रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा नेपाली लोक भजन तथा संस्कृति संरक्षणका लागि भजन तथा शङ्ख ध्वनि प्रतियोगिता आयोजना गरिएको छ ।
माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति रत्ननगर–१५ द्वारा आयोजित प्रतियोगिताको उद्घाटन नगरप्रमुख प्रलाद सापकोटाले गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सापकोटाले युवा पुस्ताले बिर्सिँदै गएको नेपाली लोकभजन संस्कृतिको संरक्षण तथा जगेर्ना गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘हाम्रा संस्कृति र मूल्य–मान्यताहरुको संरक्षण गरिनुपर्दछ । नेपाली लोकभजन संस्कृतिको ऐतिहासिक महत्त्व रहेकाले यसको संरक्षणका लागि रत्ननगर नगरपालिका गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
यस्तै, नगर उपप्रमुख यादवप्रसाद पाठकले पछिल्लो समय पश्चिमा प्रभावका कारण हाम्रा लोकसंस्कृतिमाथि प्रहार हुन थालेको बताउँदै नेपाली समाजको आस्था, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानलाई पुनर्जागरण गर्नका लागि यस्ता कार्यक्रम फलदायी हुने बताए ।
नेपाली संस्कृति संरक्षणका लागि माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समिति रत्ननगर–१५ ले गरेको जमर्कोप्रति सहाराना व्यक्त गर्दै रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङले वडा कार्यालयबाट १ लाख ५० हजार सहयोग गरिएको जानकारी दिए ।
माधवपुर क्षेत्रलाई भक्तिमय सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्ने योजना रहेको समितिका सचिव पुरुषोत्तम कट्टेलले बताए । माधवपुर खेलकुद विकास समितिको खेलकुद मैदानमा हुने प्रतियोगितालाई भव्य बनाउन ५०५ सदस्यीय मूल आयोजक समिति गठनसमेत गरिएको छ । देशभरका भजन समूह तथा शङ्ख वादकहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा एक समूहमा अधिकतम २० जना सहभागी हुन सक्नेछन् । समूहगत पोसाक अनिवार्य गरिएको छ । भजन प्रस्तुति अवधि १० मिनेटको हुने आयोजकले जनाएको छ ।
भजन प्रतियोगितामा प्रथम हुने समूहलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्रदान गरिने छ । त्यसैगरी शंख ध्वनि प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने वादकहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।
कार्यक्रम व्यवस्थापनका लागि कुल करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा गीतकार तथा सङ्गीतकार अर्जुन पोख्रेल र लोकप्रिय गायिका बबिता बानियाँ रहेकी छन् ।









