२०८३ श्रावण १५ शुक्रबार
२०८३ श्रावण १५ शुक्रबार

भरतपुर । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी (पिपिई मोडेल)मा सञ्चालन गरिने भएको छ ।

शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अन्तिम तयारीमा पुगिएको बताए । उनका अनुसार सार्वजनिक–निजी साझेदारीको लागि छिट्टै सूचना प्रकाशन गरिनेछ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई हस्तान्तरण भइसकेको छ । देवघाटको शवदाह गृह सञ्चालनको क्रममा केही प्राविधिक समस्याहरु आएका थिए ।

शवदाह गृहका फोकल पर्सन बालकृष्ण थपलियाका अनुसार सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । उनले भने, ‘अब सूचना निकाल्ने अन्तिम तयारी भइरहेको छ ।’

सुरुमा महानगर आफैँले शवदाह गृह सञ्चालनमा ल्याउने जमर्को गरेको थियो, तर खर्च बढी आउने भएकाले सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्न महानगर पुगेको हो ।

निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण भएको हो ।

शवदाह भवनमा भुइँतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शवदाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् । महानगरले एउटा शव जलाएबापत् ३५ सय रुपैयाँ लिने कार्यविधिमा उल्लेख गरेको छ ।

वर्षातको समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा किरियापुत्री बस्ने व्यवस्था छ । देवघाट क्षेत्र विकास समितिका अनुसार हाल देवघाटमा दैनिक १० वटा शव दाउराको माध्यमबाट जल्ने गरेको छ ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । वातावरणको दृष्टिकोणले पनि विद्युतीय मेशिनबाट शवदाह हुनु राम्रो मानिन्छ ।

चितवन । सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए । 
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले बाघको संख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा राखे । 
 
उनले निकुञ्ज व्यवस्थापनमा मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी पत्रकार तथा संरक्षण अभियानमा सक्रिय विभिन्न समूहको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
 
बाघको संख्या बढेसँगै विभिन्न क्षेत्रका सरोकारवालाको दृष्टिकोण पनि फरक–फरक हुने उल्लेख गर्दै उनले भने, ‘पर्यटन व्यवसायी बाघ बढेकोमा खुसी हुन्छन् भने मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई घाँस–दाउरा गर्न जाँदा सुरक्षाको चिन्ता हुन्छ । वैज्ञानिकहरू भने बाघको जनसंख्याको गतिशीलताबारे अध्ययनमा केन्द्रित हुन्छन् । व्यवस्थापकका रूपमा यी सबै पक्षलाई समेटेर अघि बढ्नु हाम्रो दायित्व हो ।’
 
उनका अनुसार हालै सम्पन्न क्यामेरा ट्यापिङबाट ६४ पोथी, ५३ भाले र १३ वटा लिङ्ग नखुलेका गरी १२७ वटा बाघको प्रत्यक्ष तस्बिर प्राप्त भएको छ । वैज्ञानिक तथ्याङ्कीय  मोडेलका आधारमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको अनुमानित संख्या १४५ कायम गरिएको छ ।
 
प्रत्यक्ष तस्बिरमा देखिएका बाघमध्ये ४९ प्रतिशत पोथी, ४१ प्रतिशत भाले र १० प्रतिशतको लिङ्ग पहिचान हुन नसकेको उनले जानकारी दिए । 
 
कार्यक्रममा बाघविज्ञ डा बाबुराम लामिछानेले बाघको संख्या एक सयभन्दा माथि रहनु यस क्षेत्रको पारिस्थितिक प्रणाली र बाघको जनसंख्या स्थिर रहेको सङ्केत भएको बताए । उनले भाले बाघले आफ्नो बसोबास क्षेत्र विस्तार गर्ने र नयाँ बासस्थानको खोजीमा एक स्थानबाट अर्को स्थानमा सर्ने स्वभावका कारण बाघ गणनामा वैज्ञानिक विधि अपनाइने जानकारी दिए ।
 
उनले संरक्षणसँगै चोरी–सिकारी नियन्त्रण, बासस्थानको प्रभावकारी व्यवस्थापन तथा संरक्षणमुखी नीतिका कारण नेपालमा बाघको संख्या लोपोन्मुख अवस्थाबाट उल्लेखनीय रूपमा वृद्धि भएको स्पष्ट पारे । 
 
उनका अनुसार बाघको शरीरमा रहेका विशिष्ट धर्काको विश्लेषण गर्दै ‘क्याप्चर–रिक्याप्चर’ विधिबाट गणना गरिन्छ । ठूलो भौगोलिक क्षेत्रमा सीमित संख्यामा क्यामेरा जडान गरिने भएकाले क्यामेरामा नपरेका बाघलाई पनि वैज्ञानिक तथ्याङ्कीय मोडेलमार्फत अनुमान गर्ने व्यवस्था रहेको छ ।
 
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि तीनै तहका सरकारले समन्वयात्मक नीति र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले वन्यजन्तु संरक्षण राष्ट्रिय गौरवको विषय भए पनि त्यसबाट स्थानीय समुदायले भोग्नुपरेका जोखिम र क्षतिलाई कम गर्नु उत्तिकै आवश्यक रहेको बताए ।
 
उनले भने, ‘कोर क्षेत्रको प्रभावकारी व्यवस्थापन, मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार तथा संरक्षणका कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्छ । निकुञ्ज, स्थानीय उपभोक्ता समिति र साझेदार संस्थाबीचको सहकार्य अझ प्रभावकारी बनाउन आवश्यक छ ।’
 
