२०८३ आश्विन १० शनिबार
२०८३ आश्विन १० शनिबार

चितवन १ मा राजेन्द्र बुर्लाकोटीको घरदैलो र चुनावी र्‍याली तीव्र

रत्ननगर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै चितवन क्षेत्र नं १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले घरदैलो प्रचारप्रसार र चुनावी र्‍यालीलाई तीव्रता दिएका छन् ।

उमेदवार बुर्लाकोटीले मङ्गलबार समर्थक कार्यकर्ताको साथमा नाचगान गर्दै रत्ननगर–१ र ३ मा चुनावी र्‍याली गरेका छन् । उनलाई सघाउन जिल्ला सभापति राजेश्वर खनाल, उपसभापति राजीव न्यौपाने, राष्ट्रिय सभा सदस्य गीता देवकोटा, रत्ननगर नगरपालिकाका कांग्रेस जनप्रतिनिधिलगायत नेताकार्यकर्ता सहभागी रहेका थिए ।

घरदैलोका क्रममा फागुन २१ गते रुख चिह्नमा मतदान गर्न निम्तोपत्र वितरण गर्दै उमेदवार बुर्लाकोटीले परिवारको मत कतै पनि खेर नजाने मतदान गर्न आग्रह गरे । उनले भने, ‘तपाईंहरु कोही पनि हल्लाहल्ला र भ्रमको पछि नलाग्नुहोस् । तपाईंले रोजेको उमेदवारले तपाईंहरुकै हितमा काम गर्छ । प्रत्यक्षमा मलाई र समानुपातिकमा कांग्रेसलाई भोट लिनुहोस् । भोट खेर जाँदैन । म तपाईंहरुको मतको सम्मान गर्नेछु ।’

बिहानदेखि बेलुकीसम्म उनी घरदैलोमा व्यस्त भइरहेका छन् । उनलाई महिला, युवा र जेनजी युवाले साथ र सहयोग गरिरहेका छन् । चितवन क्षेत्र नं १ का निर्वाचन परिचालन समितिका संयोजक किरणभूषणसिंह ओली भन्छन्, ‘हाम्रो उमेदवारले यसपालि हार्ने छूट छँदै छैन । गाउँ–टोल, सहर–बस्ती जहाँतहीँ राजेन्द्र बुर्लाकोटीलाई मतदान गर्न जनता आतूर देखिएका छन् । उहाँको स्वच्छ छवि, राजनीतिक र सामाजिक योगदानले नै यो लहर आएको हो । हामी निकै उत्साहित छौँ ।’

घरदैलोका क्रममा भेटिएका वृद्धवृद्धाले राजेन्द्र बुर्लाकोटी र कांग्रेसका पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले उमेदवार बुर्लाकोटीलाई आशीर्वाद दिँदै जितको शुभकामना व्यक्त गरेका छन् ।

यसपटकको चुनावमा महिला दिदीबहिनीको सक्रियता निकै बढेको छ । केन्द्रीय सहमहामन्त्री डिला सङ्ग्रौलासहित महिला नेतृहरु उमेदवार बुर्लाकोटीको चुनावी कार्यक्रममा लागेका छन् । उमेदवार बुर्लाकोटी भन्छन्, ‘महिला शक्ति एक हुने हो भने चुनाव जित्न मलाई कुनै समस्या छैन । हरेक महिला दिदीबहिनीहरुले आआफ्नो घर र छिमेकको मत संरक्षण गरिदिनुहोला ।’

चुनावी कार्यक्रममा कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विशेष महाधिवेशपछि कांग्रेस नै नयाँ पार्टी रहेको र कांग्रेसले भिजन–१० मा आधारित प्रतिज्ञापत्रमा आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको बताउँदै मतदाता झुक्किनुपर्ने कारण नरहेको प्रष्ट पारे ।

उनले भने, ‘हाम्रा उमेदवार राजेन्द्र बुर्लाकोटीमा यस क्षेत्रको समस्या समाधान गर्ने हुटहुटी छ । उहाँलाई अत्यधिक मत दिएर जिताऔँ ।’ उनले चुनावको समयमा मात्रै जनताको घरदैलोमा भेटिने उमेदवारलाई होइन, जनताको दुःखसुखमा सधैँ साथ दिने उमेदवार मतदाताले रोज्नुपर्नेमा जोड दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।