रत्ननगर । रत्ननगर जेसीजको २७औँ वार्षिक साधारण सभा तथा २६ औँ शाखा अधिवेशनले वर्ष–२०२६ का लागि अध्यक्षमा सविन मानन्धर निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी सुरेशजङ्ग पाण्डेसँग १ मत बढीले विजयी भएका हुन् ।
यस्तै, कार्यकारणी उपाध्यक्षमा सचितराज जोशी र रोशन काप्री निर्वाचित भएका छन् । उनीहरुका निकटतम प्रतिस्पर्धी रामप्रसाद शर्मा र ज्योतिप्रसाद भट्ट रहेका थिए । यसैगरी, उपाध्यक्षमा अन्जना जोशी, सौगात रिजाल, शौरभ दुवाडी र सुवास पोख्रेल सर्वसम्मत चयन भएका छन् ।
बाँकी रहेका पदाधिकारीहरु महासचिव, कोषाध्यक्षलगायतका मनोनित पदमा पदस्थापन तथा पद हस्तान्तरका दिन मनोनयन गरिने शाखा अध्यक्ष बाबुराम परियारले जानकारी दिए । युवामा नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि अहम् भूमिका खेल्दै आएको रत्ननगर जेसीजले सन् १९९९ देखि रत्ननगरलगायत पूर्वी चितवनमा १८ देखि ४० वर्ष उमेर समूहका युवामा नेतृत्व विकासको लागि कार्य गर्दै आइरहेको छ ।
नवनिर्वाचित अध्यक्ष मानन्धरले आफ्नो कार्यकालमा युवाको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता सीप विकासको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।






