चितवन । चितवनको कालिका नगरपालिकामा भएको मीना खरेलको घरदैलो अभियानमा जनसागर उर्लिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की कांग्रेस उमेदवार खरेलले घरदैलो अभियानलाई तीव्र बनाएकी छन् । सोही क्रममा मङ्गलबार कालिकामा भएको घरदैलो अभियानमा व्यापक संख्यामा जनसहभागिता देखिएको छ ।
कालिकाको ८, ९, १० र ११ वडामा गरिएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उर्लिदो जनसागरले अभियानलाई थप ऊर्जा दिएको थियो । घरदैलो अभियानमा उत्साहजन उपस्थितिले त्यहाँको माहोलले आमसभाको झल्को दिएको थियो ।
समर्थकहरूले बिहानैदेखि लामो लाइनमा बसी बाजागाजासहित नाचगान गरी हजारौंको संख्यामा सडकमै रुख चिह्नको रङ्गोली बनाएर मीना खरेललाई भव्य स्वागत गरेका थिए । यतिबेला खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ । घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ ।
खरेल आफ्ना एजेण्डा लिएर निरन्तर मतदाताको घरदैलोमा सक्रिय भएकी छन् । उनले चितवन–२ का विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन आफूलाई विजयी गराउन आवश्यक रहेको बताएकी छन् ।
उमेदवार खरेलले आफू सधैँ महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्माण गर्न मैले उमेदवारी दिएकी हुँ’, उनले भनिन् । ‘मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु । यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूतिसमेत गरेकी छु’, खरेलले भनिन्, ‘जनताको विश्वास नै मेरो शक्ति हो, कालिकाको समग्र विकासका लागि म प्रतिबद्ध छु ।’












