चितवन । नेपाली चलचित्र `सावन´को शुभ मुहूर्त गरिएको छ । रत्ननगर-१, निपनीस्थित श्री गायत्री हरिहर मन्दिरमा सो चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
सो चलचित्रमा कपिल मगर, आइसा गौतम र विनिशा शर्मा आचार्यको मुख्य अभिनय रहेको छ। त्यस्तै,लक्ष्मण नेपाल, कृष्ण थापा, मुस्कान काप्री, पुजन लामिछाने, विजय चपाईं, गोमा रिजाल, शोभा पाण्डेलगायतको अभिनय रहेको छ।
गोज्बम्स फिल्मसको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रलाई कलाकार कपिल मगरले निर्माण गर्ने भएका हुन् । यसअघि मगरले लिलि र चितवन डायरिज चलचित्रमा काम गरेका छन् ।
कलाकार मगर विगत पाँच वर्षअघिदेखि चलचित्र तथा म्युजिक भिडियो निर्माणमा सक्रिय रहँदै आएका छन् । चलचित्रलाई आभाष रानाले निर्देशन गरेका हुन् । रेहान मियाको कथा तथा संवाद रहेको सो चलचित्रमा विजय चपाईं र रवि कोइरालाको छायाङ्कन रहनेछ ।
चलचित्रको चितवनमा विभिन्न रमणीय स्थान मायाटार, दियालो बंगला, माडी, सौराहा, गोलाघाटलगायतका क्षेत्रमा छायाङ्कन गरिनेछ । आशिक प्रजापतिको सङ्गीत रहेको उक्त चलचित्रलाई रेहान मियाँले सम्पादन गरेका हुन् ।
युवायुवतीको संघर्ष र सफलताको कथालाई आधार बनाएर निर्माण हुन लागेको सो चलचित्रको छायाङ्कन साउन अन्तिम साताबाट हुने निर्माण पक्षले बताएको छ ।








