भरतपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चितवनमा क्षेत्रीय महिला भेला सम्पन्न भएको छ । निर्वाचनलाई लक्षित गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर २ की उमेदवार मीना खरेललाई विजयी गराउने उद्देश्यका साथ क्षेत्रीय महिला भेला सम्पन्न भएको हो ।
भेलामा वक्ताहरूले निर्वाचनमा महिलाको सक्रिय र निर्णायक भूमिका आवश्यक रहेको जोड दिएका थिए । उनीहरूले मीना खरेललाई विकासप्रेमी, जनमुखी तथा सक्षम उमेदवारका रूपमा प्रस्तुत गर्दै आगामी निर्वाचनमा भारी मतले विजयी गराउन सबैलाई एकजुट भएर लाग्न आह्वान् गरे । उनीहरूले चितवन–२ को समग्र विकास, महिला सशक्तिकरण, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनाका मुद्दालाई प्राथमिकतामा राखेर घरदैलो अभियानलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले चितवन क्षेत्र नं २ मा मीना खरेललाई अत्याधिक मतका साथ विजय गराउन आवश्यक रहेको बताइन् । ‘मीना दिदी महिला बालबालिकाको मात्रै आमा होइनन्, उनी समग्र देशको आमा हुन् । त्यसैले पनि चितवन २ मा मीना खरेललाई अत्यधिक मतका साथ विजय गराउन आवश्यक छ’, उनले भनिन्, ‘देशको चाबी खोल्नका समाजसेवी मीना खरेलले जित्नु आवश्यक छ ।’
यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ । लामो समयपछि रुखमा भोट हाल्न पाउनु त्यसमा पनि मीना खरेललाई भोट हाल्न पाउने भएकाले पनि चितवन–२ मा छुट्टै रौनक छाएको छ । उनले भनिन्, ‘कांग्रेसको विकल्प कांग्रेस, लोकतन्त्रको विकल्प लोकतन्त्र, भएकाले देशको विकास गर्ने नै कांग्रेसले हो यसका लागि मीना खरेलजस्तो पात्र आवश्यक छ ।’ ‘उनी कांग्रेसले मात्रै नभएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक सबैले रुचाएकी पात्र हुन् । मीनाले हार्नु भनेको चितवनले मात्रै हार्ने होइन सम्पूर्ण देशले नै हार्ने हो । त्यसैले हामी अब एकजुट भएर लाग्नुपर्छ’, उनले भनिन् ।
उमेदवार खरेलले महिला शक्तिको साथ र विश्वास नै आफ्नो मुख्य आधार रहेको बताउँदै जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाइन् । उनले निर्वाचनलाई लोकतन्त्रको पर्वका रूपमा लिँदै शान्तिपूर्ण र सभ्य वातावरणमा मतदान सम्पन्न गराउन सबैलाई आग्रह गरिन् । भेलामा विभिन्न राजनीतिक दलका महिला नेतृ तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।






