२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

रत्ननगर–१ को निःशुल्क आँखा शिविरमा ४६७ जना लाभान्वित : १९ जनामा मोतियाविन्दुको समस्या

रत्ननगर । रत्ननगर–१ वडा कार्यालयको आयोजना एवम् भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

रत्ननगर–१, बकुलहरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय परिसरमा सञ्चालित शिविरमा ४६७ जनाले आँखाको जाँच गरेका थिए । सो शिविरमा आँखाको पावर जाँच, उपचार, औषधि वितरण तथा मोतियाविन्दुको पहिचान गर्ने कार्य गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष तथा रत्ननगर–१ का वडाध्यक्ष एवम् नगर प्रवक्ता कुलप्रसाद सापकोटाले शिविरमा देखिएको जनसहभागिताले आफूलाई थप उत्साहित बनाएको बताए । उनले आँखाको समस्याले धेरै नागरिक पीडित रहेको महसुस गर्दै अबदेखि हरेक तीन–तीन महिनामा यस प्रकारको शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

वडाध्यक्ष सापकोटाले नगरपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिरहेको लगानीबारे चर्चा गर्दै सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको निःशुल्क शिक्षा, एम्बुलेन्स सेवा र विभिन्न अस्पतालमा गरिब तथा विपन्न नागरिकका लागि खडा गरिएको उपचार कोषबाट नागरिकले लाभ लिइरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले दृष्टिबिनाको जीवन अधुरो हुने बताउँदै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको जानकारी दिए । उनले रत्ननगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देशभरिकै उत्कृष्ट सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै विपन्न नागरिकको उपचारका लागि नगरपालिकाले विभिन्न अस्पतालसँग समन्वय गरी उपचार कोष खडा गरेको बताए।

शिविरमा वरिष्ठ नेत्र सहायक सुवास सापकोटाले सेवा प्रवाहका विविध पक्षबारे प्रकाश पार्दै आवश्यक पर्ने बिरामीलाई निःशुल्क चस्मा र मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रिया गरिने जानकारी गराए । शिविरमा परीक्षण गरिएकामध्ये २२ जनामा मोतियाविन्दुको समस्या देखिएको छ, जसमध्ये १९ जनालाई थप उपचार र शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल पठाइएको छ । शल्यक्रिया, आवश्यक औषधि र चस्मा पूर्णरूपमा निःशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ । साथै, शिविरमा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने तथा मासु पलाउनेजस्ता समस्या भएका बिरामीहरूलाई परामर्शसहित निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा वडा सदस्य उमादेवी पौडेल, वडा सचिव महेश सुवेदी, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गिरी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

शिविरमा नजिकको दृष्टिका लागि १०० जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई भरतपुर आँखा अस्पताल रेफर गरिएको छ । वडा कार्यालयको यो पहलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका वडावासीमा ठूलो राहत पुगेको सहभागीहरुले बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।