रत्ननगर । पूर्वी चितवनको रत्ननगरस्थित टिकौली चौरमा जारी रत्ननगर महोत्सवको १३औँ संस्करणमा बिहीबार दर्शकको भीड देखिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरू भएको उक्त महोत्सवको बिहीबार मात्र ४५ हजार बढीले अवलोकन गरेको संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।
महोत्सवको सातौँ दिनसम्म आइपुग्दा करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गरेको उनको दाबी छ । संघका कोषाध्यक्ष विनोद घिमिरेले बिहीबार माघेसङ्क्रान्ति परेकाले महोत्सवमा उत्सहाजनक उपस्थिति देखिएको भन्दै आगामी दिनमा अवलोकनकर्ताको संख्या अझै बढ्ने दाबी गरे ।
महोत्सव अवलोकन गर्न आएका मानिसहरुले रामजानकी मन्दिर आकृतिको भव्य गेट हेर्ने, फोटो तथा भिडियो खिच्ने गरेका छन् । महोत्सव प्रवेश गरेका अवलोकनकर्ताहरुको रोजाइमा विभिन्न जनजातीको घर, कृषि परिसर र सांस्कृतिक कार्यक्रम रोजाइमा पर्ने गरेको छ ।
यसपटकको महोत्सवमा मह उत्सव, रोजगारी मेला र जलपरी अवलोकन मुख्य आर्कषणको रुपमा रहेको छ । महोत्सव परिसरमाझ महको उत्पादन, गुणस्तर र बजारीकरणलाई प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई विशेष जोड दिँदै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्य राखिएको छ ।
विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यस महोत्सवको १३औँ संस्करणको चार लाखभन्दा बढी दर्शक अवलोकन गर्ने र २५ करोडभन्दा माथिको कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । पर्यटन प्रवर्द्धनतर्फ खगरी खोलामा मोटरबोट सञ्चालन गरिएको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ५०० स्टलहरू रहेका छन् । कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् कृषि प्रविधि प्रदर्शनीमा केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरणलाई महोत्सवले प्राथमिकतामा राखिएको छ ।
रत्ननगर नगरपालिका संरक्षक रहेको उक्त महोत्सव माघ ६ गते सम्म चल्ने छ । यता महोत्सवअन्तर्गत रत्ननगर वडा नं–१ सौराहाचोकमा चिकेन एण्ड एग फुड फेस्टिबल जारी रहेको छ ।
कुखुराको मासु र अण्डा तथा स्थानीय विभिन्न जातजातिको खानाको प्रवर्द्धनको लागि फुड फेस्टिबल आयोजना गरिएको संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । फेष्टिबल माघ ३ गतेसम्म चल्ने छ । साँझ ५ बजेबाट सुरू हुने फेस्टिबलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको छ ।






