
चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज दिउँसो करिब ३ः२० बजेको समयमा रोयल फर्मासिटिकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिन्डर पड्किएको थियो ।
सिलिन्डर पड्किँदा त्यहीँ काम गरिरहेका भरतपुर महानगरपालिका(१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्ला पर्टेर्वा सुगौली गाउँपालिका–५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए । घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो करिब ४ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको उनले उल्लेख गरे । दुवै जना रोयल फर्मासिटिकल्स उद्योगमा एसीमा ग्यास भर्नका लागि त्यहाँ गएका थिए ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सडक रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ ।
कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ । प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ्ने छ । निर्माण कम्पनीले एउटा एक्साभेटर र लोडर तुइन खोलामा ल्याइसकेको छ ।
घिमिरेका अनुसार दैनिक दुई÷तीन घन्टा सडक रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्काहरु झार्न सकिने अनुमान छ । दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सोही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिने उनले जानकारी दिए । यो सडक राजधानीको ‘लाइफलाइन’ हो । दैनिक १० हजार हाराहारी सवारीसाधन यही सडक हुँदै गुड्ने गर्दछन् ।
बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आडको नारायणगढतर्फको भित्तो र नाम्सीको मुग्लिन पट्टीको ढिस्कोको पहिरोको जोखिम हटाउने कामका लागि रु २२ करोड २१ लाखमा ठेक्का सम्झौता गरेको छ । अबको १० महिनामा दुवै ठाउँको काम सक्नुपर्ने छ ।
पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरु तल झार्नु पर्नेछ । त्यसपछि भित्तोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ । यसलाई ‘नेलिङ’ भनिन्छ । दुवै ठाउँमा यसरी नै काम गरिने उनले जानकारी दिए ।
पहिरोको उच्च जोखिममा रहेको तुइन खोलामा गत वर्षको असोज ३ र ७ गते पहिरो खस्दा एक सय घन्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । सो ढिस्को १०५ मिटर उचाइ र १६५ मिटर लम्बाइ छ । नाम्सीको मुग्लिन पट्टीको ढिस्को ६० मिटर अग्लो र १०० मिटर लम्बाइ रहेको छ । केही वर्षअघि सडक विस्तारका क्रममा काटिएको भित्तोमा तुइन खोलामा गत वर्ष एकाएक पहिरो खसेपछि सो ठाउँ उच्च जोखिममा परेको हो ।
सो सडक खण्डमा मध्यमदेखि उच्चसम्म गरी ४३ ठाउँमा पहिरोको जोखिम रहेको छ । जुनसुकै बेला पहिरो खस्नसक्ने भएकाले पहिरो पन्छाउन मुग्लिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरु राखिएको छ । मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनि एक्साभेटर राखिएको छ ।





