चितवन । नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट उमेदवारी दिएकी मीना खरेलले आफ्नो उमेदवारी नै सम्पूर्ण महिलाहरुको उमेदवारी भएको बताएकी छन् । उनले महिलाहरूको उत्साहजनक समर्थन, साथले आफ्नो जीत भएको अनुभव गराएको बताइन् ।
नेतृ खरेल विगत करिब ३६ वर्षदेखि चितवनका ग्रामीण तथा सहरी क्षेत्रमा महिला तथा बालबालिकाको पक्षमा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहदै आएकी छन् । महिलामाथि हुने अन्याय, हिंसा, अत्याचार तथा विभेदका घटनामा साथ दिँदै अनाथ तथा टुहुरा बालबालिकाका लागि निरन्तर काम गर्दै आएकी खरेलको यही सामाजिक योगदानको पृष्ठभूमिबाट उनी अहिले राजनीतिमा अग्रसर भएकी हुन् ।
खरेलले बाल्यकालदेखि नै राजनीतिलाई बुझ्दै सामाजिक कार्यलाई आफ्नो जीवनको निरन्तर यात्राकारूपमा अगाडि बढाएको भन्दै पार्टीले आफ्नो कामको मूल्याङ्कन गरेर निर्वाचनका लागि टिकट दिएकोमा आभार व्यक्त गरिन् । उनले यो उम्मेदवारी व्यक्तिगत नभई समग्र चितवन क्षेत्र नम्बर २ का महिलाहरूको प्रतिनिधित्व गर्ने उम्मेदवारी भएको उल्लेख गरेकी छ्न् ।
खरेलले क्षेत्र नम्बर २ का महिलाहरू, पार्टीमा आबद्ध महिला कार्यकर्ताहरू तथा स्वतन्त्ररूपमा क्रियाशील महिलाहरूको समर्थनले आफूलाई जीतको अनुभूति गराएको बताइन् । विजयी भएर सरकारमा पुगेपछि महिला तथा बालबालिकासँग सम्बन्धित मुद्दाहरू संसदमा सशक्तरूपमा उठाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
विजयपछि चितवन २ को पहिचानलाई राष्ट्रियस्तरमा मजबुत बनाउँदै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वाससमेत खरेलले व्यक्त गरिन् । महिलाहरूको ठूलो उपस्थिति र उत्साह देखेर आफू गौरवान्वित भएको बताउँदै उनले रुख चिह्नमा मतदान गरी विजयी गराउन मतदातासँग अपिलसमेत गरेकी छ्न् ।









