काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा पार्टी रहेको स्पष्ट गरे ।
उनले भने, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ । यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ ।”
सभापति लामिछानेले लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट मात्रै समृद्ध बनाउनसक्ने बताए । राजनीतिक आस्था र विश्वास अलग हुनसक्ने भए पनि सरकारको नियत सही भएको उनको भनाइ छ ।
“सरकारको नियत सही छ । कुनै निर्णय विवादमा पर्न सक्लान्, कुनै निर्णय खराब हुन सक्लान्, हामी सच्याउँछौँ”, उनले भने, “तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता, त्यसमा दायाँबायाँ हुँदैन, त्यसलाई डगमगाउन दिँदैनौँ । म यहाँहरूलाई विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु”, सभापति लामिछानेले भने ।
“म यहाँहरूलाई विश्वस्त हुनका लागि अनुरोध गर्न चाहन्छु । मैले त्यतिखेर संसद्मै भनेको थिएँ कि दुई ठूला राजनीतिक दलविना कुनै कारण, विनाकुनै सङ्कट, विनाकुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले सङ्कट पैदा गर्छ भनेर ।” उनले विगतलाई स्मरण गर्दै भने, “अहिले त्यो सत्य सावित भएको छ, त्यसले हामीलाई जन्मायो । म तपाईंहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गछौँ भनेर, पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् ।”
इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेको स्पष्ट गर्दै पार्टी सभापति लामिछानेले लोकतन्त्रमाथि मुलुकमा अहिले कुनै पनि प्रकारको खतरा नभएकाले ढुक्क हुन सबैसँग अनुरोध गरे ।
लोकतन्त्रमाथि कहीँकतैबाट खतरा देखिए त्यसको प्रतिवाद नेपाली जनताले गरी लोकतन्त्र जोगाउने स्पष्ट गर्दै सभापति लामिछानेले देश र जनताका पक्षमा रचनात्मक सहयोग गरी नेपाली जनताको विश्वास जितेर आगामी चुनावमार्फत सरकारमा आउन बाटो रहेको बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसको महाधिवेशन सफलताको कामना गरे ।












