चितवन । मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूह, भरतपुर–२६, ज्योतिनगरको आयोजनामा मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाका अभिभावकहरूका लागि प्रेरणादायी मोटिभेसन तथा सम्मान गरिएको छ । १५औँ विश्व मस्तिष्क पक्षाघात दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाको हेरचाह, पालनपोषण तथा उनीहरूको सर्वाङ्गीण विकासमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका, चुनौती र सम्भावनाका विषयमा छलफल गरिएको थियो ।
साथै, बालबालिकाको हेरचाहमा निरन्तर समर्पित अभिभावकहरूको मनोबल उच्च बनाउने, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा स्वावलम्बी जीवनयापनका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मीकान्त घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुखअतिथि रहेका थिए । यस्तै, ‘तिमीसँग आन्विका अभियान’का अध्यक्ष दिनेश प्रधानलगायत अन्य विभिन्न पदका महानुभावहरु विशिष्टअतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाका अभिभावक, सामाजिक व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अभिभावकहरूलाई सकारात्मक सोच, धैर्यता, आत्मविश्वास र पारिवारिक सहयोगको मह¤वबारे प्रेरित गर्दै मस्तिष्क पक्षाघात प्रभावित बालबालिकालाई माया, स्याहार र उचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । यस्ता बालबालिकाको क्षमता पहिचान गरी उनीहरूलाई समाजको मूलधारमा समेट्न परिवार, समुदाय र राज्य सबैको सहकार्य आवश्यक रहेको विषयसमेत उठाइएको थियो ।
मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाको हेरचाहमा दिनरात खटिने अभिभावकहरूको योगदानको कदर गर्दै ३० जना अभिभावकहरुलाई सम्मानसमेत गरिएको थियो । अभिभावकहरूले भोग्दै आएका सामाजिक, आर्थिक तथा पारिवारिक चुनौतीलाई सम्बोधन गर्न सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रमले मस्तिष्क पक्षाघात प्रभावित बालबालिका र उनीहरूका अभिभावकप्रति समाजमा सकारात्मक सोचको विकास गर्नुका साथै अभिभावकहरूबीच आपसी सहयोग, अनुभव आदानप्रदान र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
मस्तिष्क पक्षाघात प्रभावित बालबालिका र उनीहरूका परिवारको जीवन सहज बनाउन सचेतना, सहयोग र सम्मानका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रम सम्पन्न भएको थियो ।












