रत्ननगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीले जेनजी उमेदवार विकास कामी ‘स्नेही’लाई अघि सारेको छ ।
युवा राजनीतिक नेता तथा सामाजिक अभियन्ताका रूपमा परिचित कामीले ‘मिसन चितवन–१ : ४० दिने विजय सङ्कल्प’नामक रणनीतिक चुनावी कार्ययोजना सार्वजनिक गर्दै नयाँ पुस्ताको नेतृत्व र जनमुखी विकासको एजेन्डा प्रस्तुत गरेका छन् ।
चितवन क्षेत्र नं १ का रत्ननगर, खैरहनी र राप्ती नगरपालिकालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले भौगोलिक केन्द्रलक्षित मतदाता र कार्यक्षेत्रअनुसार रणनीति तय गरेको छ ।
सहरी इन्जिन र युवामैत्री मतदातालाई लक्षित रत्ननगर, जातीय र कृषि मत निर्णायक मानिने खैरहनी तथा विकास र सिँचाइका मुद्दा प्रमुख रहेको राप्ती नगरपालिकामा फरक–फरक अभियान सञ्चालन गरिने बताइएको छ ।
योजनाअनुसार घरदैलो, साना बैठक, डिजिटल प्रचार, प्रभावशाली व्यक्तिको सार्वजनिक समर्थन र विपक्षी भ्रमको तत्काल खण्डन मुख्य रणनीति हुन् । युवालाई डिजिटल अभियानको अग्रपङ्क्तिमा राख्दै टिकटक, फेसबुक लाइभ र तथ्यमा आधारित सन्देश प्रवाह गरिने छ । अन्तिम चरणमा स्वयम्सेवक तालिम, ‘गो टु होम’ अभियान र मतदान दिन मतदाता परिचालनलाई प्राथमिकता दिइएको छ ।
विकास कामीको राजनीतिक एजेन्डा भूमिहीन बसोबासीलाई लालपुर्जा वितरण, किसानका लागि वडास्तरमा मल बैंक स्थापना, युवाका लागि स्थानीय रोजगारी र उद्यमका अवसर सिर्जनाजस्ता व्यावहारिक समाधानमा केन्द्रित छ । इमानदार नेतृत्व, पारदर्शी शासन र श्रमिक वर्गलाई प्रत्यक्ष लाभ पुग्ने नीतिको पक्षमा उभिएका उनी सामाजिक न्याय, युवा सशक्तीकरण र दिगो विकासप्रति प्रतिबद्ध छन् ।
नयाँ पुस्ताको विश्वास जित्ने उद्देश्यसहित अघि बढेको यस अभियानले चितवन–१ मा वैकल्पिक र जिम्मेवार नेतृत्वको बहसलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।








