कालिका । कालिका नगरपालिकामा तीनदिने मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा मनसुनपूर्व विपद् व्यवस्थापन सचेतना कार्यक्रम गरिएको हो ।
लुमन्ती संस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा कालिका नगरपालिका वडा नं–१, २, ३, ४, ६ र ७ का वडास्तरीय विपद् व्यवस्थापन समितिका सदस्यहरु सहभागी थिए ।
कार्यक्रममा टोल विकास संस्था तथा प्रभावित समुदाय, बाल सञ्जाल तथा स्काउटका विद्यार्थीहरुसमेत सम्मिलित थिए । गत वर्ष कालिका नगरपालिकामा बाढीका कारण तीन जनाको ज्यान गएको थियो ।
कार्यक्रमका प्रमुखअतिथि नगरप्रमुख विनोद रेग्मीले विगतका वर्षहरुमा मनसुनजन्य विपद् आइपरेको र यसपटक यस्ता क्षति दोहोरिन नदिनका लागि पूर्वतयारीअन्तर्गत सचेतना कार्यक्रम गरिएको बताए ।
मनसुनजन्य विपद् पूर्वतयारीका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायलाई सुसूचित गर्दै आवश्यक तयारीका कार्यहरु गर्न प्रोत्साहन गर्ने हिसाबले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता वन वातावरण तथा विपद् व्यवस्थापन समिति सभापति तथा वडा नं–३ का अध्यक्ष वीरेन्द्र तामाङले गरेका थिए । कार्यक्रमको सञ्चालन वन वातावरण शाखा प्रमुख राजेश कोइरालाले गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, नगर प्रवक्ता तथा वडा नं–२ का अध्यक्ष लक्ष्मण पौडेल, वडा नं–१ का अध्यक्ष सन्तवीर स्याङ्दान, वडा नं–४ का अध्यक्ष मकरमान श्रेष्ठलगायतले विपद्बाट जोगिन सबैभन्दा पहिला यसको व्यवस्थापन गर्न आवश्यक रहेको औँल्याए ।









