
चितवन । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भएका सात जनाको वर्गीकरणका लागि सिफारिस गरिएको छ । यस जिल्लामा रहेका १४२ घाइतेमध्ये उनीहरुको वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार घाइतेमध्ये अहिलेसम्म १७ जनाले परिचयपत्र बनाएका छन् । तीमध्ये सात जनाको जिल्लामा निर्णय गरेर वर्गीकरणका लागि पठाइएको हो ।
वर्गीकरण गरिएकामा अधिकांश मध्यम र सामान्य घाइते रहेका छन् । जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधिका आधारमा केन्द्रमा प्राविधिक समिति रहेको छ भने जिल्लामा जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिले घाइतेको वर्गीकरण गर्ने गर्दछ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आठ सदस्यीय समन्वय समिति रहेको छ । समितिमा सङ्घीय अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट, दुई जना चिकित्सक, जनस्वास्थ्य प्रमुख, प्रहरी अधिकारी र जिल्ला प्रशासन कार्यालयका अधिकृत रहने व्यवस्था छ । समितिले जिल्लामा वर्गीकरण गरेर केन्द्रमा पठाउने गरेको छ ।
केन्द्रको प्राविधिक टोलीले पुनः हेरेर स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गर्नेछ । अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य गरी चार चरणमा वर्गीकरण गरिने गौतमले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये अतिगम्भीर, गम्भीर र मध्यम घाइतेलाई अवस्थाअनुसार जीवननिर्वाह भत्ता राज्यले व्यवस्था गरेको छ ।
जिल्लामा भएको प्रदर्शनका क्रममा घाइते भएकाको परिचयपत्र बनाएसँगै उनीहरुलाई सुरुआती समयमा रु २० हजारसम्म उपचार खर्च दिने व्यवस्था रहेको छ । परिचय पत्र अन्य जिल्लाका स्थायी बासिन्दा भएकाको हकमा सो जिल्लाबाट नलिएको प्रमाणसहित निवेदन दिनसमेत उनले आग्रह गरे । परिचयपत्र वितरण र वर्गीकरणको काम भइरहेकाले प्रदर्शनका क्रममा भएका घाइतेलाई स्थानीय प्रशासनमा सम्पर्कमा आउनसमेत प्रशासनले आग्रह गरेको छ ।
चितवन । चितवनको इतिहास, बस्ती विकास र प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्व बखानसिंह गुरूङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट औपचारिक चर्चा–परिचर्चा सुरू भएको छ । स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो ।
भरतपुर महानगरपालिका वडा नं–२५ को प्रवर्द्धनमा शुक्रबार पश्चिम चितवनको शुक्रनगरमा ‘बखान’ उपन्यासमाथि परिचर्चा सम्पन्न भएको छ । थारु पत्रकार संघ चितवन र सुधापुञ्ज साहित्य समितिको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा उपन्यासले चितवनको बस्ती विकास, पर्यटन प्रवर्द्धन तथा प्रजातन्त्र प्राप्तिमा बखानसिंह गुरूङले खेलेको ऐतिहासिक भूमिकालाई सशक्तरूपमा उजागर गरेको निष्कर्ष निकालिएको छ ।
उपन्यासमाथि समीक्षात्मक धारणा राख्दै डा. सञ्जय महतोले चितवनको बस्ती विकासदेखि आदिवासी थारु समुदायको संस्कृति र जीवनशैलीलाई उपन्यासमा सन्तुलित र सजीव ‘सेटिङ’का साथ प्रस्तुत गरिएको बताए । उनले राप्ती दून परियोजनामार्फत बखानसिंह गुरूङले बाँझो जमिनलाई उर्बर बनाउन खेलेको भूमिकालाई उपन्यासले सुन्दर ढङ्गले चित्रण गरेको उल्लेख गरे ।
“यो उपन्यास धेरै हिसाबले सबल छ । सहकारी र कृषिलाई जोडेर आजको विकसित चितवन कसरी निर्माण भयो भन्ने विषयको ऐतिहासिक पृष्ठभूमि प्रभावकारीरूपमा उठान गरिएको छ,” डा. महतोले भने, “इतिहासको चर्चा गर्दा थारु समुदायका मिथकहरूमा थप अध्ययन आवश्यक देखिन्छ।
त्यस्तै, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले समुदायस्तरमै पुगेर गरिएको यो समीक्षा ‘रोबर्टियन शैली’को गहिरो अप्रेसनजस्तै भएको टिप्पणी गरे । लेखकले इतिहासलाई समाजसँग जोड्दै पुनः ऐतिहासिकरण गर्न सफल भएको उनको धारणा थियो । लामो समयसम्म ओझेलमा परेका प्रजातन्त्र सेनानी बखानसिंह गुरूङको योगदानलाई आख्यानमार्फत दस्तावेजीकरण गर्नु उपन्यासको ठूलो उपलब्धि भएको उनले बताए ।
अब ‘बखान’जस्ता कृतिहरू पाठ्यक्रममै समावेश गर्नुपर्छ भन्ने बहस उठ्न थालेको छ। इतिहास बिर्सिएर वर्तमानमा बाँच्न नसकिने भन्दै स्थानीय समुदायले नयाँ पुस्ताले यो पुस्तक पढेमा धेरै आयाममा ज्ञान आर्जन गर्न सक्ने प्रतिक्रिया दिए ।
कार्यक्रमका अवसरमा ‘बखान’ उपन्यासका लेखक वसन्त पराजुलीलाई सम्मानसमेत गरिएको थियो । भरतपुर–२५ का वडाध्यक्ष छविलाल सापकोटाले स्थानीय भावना र इतिहास समेटिएको पुस्तकबारे स्थानीयस्तरमै छलफल आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
यसैबीच, सोही अवसरमा वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो ।




