२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

सौराहा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

चितवनको सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उनले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराए । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताए ।

उनले भने, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाँले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताए । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उनको भनाइ थियो ।

भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उनले जानकारी दिए । उनका अनुसार, महोत्सवका कारण पर्यटकको संख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ । विसं २०५५ देखि सुरू भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको मुख्यमन्त्री बानियाँको धारणा थियो ।

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री सूर्य श्रेष्ठले व्यवसायीहरुको समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सबैलाई आग्रह गर्दै मेला महोत्सवले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।

पर्यटन तथा सस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले हात्ती महोत्सवलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले सस्कृति र पर्यटनलाई अगाडि बढाउन सहयोग पुगेको बताए ।

महोत्सवमा हात्तीसग सम्बन्धित गतिविधिहरु सञ्चालन गरिएको छ । महोत्सव मूल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल बनाउन आग्रह गर्दै सौराहासहित चितवनको पर्यटन प्रबद्धनको लागि महोत्सव आयोजना गरिएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले वन्यजन्तु र पर्यटनमैत्री महोत्सव भएको भन्दै हात्तीहरुलाई एकीकृत वासस्थानको माग उठिरहेको र कानुन बनाएरै घरमा पालिएका हात्तीलाई घाँस खान पाउने व्यवस्था भएको बताए ।

सौराहाको बाघमारा चौरमा १९औँ संस्करणको हात्ती महोत्सव सुरू भएको हो । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।