२०८२ चैत्र २० शुक्रबार
२०८२ चैत्र २० शुक्रबार

समुदायस्तरबाट ‘बखान’ उपन्यासको गहिरो बहस सुरू

चितवन । चितवनको इतिहास, बस्ती विकास र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका व्यक्तित्व बखानसिंह गुरूङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट औपचारिक चर्चा–परिचर्चा सुरू भएको छ । स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो ।

भरतपुर महानगरपालिका वडा नं–२५ को प्रवर्द्धनमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा सम्पन्न भएको छ । थारु पत्रकार संघ चितवन र सुधापुञ्ज साहित्य समितिको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा उपन्यासले चितवनको बस्ती विकास, पर्यटन प्रवर्द्धन तथा प्रजातन्त्र प्राप्तिमा बखानसिंह गुरूङले खेलेको ऐतिहासिक भूमिकालाई सशक्तरूपमा उजागर गरेको निष्कर्ष निकालिएको छ ।

उपन्यासमाथि समीक्षात्मक धारणा राख्दै डा. सञ्जय महतोले चितवनको बस्ती विकासदेखि आदिवासी थारु समुदायको संस्कृति र जीवनशैलीलाई उपन्यासमा सन्तुलित र सजीव ‘सेटिङ’का साथ प्रस्तुत गरिएको बताए । उनले राप्ती दून परियोजनामार्फत बखानसिंह गुरूङले बाँझो जमिनलाई उर्बर बनाउन खेलेको भूमिकालाई उपन्यासले सुन्दर ढङ्गले चित्रण गरेको उल्लेख गरे ।

“यो उपन्यास धेरै हिसाबले सबल छ । सहकारी र कृषिलाई जोडेर आजको विकसित चितवन कसरी निर्माण भयो भन्ने विषयको ऐतिहासिक पृष्ठभूमि प्रभावकारीरूपमा उठान गरिएको छ,” डा. महतोले भने, “इतिहासको चर्चा गर्दा थारु समुदायका मिथकहरूमा थप अध्ययन आवश्यक देखिन्छ।

त्यस्तै, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समुदायस्तरमै पुगेर गरिएको यो समीक्षा ‘रोबर्टियन शैली’को गहिरो अप्रेसनजस्तै भएको टिप्पणी गरे । लेखकले इतिहासलाई समाजसँग जोड्दै पुनः ऐतिहासिकरण गर्न सफल भएको उनको धारणा थियो । लामो समयसम्म ओझेलमा परेका प्रजातन्त्र सेनानी बखानसिंह गुरूङको योगदानलाई आख्यानमार्फत दस्तावेजीकरण गर्नु उपन्यासको ठूलो उपलब्धि भएको उनले बताए ।

अब ‘बखान’जस्ता कृतिहरू पाठ्यक्रममै समावेश गर्नुपर्छ भन्ने बहस उठ्न थालेको छ। इतिहास बिर्सिएर वर्तमानमा बाँच्न नसकिने भन्दै स्थानीय समुदायले नयाँ पुस्ताले यो पुस्तक पढेमा धेरै आयाममा ज्ञान आर्जन गर्न सक्ने प्रतिक्रिया दिए ।

कार्यक्रमका अवसरमा ‘बखान’ उपन्यासका लेखक वसन्त पराजुलीलाई सम्मानसमेत गरिएको थियो । भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले स्थानीय भावना र इतिहास समेटिएको पुस्तकबारे स्थानीयस्तरमै छलफल आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

यसैबीच, सोही अवसरमा वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।