
चितवन । चितवनमा विद्युतीय सवारी साधनसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । चितवन अटोमोबाइल डिलर एसोसियसन (काडा)ले शनिबार व्यवसायी तथा सेवाग्राहीलाई विद्युती गाडी प्रयोगसम्बन्धी जानकारी दिएको हो ।
पछिल्लो समय विद्युतीय सवारीसाधनमा नकारात्मक हल्ला फैलिएपछि व्यवसायी तथा सेवाग्राहीलाई यसको गुणस्तर तथा विशेषताको विषयमा जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले विद्युतीय गाडी संसारका व्यक्तिले स्वीकार गरेको बताउँदै यसलाई ठीक कि बेठिक भन्ने विषय नभएको बताए । सवारी दुर्घटना मानवीय तथा तथा भौतिक कारणले पनि हुने भएकाले सवारीसाधनलाई मात्र दोष दिन नहुने उनको भनाइ थियो ।
‘इभी गाडी खराब कि नखराब भन्ने विषय यो अनावश्यक कुरा हो’, उनले भने, ‘संसारका व्यक्तिले स्वीकार गरेको वस्तु ठीक कि व्यक्ति भन्ने होइन ।’ सन् २०२४ मा दक्षिण कोरियामा रोकिराखेको विद्युतीय गाडीमा आगलागी भएको उदाहरण दिँदै प्रमुख जिल्ला अधिकारी अर्यालले त्यहाँ विद्युतीय सवारीसाधन विस्तार भइरहेको बताए ।
चितवनमा केही समयअगाडि विद्युतीय कारमा आगलागी भएको थियो । त्यस विषयलाई लिएर यस गाडीको विश्वसनियतामाथि प्रश्न उठेको थियो । तर, विद्युतीय सवारीसाधनको कारण मात्र आगोलागी नभएको प्रशिक्षक रवीन पौडेलले जानकारी दिए । विद्युती सवारीसाधन प्रयोग गर्दा विद्युतको भोल्टेजलगायतका विषयमा ख्याल गर्नुपर्ने उनले बताए । विद्युतीय सवारीसाधनका धेरै फिचरहरु रहेको भन्दै यसबारे ज्ञान लिएर सवारी चलाउनुपर्ने उनको भनाइ थियो । नेपालमा अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको उनको भनाइ छ ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका विष्णु थापालगायतको उपस्थिति रहेको थियो ।
चितवन । मस्तिष्क पक्षाघातको लागि अभिभावक स्वावलम्बन समूह, भरतपुर–२६, ज्योतिनगरको आयोजनामा मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाका अभिभावकहरूका लागि प्रेरणादायी मोटिभेसन तथा सम्मान गरिएको छ । १५औँ विश्व मस्तिष्क पक्षाघात दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाको हेरचाह, पालनपोषण तथा उनीहरूको सर्वाङ्गीण विकासमा अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका, चुनौती र सम्भावनाका विषयमा छलफल गरिएको थियो ।
साथै, बालबालिकाको हेरचाहमा निरन्तर समर्पित अभिभावकहरूको मनोबल उच्च बनाउने, उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्ने तथा स्वावलम्बी जीवनयापनका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मीकान्त घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुखअतिथि रहेका थिए । यस्तै, ‘तिमीसँग आन्विका अभियान’का अध्यक्ष दिनेश प्रधानलगायत अन्य विभिन्न पदका महानुभावहरु विशिष्टअतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाका अभिभावक, सामाजिक व्यक्तित्व तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अभिभावकहरूलाई सकारात्मक सोच, धैर्यता, आत्मविश्वास र पारिवारिक सहयोगको मह¤वबारे प्रेरित गर्दै मस्तिष्क पक्षाघात प्रभावित बालबालिकालाई माया, स्याहार र उचित अवसर प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । यस्ता बालबालिकाको क्षमता पहिचान गरी उनीहरूलाई समाजको मूलधारमा समेट्न परिवार, समुदाय र राज्य सबैको सहकार्य आवश्यक रहेको विषयसमेत उठाइएको थियो ।
मस्तिष्क पक्षाघातप्रभावित बालबालिकाको हेरचाहमा दिनरात खटिने अभिभावकहरूको योगदानको कदर गर्दै ३० जना अभिभावकहरुलाई सम्मानसमेत गरिएको थियो । अभिभावकहरूले भोग्दै आएका सामाजिक, आर्थिक तथा पारिवारिक चुनौतीलाई सम्बोधन गर्न सहयोगी वातावरण निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रमले मस्तिष्क पक्षाघात प्रभावित बालबालिका र उनीहरूका अभिभावकप्रति समाजमा सकारात्मक सोचको विकास गर्नुका साथै अभिभावकहरूबीच आपसी सहयोग, अनुभव आदानप्रदान र एकताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
मस्तिष्क पक्षाघात प्रभावित बालबालिका र उनीहरूका परिवारको जीवन सहज बनाउन सचेतना, सहयोग र सम्मानका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रम सम्पन्न भएको थियो ।
