–केशव भट्टराई
रत्ननगर । नेताहरुले चुनावी प्रतिस्पर्धाका लागि टिकटको आकाङ्क्षा राख्नु अनौठो कुरा होइन । तर, जसले टिकट पाए पनि एकजुट भएर टिकट पाएका उमेदवारलाई सहयोग गर्नु असल राजनीतिक संस्कार हो ।
चितवन क्षेत्र नं १ मा कांग्रेसका दर्जन बढी आकाङ्क्षीले उमेदवार बन्ने चाहना राखेका थिए । जसमध्ये तीन जनाको नाम बढी चर्चामा रहेको थियो– राजेन्द्रप्रसाद बुर्लाकोटी, इन्द्रकमल बुढाथोकी र वासुदेव ढुङ्गाना ।
तीनैजना चितवन–१ का लोकप्रिय कांग्रेस नेता हुन् । बुर्लाकोटी पाँच दशक अनुभव बोकेका र समाजसेवी व्यक्तित्व हुन् । यस्तै, चार दशक बढी राजनीतिमा योगदान दिएका इन्द्रकमल बुढाथोकी र वासुदेव ढुङ्गाना चिरपरिचित राजनीतिकर्मी हुन् ।
विद्यार्थी राजनीतिबाट आफ्नो छवि बनाएका बुढाथोकी युवामाझ लोकप्रिय छन् भने विभिन्न सामाजिक संघसंस्थामा योगदान दिएका ढुङ्गाना पर्यटन व्यवसायी पनि हुन् ।
जेनजी आन्दोलनपछि परिवर्तित समयमा बदलिएको कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेको छ । यसबीचमा तीन आकाङ्क्षीमध्ये अन्तिम समयमा टिकट पाउन सफल भएका हुन्, बुर्लाकोटी । उमेदवार मनोनयनपत्र दर्ताको समय सकिन केहीबेर बाँकी रहँदा कांग्रेसबाट बुर्लाकोटीले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताकै लाइनमा थिए, दुई नेता बुढाथोकी र ढुङ्गाना ।
बुर्लाकोटी कांग्रेसबाट तेस्रोपटक चुनाव लड्दै गर्दा टिकट पाउन वञ्चित दुई आकाङ्क्षीले असहयोग पो गर्ने हुन् कि ? थोरै संशय कांग्रेसजनमा पर्नु अस्वाभाविक थिएन । प्रतिकूल अवस्थाका बीच दुई आकाङ्क्षीबाट कस्तो प्रतिक्रिया आउला, त्यो प्रतीक्षाको विषय थियो ।
यही क्रममा ढुङ्गानाले फेसबुकमा लेखे– ‘हार्दिक बधाई छ, राजेन्द्र दाइ । सम्पूर्ण सामर्थ्यका साथ मैदानमा हामी तपाईंसँगै खट्ने छौँ ।’ यसबाट के प्रस्ट हुन्छ भने टिकटमा प्रतिस्पर्धा भए पनि आफ्नो उमेदवारलाई सम्पूर्ण सामर्थ्यका साथ सहयोग गर्छु भन्ने भाव व्यक्त गरिनु लोकतान्त्रिक संस्कार हो । र, लोकतन्त्रको विशिष्ट परम्परा ।
अर्का प्रत्याशी बुढाथोकीले पनि फेसबुकमा लेखेका छन्, ‘समय, परिस्थिति जे भए पनि चितवन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटीलाई जिताउनका लागि दिलोज्यान दिएर लाग्ने छु र सबैलाई सहयोग गर्न अनुरोध पनि गर्दछु ।’
बुढाथोकीले फेरि अर्को स्टाटस लेख्दै भनेका छन्, ‘टिकटमा प्रतिस्पर्धा आफ्नो ठाउँमा छ । टिकट नपाउँदासम्म लडियो, अब त्यो लडाइँलाई बिर्सेर नेपाली कांग्रेस क्षेत्र नं १ मा राजेन्द्रप्रसाद बुर्लाकोटीलाई अत्यधिक मतले जिताउनुछ । सबैजना आफ्नो ठाउँबाट लागौँ र कांग्रेसलाई जिताऔँ । जय नेपाल !’
तीनैजना नेता हातमा हात मिलाएर चुनावी अभियानमा जुटेका छन् । चितवन क्षेत्र नं १ का क्षेत्रीय सभापति किरणभूषण ओली भन्छन्, ‘कांग्रेसभित्र प्रतिस्पर्धा हुन्छ । र, कांग्रेसभित्रै सहयोगको प्रतिबद्धता पनि हुन्छ । रुपान्तरणसहित चुनावी मैदानमा आएको कांग्रेस लोकतान्त्रिक पार्टी हो । र, हाम्रा साथीहरुमा लोकतान्त्रिक संस्कार छ ।’
उनले क्षेत्र नं १ मा कांग्रेसले पुरानो साख फर्काउने गरी परिपक्व र सामाजिक व्यक्तित्व राजेन्द्र बुर्लाकोटीलाई नयाँ उत्साहका साथ मैदानमा उतारेको बताए ।








