चितवन । चितवनको अग्रणी तथा उत्कृष्ट सूचना प्रविधि शिक्षण संस्था ड्रिम्स कलेजका विद्यार्थीहरूले राष्ट्रियस्तरको प्रविधि प्रतिस्पर्धा कोडफेस्ट नेपाल–२०२६ मा उल्लेखनीय सफलता हासिल गर्दै कलेजसँगै चितवनको प्रतिष्ठा उच्च बनाएका छन् ।
कोडफेस्ट नेपाल–२०२६ अन्तर्गत स्नातक तह (ब्याचलर) समूहमा सहभागी ड्रिम्स कलेजका विद्यार्थीहरूले दोस्रो स्थान हासिल गरेका हुन् । विद्यार्थीहरूको कडा मेहनत, सिर्जनशीलता, नवीन सोच, प्राविधिक दक्षता तथा सामूहिक सहकार्यको परिणामस्वरूप प्राप्त यस उपलब्धिले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक तथा व्यावहारिक शिक्षाको प्रभावकारिता थप पुष्टि गरेको छ ।
यस सफलताले ड्रिम्स कलेजमा प्रविधि शिक्षा केवल पाठ्यपुस्तक र कक्षाकोठामा सीमित नरही व्यावहारिक सिकाइ, परियोजना निर्माण, नवप्रवर्तन तथा प्रतिस्पर्धात्मक क्षमता विकासमा केन्द्रित रहेको स्पष्ट पारेको छ ।
चितवनमा गुणस्तरीय, आधुनिक, व्यावहारिक तथा उद्योगमुखी सूचना प्रविधि शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको ड्रिम्स कलेज विद्यार्थीहरूको पहिलो रोजाइको कलेज बन्ने लक्ष्यसहित अघि बढिरहेको छ । आधुनिक पूर्वाधार, सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला, अनुभवी तथा दक्ष प्राध्यापक, विद्यार्थीमैत्री शिक्षण पद्धति र प्रविधिमैत्री सिकाइ वातावरण कलेजका प्रमुख विशेषता हुन् ।
कलेजले शैक्षिक ज्ञानसँगै व्यवहारिक सीप, सिर्जनशीलता, नेतृत्व क्षमता तथा व्यावसायिक दक्षता विकासका लागि विभिन्न अतिरिक्त शैक्षिक तथा प्राविधिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कोडफेस्ट नेपाल २०२६ मा प्राप्त सफलता ड्रिम्स कलेजको व्यावहारिक, नवप्रवर्तनमुखी तथा विद्यार्थी केन्द्रित शिक्षण दृष्टिकोणको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीको नेतृत्व टोली प्रमुख सन्तोष चापागाईंले गरेका थिए । टोलीका अन्य सदस्यमा दिपेश पौडेल, प्रशान्त ढकाल र आयुष तिमिल्सिना रहेका छन् ।
विद्यार्थीलाई वास्तविक सूचना प्रविधि क्षेत्रको आवश्यकता अनुरूप दक्ष बनाउने उद्देश्यले कलेजमा नियमित रूपमा विभिन्न प्रशिक्षण कार्यशाला, सघन सीप विकास कार्यक्रम, प्रविधि प्रतिस्पर्धा, परियोजनामा आधारित अध्ययन, उद्योग क्षेत्रका विज्ञसँग अन्तर्क्रिया तथा नवीनतम उद्योगमुखी पाठ्यक्रम सञ्चालन हुँदै आएका छन् ।
विद्यार्थीलाई आफ्नो ज्ञान व्यवहारमा उतार्ने, नयाँ प्रविधि सिक्ने, समूहगत कार्य गर्ने तथा वास्तविक समस्याको समाधान विकास गर्ने अवसर प्रदान गरिँदै आएको कलेजले जनाएको छ । साथै, इन्टर्नसिप तथा रोजगारी सहजीकरण कार्यक्रममार्फत विद्यार्थीहरूको करियर विकास र रोजगारमुखी क्षमता अभिवृद्धिमा समेत विशेष जोड दिइँदै आएको छ ।
विद्यार्थीका नवीन विचारलाई वास्तविक परियोजना, उत्पादन तथा उद्यमशीलतामा रूपान्तरण गर्ने उद्देश्यले कलेजले नवप्रवर्तन प्रवर्द्धन केन्द्रसमेत स्थापना गरेको छ । यसमार्फत विद्यार्थीहरूमा नवप्रवर्तन, अनुसन्धान, स्टार्टअप संस्कार तथा उद्यमशील सोचको विकास गर्ने लक्ष्य राखिएको कलेजले जनाएको छ ।








