
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ ।
बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए । उनका अनुसार मुग्लिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्साभेटर, व्याक हु लोडर, ट्रिपर, टेलर र मिनी एक्साभेटर राखिएको छ ।
हालै मात्र ठेक्का लागेको तुईन खोलामा निर्माण कम्पनीले एक्साभेटर र लोडरको व्यवस्थापन गरेको छ । त्यस क्षेत्रमा पहिरो खस्नासाथ नजिकमा रहेका उपकरण पन्छाउन प्रयोग गरिने छ । तुईन खोलामा रहेका उपकरण भने सामान्य अवस्थामा त्यसै क्षेत्रको पहिरो पन्छाउन मात्र परिचालन गरिनेछ । ठूलो क्षेत्रमा पहिरो आएमा ‘हेभी इक्युपमेन्ट’ कार्यालय हेटौँडा र पोखराबाट समेत उपकरण झिकाइने इन्जिनियर घिमिरेले बताए ।
उनले त्यस क्षेत्रमा पहिरो खस्नासाथ पन्छाउन सक्ने गरी उपकरण र जनशक्ति तयारी अवस्थामा व्यवस्थापन गरिएको जानकारी दिनुभयो । वर्षात् सुरु भए सँगै दैनिक जसो ठूला–साना पहिरो झरिरहेका छन् । ती पहिरालाई पन्छाएर सडक सुचारु गर्ने काम भइरहेको छ । सो सडकखण्डमा मध्यमदेखि उच्चसम्मका गरी ४३ ठाउँमा पहिरोको जोखिम छ । त्यसमध्ये सात ठाउँमा उच्च जोखिम छ भने अन्य ठाउँमा मध्यम छन् । हिउँदमा समेत उक्त सडकखण्डमा सुख्खा पहिरो जाने गरेको छ ।
मुलुकका विभिन्न भागबाट त्यही राजमार्ग भएर दैनिक हजारौँको सङ्ख्यामा सवारीसाधन राजधानी भित्रने र बाहिरिने गर्दै आएको पाइन्छ । हाल राजधानी काठमाडौँको लाइफलाइनका रुपमा त्यो सडक रही आएको छ ।
चितवन । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।
यस कारागारबाट गत भदौँ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को विवरण मात्र उल्लेख गरिएको हो ।
यसरी सम्पर्कविहीन भएकाहरूमध्ये लागूऔषध र जबरजस्ती करणीका कैदी बढी रहेका कार्यालयका निमित्त प्रमुख ढुङ्गानाले जानकारी दिए । उनका अनुसार फरार भएकामध्ये दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकारीमा संलग्न छन् । कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो ।
कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन, २०७९ र प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको थियो । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उनले बताए । भागेकाहरू नवलपरासी (बर्दघाट (सुस्तापूर्व)सहित अन्य जिल्लाका छन् ।
भरतपुर । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण र सीमित सहभागिताको चित्र आउँथ्यो । तर चितवनमा भने त्यो धारणा बदलिँदै गएको छ । अहिले हरेक शनिबार साँझ मन्दिर परिसरमा सयौँ युवा भेला हुन्छन् । मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजनमा रमाउँछन्, नाच्छन् र आधा घण्टा होइन, डेढ घण्टासम्म भजनकीर्तनको लयमा डुब्छन् ।
यसका कारण हो, सामाजिक सञ्जालबाट जन्मिएको ‘एमआरआर’ (मेन्स रुम रिलोडेड) अभियान । गत वर्ष साउनमा भरतपुरस्थित महाकालेश्वर शिवालय मन्दिरबाट २० जना सहभागी भएर सुरु भएको यो अभियान अहिले चितवनका विभिन्न मन्दिरमा विस्तार भएको छ । अहिले हरेक शनिबार साँझ ५ः०० बजेदेखि ६ः३० बजेसम्म हुने भजनमा एक हजारभन्दा बढी सहभागी हुने गरेका छन् ।
अभियानका संयोजकमध्येका एक फणिन्द्र न्यौपानेका अनुसार सुरुमा केही युवाको प्रयासमा सुरु गरिएको भजन अहिले समुदायको साझा अभियान बनेको छ । ‘सुरुसुरुमा २०–२५ जना मात्रै हुन्थ्यौँ’, उनी भन्छन्, ‘अहिले त सहभागीको संख्या थामिनसक्नु भएको छ ।’
एमआरआरको विशेषता एउटै स्थानमा सीमित नहुनु हो । हरेक शनिबार फरकफरक मन्दिरमा भजन आयोजना गरिन्छ । मन्दिर व्यवस्थापन समितिले समूहलाई निमन्त्रणा गर्ने गर्छ । त्यसपछि संयोजक न्यौपाने, एकान्त प्रेमी र रवि खरेलले कुन मन्दिरमा जाने भन्ने निर्णय गर्छन् । सामाजिक सञ्जालमार्फत स्थान र समय सार्वजनिक गरिन्छ र त्यसपछि स्थानीयवासी स्वतः भजनमा सहभागी हुन पुग्छन् ।
