रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीचौरमा जारी रत्ननगर महोत्सवको १३औँ संस्करणको छैठौँ दिन बुधबारसम्म आइपुग्दा एक लाख ५५ हजारले महोत्सवको अवलोकन गरेका छन् ।
पौष २५ गतेबाट सुरु भएको महोत्सव ३० गतेसम्म आइपुग्दा अवलोकनकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । संघका कोषाध्यक्ष विनोद घिमिरेले टिकट बिक्रीको संख्या अपेक्षाकृत रहेको र महोत्सव अवलोकनकर्ताको संख्या बढ्दै गएको बताए ।
संघका अध्यक्ष शङ्कर गिरीले माघ १ गतेबाट महोत्सवमा अवलोकनकर्ताको संख्या झनै बढ्ने दाबी गरे । ‘माघ १ गतेबाट अवलोकनकर्ताको संख्या थेग्नै नसक्नेगरी बढ्ने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ ।’
महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातिको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।
यसैबीच, रत्ननगर महोत्सवअन्तर्गत बुधबार आयोजना गरिएको भविष्यको खेतीपातीको चुनौती र अवसर तथा गीर गाई प्रवद्र्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कृषि विज्ञ र अनुभवी किसानहरुले सरकारको असहयोगका कारण अनेक प्रयत्न गर्दा पनि अर्गानिक उत्पादनलाई अगाडि बढाउन मुस्किल भएको बताएका छन् ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त कार्यक्रममा भविष्यको खेतीपातीका अभियन्ता डा. कृष्णप्रसाद पौडेलले खानाका लागि खेतीपाती, भविष्यको खेतीपातीको चुनौती र अवसरका विषयमा कार्यपत्र तथा अनुभवी पशुपालक किसान लक्ष्मण घिमिरेले नेपालका गीर गाईपालनको सम्भावना र चुनौतीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
डा. पौडेलको कार्यपत्रमाथि बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले पैसा कमाउने नाममा रैथाने तथा अर्गानिक खेतीतर्फ किसानको ध्यान जान नसकेको बताएका थिए । व्यावसायिक खेती गर्ने नाममा बिहान–बेलुका हातमुख जोर्ने खानाको उत्पादनप्रति बेवास्ता हुने गरेको भन्दै उक्त कार्यले भविष्यमा सङ्कट पैदा हुने उनले बताए ।
सोही कार्यपत्रमाथि बोल्दै कृषि विज्ञ शारदा शर्मा पौडेलले अर्गानिक उत्पादनको प्रमाणीकरण र बजारीकरणको समस्या रहेको बताइन् । अर्गानिक उत्पादनलाई बिहान–बेलुका हातमुख जोर्ने माध्यम बनाउनुपर्ने भन्दै उनले अन्नबालीमा विषादीको प्रयोगले माटो जर्जर बनेको उल्लेख गरिन् ।
गीर गाईपालन सुरू गरेका खैरहनीका घिमिरेले नेपालमा गीर गाईको संख्या ५० को हाराहारीमा रहेको उल्लेख गर्दै चितवनमा ९ वटा मात्र रहेको जानकारी दिए । तराईमा गीर गाईपालनको सम्भावना उच्च रहेको भन्दै उनले यहाँको हावापानीमा गीर गाई सजिलै हुर्कन सक्ने बताए । अनुभवी किसान हरि अधिकारीले खाद्यबालीमा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति शून्यमा झरिसकेको बताए । ‘रासायनिक मलको प्रयोगले माटो बिग्रियो’, उनले भने, ‘सुधार गर्न राज्य गम्भीर देखिएन ।’
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले रत्ननगर महोत्सवमा रैथाने बाली र पशुपालन विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए । संघका पूर्वअध्यक्ष तथा गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले रत्ननगर महोत्सवमा कृषि र पशुपालनको व्यावसायिक विकास तथा बजारीकरणको पाटोलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै यसपटक महको उत्पादन र बजारीकरण, रैथाने बालीको संरक्षण र गीर गाईपालनलाई स्थापित गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताए ।
रत्ननगर नगरपालिकाका कृषि विकास अधिकृत प्रविन लामाले चितवनको तरकारीखेतीमा ६० प्रतिशत बढी विषादीको प्रयोग हुँदै आएको भन्दै न्यूनीकरणमा नलागे सङ्कट उत्पन्न हुने बताए ।
कार्यक्रममा पूर्वमन्त्री केशवलाल श्रेष्ठ, किसान हरिप्रसाद पौडेल, विजय अर्याललगायतले मन्तव्य राखेका थिए । महोत्सवको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण अधिकारी, रत्ननगरका संस्थापक मेयर नारायण वन, समाजसेवी बलराम खनाललगायतको उपस्थिति थियो ।









