२०८३ मंसिर ४ बिहीबार
२०८३ मंसिर ४ बिहीबार

काठमाडौँ । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–२ मा स्थान बनाएको छ । आज भएको भएको ‘एलिमिनेटर’ खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले हराउँदै चितवनले क्वालिफायर–२ मा स्थान बनाएको हो ।

चितवनले अब फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । आजको हारपछि काठमाण्डु भने उपाधि दौडबाट बाहिरिएको छ । ‘एलिमिनेटर’ खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ३७, भीम सार्कीले अविजित ३०, सहान अराच्चिगेले २४, रशिद खानले १२ र सन्तोष यादवले १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । चितवनका लागि बलिङतर्फ रिजन ढकालले चार, उसामा मिरले तीन तथा कुशल मल्ल र सलाहुद्दीन खानले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर कामिल मिशाराले शतकीय पारी खेले । उनले ५९ बलमा १० छक्का र पाँच चौकासहित अविजित १२० रनको पारी खेलेका हुन् ।

योसँगै मिशारा जारी एनपिएलमा शतकीय पारी खेल्ने दोस्रो ब्याटर बनेका छन् । यस्तै, आज कप्तान रवि बोपाराले अर्धशतकीय पारी खेले ।

उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रनको पारी खेलेका हुन् । देव खनालले १५ बलमा दुई चौका र एक छक्कासहित १७ रन जोडे ।

काठमाण्डुका लागि बलिङतर्फ कप्तान करण केसी र रशिद खानले समान २÷२ विकेट लिए ।

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।  
 
दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावर हेर्ने मोह बढ्सँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो । पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपाली फर्कने र घुम्ने प्रचलन बढ्दै जानु, विदेशी पर्यटकको आकर्षण बढ्नुले पनि पर्यटकको सङ्ख्या बढेको हो ।
 
गत वर्षको चार महिनाको तुलनामा यस वर्ष १६ हजार २१२ जना पर्यटक बढेका छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार चालु आर्थिक वर्षको साउनयता ८४ हजार ५४ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । 
 
जसमध्ये नेपाली ४५ हजार ३६८, सार्क मुलुकका तीन हजार ७८७ जना र तेस्रो मुलुकका ३४ हजार ८९९ जना पर्यटकले निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनको भ्रमण गरेका छन् । गत आर्थिक वर्षको सोही समयमा निकुञ्ज भ्रमण गर्न आउने पर्यटकको सङ्ख्या ६७ हजार ८४२ जना रहेको थियो । 
 
सो अवधिमा नेपाली ३९ हजार ७०४ जना, सार्क मुलुकका तीन हजार ३५२ जना र तेस्रो मुलुकका २४ हजार ७८६ जना रहेको तिवारीले बताए । गत आर्थिक वर्ष भरमा दुई लाख ७२ हजार ९२३ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।
 
निकुञ्जले यस आर्थिक वर्षको चार महिनामा १० करोड छ लाख चार हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको हो । जसमध्ये सबैभन्दा बढी पर्यापर्याटनबाट प्राप्त राजस्व नौ करोड ७३ लाख १६ हजार ५०० रुपैयाँ रहेको छ । 
 
यस्तै, काठ र दाउरा बिक्रीबापत रु २८ हजार ६५५, गैरकाष्ठ वन पैदावार बिक्रीबापत १८ लाख १३ हजार १८१ रुपैयाँ, दण्ड सजायबाट प्राप्त राजस्व दुई लाख १३ हजार ३०० रुपैयाँ र अन्य शीर्षकबाट प्राप्त राजस्व (बेरुजुसमेत)को १२ लाख ३२ हजार ७०० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा ३१ करोड एक लाख ६४ हजार ५५१ रुपैयाँ राजस्व जम्मा भएको थियो । 

भरतपुर । चितवनको नारायणगढ नारायणी नदी किनारमा मङ्सिर ३ गतेदेखि हुने नारायणी महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव परिसरमा बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिको आयोजना र आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सह आयोजनामा मङ्सिर ३ गतेदेखि १६ दिनसम्म महोत्सव चल्ने छ ।

महोत्सवको बिहीबार दिउँसो ११ः०० बजे बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बाढीका कारण नारायणी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेर नारायणी किनार कुनै कार्यक्रम गर्न योग्य थिएन । यस्तो अवस्थामा महोत्सव आयोजना गर्नुअघि परिसरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आयोजक संस्थाले आफ्नै स्रोत, साधन र लगानीमा आवश्यक मेसिनरी तथा जनशक्ति परिचालन गरी किनारलाई सम्याएर महोत्सव सुरू गर्न लागेको हो ।

रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष विक्कल क्षेत्रीका अनुसार यस वर्षको महोत्सवलाई थप नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएका छन् । महोत्सवको प्रवेशद्वारमा आकर्षक पिरामिड शैलीको गेट निर्माण गरिनेछ भने नारायणी नदी किनार तथा वरपरको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न सकिने गरी हट एयर बेलुन महोत्सवमा राखिने छ । सम्बन्धित निकायको अनुमति तथा आवश्यक सुरक्षा मापदण्ड पूरा गरी उक्त गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

त्यस्तै, जिरो ग्र्याभिटी राइडको व्यवस्था गरिएको छ । बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिहरु सञ्चालन गरिनेछन् ।

महोत्सवमा विभिन्न व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारहरुको व्यवस्था गरिनेछ । यसबाट स्थानीय व्यवसायी, उद्यमी, स्वरोजगारमा संलग्न व्यक्ति तथा साना व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्राप्त हुने आयोजकको अपेक्षा छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग आवश्यक समन्वय र सहकार्य गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, परिसरको सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ ।

आयोजक रेड रक इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिले महोत्सवको सफलतालाई आयोजक संस्थाको सफलतामा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार, मनोरञ्जन र आर्थिक गतिविधिको विकाससँग जोडिएको साझा उपलब्धिका रूपमा लिएको जनाएको छ ।

महोत्सवमा साधारण टिकट १०० रुपैयाँ र विद्यार्थी टिकट ८० रुपैयाँ रहेको छ । कुनै कुनै दिन साँझ ५ बजेपछि ९ बजेसम्म महोत्सव परिसरमा विशेष कन्सर्ट हुने छ । विशेष कन्सर्ट जोनभित्र प्रवेश गर्नका लागि भने साधारण टिकट ३०० रुपैयाँ र भिआइपी टिकट ५०० रुपैयाँ रहेको छ । कहिलेकाहीँ साँझ हुने कन्सर्ट जोनमा जान नचाहनेले भने १०० रुपैयाँ र ८० रुपैयाँकै टिकट काटेर महोत्सव घुम्न पाउनेछन् ।

यसअघि मङ्सिर २ गतेबाट महोत्सव सुरू गर्ने भनिए पनि विभिन्न कामका लागि अतिरिक्त समय आवश्यक परेको हुँदा मङ्सिर ३ गतेबाट महोत्सव सुरू गर्नुपरेको आयोजकले जनाएको छ । महोत्सवमा सहभागी भई सफल पार्न आयोजकले आग्रह गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।