भरतपुर । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले घरदैलो कार्यक्रम गरिरहेको छ । मङ्गलबार भरतपुर–२५ को घरदैलो सकिएपछि भरतपुर–२४ को घरदैलो सुरू भएको छ । चितवन क्षेत्र नं ३ का कांग्रेस उमेदवार टेकप्रसाद गुरूङले बदलिएको कांग्रेसले जेनजी युवाले उठाएको मुद्दा बोकेर चुनावमा आएको बताए । आइतबार उनले भरतपुर–१३ मा मतदाता भेटघाट कार्यक्रम गरेका थिए ।
नेपाली कांग्रेसको मूल्य र सिद्धान्तअनुसार दलित, जनजाति र सबै समुदायका साथीहरुसँग संवाद गर्दै उनीहरुको सुख–दुःख, समस्या र आवश्यकतालाई सम्बोधन गर्दै आवाज संसद्सम्म पु¥याउने एवं विकास र समृद्धिको मार्गमा साथ दिने वाचा गरेको उनले बताए ।
लोकतन्त्र, विचार, सिद्धान्त र स्थानीयका मुद्दालाई राम्रोसँग बुझेका कारण उनको पक्षमा जनलहर बढेको नेपाली कांग्रेसको दाबी छ । पार्टीका सबै शुभचिन्तक र मतदाताको मन जित्न सक्ने ठानेर नै कांग्रेसले आफूलाई मैदानमा पठाएको उनले बताए । ‘जनप्रतिनिधि हुँदै आएको पुरानो अनुभव र पार्टीमा अहिलेसम्म पनि सक्रिय नै रहेका कारण सबैको भावना बुझेको हुँदा मतदाताको मन पनि जित्छु भन्ने आशा छ’, उमेदवार गुरूङले भने ।
विगतमा पार्टीको राम्रो आधार मानिएको हाल चितवन–३ अन्तर्गतको क्षेत्रमा पुरानो विरासत फर्काउने जिम्मेवारी पुराना नेताको काँधमा सुम्पिएको उनी बताउँछन् । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने मूल नाराका साथ एकताबद्ध भएर कांग्रेसका साथीभाइ लागेकाले आफू विजेता हुने उनले बताए ।
उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण तथा जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । घरदैलो कार्यक्रममा मतदाता उत्साहित भएको भन्दै उमेदवार गुरूङले वृद्धवृद्धा, महिला र जेनजी युवाहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताए । घरदैलोमा किसान, युवा, संघसंस्था, शिक्षक र महिलाहरुले स्थानीयस्तरमा गर्नुपर्ने विकास, पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका समस्या राखेको उनले बताए ।
चितवन–३ मा संविधान जारी भएपछि पहिलोपटक कांग्रेसले उमेदवार उठाएको छ । भरतपुर महानगरपालिकाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसँग दुईपटक नै गठबन्धन गरेर कांग्रेसले मेयर उठाएन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उमेदवारलाई समर्थन गर्यो ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट रेनु दाहाल र नेकपा एमालेबाट शंकर थपलिय प्रतिस्पर्धामा छन् ।