चितवन । नेपाल नेत्रज्योति संघ चितवनको २६औँ जिल्ला सभा चितवनका सभापति जयराम श्रेष्ठको अध्यक्षतामा एवं नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सभापति ऋषिराम पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशवप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रम विशेषअतिथि पौडेलले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् । उपसभापति तेजेन्द्रबहादुर खड्काले अस्पताल र कार्यक्रमको बारेमा जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै विशेषअतिथि पौडेलले नेपाल नेत्रज्योति संघ नितान्त सामाजिक संस्था भएको हुँदा सामाजिक भावनाले काम गर्न आवश्यक रहेको बताए । नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल एक उदाहारणीय र सफल कार्यक्रम भएको उनको भनाइ थियो ।
भरतपुर आँखा अस्पतालले मुलुका मध्य भागमा पर्ने तीनवटा प्रदेशमा आँखाको स्वास्थ्यसेवा दिँदै आएको बताउँदै आगामी दिनमा अझ सेवा विस्तारको आवश्यकता औँल्याए । त्यसको लागि नेपाल नेत्रज्योति संघ केन्द्रीय समिति र बागमती प्रदेश समिति आवश्यक सहयोग र सहजीकरणको लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी कार्यक्रमका सम्मानित व्यक्तित्व तथा विशेषअतिथि ईश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख मनोज आचार्यले ईश्वरपुर आँखा उपचार केन्द्रमा डाक्टरको सेवा, आवास र पिउने पानीको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । ईश्वरपुर आँखा उपचार केन्द्रले हालसम्म २५ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको उनले जानकारी दिए ।
कार्यक्रममा भरतपुर आँखा अस्पतालको प्रगति प्रतिवेदनसमेत लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका सचिव केशवप्रसाद अधिकारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिद्धार्थलाल चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ चितवनका महेन्द्रलाल प्रधान, पूर्वसभापति वामदेव खनाल, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैसी, नेपाल नेत्रज्योति संघ चितवनका आजीवन सदस्य भोजराज कौडेल, तोयानाथ भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
चितवन । चितवनमा कृषि वैज्ञानिकसहित प्राविधिकबीच समन्वय गोष्ठी सञ्चालन गरिएको छ । कृषि विकास कार्यालय चितवनले कृषि बालीमा लाग्ने रोगको पहिचान र समाधान गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कृषि अधिकृत, नार्कमा कार्यरत कृषि वैज्ञानिक र अध्ययन संस्थानमा कार्यरत प्राध्यापकहरुको सहभागितामा गोष्ठीको आयोजना गरिएको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिए ।
कार्यक्रममा चितवनका सातवटा पालिकाका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्नो पालिकाबाट भएका कामका साथै संक्षिप्त प्रगति, नवीन कार्य र फिल्डस्तरमा देखा परेका समस्या र चुनौतीका विषयमा प्रस्तुतीकरण दिएका थिए ।
उनीहरुले अहिले चितवनमा धान बालीमा देखिएको समस्या र बिषादी प्रयोगका बारेमा आफ्नो धारणा राखेका थिए । साथै संघ, प्रदेश र पालिकाबाट हुने कार्यक्रमहरुमा दोहोरोपना हटाउन समन्वयात्मक भूमिका खेल्नुपर्ने उनीहरुको भनाइ थियो ।
यस्तै, राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रकी वैज्ञानिक डा. सरस्वती न्यौपानेले वर्षे धानबालीमा देखा परेका विभिन्न किसिमका रोग तथा कीराहरुको प्रकोप, सूक्ष्म खाद्यतत्त्वको कमी, खाद्यतत्त्वको अधिक न्यून प्रयोगलगायतका समस्याहरुको पहिचान एवं एकीकृत व्यवस्थापन विधि र वैज्ञानिक शुक्रबहादुर गुरूङले नार्कबाट विकसित भएका नवीनतम कृषि प्रविधि तथा नयाँ जातहरुसम्बन्धी प्रविधि हस्तान्तरण तथा वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले लहरे तथा बालीमा कीराको व्यवस्थापन विधिका विषयमा प्रशिक्षण दिएका थिए ।
कृषि अर्थविज्ञ निर्मल पौडेलले सहजीकरण गरेको कार्यक्रममा बाली संरक्षण अधिकृत गीता केसीले चितवनमा धान रोगमा देखिएका समस्याका विषयमा आफ्नो प्रस्तुतीकरण दिएको थियो । कार्यक्रम कार्यालय प्रमुख झलकनाथ कँडेलको अध्यक्षतामा सञ्चालन भएको थियो ।
चितवन । चितवनका हिरासत कक्ष र कारागारहरुमा कैदीबन्दीहरुको मानवअधिकारको अवस्था सन्तोषजनक रहेको पाइएको छ ।
चितवन जिल्ला अदालत बार एसोसियसन मानवअधिकार समितिले तयार पारेको प्रतिवेदनमा पछिल्लो वर्ष कैदीबन्दीलाई न्यूनतम मानवअधिकारको प्रत्याभूति दिलाइएको उल्लेख छ । मावनअधिकार समितिका सचिव अधिवक्ता पासाङ तामाङले कैदीबन्दीसँग अन्तक्र्रिया, सरोकारवाला निकायसँग छलफल गरी प्रतिवेदन तयार पारिएकोमा मानवअधिकारको अवस्था सन्तोषजनक पाइएको बताए । उनले स्वास्थ्यको हकमा केही सुधार गर्नुपर्ने औँल्याए ।
