चितवन । चितवनको भरतपुरमा आजदेखि दोस्रो बागमती साहित्य महोत्सव सुरु भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना, भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजन तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको सम्वर्द्धन’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साहित्य मानिसको जीवनको यथार्थता प्रतिबिम्बित गर्ने माध्यम भएको बताए । “जन्म र मृत्यु जसरी यथार्थ हो, साहित्य त्यसैगरी यथार्थ हो । जन्मसँग पीडा जोडिएको हुन्छ भने मृत्युको क्षणमा पनि पीडा हुन्छ । साहित्य त्यही पीडा, यथार्थ र शक्तिको प्रतिबिम्ब हो”, उनले भने ।
मुख्यमन्त्री बानियाँले साहित्यबाट ज्ञान प्राप्त हुने र ज्ञानसँगै विज्ञानको विकास हुने उल्लेख गर्दै पछिल्लो समय कला, संस्कृति, साहित्य तथा सम्पदाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार निरन्तर लागिरहेको बताए । परम्परा र संस्कृतिको जगेर्ना गर्नु राज्य सञ्चालनकर्ताको मूल दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशभित्रका भाषा, लिपि, संस्कृति, संस्कार र साहित्यको संरक्षण तथा र्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए । साहित्यलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न प्रदेश सरकारले आवश्यक व्यवस्थापन र सहयोग गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले महोत्सव आयोजना गर्न विभिन्न साहित्यिक सङ्घसंस्था तथा व्यक्तित्वहरूको योगदान प्रशंसनीय रहेको बताए । उनले चितवनसँगै बागमतीको मौलिक नाच, सांस्कृतिक सम्पदा र परम्पराको साहित्यसँगै प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए ।
मन्त्री श्रेष्ठले साहित्य र पर्यटनबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै भने, “चितवन पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त जिल्ला हो । साहित्यिक कार्यक्रममार्फत देश, विदेशका पर्यटकलाई यहाँको कला, संस्कृति, साहित्य र सम्पदाबारे जानकारी गराउन सकिन्छ ।”
बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले नेपाल प्रकृति र संस्कृतिको मौलिक पहिचान बोकेको देश भएको उल्लेख गर्दै कला र साहित्य राष्ट्रको आत्मा भएको बताइन् । साहित्यले समाजलाई सचेत र जागरूक बनाउने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । महोत्सव भरतपुरमा आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै उनले साहित्यकारको योगदानले लोपोन्मुख सांस्कृतिक मूल्य र परम्पराको संरक्षणमा टेवा पुगेको बताए । उनले भौतिक पूर्वाधारको विकाससँगै ज्ञान, चेतना, कला र साहित्यको विकास समान रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, डा लक्ष्मणप्रसाद गौतम, रत्ननगर वाङ्मय प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीलगायतले शुभकामना व्यक्त गरे ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानका सचिव बालकृष्ण थपलियाले सञ्चालन गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद खनालको सभापतित्वमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्यका विभिन्न विधासम्बन्धी छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम भइरहेका छन् । महोत्सव विभिन्न सत्र, विचार–विमर्श र साहित्यिक गतिविधिसहित आइतबार सम्पन्न हुनेछ । यसअघि बागमती प्रदेशस्तरीय साहित्यिक भेला धादिङमा आयोजना गरिएको थियो ।