भजनका लागि करिब ४०–५० जना युवा वाद्यवादन सामग्रीसहित मन्दिर पुग्ने गर्छन् भने मन्दिरले बस्ने व्यवस्था र ‘साउण्ड सिस्टम’ उपलब्ध गराउँछ । सामान्यतया २५ देखि ४० वर्ष उमेर समूहका युवाको सहभागिता बढी हुने गरेको छ ।
एमआरआरमा सहभागी युवाले भजनका लागि कुनै शुल्क लिँदैनन् । अभियान पूर्ण रूपमा स्वःस्फूर्त र सेवामूलक रहेको न्यौपाने बताउँछन् । प्राथमिकता चितवनभित्रका मन्दिरलाई दिइए पनि आवश्यकताअनुसार अन्य जिल्लामा पनि भजन गर्न जाने गरिएको छ ।
भजन आरतीसँगै सुरु हुन्छ । त्यसपछि युवाले पालैपालो टुक्का निकालेर भजन गाउँछन् । मन्दिर परिसरमा उपस्थित स्थानीय पनि गीत, भजन र नृत्यमार्फत सहभागी बन्छन् । भजनस्थलमा स्वास्थ्य सेवाको व्यवस्था गर्न थालिएको छ ।
संयोजक न्यौपानेका अनुसार यो अभियानको उद्देश्य केबल धार्मिक कार्यक्रम आयोजना गर्नुमात्र होइन । युवालाई मानसिक तनावबाट मुक्त गराउने, ध्यान केन्द्रित गर्न सहयोग गर्ने र सकारात्मक सोच विकास गर्ने अभियानका रूपमा यसलाई अघि बढाइएको छ । ‘पहिला बुबाआमाले मात्रै गाउने भजनप्रति अहिले युवाको आकर्षण बढेको छ’, उनी भन्छन्, ‘यसले युवालाई सकारात्मक ऊर्जा दिएको छ ।’
एमआरआर अभियान विस्तारसँगै यसमा जोडिएका युवालाई सामाजिक उत्तरदायित्वका काममा पनि परिचालन गर्न थालिएको छ । विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सचेतना लगायतका अभियानमा उनीहरूलाई सहभागी गराइँदै आएको छ । संयोजकहरूका अनुसार अभियान कुनै राजनीतिक दलसँग आबद्ध छैन । यसमा सहभागी सबै युवा स्वतन्त्र र स्वःस्फूर्त रूपमा जोडिएका छन् ।
एमआरआर भजन अभियानको सुरुआत पोखराका युवाले गरेका थिए । त्यसपछि विस्तार हुँदै अहिले काठमाडौँ, चितवन, बुटवल, हेटौँडासहित करिब २० जिल्लामा यो अभियान सञ्चालन भइरहेको छ । सामाजिक सञ्जालबाट सुरु भएको एउटा सानो पहल आज हजारौँ युवालाई मन्दिर, सङ्गीत, आध्यात्मिकता र समाजसेवामा जोड्ने अभियान बनेको छ । परम्परागत रूपमा ज्येष्ठ पुस्ताको सहभागितामा सीमित मानिएको भजन संस्कृतिमा युवाको बढ्दो उपस्थितिले धार्मिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्ने एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।
रत्ननगर । रत्ननगर वडा नं–३, शान्तिचोकमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत सङ्कलन भएको छ । शान्तिज्योति युवा समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा २२ महिलासहित ७५ जनाले रक्तदान गरेका हुन् ।
वडा कार्यालय संरक्षक तथा नारी जागरण केन्द्र रत्ननगर, समाजसेवी आमा समूह र रामेश्वरम मन्दिरको सहकार्यमा गरिएको उक्त कार्यक्रममा १८ जनाले पहिलोपटक रक्तदान गरेको समाजका अध्यक्ष अशोक भूषालले जानकारी दिए ।
वडाध्यक्ष सोहेन्द्रराज खरेलको अध्यक्षतामा भएको कार्यक्रम १७८ पटक रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले उद्घाटन गरेका थिए । सोही अवसरमा कर्माचार्यले रक्तदाता उत्प्रेरणाका लागि रगत दिँदा हुने फाइदाका बारेका बोलेका थिए ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले रक्तदानजस्तो पवित्र कार्य अरु नरहेको भन्दै रक्तदाता उत्प्रेरणासम्बन्धी कार्यक्रम सञ्चालन तथा रक्तदान कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा नारी नागरण केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले चितवनमा हुने रगतको अभावलाई मध्यनजर गरी विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताइन् ।
उद्घाटन कार्यक्रममा वडा सदस्य शिव खनाल, वैशाखनी थरुनी, समाजसेवी आमा समूहकी अध्यक्ष सिर्जना रेग्मी, रामेश्वरम मन्दिरका अध्यक्ष हिमालय खनाल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिकी उपाध्यक्ष सरस्वती लामालगायतको उपस्थिति थियो ।





