रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा ‘स्तनपानलाई प्राथमिकता दिऔँ : सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ ३३औँ विश्व स्तनपान सप्ताह रत्ननगर–१६ स्थित पिठुवा स्वास्थ्यचौकीमा सुरू भएको छ ।
रत्ननगर–१६ का वडाध्यक्ष एवम् स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हेमराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेल, नर्सिङ अधिकृत अम्बिका पौडेल, विद्यालय नर्स वन्दना सापकोटा, सिअनमी अधिकृत गीता रायमाझीले स्तनपानको मह¤वका विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा ६ महिनासम्म आमाको दूधमात्रै खुवाउनुपर्ने र दूधको प्रतिस्थापनमा बजारमा पाइने प्याकेट र बट्टाको दूध पूर्णरुपमा प्रतिबन्ध लगाउनुपर्ने बताइएको थियो ।
पिठुवा स्वास्थ्यचौकीका इन्चार्ज नरहरि श्याम शर्माले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै वडाध्यक्ष थापाले रत्ननगर नगरपालिकाले गर्भावस्थादेखि नै स्वास्थ्यसेवा प्रदान आएको र कुनै पनि नागरिकको उपचार नपाएका कारण ज्यान जाने स्थिति नरहेको बताए ।
उनले ज्यान बिग्रन्छ भनेर स्तनपान गराउनु हुँदैन भन्ने भ्रमबाट मुक्त हुन जरूरी रहेको बताउँदै पिठुवा स्वास्थ्यचौकीमा स्तनपान कक्ष स्थापना गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा सदस्य चीजकुमार श्रेष्ठ, ज्ञानेन्द्र रेग्मी, सरिता गुरूङ, रिता विक, वडा सचिव मञ्जु पौडेल, स्वास्थ्यकर्मीहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, गर्भवती तथा सुत्केरी आमाहरु र सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।









