हुँदा यहाँ सिरक ओढेर सुत्न सकिन्छ, तल हुस्सुले ढाकेको समयमा यहाँ पहारिलो घाम ताप्दै आनन्द लिन सकिन्छ ।”
खण्डहर बन्दै गएको ऐतिहासिक थलो उपरदाङगढी संरक्षण गरेर थप पूर्वाधार निर्माण गरेपछि पर्यटकहरू बर्सेनि बढ्दै गएको बताउँदै उहाँले गढी बाहिर वनभोजस्थललगायत अन्य पर्यटकीय गतिविधि गर्न मिल्ने संरचना निर्माण गरिँदै लैजाने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायतले उपरदाङगढीको पुरातात्त्विक र ऐतिहासिक महत्त्वबारेमा चर्चा गरेका थिए ।
यसअघि भरतपुरस्थित नेपाली सेनाको गणबाट तोपलाई वैद्धिक विधिपूर्वक पूजा गरी बाजागाजासहित उपरदाङगढी पुर्याइएको थियो । गढीमा पनि तोपलाई विधिपूर्वक पूजापाठ गरी कोतघरमा राखिएको हो ।
सेन राज्यकालदेखि विसं २०१४ सम्म यो गढी चितवन क्षेत्रको सरमुकाम थियो । विसं १९१९ मा सदरमुकाम झुवानी सारिएको थियो । तर गर्मीमा कङ्काली कोट सार्नुपर्दा औलो, जङ्गली जनावरको त्रासले सरदमुकाम पुनः उपरदाङगढीमा नै सारिएको बताइन्छ । औलो उन्मूलनपछि सदरमुकाम २०१४ सालमा भरतपुर सारियो ।
सेनकालीन यस गढीमा प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा १८३४ साल ३ गते हमला भई (गोर्खा) नेपाल राज्यमा गाभिएको इतिहास रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताए ।
गैँडाकोट । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्ने आफूहरुको प्रयास रहेको बताएका छन् । नवलपुरको गैँडाकोटमा शुक्रबारदेखि सुरू भएको चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताए ।
‘हाम्रो प्रयास कमसेकम यहीँ नै रोजगारी सिर्जना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो’, उनले भने, ‘उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाको लागि मात्रै नभई रोजगारी सिर्जना गर्न, राज्यलाई कर भुक्तानी गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।’
बूढा बाआमाको स्याहार सुसार गर्नुपर्ने बेलामा छोडेर विदेश जानुपर्ने नेपालीको बाध्यतालाई केही हदसम्म भए पनि कम गरौँ भन्ने उद्देश्यले आफूहरुले काम गरेको ढकालले बताए । युवाहरुलाई स्वेदशमै रोक्नका लागि निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै राज्यले निर्माण गरेको नीति, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनुपर्ने ढकालले बताए ।
अहिले विभिन्न अवसरका लागि युवा पुस्ता देश बाहिर जाने गरेका उल्लेख गर्दै केही युवाहरु फर्किने गरेको भए पनि धेरै उतै पलायन हुने गरेको ढकालको भनाइ छ । विदेशमै बस्ने गरी जानेक्रम बढ्नु भनेको कहालीलाग्दो अवस्था भएको उनले बताए । ‘नेपालमा पर्याप्त सम्भावना भएर पनि हामीले प्रचारप्रसार गर्न नसक्दा फाइदा लिन सकेका छैनौँ’, उनले भने, ‘नेपालमा देवघाट, मुक्तिनाथ, लुम्बिनी, सगरमाथा रहेका छन्, यसको हामीले फाइदा लिनसक्नुपर्छ ।’
नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै उनले यसका लागि निजी क्षेत्र हरबखत तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघले नवप्रवर्तनका लागि लगानी उपलब्ध गराउन १० अर्ब रुपैयाँबराबरको कम्पनी खडा गरेको उनले बताए । ‘महासंघले प्रवद्र्धन गरेको एनडिपी कम्पनीले लगानी जुटाउन सहयोग गर्दछ’, उनले भने, ‘आन्तरिक पुँजी परिचालन गरी सहकार्य गर्न हामी तयार छौँ ।’
महोत्सव उद्घाटनका क्रममा उद्योगी व्यवसायीहरुले राज्यको नीतिको कारण उद्योगी व्यवसायी मारमा परेका गुनासो गरेका छन् । कार्यक्रममा मुनाल फुड्सका सञ्चालक दीपक भट्टराईले युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन राज्यले नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । साना उद्योगीलाई हेरेर नीति बनाएमा मुलुकमा उद्यमशीलता बढ्ने उनको भनाइ छ ।
राज्यको नीतिको कारण उद्योगी मारमा परेका उल्लेख गर्दै भट्टराईले राज्यको तीन ठाउँमा उद्योग दर्ता गर्नुपर्ने बाध्यता भएको उनले बताए । ‘उद्योग दर्तालाई सहज बनाउँदै अनलाइन प्रणालीमा जान सके अहिलेका युवाहरु स्वदेशमै रमाउन सक्छन्’ उनले भने, ‘आधुनिक प्रविधिमा दख्खल राख्ने युवाहरु काममा ढिलासुस्ती हुँदा कुरेर बस्न रुचाउँदैनन् र विदेश पलायन हुन्छन् ।’ युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन राज्य गम्भीर भएर लाग्नुपर्ने उनले बताए ।
आगामी माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन हुनेछ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवस्थलमा बाल उद्यान, कृषि परिसरलगायत जलपरी, फिस टनेल, ओपेरा हाउस विशेष आकर्षणको रुपमा निर्माण गरिएको जानकारी दिए ।
महोत्सव सचिवालय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेका अनुसार बिहान गैँडाकोट नगरपालिकाबाट महोत्सव परिसरसम्म बृहत् शोभायात्रा निकालिएको बताए । शोभायात्रामा विभिन्न धार्मिक संघसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका संघसंस्था तथा विभिन्न सामाजिक संघसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकीसहित शोभायात्रामा सहभागिता जनाएका थिए ।
संघका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ‘ब्यानर’ एवम् ‘फ्लेक्स’ निर्माण गरी राखिएको बताए । यसपटकको महोत्सवले समग्र नवलपुरको पर्यटन क्षेत्रको विकास गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उनले बताए ।
संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए । ‘कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेको कृषिउपजलाई महोत्सवमा निःशुल्क स्टल प्रदान गर्दैछौँ’, उनले भने, ‘यसले कृषकलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।’ काउली, मुला, गाजर, साग, बन्दालगायतका सामग्रीहरु कृषकले प्रदर्शनीमा राख्ने उनको भनाइ छ ।
कृषकले उत्पादन गरेका कृषिउपजलाई बजारीकरणमा सहयोग पु¥याउँदै पेसामा टिकाउका लागि उनीहरुको उत्पादन निःशुल्क प्रवद्र्धन गर्न लागिएको सापकोटाले बताए । दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा रु २५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसीटिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सव अवधिभर हरेकदिन स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा रत्ननगर महोत्सवको १३औँ संस्करण सुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महोत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि श्रेष्ठले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ’, उनले भने, ‘यो अवस्थाको अन्त्यको लागि राज्यले निजी क्षेत्रलाई लगानीको वातावरण तयार गर्नुपर्छ ।’
मुलुकको अर्थतन्त्रको मह¤वपूर्ण अङ्गको रुपमा रहेको निजी क्षेत्रलाई हेर्ने बुझ्ने र सोच्ने दृष्टिकोणमा परिर्वतन हुन जरूरी रहेको उनले बताए । नेपालको निजी क्षेत्र र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयलाई मनन् गरी अर्थतन्त्र बलियो बनाउन निजीक्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले लगानी सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग मागसमेत गरेका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजना तथा रत्ननगर नगरपालिका संरक्षक रहेको यसपटकको महोत्सवमा रामजानकी मन्दिर आकृतिको भव्य गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, बेरोजगारी समस्या निराकरण गर्न रोजगार मेलालगायतका विषयहरुलाई अगाडि बढाइएको संघका अध्यक्ष गिरीले बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठकले रत्ननगर महोत्सवलाई स्थानीय सरकारले संरक्षकत्व प्रदान गर्दै आएको भन्दै किसानले अनुभूति गर्ने गरी स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ध्यान दिन आग्रह गरे । महोत्सव रमाइलोमा मात्र सीमित हुन नहुने भन्दै उद्देश्य प्राप्तिमा गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रदेश सभा सांसद् जेएन थपलिया, कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, एमालेका जिल्ला अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिस्ट पार्टीकी जिल्ला सहइन्चार्ज कञ्चन खनाल, रास्वपाकी जिल्ला उपसभापति प्रभा ढकाल, राप्रपाका जिल्ला उपाध्यक्ष पिताम्बर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष कृष्ण शर्मा, बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
संघका महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले महोत्सवको विगत, यसले अर्थतन्त्र र कृषि प्रवद्र्धनमा खेल्दै आएको भूमिकाको विषयमा मन्तव्य राखेका थिए । महोत्सव उद्घाटनअघि बिहान रत्ननगरमा भव्य शोभायात्रा निकालिएको थियो । नेपाल माविको खेलमैदानबाट सुरू भएको शोभायात्रामा १२५ वटा संघसंस्था रहभागी भएको शोभायात्रा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी श्रेष्ठ कर्माचार्यले जानकारी दिइन् ।
पौष ६ गतेसम्म चल्ने महोत्सवमा महको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिइएको छ । उक्त महोत्सवमा महको उत्पादन र प्रर्बद्धनको लागि छुट्टै परिसर निर्माण गरिएको छ । आर्थिक विकास र कृषिलाई जोड दिइएको उक्त महोत्सवमा किसानले उत्पादन गरेको महको मह¤व, त्यसबाट हुने फाइदा र बजारको सम्भावनाको विषयलाई प्राथमिकतामा राखिएको कृषि प्रवद्र्धन समितिका संयोजक रघुनाथ भट्टले जानकारी दिए ।
कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको संघका उपाध्यक्ष रामशरण नेपालले बताए । यसपटक महोत्सवको चार लाखभन्दा बढी दर्शक अबलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।
महोत्सवमा रामजानकी मन्दिर आकृतिको गेट निर्माण, जनजाति समुदायको सुन्दर गाउँ, रोजगार मेला आकर्षक हुने महोत्सव मूल समारोह समितिका संयोजक तथा संघका अध्यक्ष शंकर गिरीले बताए । महोत्सवले समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए ।
महोत्सवअन्तर्गत भजन, शङ्खध्वनि, महिला कबड्डी तथा अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने छ । बाल उद्यानमा जलपरीसँगै बालबालिकालाई लक्षित गरी काश्मीर भ्याली निर्माण गरिँदै छ । पर्यटन प्रवद्र्धनतर्फ खगरी खोलामा मोटरबोट तथा सामुदायिक वनहरुमा जिप सफारी सञ्चालन गरिने छ । करिब ५०० स्टल रहने यस महोत्सवमा रैथाने बालीको संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले बताए ।
महोत्सवअन्तर्गत पौष २९ देखि माघ ४ सम्म सौराहा चोकस्थित बसपार्कमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ गरिने संघका पूर्वअध्यक्ष एवम् संयोजक ज्ञानबहादुर विसुरालले बताए ।