उनले अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा मध्यवर्ती क्षेत्रमा समुदाय लक्षित संरक्षण कार्यक्रम सुरू गरिएको जानकारी दिँदै स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त प्रयासबाट वन्यजन्तुको आक्रमणबाट हुने क्षति र मानवीय हताहती न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे ।
 
कार्यक्रममा संरक्षणकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वन कार्यालयका कर्मचारी, विद्यार्थी स्थानीयवासी तथा सरोकारवालाको सहभागिता थियो । सहभागीले बाघ संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा संरक्षणका चुनौती र सम्भावित समाधानका विषयमा छलफल गरेका थिए ।

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पतालनजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाए । तत्कालीन समयमा उनको मात्र होइन, ठूलो संख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो ।

सर्पको संख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्छन् । उनी भन्छन्, ‘यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ ।’

चितवनमा भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खटिएका डा विजय पौडेल पहिले पहिले विषालु सर्पले टोकेका २५ प्रतिशतसम्मको मृत्यु हुने गरेको बताउँछन् । आव २०५९/०६० तिरको समयमा अस्पतालमा वर्षभरिमा ६०० हाराहारी सर्पदंशका बिरामी आउने गरेकोमा २५० हाराहारी विषालु सर्पले डसेका हुने गर्दथ्यो । अस्पतालमा आव २०६४/०६५ मा सघन उपचार कक्ष बनाएपछिका वर्षहरुमा सात प्रतिशत हाराहारीको निधन हुन थाल्यो । यो प्रतिशत क्रमशः घट्दै आएर २०७५ /०७६ मा पाँच प्रतिशतमा झरेको उनी बताउँछन् ।

चितवनमा आउने बिरामीलाई मुख्य रुपमा कोब्रा, करेट, रसेनभाइपर र पिटभाइपरले डसेका हुन्छन् । नवलपरासी क्षेत्रमा भाइपरको जोखिम बढी हुने गरेको छ । केही समयअघि मात्रै भरतपुर अस्पतालबाट अवकाश लिएका पौडेलका अनुसार मानिसलाई डस्ने सर्पमध्ये ८० प्रतिशत विषालु हुँदैनन् । चितवनको पश्चिम र माडी क्षेत्रमा पाइने सर्प विषालु हुने उनले जानकारी दिए । प्रा पौडेल अवकास भएपछि सर्पदंशका बिरामी हेर्दै आएका डा प्रमोद पौडेल सर्पले डसेर अस्पताल आएका बिरामीको मृत्युदर शून्य आसपासमा आएको बताउँछन् । कुनै वर्ष एकदुई जनाको मृत्यु हुने र कुनै वर्ष शून्य रहने गरेको छ ।

गत आवमा सर्पको डसाइले अस्पताल आएका कसैको पनि ज्यान गएको छैन । अघिल्लो आवमा अस्पताल आउँदा आउँदै बाटोमा एक जनाको मृत्यु भएको तथ्याङ्क छ । पहिले–पहिले एक जना बिरामीलाई २०० भाइलसम्म एन्टिस्नेक भेनम दिने गरेको भए पनि हिजो आज विष देखिएकालाई १० भाइलबाट सुरू गरेर बढीमा ३० भाइलसम्म दिने गरिएको उहाँले जानकारी दिए ।
भरतपुर अस्पतालले गत एक वर्षमा ४९१ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । अस्पतलाको आकस्मिक कक्षमा उपचार गराउन आउनेमध्ये ती संख्यामा सर्पदंशका बिरामी रहेका थिए ।

आकस्मिक कक्षका प्रमुख अलाउद्दिन मियाका अनुसार गत वर्ष आएका बिरामीमध्ये १४ जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपरेको थियो । सो वर्ष सबैभन्दा धेरै साउन महिनामा सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गत वर्ष साउन महिनामा मात्र १३१ जना सर्पदंशका बिरामीले उपचार लिएका थिए । यसमध्ये तीन जनालाई सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

यस्तै, भदौमा ९८ जनाको उपचार गरिएकोमा सात जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । असोजमा आएका ७७ जना सर्पदंशका बिरामी मध्ये तीन जनालाई सघन उपचार कक्षमा राखिएको थियो । जेठमा ३६ जनाको उपचार गरिएकोमा एक जनाको सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

कात्तिकमा ५० जना, मङ्सिरमा आठ जना, पुसमा चार जना, माघमा तीन जना, फागुनमा १० जना, चैतमा १० जना, वैशाखमा ३१ जना, र असारमा ३३ जना सर्पदंशका बिरामीको उपचार भरतपुर अस्पतालमा गरिएको थियो । उहाँका अनुसार चितवन सहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले अस्पतालमा सेवा लिएका हुन् ।

चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उनका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिन्छ ।

सर्पदंशका बिरामीहरु बढी संख्यामा वर्षातको समयमा आउने गरेको छन् । खेती पाती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन नसक्ने, वान्ता हुने, बेहोस हुनेजस्ता लक्ष्यण देखिने उहाँले बताउनुभयो । विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ । रुखहरुमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्ष्यण देखिने गरेको उनले जानकारी दिए ।

सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दा माथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजानुपर्ने उनले बताए । यस क्षेत्रमा कोब्रा, करेत र भाइपर जातका विषालु सर्प भेटिने गर्दछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।