१० महिना लगाएर तयार पारिएको प्रतिवेदन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक गरेका थिए । प्रमुख जिल्ला अधिकारी अर्यालले सीमित स्रोतसाधनको भरमा न्यूनतम मानवअधिकारलाई ख्याल राखेर व्यवस्थापन गरिएको बताए ।
उनले देशको अवस्था हेरेर मानवअधिकारलाई जोड्नुपर्ने भन्दै स्वीजरल्यान्डलाई हेरेर नेपालमा मानवअधिकार खोजेर पाउन नसकिने बताए । उनले चितवनमा मानवअधिकारको अवस्था सन्तुलित नै रहेको बताए ।
राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंले यो प्रतिवेदन अझै गहिराईमा लेख्नुपर्ने सुझाव दिए । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने देशभर नै समस्या रहेको भन्दै सुरक्षालाई केन्द्रमा राखेर मानव अधिकारको प्रत्याभुति दिलाउनुपर्नेमा जोड दिए ।
मानवअधिकार समितिका संयोजक नुनराज सिलवालले चितवनमा सबै प्रहरी कार्यालयका हिरासत कक्ष र जिल्ला कारागारमा पुगेर प्रतिवेदन तयार पारिएको बताए ।
कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, चितवन बारकी अध्यक्ष फूलमाया रानाभाटले प्रतिवेदनबारे चर्चा गरेका थिए भने मानवअधिकार समितिका सह–संयोजक विष्णुप्रसाद अर्यालले स्वागत मन्तव्य गरेका थिए ।
चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदीकिनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) जिल्ला शाखा चितवनले आज यहाँ आयोजना गरेको पाँचौँ साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ जना चालकलाई सम्मान गरिएको थियो ।
उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्मा एम्बुलेन्स चालकले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले भने, ‘शव उठाउन हामीले नेतृत्व गर्नुपर्नेमा अघिअघि एम्बुलेन्स चालक र हामी पछिपछि भयौँ ।’ विपद्मा गरिने यस्ता कार्यको राज्य पक्षबाट मूल्याङ्कन हुनुपर्ने उनले बताए ।
संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले चालकहरूले नदीमा शव उठाउने, एम्बुलेन्समा राख्ने र झार्नेसम्मका काम गरेका बताए । उनले भने, ‘तीन–चार दिनदेखि गन्हाइरहेका शव कुनै अप्ठ्यारो महसुस नगरी हामीले बोक्यौँ ।’ कतिपय शव राख्ने ठाउँको अभावमा लामो समय एम्बुलेन्समा राख्नुपरेको उनले बताए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विपद्मा चालकहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । कार्यक्रममा चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, भरतपुर अस्पतालका साइदिप घिमिरे, संघका जिल्ला अध्यक्ष कल्याण लामा, सचिव मिलन श्रेष्ठ, नेपाल ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष अर्जुन अधिकारीलगायतले आआफ्नो धारणा राखेका थिए ।
यसैबीच, अधिवेशनले कल्याण लामाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भोटेकोशी बाढीको समयमा चितवनसहित धादिङ, नवलपरासी, तनहुँ, कास्की, नुवाकोटका एम्बुलेन्सले शव व्यवस्थापनमा खटिएका थिए । चितवनमा १३५ वटा एम्बुलेन्स संघमा आबद्ध थिए । भोटेकोशी बाढीका सबैभन्दा बढी ३६९ वटा शव चितवनमा फेला परेका थिए ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा शनिबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अनुसार १८ जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस शनिबार बिहान विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा पल्टिएको थियो । दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
पण्डितका अनुसार दुर्घटनामा परी बसका चालक बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरिगङ्गा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका १२ जना यात्रुमध्ये मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक स्वास्थ्य उपचारपश्चात् आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक पण्डितले मध्यविन्दु प्रादेशिक अस्पतालले जनाएको बताए ।
अस्पतालद्वारा दिउँसो जारी विज्ञप्तिअनुसार अन्य चार जना घाइतेको भने मध्यविन्दु अस्पतालमा भर्ना गरी उपचार तथा स्वास्थ्य निगरानीमा राखिएको छ । अस्पतालमा भर्ना भएका बिरामीको आवश्यक उपचार तथा स्वास्थ्य निगरानी चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निरन्तर भइरहेको भन्दै थप विशेषज्ञ उपचार आवश्यक देखिएका बिरामीलाई आवश्यकताअनुसार सम्बन्धित स्वास्थ्य संस्थामा पठाइएको अस्पतालले जनाएको छ ।





