भरतपुर । चितवन क्षेत्र नम्बर २ मा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ ।
दल तथा उमेदवारहरू जनतामाझ आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका बेला नेपाली कांग्रेसकी उमेदवार मीनाकुमारी खरेल सामाजिक सेवा र महिला अधिकारका सवालमा गरेको योगदानका कारण मतदाताको रोजाइमा पर्न थालेकी छन् ।
खरेल लामो समयदेखि महिलाहरूको हकहित र न्यायका लागि निरन्तर सक्रिय रहँदै आएकी हुन् । घरेलु हिंसा, विभेद र अन्यायमा परेका महिलाहरूको उद्धार, कानुनी सहयोग र पुनस्र्थापनाका लागि उनले प्रत्यक्ष रूपमा काम गरेकी छन् । पीडित महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उनको भूमिका उल्लेखनीय मानिन्छ ।
यस्तै, असहाय तथा टुहुरा बालबालिकालाई संरक्षण, पालनपोषण र शिक्षाको अवसर दिलाउँदै सक्षम नागरिक बनाउने काममा पनि उनी समर्पित रहँदै आएकी छन् । धेरैका लागि उनी नेतृभन्दा पनि अभिभावक र भरोसायोग्य सहाराको रूपमा चिनिन्छिन् ।
राजनीतिक पदभन्दा बढी सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएकी खरेलले आफ्नो जीवन नै सेवा र समर्पणमा खर्चिएकी छन् । शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र रोजगारीलाई मुख्य एजेन्डा बनाएर उनी अहिले मतदातामाझ पुगेकी छन् ।
कांग्रेसको महासमिति सदस्यसमेत रहेकी खरेल सङ्गठन निर्माण र जनसम्पर्कमा उत्तिकै सक्रिय छन् । स्थानीय समस्या र विकासका आवश्यकता नजिकबाट बुझेकी उनको अनुभवले उनलाई व्यावहारिक र जनमुखी उमेदवारका रूपमा स्थापित गरेको छ ।
स्थानीय बासिन्दाहरू भन्छन्, ‘मीनाकुमारी खरेल नेतृ मात्र होइनन्, सङ्कटमा साथ दिने संरक्षक हुन् ।’ यही विश्वास र जनसमर्थनका कारण चितवन क्षेत्र नम्बर २ मा उनको उमेदवारी दिनप्रतिदिन थप सशक्त बन्दै गइरहेको छ ।
चितवन क्षेत्र नम्बर २ का विभिन्न स्थानहरूमा भइरहेका क्रियाशील भेला तथा मतदाता भेटघाट कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिएको छ । मतदाताहरूले खरेललाई आगामी निर्वाचनमा सफलताको शुभकामना दिँदै, विगत ३५ वर्षदेखि यस क्षेत्रका लागि पु¥याएको योगदानको कदर गर्दै जितको विश्वास व्यक्त गरेका छन् ।






