राप्ती । राप्ती नगरपालिकामा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरणसम्बन्धी नगरभित्रका सरोकारवाला र विद्यालयहरुबीच समन्वयात्मक छलफल गरिएको छ ।
थ्री एन्जल्स नेपाल, चितवन शाखाको आयोजनामा भएको कार्यक्रममा राप्ती नगरपालिका र मनहरी गाउँपालिकाभित्रका जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्थानीय संघसंस्थाका प्रतिनिधिहरुबीच छलफल भएको हो ।
थ्री एन्जल्स नेपालका एसइओ विवेक ढकालको अध्यक्षता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुखअतिथि बागमती प्रदेश सभा सदस्य जेएन थपलियाले मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराध जरैदेखि निर्मूल पार्न गाउँ, टोल, समाज, स्थानीय तह र सिङ्गो राज्य नै एक भएर लाग्नुपर्नेमा जोड दिए ।
राप्ती–२, गड्यौलीमा आयोजित कार्यक्रममा राप्ती–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, राप्ती–३ का वडाध्यक्ष शिवकान्त ओली, मनहरी गाउँपालिका वडा नं–७ का वडा सदस्य नवराज सुवेदी, श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालय राप्तीका सहायक प्रधानाध्यापक साधुराम रिजाल, बुद्धशान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक नमराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्थायी प्रहरी पोस्ट लोथरका प्रमुख गोपीबहादुर ब्लोनले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणमा सबैको हातेमालो र सहकार्य हुन जरूरी रहेको बताए । उनले आफ्नो टोल, छरछिमेकमा त्यस्ता शङ्कास्पद गतिविधि कहीँकतै भटिएमा तुरुन्त प्रहरी कार्यालय वा वडामा खबर गर्नसमेत अनुरोध गरे ।
कार्यक्रममा उपस्थित राज्यका निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि सदैव लागी पर्ने भन्दै सङ्कल्प पत्रमा हस्ताक्षरसहित संयुक्तरूपमा साझा प्रतिबद्धता व्यक्त गरे ।
सो प्रतिबद्धतासँगै महिला, किशोरी तथा बालबालिकाको गरिमा, सुरक्षा र अधिकार संरक्षणका लागि नीति कार्यान्वयन, समन्वय, पीडितकेन्द्रित संरक्षण र दिगो पुनःस्थापनामा सबै पक्षको संयुक्त भूमिकाको अपरिहार्यता रहेको साथै परिणाममुखी र जवाफदेही सहकार्य हुनेमा विश्वास लिइएको छ ।
‘उद्धार, रोकथाम र पुनस्र्थापनाको माध्यमबाट मानव बेचविखनको अन्त्य गरौँ’ भन्ने मूल उद्देश्य लिई स्थापना भएको सो संस्थाले मानव बेचबिखनविरुद्ध विगतदेखि नै जनचेतनामूलक विविध कार्यक्रम गर्दै आएको छ ।
थ्री एन्जल्स नेपालकी एएफटी म्यानेजर ममिला गुरूङले सहजीकरण गरेको कार्यक्रम थ्री एन्जल्स नेपाल, चितवन शाखाका अध्यक्ष सुनिता सिलवालले सञ्चालन गरेकी थिइन् ।






