रत्ननगर । न्यू क्यापिटल कलेज, रत्ननगरले हरितालिका तीज र आफ्नो रजत जयन्तीको अवसरमा “नारी चेतना र तीज : शिक्षाले देखाएको उज्यालो बाटो” विषयक तीज गीत -नाच प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पूर्वी चितवनस्तरीय प्रतियोगिता आगामी भदौ ६ गते बिहान १०ः०० बजे कलेज प्राङ्गणमा हुन लागेको क्याम्पस प्रमुख भूपेन्द्र धितालले जानकारी दिए । यस कार्यक्रमले तीजको सांस्कृतिक महत्त्वलाई उजागर गर्दै नारी चेतनालाई प्रोत्साहन गर्ने लक्ष्य राखेको उनले बताए ।
क्याम्पस प्रमुख धितालका अनुसार प्रतियोगितामा सहभागी समूहले अधिकतम ७ जनाको टोलीमा १० मिनेटभित्र मौलिक पोसाक, गीत र नृत्य प्रस्तुत गर्नुपर्नेछ । गीतमा राजनीतिक वा व्यक्तिगत आक्षेप समावेश गरिए त्यस्तो समूहलाई अयोग्य मानिने नियम बनाइएको छ । आयोजकले वाद्यवादनको व्यवस्था गर्नेछ भने मूल्याङ्कन गीत, प्रस्तुति, मौलिकता, लय, भाव र अनुशासनका आधारमा गरिनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः १७ हजार, १३ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । क्याम्पस प्रमुख धितालले इच्छुक महिला, दिदीबहिनी तथा आमा समूहलाई साउन ३० गतेसम्म कलेजमा टोली दर्ता गराइसक्न अनुरोध गरेका छन्।
कार्यक्रममा तीज गीत-नाचसँगै दर खाने व्यवस्थासमेत गरिएको छ, जसले सहभागीहरूलाई सांस्कृतिक उत्सवको रमझममा रम्ने अवसर प्रदान गर्नेछ। यो कार्यक्रम आयोजनाले तीजको परम्परागत उत्साहलाई जीवन्त राख्दै शिक्षाको माध्यमबाट नारी सशक्तीकरण र चेतनाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।






