भरतपुर । लोकप्रिय गायिका रचना रिमालले नयाँ तीज गीत “ए बाबा मलाई नर्सिङ पढाइदेऊ” बजारमा ल्याएकी छन् ।
भरतपुर महानगरपालिका वडा नं–७, कृष्णपुर निवासी हरिप्रसाद भुसालको शब्द रचना रहेको समसामयिक यस गीतमा गोविन्द अनेकले सङ्गीत दिएका छन् । जनस्वास्थ्य विज्ञ हरिप्रसाद भुसाल लेखनमा समेत सक्रिय रहेका छन् ।
केही दोहोरो अर्थमा अश्लील लाग्ने शब्दहरु समेटिएका तीज गीतहरुले समाजमा नराम्रो असर पारिरहेको अवस्थामा हालको समसामयिक अवस्थालाई समेटेर भुसालले यो गीत रचना रिमालको स्वरमा बजारमा ल्याएका छन् ।
गोविन्द अनेकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा छोरीले नर्सिङ पढेर सजिलै अमेरिका, क्यानडा, अस्ट्रेलिया जस्ता विकसित मुलुकमा गएर छिट्टै धन कमाउन सकिन्छ र सम्पन्न हुन सकिन्छ भन्ने भावसहित नर्सिङ पढ्न बुबासँग अनुरोध गरिरहेको कथावस्तु प्रस्तुत गरिएको छ । खास गरी अमेरिका बस्नेहरुले विवाहको लागि नेपाली नर्सहरु मन पराउने हुनाले पनि नर्स पढेर सजिलै अमेरिका जान सकिने कथाबस्तु गीतले बोकेको छ ।
हालको परिस्थितिअनुसारको विषय बस्तुमा तयार गरिएको उक्त गीतको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा मुख्य कलाकारका रूपमा संजना गुरुङले अभिनय गरेकी छन् भने रचनाकार भुसालकी छोरी सिमरन भुसालको समेत सशक्त अभिनय रहेको छ ।
गीतको छायाङ्कन बुद्ध थापाले गरेका हुन् भने निर्देशन र कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् । भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । तीजको मौलिक भावनासँगै शिक्षा र विदेशमा अवसरको चाहना जोडिएको यस गीतले समसामयिक सामाजिक यथार्थ झल्काउने कोसिस गरेको छ ।








